बालकरामले हजारौको अगाडि जिब्रो छेडेर गरे पुशपतिको यात्रा

-रमेश गिरी
भक्तपुर, १२ असोज : मध्यपुरथिमि नगरपालिका–५ दिगुली अर्थात दिगुटोलको दिगु भैरब मन्दिर अगाडि साँझदेखिनै मानिसहरुको भीड बढिरहेको थियो ।

आश्विन शुल्क पूर्णिमा अर्थात येँया पुन्हिको दिन आज रात्रीकालिन प्रहरमा मध्यपुरथिमिको लाय्कु दरवार परिसरमा जिब्रो छेडेर थिमिदेखि पशुपति मन्दिरसम्मको यात्रा गरिने भएपछि प्रतक्ष्य रुपमा हेर्न हजारौ मानिसको भीड राती ७ः३० बजेसम्म निकै बाक्लो देखिएको थियो ।
मध्यपुरथिमि नगरपालिकामा दिगु टोलमा ३५० वर्ष भन्दा अगाडिदेखि चल्दै आएको जिब्रो छड्ने जात्रा लोपोन्मुख अबस्थाबाट जोगाउदै यसवर्ष मध्यपुरथिमि नगरपालिका–५ चोडेटोल निवासी बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडेर मध्यपुरथिमिबाट पशुपतिसम्म पुगेर पुनः फर्किएर बालकुमारी मन्दिरसम्म आउने भएपछि प्रतक्ष्य हेर्न र थिमिदेखि पशुपतिसम्मको यात्रालाई साथ दिन हजारौ स्थानीयवासीको भीड जम्मा भएकोृ थियो ।

मध्यपुरथिमि नगरपालिका–५ चोडेटोल निवासी बालकराम नानीचा श्रेष्ठले दिगु भैरब मन्दिर अगाडि बनाएको स्टेजमा बसेर आज राती ७ ः ४५ बजे हजारौ मानिसको अगाडि जिब्रो छेडाउनु भएको हो । हजारौ जनमानसको अगाडि तीनवटा सियो भएको सुईरोले जिब्रो छेडाएर ४० किलोको महाद्धिप बोकेर थिमिदेखि पशुपतिसम्मको यात्रा सुरु गर्नुभयो ।

जात्रा स्थलमा प्रतक्ष्य रुपमा जिब्रो छेडेको जात्रा हेरेपछि संस्कृति पर्यटन तथा नागरिक उद्यान मन्त्री मन्त्री सुजन किराँतीले यसअघि पत्रपत्रिका र टेलिभिजनतिर मात्रै हेरकोमा आज आज प्रतक्ष्य देख्ने मौका पाएको बताउनु भयो । उहाँले यो जात्रालाई विश्वव्यापी रुपमा ब्राण्डिङ गर्नसके लाखौ पर्यटक ल्याउन सकिने बताउनु भयो ।

“यो जात्रालाई विश्वव्यापी ब्राण्डिङ गरेर लाखौ पर्यटक भित्रयाउन पर्ने रहेछ, आउँदो वर्ष सबैसँग सल्लाह गरेर यसलाई अझै भव्य बनाउनु पर्छ,” मन्त्री किरातीले भन्नुभयो, “संस्कृतिलाई जोगाउन सकेन भने अमर नरहन सक्छ, त्यसैले नेपालमा संस्कृतिलाई पर्यटन उद्योगसँग जोडेर लैजानु पर्र्छ, नेपालको संस्कृतिमा पर्यटन मिसाउनु पर्छ, यसबाट व्यापक रुपमा पर्यटक भित्रयाउन सकिन्छ ।”

मन्त्री किराँतीसमेत पैदलनै पशुपति मन्दिरसम्म पुगेर पशुपति मन्दिर भित्र चाँदीको कचौरामा सुनको चम्चाले जिब्रो छेड्ने बालकरामको जिब्रोले तेल हालिदिने बताउनुभयो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उद्यान मन्त्री मन्त्री सुजन किराँती, प्रतिनिधि सभाका सांसद दुर्लभ थापा, वागमित प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, प्रतिमा श्रेष्ठ, भुवनकेशरी श्रेष्ठ, पशुपति विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले प्रतक्ष्य रुपमा जात्रास्थलमा रहेर जात्राको अवलोकन गर्नुभएको थियो ।

बालकरामले भने जिब्रो छेडेर दिगु भैरब मन्दिर अगाडि जिब्रो छेडेर महाद्धिप बोकेर चोडे टोलको कामदेव, महालक्ष्मी, निलवर्ण गणेश, मन्दिरमा दर्शन गरि सिद्धिकालीमाईको मन्दिर हुदै सिद्धिकाली चोक, सानोठिमी, सिनामंगल, महादेव चोक, पेप्सीकोला चोक, एयरपोर्ट १० नं. गेट (पूर्वी गेट), सान बैंकवेट चोक, गुहेश्वरी हुदै पशुपतिनाथको मन्दिर प्रवेश गरि परिक्रमा गर्दै त्यही मार्ग हुदै थिमि आएर बालकुमारी मन्दिरमा दर्शन गरि सियो झिकेर आजको जात्रा सम्पन्न गर्ने येयाँ पुनिहया मेंयः तवनेगु जात्रा व्यबस्थापन समितिका अध्यक्ष चन्द्रभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

जिब्रो छेडाउनु अगाडि बालकरामले भन्नुभयोे, “यस पटक म इतिहास रच्ने लक्ष्यका साथ जिब्रो छेडाएर पशुपतिसम्म जाने निर्णय गरेको हुँ, यसअघि पहिलो पटक मैले २०७५ सालमा जिब्रो छेडेर थिमि घुमेको थिए, यसवर्ष पशुपतिसम्मको यात्रा पुरा गर्ने आँट गरेको छु, माता बालकुमारीकोे शक्तिले त्यो यात्रा पुरा गर्नेछु ।”

मध्यपुरथिमि दिगुटोलदेखि पशुपतिनाथ मन्दिरसम्मको जादा र आउँदा १७ किलो मिटरको यात्रा पुरा गर्ने उहाँले बताउनुभयो । जिब्रो छेडेर ४० किलो तौलको महाद्धिप बोकेर मध्यपुरथिमिबाट गुहेश्वरी हुदै पशुपति मन्दिर भित्र प्रवेश गरि दर्शन गर्दै पुन मध्यपुरथिमिको बालकुमारी आएर सुईरो निकाल्ने गरि जात्रा सुरु गरेको हो ।

