स्थानीय तहमा चौध हजार ४०२ महिला निर्वाचित

काठमाडौँ, १२ जेठ : स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् । सो आँकडाका आधारमा ४० दशमलव ८९ प्रतिशत हुन्छ । निर्वाचनमा ५५ हजार ६९९ महिला उम्मेदवार रहेका थिए । कूल ७५३ स्थानीय तहमा ३५ हजार २२१ पद रहेका छन् ।

निर्वाचन आयोगको सूचना प्रणालीमा आज साँझसम्म प्रविष्ट भएको परिणामअनुसार तीन वटा पालिकामा प्रमुख र उपप्रमुख दुवै जना महिला निर्वाचित हुनुभएको छ । सोमध्ये झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी र उपप्रमुखमा पुजन न्यौपाने कुँवर निर्वाचित हुनुभएको छ । राजवंशी नेपाली कांग्रेस र न्यौपाने नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएको थियो । दैलेखको भैरवी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित हुनुभएको छ । सो पालिकाको प्रमुखमा रीता शाही र उपप्रमुखमा देवी भण्डारी निर्वाचित हुनुभएको छ । दुवै जना कांग्रेसबाट उम्मेदवारी दिनुभएको थियो ।

कैलालीको लम्की–चुहा नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित हुनुभएको छ । सो नगरपालिका प्रमुखमा सुशीला शाही र उपप्रमुख पदमा जुना चौधरी निर्वाचित हुनुभएको छ । प्रमुख कांग्रेसबाट र उपप्रमुख एमालेबाट उम्मेदवारी दिनुभएको थियो । प्रदेशगत आधारमा निर्वाचित महिला प्रदेश १ मा आठ हजार १९६ उम्मेदवार भएकामा दुई हजार ४५५ जना महिला निर्वाचित हुनुभएको छ । मधेस प्रदेशमा १५ हजार ७८० उम्मेदवार रहेकामा दुई हजार ७७० जना निर्वाचित हुनुभयो । सोहीअनुसार बागमती प्रदेशमा आठ हजार ३४४ महिला उम्मेदवार रहेकामा दुई हजार ३४७ जना निर्वाचित हुनुभयो ।

गण्डकी प्रदेशमा चार हजार ६४९ महिला उम्मेदवार रहेकामा एक हजार ६२२ जना निर्वाचित हुन सफल हुनुभयो । सोहीअनुसार लुम्बिनी प्रदेशमा आठ हजार ७६७ महिला उम्मेदवार रहेकामा दुई हजार १२४ जना निर्वाचित हुन सफल हुनुभयो । आयोगको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा चार हजार ८७८ महिला उम्मेदवार रहेकामा एक हजार ५२४ जना निर्वाचित हुनुभयो । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा पाँच हजार ८५ उम्मेदवार रहेकामा एक हजार ५६० जना निर्वाचित हुनुभयो । प्रमुख पदमा महिला देशभरबाट २५ वटा पालिका प्रमुखमा महिला निर्वाचित हुनुभएको छ । आयोगको तथ्याङ्कअनुसार झापाको विर्तामोड नगरपालिका प्रमुखमा पवित्रा महतारा निर्वाचित हुनुभएको छ ।

त्यस्तै झापाकै गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी निर्वाचित हुनुभयो । मोरङको कानेपोखरी गाउँपालिका प्रमुखमा राजमति इङनाम निर्वाचित हुनुभएको छ । सोलुखुम्बुको लिखु पिके गाउँपालिका प्रमुखमा मीनादेवी कार्की निर्वाचित हुनुभएको छ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा अरुणादेवी राई विजयी हुनुभएको छ । सोही जिल्लाको हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा विमला राई निर्वाचित हुनुभयो । सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित हुनुभएको छ । सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा कल्पनाकुमारी कटुवाल निर्वाचित हुनुभयो । त्यस्तै रौतहटको ईशनाथ नगरपालिका प्रमुखमा कौशल्या देवी र सोही जिल्लाको मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी साह निर्वाचित हुनुभयो ।

सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पार्वती सुनुवार निर्वाचित हुनुभएको छ । सोही जिल्लाको सुनकोसी गाउँपालिका प्रमुखमा दीपा बोहरा दाहाल निर्वाचित हुनुभयो । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका प्रमुखमा रेणुका चौलागाईं, मकवानपुरको हेटौँडा उपमहानगरपालिका प्रमुखमा मीना लामा, चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेणु दाहाल र सोही जिल्लाको माडी नगरपालिका प्रमुखमा ताराकुमारी काजी महतो (थारु), निर्वाचित हुनुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका प्रमुखमा लक्ष्मी पाण्डे, सोही जिल्लाको सुनवल नगरपालिका प्रमुखमा विमला अर्याल, बागलुङको बडिगाड गाउँपालिका प्रमुखमा गण्डकी थापा अधिकारी निर्वाचित हुनुभएको छ । त्यस्तै पर्वतको मोदी गाउँपालिकामा हीरादेवी शर्मा निर्वाचित हुनुभएको छ । पाल्पाको बगनासकाली गाउँपालिका प्रमुखमा सरस्वती दर्लामी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्रमुखमा मोहनमाया ढकाल र अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका चलाउने निर्वाचित हुनुभयो ।

दैलेखको भैरवी गाउँपालिका प्रमुखमा रीताकुमारी शाही निर्वाचित हुनुभएको छ । सोहीअनुसार कैलालीको लम्की–चुहा नगरपालिका प्रमुखमा सुशीला शाही निर्वाचित हुनुभएको छ । आयोगको तथ्याङ्कअनुसार दलित महिला सदस्यमा १२३ स्थानीय तह खाली रहेको छ । त्यस्तै एक जना महिला सदस्य स्थानीय तहमा खाली रहेको छ । काठमाडौँ महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र बाजुराको बूढीगङ्गा नगरपालिकाको परिणाम आउन बाँकी नै रहेको छ ।

भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु

भक्तपुर, १२ जेठ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी बिहीबार दिउँसो १२ बजेदेखि भक्तपुरबासीहरुको धारामा खसेको छ । भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरेको छ । हाललाई कटुञ्जेस्थित खानेपानी ट्याड्ढकीबाट भक्तपुर नपा वडा नं. १, २, ३, ४ र ५ वडामा आजदेखि मेलम्चीको खानेपानी वितरण सुरु भएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र केयुकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले बिहीबार संयुक्त रुपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुरबासीहरुको घरघरमा खानेपानी वितरण सुरु गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आउनुभएको थियो । उहाँले भक्तपुरमा मेलम्चीको पानी वितरण सुरु भएसँगै जनताहरु निकै खुशी भएको बताउनुभयो । सोही क्रममा केयुकेएल भक्तपुरका सुरेन्द्रहिमालय श्रेष्ठले भक्तपुरबासी जनतालाई मेलम्चीको खानेपानी वितरण गर्न सफल भएकोमा गौरवान्वित महसुस भएको बताउनुहुँदै भक्तपुरमा अब खानेपानीको समस्या सहज हुने बताउनुभयो ।

मेलम्चीको पानी वितरणसंगै भक्तपुरका स्थानीयहरु निकै खुशी देखिएका थिए । विगत २० वर्षदेखि खानेपानीको समस्या भोगिरहेका खौमा, इटाछेँ, बोलाछेँ, टौमढीलगायतका स्थानीयहरुले मेलम्चीको पानी वितरण भएसँगै नगर प्रमुख सुनिल प्रजापतिलाई धन्यवाद समेत दिएका थिए । पानी वितरणसँगै ठाउँ ठाउँमा पाइपहरु फुटेर पानी चुहिएको पनि देखिएको छ । त्यसलाई छिटै नै व्यवस्थापन गर्नुपर्ने स्थानीयबासीहरुको माग पनि रहेको छ ।