प्रतक्ष्य रुपमा जात्रा हेर्न मध्यपुरथिमिका स्थानीयवासीका साथै भक्तपुर, काठमाडौं, ललितपुर, किर्तिपुर लगायतका बिभिन्न ठाउँबाट जात्रा हेर्न आउनेको धुुइरो लागेको थियो । मध्यपुरथिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले ३५० वर्ष भन्दा अगाडिदेखि जिब्रो छेडिदै आएको यो जात्रालाई निरन्रता दिन र यसवर्षको जात्रा सहज रुपमा सम्पन्न गर्न नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने बताउनु भयो ।

उहाँले जात्राका लागि आवश्यक सहयोग रकम उपलब्ध गराएको, जात्रा स्थलमा भीड कम गर्न दुई ठाउँमा प्रोजेक्टर राखेर जात्राको प्रतक्ष्य प्रशारण गर्ने व्यबस्था गरेको र जात्रालाई विजवन्त राख्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो ।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरथिमिको ऐतिहासिक पहिचानलाई यो जात्राले विश्वभर फैलाउने बताउदै यस्ता जात्रा परम्परा जोगाउन सरकारको पनि साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । ऐतिहासिक यो जात्रा वि. सं २०२६ सालदेखि लोप भएपनि वि.सं. २०५० सालबाट मध्यपुरथिमि चोडे टोल निवासी कृष्णनानी श्रेष्ठले तीन पटक जिब्रो छेडाएर जात्रालाई पुर्नजीवन दिएको बताउनुभयो ।
त्यसपछि वि.सं २०६३ सालदेखि सञ्चालन हुन नसकेकोमा वि.सं. २०७४ मा मध्यपुरथिमि –४, बालकुमारी निवासी विरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाउनु भएको बताउनु भयो । जात्रामा हजारौको सहभागिता रहेको छ ।

चाँगुनारायणका ताथलीमा बिशाल महायज्ञ सुरु : कलश यात्रामा हजारौको सहभागिता, महायज्ञ स्थलमा भव्य आश्रम बनाउने लक्ष्य, सबैमा सहयोग गर्नए आव्हान

भक्तपुर, ११ असोज । अनाथ, असाह्य, बेसाहारा नागरिकलाई निःशुल्क गाँस, बास र कपास उपलब्ध गराउने उदेश्यले आश्रम निर्माणार्थ चाँगुनारायण नगरपालिका–९ ताथली नालाछापमा विशाल महायज्ञ सुरु भएको छ । ताथलीस्थित छापमा सञ्चालनमा आएको ‘छोरीको घर जेष्ठ नागरिक आश्रम’ मा आजबाट सुरु भएको श्रीमदभागवत पितृ मुक्ति विराट ज्ञान महायज्ञ–२०८० मा १००८ कलश यात्रा गरि महायज्ञको सुरु गरिएको हो ।

चाँगुनारायण नगरपालिका–९ ताथली नालाछापस्थित ‘छोरीको घर जेष्ठ नागरिक आश्रम’ मा आजबाट सुरु भएको महायज्ञको भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभाका सांसद दूर्लभ थापाले उद्घाटन गर्नु भयो । उहाँले महायज्ञमा बोल्दै आश्रमको निर्माण राज्यले गर्नु पर्ने दायित्व हुँदाहुदै वालयोगेश्वर श्री विजयमूर्ती महाराजजीले महायज्ञ गरेर आ?म निर्माण गर्ने लक्ष्य लिनु सुखद भएको बताउनु भयो ।

उहाँले समृद्ध नेपालमा बाल आश्रम, बृद्धा आश्रम बनाउने, त्यसको संरक्षण गर्ने कार्य सरकार स्वयमको रहेता पनि हाम्रो देशमा यस्तो कार्य राज्यबाट नभएको बताउनु भयो । देशको कमजोर आर्थिक अबस्था र अस्थिर सरकार नहुँदा यस्ता कार्यले गति लिन नसकेको भन्दै उहाँले विजयमूर्ति महाराज श्रीबाट यस्ता कार्यको थालनी भएकोमा निकै खुसि लागेको बताउनुभयो ।

नेपालको संबिधानमा प्रत्येक नागरिकको गाँस, बास र कपासको सुनिश्चितको निश्चित गरे पनि राज्यको सबैमा त्यो अधिकार पुर्याउन नसकेको अबस्थामा सामाजिक एवं धार्मिक व्यक्तित्वले यस्ता महायज्ञ गरेर आश्रम निर्माण गर्नुले संविधानमा गरेको व्यबस्थालाई कार्यान्वयन गर्न टेवा पुगेको बताउनु भयो । अहिले देश विभिन्न आन्दोलनले थिलोथिलो भैरहेको अबस्थामा समृद्ध नेपाल नबन्दासम्म पनि विजयमूर्ति जस्ता युग पुरुषको खाँचो रहेको सांसद थापाले चर्चा गर्नुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आफ्नै नगरपालिकाको ताथलीमा सञ्चालन भएको विराट ज्ञान महायज्ञले नगरपालिकाको शिर उच्च बनाएको बताउनु भयो । चाँगुनारायण नगरपालिका आफैमा धार्मिक स्थलले भरिपूर्ण स्थान हो भन्दै उहाँले विगतदेखि बिभिन्न साँस्कृतिक विभितताले भरिपूर्ण रहेको यस नगरको शिर महायज्ञले उच्च बनाएको बताउनुभयो ।

नगर प्रमुख खत्रीले छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको अभियान चाँगु नगरबासी मिलेर साकार पार्ने बताउदै उहाँले चागुनारायण नगरपालिकाले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारीमा रहेको पनि बताउनु भयो । कार्यक्रममा वागमति प्रदेशका प्रदेश सदस्य सुरेश श्रेष्ठ, पूर्व प्रदेश मन्त्री कृष्णलाल भडेल, नेपाली काँग्रेसका बिभिन्न तहका नेताहरुकोसहभागिता रहेको थियो । कार्यक्रममा धार्मिक प्रवचनका साथै साँस्कृतिक एवं धार्मिक नृत्यहरु प्रस्तुत गरिएको थियो ।

महायत्रस्थलमा आश्रम बनाउने यस्तो छ लक्ष्य :

देशभरका बेसाहारा, पीडित, दुःखी, अनाथ, असाह्य, अपाङ, निमुखा तथा आधारभुत आवश्यताबाट बञ्चित जेष्ठ नागरिकका लागि विशाल आश्रम निर्माणको गर्ने उदेश्यले आजबाट सुरु भएको १७ दिने विराट ज्ञान महायज्ञ २७ गतेसम्म सञ्चालन हुने छोरीको घर जेष्ठ नागरिक आश्रमका प्रमुख वालयोगेश्वर विजयमूर्ति महाराज श्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जेष्ठ नागरिकको विशाल आश्रम निर्माणको गर्न जमिन खरिद प्रक्रिायसमेत सुरु भइसकेको छ । आश्रम निर्माणका जग्गा खरिद गर्न रु. ५० लाख बैना दिइसकेको र महायज्ञबाट संकलित रकमबाट यसैस्थानमा बृहत आश्रम निर्माण गरि स्थानीइ सरकारको रोहबरमा सञ्चालन गरिने बताउनु भयो ।

जेष्ठ नागरिक आश्रम स्थल, वृहत आध्यामिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र, धर्मशाला, संत्संग भवन, पुस्तकालय, सन्त निवास, जेष्ठ नागरिक दिवा तथा रात्रि सेवा केन्द्र, प्रवचन हल, गौशाला, अन्न उत्पादन, बगैचा क्षेत्र तथा निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने बृहत योजना सहित महायज्ञ सचालन गरिएको हो ।

महायज्ञका प्रमुख विजयमूर्ति महाराजले महायज्ञ अबधीभर दैनिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्याती प्राप्त सन्त माहात्मा, विद्धान विदुषि, प्रसिद्ध कथा वाचक, धार्मिक प्रवचन, बिभिन्न वाचक, वाचिकाका मुखारबिन्दुबाट कथा वाचन हुने जानकारी दिनुभयो । महायज्ञ सुरु हुनु पूर्व गत शनिवार मोटरसाइकल र्यालीको आयोजना गरिएको थियो भने महायज्ञ सुरु भएको दिन आज १००८ भन्दा बढी कलशसहितको बृहत कलश यात्रा आयोजना गरिएको थियो ।

बाजागाजा र सांस्कृतिक झाँकीसहित आयोजना गरिएको कलश यात्रामा सहभागि दुई हजारभन्दा बढी नागरिकले नगरपालिकाका बिभिन्न क्षेत्रहरुको भ्रमण गरि पुनः महायज्ञस्थलमा आएको थियो । महायज्ञलाई सफल बनाउन बुधबार साँझ महायज्ञस्थल र आसपासका क्षेत्रमा दीप प्रज्वलन गरिएको थियो । महायज्ञ सफल पार्नकै लागि असोज ६ गते बृहत मोटरसाइकल र्याली सम्पन्न गरिएको थियो ।

१७ दिन सम्म सञ्चालन हुने महायज्ञमा प्रसिद्ध कथा वाचिकाद्वय गरिमा उपाध्याय र उमा महेश्वरीले कथा वाचन गर्नु भएको छ । आयोजक संस्थाका संस्थापक अध्यक्ष एवं चर्चित श्रीमद भागवत वाचक बालयोगेश्वर विजयमूर्ति महाराजले महायज्ञ ऐतिहासिक हुने र यसले भक्तपुरलाई चिनाउने दावी गर्दै महायज्ञमा श्रीमद भागवतका कथाका अलवा स्वदेश तथा विदेशबाट आएका प्रतिष्ठित बिद्धानले प्रबचन दिने बताउनुभयो ।

महायज्ञका अवसरमा ५०० भन्दा बढी बाल कन्याको पुजन, १००० भन्दा बढी जेष्ठ नागरिकलाई सम्मान, विशिष्ट एवं दानबीरको अभिनन्दन, सयौ जनाको सामूहिक तुलादान, १०८ गौमाताको दुध जम्मा गरी पञ्चामृत तयार गरी वितरण गरिने छ ।

प्रत्येक दिन राष्ट्रिय स्तरका राजनेता र कलाकारको उपस्थिती रहने महायज्ञमा रात्रीको समयमा रामलीला, कृष्णलीला, भरत नाट्यम, नृत्य, धर्म संस्कृति र पहिचान झल्कने साँस्कृतिक झाँकी, देश विदेशका ख्याती प्राप्त सन्त, महात्मा, धर्मगुरुको प्रवचन हुनेछ । महायज्ञमा पाँच लाखबढी भक्तजको उपस्थिति हुने र पाँच करोड रूपैयाँ आर्थिक सहयोग संकलन हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । महायज्ञमा दैनिक पाँच हजार भक्तजनलाई निस्शुल्क प्रसाद बितरण गरिने छ ।

महायज्ञ सफल बनाउन १०८ सदस्यीय मूल आयोजक समिति र स्थानीय समाजसेवी केशरबहादुर खड्काको संयोकत्वमा १००८ सदस्यीय मूल आयोजक समारोह समिति गठन गरी विभिन्न ६० वटा उपसमिति गठन गरिएको छ । हाल ३० जना अट्ने क्षमता रहेको आश्रमको क्षमता बृद्धि गरी १०० जनासम्म बस्नसक्ने आश्रम निर्माण गरिने लक्ष्य राखिएको छ ।

 

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौँ, ११ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दबैठक जानु भई जात्रा अवलोकन गर्नुभएको उहाँका प्रस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद् सालिकबाट पैदल गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्द बैठकअघिसम्म नै गाडीमा जाने गर्नुभएको थियो । जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्म्रप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्रीगण, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी पनि पैदल नै गद्द बैठकसम्म जानुभएको थियो ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिनुभएको थियो । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लो टोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाले जनाएको छ ।

शुक्रबार माथिल्लो टोलमा रथयात्रा गरिने

असोज १५ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार जानु भई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीकाप्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ ।

असोज १५ गते सोमबार राति ८ः३७ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित बाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेश लगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ ।

इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गर्नुभएको थियो । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो । वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजा आज पनि गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

पदयात्री र आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ, ११ असोज : शरद ऋतुको आगमनसँगै हिमाली क्षेत्रमा पदयात्राका लागि जाने पदयात्री तथा आरोहीको स्वास्थ्य उपचारका लागि सात जनाको चिकित्सक टोली हिमालमा पुगेको छ ।

हिमालय उद्धार सङ्घले हिमाली क्षेत्रमा घुम्न जाने पदयात्री र साना हिमालका लागि गएका आरोहीको स्वास्थ्य जाँचका लागि मनाङ र सोलुखुम्बुमा चिकित्सकको टोली पठाएको हो । सङ्घका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द बस्यालले मनाङको मनाङगाउँ स्वास्थ्य चौकीमा चार र सोलुखुम्बुको फेरिचे स्वास्थ्य चौकीमा तीन चिकित्सक पठाइएको जानकारी दिनुभयो ।