नवौँ पटक जिब्रो छेडेर टोलटोल घुमे बुद्धकृष्ण

भक्तपुर, २ बैशाख : मध्यान्ह १२ बजेदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसहरुको भीड बढ्दै गयो । बिस्केट जात्रामा मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न एकैछिनमा मानिसहरु खचाखच भए ।

बासको चिम्टी बजाउँदै एकहुल मानिसहरु हातको साङ्लो बनाएर आए, सबैको ध्यान त्यतै केन्द्रित भयो, बिचमा जिब्रो छेड्न तयार भएर बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पुजा गर्दै आईपुगे ४९ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठ ।

बोडेका बासिन्दाले उहाँको जयजयकार गरे । पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाईएको मञ्चमा उक्लिए पछि कर्मी नाईकेहरुले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूप बत्ति बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० ईन्च लामो फलामको सुइरोले हजारौ मानिसहरूकै अगाडि वागश्रेष्ठको जिब्रो छेडियो ।

त्यसपछि उहाँले सबैलाई नमस्कार र अभिभावदन गरेपछि चन्द्राँकारकोे भ्वाय् अर्थात महाद्विप बोकेर निस्किए बुद्धकृष्ण । महाद्विप बोकेर करिब पौने एकघण्टासम्म बोडेको टोलटोल घुमेर पुनः भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिर भित्र प्रवेश गरेपछि सुईरो निकालेर मन्दिरमा ठोके पछि आज मनाइएको जिब्रो छेड्ने जात्रा सम्पन्न भयो ।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकको रुपमा कार्यरत बुद्धकृष्णले अन्तिम पटक भन्दै यसवर्ष नवौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिलाएका छन् ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने श्रेष्ठले बताउनुभयो ।

परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष नवौ पटक आफूले बिज्रो छेडेको उहाँले बताउनुभयो । यो आफ्नो अन्तिम पटक भएकाले अर्को साल जिब्रो छेडेर जात्रालाई नियमित सञ्चालन गर्न युवा पुस्तालाई तयारीमा रहन उहाँले आग्रह गर्नु भयो ।

यसअघि २०६१ सालदेखि ०६४ सालसम्म जिब्रो छेडेको उहाँले आमाको निधन पछि बोडेको जुजुभाई बाँसश्रेष्ठले ०६५ देखि ०७२ सालसम्म जिब्रो छेड्ेर यो जात्रालाई निरन्तरता दिनुभयो । २०७६ सालमा पुन ः जिब्रो छेड्नु भएका बुद्धकृष्णले २०७७ सालमा लकडाउनका कारण जात्रा हुन नसक्दा जात्रा रोकिएको र २०७८ सालमा पुन आठौँ पटक जिब्रो छेड्नु भएको थियो । यस वर्ष जिब्रो छेडेर उहाँले नवौँ पटक पुर्याउनु भएको हो । २०६० सालसम्म उहाँकै दाजू कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेर जात्रा चलाईएको थियो ।

मध्यपुरथिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जात्रालाई निरन्तर रुपमा सञ्चालन गर्न नगरपालिकाले बजेटको व्यबस्थापन गरेको बताउनु भयो । जात्रा हेर्दै उहाँले भन्नुभयो, “जिब्रो छेड्ने ठाउँ साँघुरो भएपछि जग्गा खरिद गरेर नयाँ पाटी बनाएर यसवर्ष जिब्रो छेडाएका छौँ यो जात्रालाई सहज बनाउन आथिएक व्यबस्थापन गरेका छौँ, अब नयाँ पुस्ताले जात्रालाई निरन्तरता दिनु पर्छ ।”

जात्राको किम्बदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेपछि तान्त्रिक भीमदत्त कर्माचार्यले तान्त्रिक विद्याले थापेको पासोमा त्यसलाई पारेर कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घँुघरु बाँधिदिए बलेको महाद्वीप काठको गहुङ्गो भारी बोकाएर बोडे घुमाए ।