उक्त टोलीले हिमालमा पुगेर स्वास्थ्य सेवाको काम सुरु गरिसकेको छ । स्वदेशी तथा विदेशी आरोही तीन हजार मिटरभन्दा माथि चढेपछि लेक लाग्ने र बिरामी हुने भएकाले प्राथमिक उपचारका लागि चिकित्सक पठाइएको उहाँको भनाइ छ । मनाङ गाउँमा पठाइएका चिकित्सकमध्ये तीन विदेशी र एक नेपाली रहेका छन् भने फेरिचेमा पठाइएका तीनै विदेशी चिकित्सक रहेका छन् ।

हिमालय उद्धार सङ्घले पदयात्री तथा आरोहीको स्वास्थ्य जाँचलाई सहज पुग्ने उदेश्यले मनाङगाउँ र फेरिचेमा आफ्नै खर्चमा स्वास्थ्यचौकी निर्माण गरि सेवा प्रदान गर्दै आइरहेको छ । सङ्घका अध्यक्ष डम्बर पराजुलीले शरद ऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी तथा स्वदेशी पर्यटक घुम्नका लागि हिमाली क्षेत्रतर्फ गइसकेकाले चिकित्सकको टोलीसमेत पठाइसकिएको बताउनुभयो । मनाङ जाने पर्वतारोही थोरङ्लापास, चुलु हिमाल, तिलिचो, अन्नपूर्ण–२, अन्नपूर्ण–४ लगायतमा आरोहण गर्ने गरेका छन् ।

यस्तै सोलुखुम्बुका लागि जाने पर्यटक भने आइल्याण्ड पिक, आमादब्लम, लोपुचे पिकलगायतमा चढ्ने गरेका छन् । शरद ऋतुमा सगरमाथा आरोहण गर्ने आरोही भने एकदमै कम भएकाले सगरमाथा आधार शिविरमा चिकित्सकको टोली नपठाइएको सो सङ्घले जनाएको छ । सन् १९७३ मा स्थापना भएको सङ्घले मनाङ, गोसाइकुण्ड, फेरिचे र सगरमाथा आधार शिविरमा डाक्टर पठाएर आरोहीको स्वास्थ्य जाँचमा सहयोग गर्दै आएको छ ।

सङ्घले स्वदेशी तथा विदेशी चिकित्सकलाई तालिम दिएर सो क्षेत्रमा पठाउँदै आएको छ । उक्त क्षेत्रमा जाने चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलबाट अस्थायी दर्ता गर्ने र श्रम विभागबाट श्रम स्वीकृति लिएर पठाउने गरेको सिईओ बस्यालले बताउनुभयो । चिकित्सकको टोली सो क्षेत्रमा तीन महिना रहने सङ्घले जनाएको छ ।

सन्दर्भ : विश्व मुटु दिवस ‘मन लगाऔँ मुटु बचाऔँ’

-डा अवनिभूषण उपाध्याय

काठमाडौँ, ११ असोज : विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी हो । यो एउटा महामारीको रूपमा देखापरेको छ । यो रोगबाट बच्न र बचाउन सबैजना लागिनपर्ने हो भने कल्पना पनि गर्न नसकिने अवस्थाको सिर्जना हुने देखिन्छ ।

हामीले मुटु रोग भन्दै गर्दा हृदयघात बुझ्नु पर्दछ । यो रोग ठूलो भएपछि लाग्ने होइन, यो देखा पर्दा मानिस ठूलो भइसकेको हुन्छ । हाम्रा विभिन्न कारक तत्वहरूले गर्दा मुटुको आर्टरीहरूमा विस्तारै फोहर जम्मा हुँदै जान्छ र आर्टरीहरूमा भित्री भाग साँगुरिदैं जान्छ, अनि रक्त प्रवाह कम हुँदै जान्छ र साँगुरिएको ठाउँमा रक्तस्राव भयो भने त्यहाँ रगत जम्न गई आर्टरी पूरै थुनिन सक्दछ ।

त्यसरी थसनएको अवस्थामा त्यसले आफूले रगत पु¥याउनु पर्ने मांसपेशीमा रगत पु¥याउन सक्दैन । उक्त मांसपेशीमा रगत नपुगेकाले खाना नपाएर मर्दछ । यो मरेको भागलाई इन्फारक्ट भनिन्छ । मायोकार्डियोल इन्फारक्ट भनेको नै हृदयघात हो । सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त प्रयासमा यो विश्व मुटु दिवस मनाउने चलन सुरु भएको हो ।

विश्व मुटु दिवस पहिलो पटक २७ सेप्टेम्बर २००० मा सुरु भएको हो । सन् २०११ सम्म यो दिवस हरेक सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाउने गरिएको थियो भने त्यसपछि सेप्टेम्बरको २९ तारिखको दिन विश्वभरि यो दिवस मनाउने गरिएको छ । यस वर्षको मुटु दिवसको नारा “युज हार्ट फर एभ्री हार्ट (मन लगाऔं मुटु बचाऔं) वा हरेक मुटुको लागि हृदयको प्रयोग गरौं भन्ने रहेको छ । यसको अर्थ आफ्नो मुटुको लागि हृदयको प्रयोग गरौं भन्ने हो । यस पालिको नारा मुटु बचाउन हृदयको प्रयोग गरौं भन्ने छ ।

अरूलाई परेका अप्ठ्यारो, वेदनाहरूप्रति पूरा सहानुभूति, पुरा प्रेमका साथ सच्चा मनले मद्दत गर्नु पर्छ भनेको हो । यस कारणले हाम्रो समाजमा नै मुटु कसरी जोगाउने भनेर भित्र मनैदेखि उपायहरू बताउने हो र समाजमा रहेका हरेक मुटुहरूलाई स्वास्थ्य हुनको लागि बाटो देखाउने हो । यो मुटु बचाउनको लागि भौतिक स्रोत साधन मात्र पटकै होइन, यो आफ्नो आत्मीयता, अरूप्रतिको सद्भाव र प्रेमसँग पनि सम्बन्ध राख्दछ । आफ्नो मुटु त बचाउन परि हाल्यो तर अरूको मुटु बचाउन पनि मनैदेखि या आफ्नो हृदय लगाएर बचाउने कोसिस गर्नु पर्दछ । मुटु रोगको महामारीबाट जोगीनको लागि एउटै उपाय छ, यो के हो भने यो रोगबाट बच्ने, यो रोग लाग्नै नदिने ।