कष्ट सहन नसकी पिशाचले आपूmलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि,अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सातवर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंबदन्ती छ । एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायमै छ ।

तर यो कथनलाई मान्न तयार छैनन्, बुद्धकृष्ण । उहाँ भन्नुहुन्छ, “यो जात्रा नील बाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति भूत, पिसाच कोही नभई नील बाराहीका देव गण हुन् तर यहाँका केही व्यक्तिले भनेको भन्दै पत्रकारले जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर प्रचार गर्दा परम्पराको बदनाम भएको छ, त्यसैले पनि युवा पुस्ता जिब्रो छेड्न तयार छैनन्, जिब्रो छेड्ने व्यक्ति ख्याक वा राक्षर होइनन्, देवगण हुन् यो सबैलाई बुझाइदिनु पर्यो ।”

दिउँसो तीन बजे उठेको ‘योसिङ द्यः’ अर्थात लिङ्गो सात बजे ढालियो

भक्तपुर, १ वैशाख : नयाँ वर्षको अवसरका भक्तपुरमा आठ दिन नौ रातसम्म भव्य रुपमा मनाइने विश्व प्रसिद्ध बिस्केट अर्थात बिस्काः जात्राको योसिङ द्यः अर्थात ५५ हात लामो लिङ्गो आज सँझ सात बजे ढालिएको छ । वर्षको अन्तिम दिन भक्तपुर नगरपालिका ५ योसिंखेलमा साँझ लिङ्गो उठाएर नयाँ वर्ष अर्थात वैशाख १ गते दिनभरी जात्रा गरी साँझ ढाल्ने परम्परा रहेको छ ।

तर यसवर्ष हिजो ३० गते साँझ करिब ५ बजेदेखि हजारौ व्यक्तिहरुको अगाडि यहाँका बासिन्दाहरुले ५५ हात लामो योसिङ द्यः अर्थात लिङ्गो उठाउन खोजे पनि राती अबेरसम्म नसके पछि आज फेरी उठाउने प्रयास गरेका थिए । अथक प्रयास पछि आज साँझ दिउँसो तीन बजे उठाएको लिङगो साँझ सात बजे सम्पूर्ण पुजा गरि तान्त्रिक बिधि अनुसार आजै ढालिएको हो ।

गत वर्ष पनि चैत मसान्तको दिन लिङ्गो उठाउन नसकेपछि बैशाख १ गते दिनभरी प्रयास गरि साँझ पौने सात बजेमात्रै उठाएर एक घण्टा पछि नै ढालिएको थियो । ५५ हात लामो लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो उठाउने प्रचलन अनुसार आठ वटा मोटो एवं लामो डोरी बाधेर चारै तिरबाट गोालाकार रुपमा बसेर लिङ्योलाई योसिङ्को प्वालमा छिराएर वरिपरिबाट डोरीको माध्यमले तानेर ठड्याइएको हो ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ । यो जात्रा हेर्न आज हजारौको मानव सागर उर्लिएको छ । लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाईएको छ । भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो जात्रालाई स्थानीय भाषामा ‘द्यो ल्वाकिगु‘ भनिन्छ ।

जात्रामा रथ जुधाउनुअघि बेताल देवतालाई गःहिटीमा ल्याएपछि झ्यालबाट कुखुरा दिई बली चढाएर रथ जुधाउने परम्परा रहेको छ । भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गरिने परम्परा रहेको छ । विक्रम संवत् अनुसार सौरमासको आधारमा मनाईने बिस्केट जात्रा बिःसीत अर्थात नागनागिन म¥यो भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको संस्कृतविदहरुको भनाई छ ।

इतिहासविद्का अनुसार किरात शासकले शासन गर्दै आएको प्राचीन नेपाललाई जितेको खुसीयालीमा लिच्छवि शासकले विजयी ध्वजासहित बिस्का जात्रा मनाइएको जनश्रुति रहेको छ ।

 

प्रदेश नम्बर १ मा किरातीहरूको हकदाबी लाग्छ : मुख्यमन्त्री राई

काठमाडौं : प्रदेश नम्बर १का मुख्यमन्त्री राजेन्द्रकुमार राईले १ नं. प्रदेशमा किरातीहरूको हकदाबी लाग्ने बताएका छन् । प्रदेशमा किरातीहरूले पहिलोपटक बस्ती बसालेर मानव सभ्यताको विकास गरेको भन्दै उनले त्यसमा उनीहरूको हकदाबी लाग्ने बताएका हुन् ।

 

शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित साकेला शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाङ्कन गर्दा किरातीहरूले हकदाबी प्रस्तुत गर्न पाउने बताएका हुन् । उनले प्रदेशको नामाङ्कन गर्दा आफू किरातसहित बहुपहिचानको पक्षमा रहेको समेत बताए ।

‘एक नम्बर प्रदेशमा किरातीहरूको हकदाबी लाग्छ’, उनले भने, ‘त्यहाँ सबभन्दा पहिला किरातीहरू बसेर एउटा समृद्ध सभ्यता निर्माण गरेका छन् । उनीहरूको सभ्यता त्यहीँ विकसित भएको प्रमाणित छ ।’ प्रदेशका वनजङ्गल, खोलानालालगायतका ठाउँको नाम किराती भाषाबाट रहेको स्मरण गर्दै ती नामले त्यहाँ किरातीले नै सबभन्दा पहिले मानव वस्ती बसालेको प्रमाणित हुने दाबी गरे ।

जहाँ जसको बाहुल्यता हुन्छ, त्यहाँ सोअनुसार स्थानको नामाङ्कन गर्ने प्रचलन रहेको बताउँदै उनले बाहुल्यताका आधारमा पनि १ नम्बर प्रदेशलाई किरात नामाङ्कन गर्नुपर्ने बताए । ‘कुनै ठाउँमा वस्नेत गाउँ, कार्की गाउँ भनेर नाम राख्ने चलन छ । त्यो ठाउँमा उनीहरूको बाहुल्यता वा सबभन्दा पहिले उनीहरू आएर बसेकाले त्यसरी नाम राखिन्छ’, उनले भने, ‘प्रदेश १ का क्षेत्रमा मानव वस्ती बस्न थालेदेखि सबभन्दा पहिले किरातीहरू बसे । अहिले विभिन्न जातिहरूको बसोबास रहेपनि किरातीहरूको बाहुल्यता छ ।’

प्रदेश १ को नामाङ्कन गर्ने विषय पेचिलो बनेको छ । पहिचानसहितको नामाङ्कनमा राजनीतिक दलहरूको मत नमिलेपछि प्रदेशको नाम संसदमा प्रस्ताव समेत हुन सकेको छैन ।

परीक्षा केन्द्र सारिएको भन्दै सर्लाही क्याम्पसका विद्यार्थी आन्दोलित

मलङ्वा : स्‍नातक चौथो वर्षको परीक्षाको मुखमा परीक्षा केन्द्र सारिएको भन्दै सर्लाही क्याम्पस मलङ्वाका विद्यार्थीले आन्दोलन गरेका छन्। जिल्लाका सम्पूर्ण क्याम्पसको परीक्षा केन्द्र यथावत राखिए पनि सर्लाही क्याम्पसको परीक्षा मात्र सारिएको भन्दै विद्यार्थी आन्दोलित बनेका हुन्।

विद्यार्थीले बिहानैदेखि क्याम्पसअगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन्। उनीहरुले यातायात अवरुद्ध गरेका छन्। विरोध गर्दै बजार परिक्रमा समेत गरेका छन्।

पहिला तोकिएको केन्द्र यथावत नगरिएसम्म आन्दोलन जारी नै राख्ने अनेरास्ववियुका सर्लाही क्याम्पस कमिटी अध्यक्ष धरबेन्द्र यादवले जानकारी दिए। आन्दोलनमा सबै विद्यार्थी संगठनको सहभागीता रहेको छ।