त्यसको लागि सबै जनमानसमा यो रोगको जानकारी जति सक्यो बढाउन पर्ने हुन्छ । यस वर्षको नारालाई निम्न तीन किसिमबाट बुझ्न सकिन्छ । मानवताका लागि मुटु संसारमै मुटु रोगहरूमध्ये ७५ प्रतिशत लगभग मुटु रोगहरू हाम्रो जस्तो विकास हुन बाँकी, गरिब, पछि परेका देशहरूमा पर्दछ । यस संसारको यति ठूलो मानिसको संख्या मुटु रोगी हुनु र त्यो पनि हाम्रो जस्ते देशमा हुनु ज्यादै नै दुःखको कुरा हो ।

त्यसैले हरेक मानिसले मानवताको लागि यस कुरालाई मनन गरेर कसरी हुन्छ, कुन उपाय गर्दा यसबाट बच्न र बचाउन सकिन्छ भनेर मुटुमा हात राखेर आफ्नो मुटु साक्षी राखी अरूको मर्म बुझेर समाजमै मुटु बचाउनतर्फ लाग्न अति आवश्यक छ । मानवताका लागि कसरी हुन्छ यस रोगबाट बच्ने भन्ने कुराको साथसाथै कसैलाई मुटु रोग लागिसकेको छ भने पनि के कसरी उनीहरूको मर्म पिडालाई कम गर्न सकिन्छ भन्नेतर्फ लाग्न जरुरी छ ।

हाम्रो समाजमा, शिक्षामा, स्वास्थ्यमा धेरैको सहज पहुँच छैन । धेरैलाई यसबारे जानकारी छैन, धेरैमा स्रोत पनि सीमित हुन्छ । यस्तो अवस्थामा यस रोगबारे जानकारी, यसबाट बच्न गर्नुपर्ने उपायहरू र उपचार गर्नुपरे कसरी सहज बनाउने भनेर सबै लगनशीलतापूर्वक सच्चा मनदेखि लागिपर्नु पर्दछ, मद्दत गर्नु पर्दछ । प्रकृतिका लागि मुटु मानव जाति प्रकृतिप्रति कठोर नै हुँदै आएको छ । आफ्नो सम्पूर्ण स्वार्थको लागि आफ्नै प्रकृतिरुपी आमालाई शोषण गरिरहेको छ । मानिसकै कारणले गर्दा वातावरण बिग्रिरहेको छ । मौसम बदलिंदै छ, संसारको तापक्रम बढ्दो छ, वायु प्रदूषण बिग्रेर विषैविषले भरिएको छ । यो सबै बिगार्ने अरू कोही होइन, मानव जाति नै हो ।

प्रकृतिलाई जिस्काएर मानव जातिले ठूलो भूल गर्दैछ । यसले गर्दा संसारमा प्राकृतिक प्रकोपहरू बढ्दै गएको छ । आगलागी, हावाहुरी, बाढीपहिरो, विभिन्न किसिमका महामारीले अकाल मृत्यु हुने क्रम बढ्दै गएको छ भने युवावस्थामै मानिसहरू नयाँ–नयाँ रोगबाट ग्रस्त भएका छन् । कलिला उमेरका मानिसलाई पनि मानसिक रोग, मुटु रोग, क्यान्सर जस्ता रोगले सताउने गरेको छ । मुटु रोगको नै कुरा गर्दा पनि लगभग २५ प्रतिशत जति मुटु रोग वायु प्रदूषणको कारणले हुने गर्दछ । समाजलाई बचाउने हो भने प्रकृतिलाई विनास होइन, माया गर्नुपर्छ ।

आफ्नै लागि मुटु अरूको मुटु बचाउने हो भने सर्वप्रथम आफ्नो मुटुमा ध्यान दिन जरुरी छ । हामीले आफ्नो मुटु स्वस्थ राख्न सके अरूको मुटु जोगाउन पनि सक्षम हुनसक्छौँ । पहिले आफ्नो अवस्थाबारे जान्न आवश्यक छ । आफ्नौ तौल ठिक छ छैन, मधुमेह, रक्तचाप, चिल्लो पदार्थ ठीक छ छैन, व्यायाम गर्ने, ध्यान योग गरेको छ छैन, अनावश्यक तनाव लिने गरेको छ छैन, चुरोट रक्सीको सेवन गरिन्छ कि ? घरको साधारण खाना नखाएर बजारिया पत्रु खाना पो खाने गरेको छ कि ? यी सबै कुराको जानकारी लिएर यसलाई ठीक अवस्थामा राख्न आवश्यक छ ।

रोग लागिहाल्यो भने पनि चिकित्सकको सल्लाह अनुसार पछि औषधि सेवन गरेर आफ्नो शारीरिक र मानसिक अवस्थालाई ठीक सन्तुलित, स्वस्थ राख्नुपर्छ । मुटु के हो त ? मुटु रक्त सञ्चारको प्रमुख अङ्ग हो । यो दुई फोक्सोको बीच भागतिर छातीमा हुन्छ । यो ठूलो मान्छेको मुड्की जत्रो हुन्छ, लगभग मिनेटमा ७२ पटक धड्किने गर्दछ । मुटु दिनको एक लाख १५ हजारपटक धड्किन्छ । दिनभरिमा २०० ग्यालन रगत पम्प गर्दछ । हरेक मिनेटमा १.५ ग्यालन रगत पम्प गर्दछ । मुटु एउटा बलियो मांसपेशीले बनेको अङ्ग हो । यसले पम्प गरेको रगत र रगतबाट जीउलाई चाहिने पौष्टिक तत्वहरू पु¥याउने गर्दछ र यही पम्पले शरीरका धमिलिएको रगतलाई बटुलेर फोक्सोमा पु¥याउँछ । त्यहाँ सफा रगत बनाएर पूरा शरीरभरि पु¥याउने काम गर्छ । यसरी मुटुले अहोरात्र काम गरेकै हुन्छ ।