कोलोराडो सहरमा डढेलोबाट करिब १ हजार घर जले, ३० हजार मानिस विस्थापित

कोलोराडो: अमेरिकी राज्य कोलोराडोनजिकैको वनमा लागेको भीषण डढेलोबाट कम्तीमा ५ सयभन्दा बढी घरहरु जलेर खरानी भएका छन् । बिहीबार लागेको डढेलो अनियन्त्रित बन्दा कोलोराडोको डेन्भर महानगरपालिका क्षेत्रका दुईवटा सहरमा करिब १ हजारभन्दा बढी घर जलेर खरानी भएका हुन् ।

डढेलोबाट शनिबारसम्म ३  जना मानिसले ज्यान गुमाएका छन् भने अन्य केही मानिस मानिस घाइते भएको जनाइएको छ। अधिकारीहरुले शनिबार बताएअनुसार सुपेरियर र लुइसभिल्ला सहरका १ हजारभन्दा बढी घरहरु जलेर नष्ट भएका हुन् ।

डढेलोले दुई घण्टामा मात्र २४ सय हेक्टर क्षेत्रफल विनाश गरेको छ । विनाशकारी डढेलो निभेपछि सो क्षेत्रमा २० सेन्टिमिटरसम्म हिउँ परेको समेत शनिबार अधिकारीहरुले बताएका छन् ।

लामो समयसँगैको खडेरी र सुख्खा मौसमका कारण बिहीबार बिहानैदेखि सो क्षेत्रमा डढेलो लागेको थियो । प्रतिघण्टा १६९ किलोमिटरको वेगमा चलेको हावाले सो डढेलो तीब्ररुपमा फैलिएको थियो ।

डढेलोपछि सो क्षेत्रमा बसोबास गर्दै आएका करिब ३४ हजार मानिस घर छोड्न बाध्य भएका थिए । तीब्ररुपमा फैलिएको डढेलाले वल्ड टाउन र सुपेरियर क्षेत्रमा सबैभन्दा बढि क्षति पुगेको त्यहाँको महानगरपालिकाले जनाएको छ ।

हालैको डढेलो कोलोराडो इतिहासकै विनाशकारी भएको अधिकारीहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोलोराडोको सो अवस्थालाई विपत्तिजनक भएको घोषणा गरेका छन् ।

विज्ञहरुले जलवायु संकटका कारण सहरी क्षेत्रमा समेत डढेलो फैलिएको चेतावनी दिएका छन् । पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनका कारण कोलोराडो क्षेत्रले चरम सुख्खा र खडेरीको सामना गरिरहेको छ ।

जसका कारण सो क्षेत्रमा आगलागी र डढेलोका घटना बढ्दै गएका छन् । अघिल्ला वर्षहरुको तुलनामा पछिल्ला वर्षहरुमा वनजंगलमा लाग्ने डढेलोले झनै विनाशकारी रुप लिने गरेको बताइएको छ।

विद्यार्थी निकेतन माविमा पुरातात्विक भवनका अवशेषहरु भेटिए

भक्तपुर । विद्यार्थी निकेतन माविको प्रांगणमा पानी ट्यांकी खन्ने क्रममा हालको जमिनको सतहबाट साढे ६ फिट मुनि टेपु ल्हाँे, टेलीय इँटा चिकं अप्पा, फ अप्पा, दाची अप्पाले बनाएको पेटीलगायतका पुरातात्विक भवनका अवशेषहरु भेटिएका छन् ।

सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले उक्त क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो ।

सोही क्रममा प्रमुख प्रजापतिले विद्यार्थी निकेतन माविका प्रअ सर्जनी जोशीसँग भेट गरी भक्तपुर नपाले त्यहाँ भेटिएका पुरातात्विक अवशेषहरुको विस्तृत अध्ययन गर्ने बताउनुहुँदै हाललाई उक्त निर्माण कार्य अगाडि नबढाउन पनि आग्रह गर्नुभएको छ ।