बलियो मांसपेशीले बने पनि यो ज्यादै सम्बेदनशील र भावुक हुन्छ । हरेक कुराका राम्रो नराम्रो कुराको असर यसलाई सिधैँ पर्ने हुँदा यसलाई ज्यादै माया गर्नु पर्दछ । मुटु रोग लाग्ने कारक तत्वहरू के हुन् ? मुटुको रोग लाग्ने कारक तत्वहरू वैज्ञानिक हिसाबले प्रमाणित भइसकेका छन् । मुख्यगरी धूम्रपान वा सुर्ती जन्य पदार्थको सेवन, उच्च रक्तचाप, नियन्त्रित नभएको मधुमेह, रगतमा भएको चिल्लो पदार्थहरूको असन्तुलन, व्यायाम ध्यान योग नगर्ने बानी, वजन धेरै हुनु, अनावश्यक तनाव लिने बानी, लोभ लालच, फलफूल नखाने बानी, खानामा नुनु धेरै, चिनी धेरै, कार्बोहाइड्रेट धेरै खाने याने बजारको पोके पत्रु खाना खाने बानी, कम सुत्ने बानी इत्यादि पर्दछन् । यी कारक तत्वलाई ठीक ठाउँमा राख्न सकेदेखि मुटु रोग बाट बच्न सकिन्छ ।

जुन कुरा वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन् । कारक तत्वमध्ये केही गर्न नमिल्ने एउटै कुरा छ त्यो हो वंशानुगत आउने कारक तत्त्व । यो हाम्रो हातमा निर्भर गर्दैन, बाँकी सबै हामी आफैँ नियन्त्रण गर्न सक्षम छम् । के गर्न उचित होला ? विश्व मुटु दिवस धूमधामले मनाउने भनेकै यो रोग के हो र यसबाट कसरी बच्न सकिन्छ भनेर जानकारी बढाउने हो । जे कुरा गर्न पनि त्यसबारे जान्नु जरुरी छ । तसर्थ हामीले जुन कारक तत्वहरूका बारेमा छलफल ग¥यौँ त्यसमा एउटा वंशानुगतबाहेक सबै कारक तत्वहरू हामी आफँै नियन्त्रण गर्न सकिन्छ । वर्षको एक पटक कमसेकम यदि मिल्छ भने आफ्नो जन्मदिन पारेर डाक्टरको सल्लाह लिएर आफ्नो स्वास्थ्यबारे जानकारी लिने गरौं र कुनकुन कारण तत्वलाई ठीक अवस्थामा राख्नु छ, त्यसमा ध्यान दिने गरौँ ।

चुरोट रक्सीको सेवन नगरौँ, रक्तचाप मधुमेह र रगतमा हुने चिल्लो पदार्थ नियन्त्रण गरेर राखौँ, तौल बढ्न नदिन व्यायाम, ध्यान योग अभ्यास गर्ने गरौँ, अनावश्यक तनाव लिने, लोभ लालचमा नफसौँ, फलफूल खाने बानी बसालौँ । आफ्नो मुटु स्वस्थ राखौं र आफूले जानेजति, मनैदेखि अरूको पनि मुटु बचाउने अभियानमा लागौं ।

राष्ट्रपति पौडेलद्धारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण
भक्तपुर, २ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले आज भक्तपुर पुगेर लौहपुरुष स्व.गणेशमान सिंहको एक हजार २ किलो ढलोट प्रयोग गरी निर्माण गरिएको १२ फिट अग्लो पूर्णकदको शालिक अनावरण गर्नु भएको छ ।
गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिभा स्थापना संरक्षण समितिले सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गणेशमान बाटिकास्थलमा निर्माण गरेको शालिकको उहाँले अनावरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले गणेशमान सिंहले राजनीति सत्ता र स्वार्थका लागि नभई देश र जनताको लागि हो भन्ने मान्यता स्थापित गरेर गएको बताउनुभयो ।
उहाँले सारा नेपालीले नेता मानेको एक मात्र व्यक्ति गणेशमान सिंहनै भएको बताउदै भन्नुभयो, “गणेशमानलाई म सधै सर्वमान्य नेता मान्छु, देशमा एक पटक सारा नेपालीले नेता मानेको व्यक्ति गणेशमान नै हो, को वामपन्थी, को दक्षिणपन्थी सबैले नेता मानेका र २०४६ सालको जनआन्दोलनमा फरक विचार भएका पार्टीलाई पनि उहाँकै नेतृत्वमा एकै ठाउँमा ल्याएर जनआन्दोलनको नेतृत्व गर्ने नेता उहाँनै हो ।”
२००७ सालबाटै प्रजातन्त्र उदयको युग सुरु भएको भन्दै उहाँले २०१७ सालसम्म देशलाई आधुनिक युगमा डार्याउने कालखण्डको रुपमा लिए पनि २०१७ सालमा निरंकुश शासन पछि २०४६ सालको जनआन्दोलन र उपलब्धीमा उहाँकै देन रहेको चर्चा गर्नुभयो ।
राष्ट्रपति पौडेलले जहानिया राणा शासनदेखि एकतन्त्रीय पंचायती शासन बिरुद्ध जनाअधिकार स्थापित गर्न प्रजातन्त्र प्राप्तिका लागि कठिन योगदान दिने योद्धाको नाम गणेशमान हो भन्दै उहाँले २०४६ सालको जनान्दोलन सफल भएपछि राजाले प्रधानमन्त्री पद दिदाँ पनि नलिएर समकक्षी नेतालाई सुम्पेर त्योग, आदर्श र निष्ठाको राजनीति गरेर उहाँले सबै नदलका नेतालाई प्रेरणा दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो ठाउँमा गणेशमानजीको शालिक बन्यो, वाटिका बन्यो भनेर कसैले चित्त दुखाउनु पर्ने ठाउँ छैन, बरु खुसी हुनुहोस्, यहाँ देशका अमूल्य निधीको ठाउा बन्न पुगेको छ, यस क्षेत्रलाई आन्तरिक मात्रै नभई विदेशबाट आउने पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नुहा्ेस् ।” यहाँको बाँकी संरना पुरा गर्न राज्यले टेवा पुर्याउनु पर्ने औल्याउनुभयो ।
कार्यक्रममा राष्ट्रपछि पौडेलले वाटिका एवं प्रतिमा निर्माणका परिकल्पनाकार एवं पूर्व सांसद स्व. रामेश्वर ढुङ्गेललाई मरणोपरान्त सम्मान गर्नु भयो । स्व. ढुङ्गलका छोरा अनुप र नाती अक्षेप ढुङ्ललाई उक्त सम्मान पत्र हस्तान्तरण गर्नुभयो । साथै गणेशमान सिंहको प्रतिमा निर्माण गर्ने कलाकार महेश तुलाधरलाई पनि सम्मान गर्नुभयो । उहाँले समितिले प्रकाशन गरेको स्मारिक गणेशमान वाटिकाको बिमोचन गर्नुभयो ।
कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैका लागि प्रेरणाको श्रोत बन्नु भएका गणेशमानले लोकतान्त्रिक अधिकार प्राप्तिका लागि गरेको अतुलनिय योगदान, कानूनी शासन स्थापनाका लागि गरेको त्यागकाबारेमा नयाँ पिढीँलाई जानकारी गराउनुु पर्ने बताउनुभयो ।
नेता सिंह र उहाँजस्ता अरु नेताको योगदानका कारण समावेशी लोकतान्त्रिक संविधान जारी गर्न सफल भएको भन्दै उहाँले वाटिकामा अधुरा रहेका संरचना निर्माणलाई पुरा गर्न स्थानीय, प्रदेश सरकारसँगै केन्द्रीय सरकारले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यस क्षेत्रलाई विशिष्ट पार्क, दर्शनीय व्यक्तित्वहरुको स्मरण गर्ने स्थलको रुपमा बिकास गर्न बाँकी रहेका काम पुरा गर्ने बताउनुभयो । उहाँले देश आर्थिक संकटमा गुज्रेका अबस्थामा स्वद्श र विद्ेशमा रहेका नेपालीलाई यहाँ लगानी गर्न, लगानी बढाउन अभिप्रेरित गर्ने अभियान सुरु गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा गणेशमान सिंह फाउण्डेसनका अध्यक्ष प्रकाशमान सिंहले देशलाई स्वतन्त्र बनाउदै जनाधिकार स्थापित गर्ने ६ दशक लामो राजनीतिक जीवनमा १५ वर्ष जेल र १५ वर्ष निर्वासित जीवन बिताउनु भएका गणेशमानलाई कुनै पनि पुस्ताले बिर्सन नहुने बताउनुभयो । २०४६ सालको जनआन्दोलनमा बिभिन्न बिचार बोकेका दलहरुलाई समेत उहाँकै पहलमा एकै ठाउँमा ल्याएर आन्दोलनको नेतृत्व गर्दै प्रजातन्त्र प्राप्ति गरेको चर्चा गर्नुभयो ।
त्यसअवसरमा प्रतिनिधिसभाका सांसद दूर्लभ थापाले गणेशमान बाटिका निर्माण सुरु भएपछि केही तत्व यसलाई पुरा हुन नदिन, वाटिकाको नाममा आइसकेको जग्गा समेत फिर्ता गर्ने षडयन्त्रमा लागेको भन्दै त्यस्ता तत्व प्रजातन्त्रप्रेमी हुन नसक्ने बताउनुभयो । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, समितिका सचिव कृष्णमुरारी न्यौपानेले लौह पुरुष, सर्वोच्च नेता गणेशमानको योगदानलाई वाटिकाले सधै जिवित राख्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं समितिका अध्यक्ष माथवरसिंह बस्नेतले २०५४ सालमा स्थापना भएको समितिले तत्कालिन कटुन्जे गाविसको सिफारिसमा तत्कालिन राजा बिरेन्द्र वीरबिक्रम शाहको पालामा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा मन्त्रीपरिषद् बैठकले पारित गरि कित्ता नं. ४२१ को १४८ रोपनी ५ आना जग्गा वाटिका स्थापना गर्न समितिको नाममा नामसारी गरेपछि उक्त स्थलमा गणेशमानको शालिक एवं वाटिका निर्माण भएको बताउनुभयो ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०५४ सालमा वाटिकाको शिलान्यास गर्नु भएपछि२०७२ साल कात्तिक २४ गते वाटिकामा गणेशमान सिंहको प्रतिमा  अनावरण गर्ने लक्ष्यका साथ सुरु भई २०५७ मै करिब रु. एक करोडको लागतमा स्व. सिंहको पूर्ण कदको शालिक निर्माण सम्पन्न भएपनि अनावरण गर्ने अवसर आज प्राप्त भएको उहाँले बताउनुभयो ।
समितिले त्यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको उद्यान, बहुउद्देश्यीय भवन, प्रजातान्त्रिक जनआन्दोलनका योद्धाहरूको जीवनी झल्किने संग्रहालय, भ्यु टावर, वनभोज स्थल, आधुनिक बगैंचा, बालबालिका उद्यान, अतिथि गृह, चमेना गृह, रोपवे तथा पर्यटकीय गन्तव्य, स्वं सिंहले प्रजातान्त्रिक आन्दोलनमा गरेका संघर्ष र त्यागकाबारेमा बिस्तृत विवरणका अतिरिक्त प्रजातान्त्रिक शहीदहरूको जीवनी समेटेर राख्ने गरि संग्रहालयय निर्माण, प्रजातान्त्रिक योद्धाहरुको संघर्षकाबारेमा अध्ययन, अनुसन्धान गर्ने, गराउने, प्रजातन्त्रका आदर्श, मूल्य र मान्यतामाथि विज्ञ, अनुभवीहरूबाट प्रवचन गराउने, थलोको रुपमा बिकास गर्ने गरि ३४ करोडको गुरुयोजना तयार पारेको छ ।
यद्यपी करिब रु. चार करोडको लागतमा अहिलेसम्म शालिक प्रवेश गर्ने मूलद्धार निर्माण सम्पन्न भएको, सिढँी मर्मत गरिएको, समितिको आफ्नै कार्यालय भवन, केही वनभोज स्थल, सार्वजनिक शौचालय निर्माण भएको, वाटिकालाई सुन्दर बगैचाका रुपमा परिणत गरेको र बजेट अभावले अन्य संरचना निर्माण भने पुरा हुन बाँकी रहेकोे समितिका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
खट बोकेर सिन्दुर खेल्दै टोल टोल घुमेर हर्षोल्लासका साथ सूर्यविनायकमा मनाईयो गणेश खट जात्रा

भक्तपुर, २ असोज । गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक गणेश मन्दिरबाट आज गणेश जन्मोत्सव जात्रा एवं गणेश रथ यात्रा गरि टोल टोलमा गणेशको मूर्ती बिराजमान खटलाई टोलटोलमा परिक्रामा गराई मनाइएको छ ।

भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात भगवाण गणेशको जन्मोत्सवको अवसरमा आज सूर्यविनायक नगरपालिका वडा नं. ६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरि मूल गणेशको मूर्तीलाई खटमा बिराजमान गराई सुरु भएको गणेश जन्मोत्सव जात्रा साँझ सम्पन्न भएको हो ।

सूर्यविनायक क्षेत्र प्रबन्ध समिति र सूर्यविनायक युवा क्लवको संयुक्त आयोजनामा भएको सूर्यविनायक गणेश अर्थात इनरे गणेद्यो खट जात्रा बिहान गणेश मन्दिरबाट सुरु भइ दिनभर टोलटोलमा परिक्रमा गराई साँझ सम्पन्न हुने सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पुर्खाले मनाउदै आएको गणेश जन्मोत्सव जात्रा आर्थिक श्रोत नहुँदा वर्षौदेखि रोकिएको थियो, विगत चार वर्षबाट सुरु भएको यो जात्रा यसवर्ष पनि हजारौ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोल टोल पुर्याएर हर्षोल्लासका साथ मनाइएको छ । यो जात्रालाई अब हरेक वर्ष सञ्चालन गर्नेछौ ।”

गतवर्ष जात्रा मनाउन नगरपालिकाको वडा नं. ६ र ८ ले तीन तीन लाख गरि ६ लाख रुपैयाको बजेटको व्यबस्थापन गरेको छ । जात्रा दुईवटै वडाका केही भागको परिक्रमा गर्ने परम्परा रहेको छ भने जात्रा सञ्चालन र मन्दिरको संरक्षण गर्ने गुठी पनि दुईवटै वडाको क्षेत्रमा रहेको छ ।

त्यसैले पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्वको सो मन्दिरको जात्रा व्यवस्थापनका लागि ती दुईवटै वडाले बजेट विनियोजन गरेको हो ।
गणेश चतुर्थीका दिन परापूर्वकालदेखि मनाउँदै आएको सूर्यविनायक गणेश (इनरे गणेद्यो) को लोपोन्मुख जात्रालाई बर्सेनि निरन्तरता दिइने सूर्यविनायक युवा क्लबका अध्यक्ष मनोज गिरीले बताउनुभयो ।

गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहन गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिम तर्फ राजथला टोलसम्म, पूर्व तर्फ चालिसे गाँऊ गहनादेवी मन्दिरसम्म, उत्तर तर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोल टोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिने परम्परा छ ।

खट जात्राको क्रममा बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखेर त्यसपछि खट जात्रा गरि टोल टोलमा परिक्रमा गराएको वडा नं. ७ का वडाध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका प्रवक्ता रबिन्द्र सापकोटाले जानकारी दिनुभयो । गणेशलाई रथारोहन गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराएको उहाँले बताउनु भयो । जात्रामा यसवर्ष गतवर्ष भन्दा तेब्बर मानिसको सहभागिता रहेको र जात्रामा महिला तथा पुरुषले अबिर खेल्दै मनाएको छन् ।

काठमाडौँ उपत्यकाका चार प्रमुख विनायकमध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भनिन्छ । समितिा अनुसार यस गणेशको मुख्य मूर्तिलाई वर्षको दुईपटक मात्र सार्वजनिक गरी पूजा गर्ने प्रचलन रहेको छ । गणेश चतुर्थीका दिन जात्राका लागि सार्वजनिक गरिने मूर्तिलाई बिस्काः (बिस्केट) जात्राको अवसरमा वैशाख ३ गते भक्तपुर नगरको तालक्वःमा लैजान र त्यहाँ वैशाख ४ गते हुने द्यो स्वंगः (सगुन) जात्राका क्रममा पूजा थाप्न सार्वजनिक गर्ने परम्परा रहेको छ ।

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काद्धारा नेपाल शिक्षक महासङ्घलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन आह्वान

काठमाडौँ, २ असोज : कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा संविधान विपरीत नहुने र विद्यमान अर्थतन्त्रले धान्न सक्ने माग समावेश गर्न सकिने बताउनुभएको छ ।

राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आयोजित मूल समारोह समितिको कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले विधेयकमाथि प्राप्त सुझाव र आवाजलाई ध्यान दिएर आफू नेतृत्वको कार्यदलले परिमार्जनसहित जायज माग सम्बोधन गरेरै विधेयक दर्ता गराएको समेत स्पष्ट पार्नुभयो । उहाँले दर्ता भएको विधेकयमा केही कमी भए वार्ता र छलफलबाट सम्बोधन गर्न सकिने पनि बताउनुभयो । उहाँले नेपाल शिक्षक महासङ्घलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन समेत आह्वान गर्नुभयो ।

उहाँले महासङ्घलाई संविधान विपरीत नहुने र विद्यमान अर्थतन्त्रले धन्न सक्ने विषय विधेयकमा मिलाउनका लागि सरकार तत्पर रहेको बताउनुभयो । उहाँले विधेयकमाथि महासङ्घका के कस्ता असन्तुष्टि छन् भन्ने सरकारलाई थाहा नभइए आकस्मिकरुपमा विद्यालय बन्दलगायतका विरोधका कार्यक्रम घोषणा गरेको बताउनुभयो । महासङ्घले यही असोज ३ गतेदेखि विद्यालय बन्दलगायत विरोधका कार्यक्रम घोषणा गरिसकेको छ ।

कार्यवाहक प्रधानमन्त्री खड्काले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याका विषयमा पनि आवश्यक सहजीकरण गर्न प्रधानमन्त्रीको निर्देशनमा काम भइरहेको अवगत गराउनुभयो । उहाँले सरकार संविधानमा मौलिक हकका रुपमा रहेको अनिवार्य र निःशुल्क शिक्षाको कार्यान्वयन गराउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

यसको कार्यान्वयनका लागि तीन वटै तहका सरकारबीच उचित समन्वय र सहकार्य जरुरी रहेको उहाँको भनाइ छ । उहाँले पाठ्यक्रममा सुधार र पठनपाठनमा विविधीकरण गरी शिक्षाको पहुँच र गुणस्तर बढाउनुपर्ने उल्लेख गर्दै सरकारले मानव स्रोत विकास योजना बनाइ प्रतिस्पर्धी जनशक्ति तयार गरी रोजगार बजार अनुकूल हुने नीति तर्जुमा गर्ने जानकारी गराउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मस्यौदा भएको विद्यालय शिक्षासम्बन्धी विधेयक संसद्मा पुगेकाले त्यसलाई थप परिमार्जनका लागि संवाद र वार्ताका माध्यमबाट जानुपर्नेमा जोड दिनुभयो । उहाँले आन्दोलनरत शिक्षक महासङ्घलाई आज दिउँसो ३ बजे वार्तामा बोलाइएकामा महासङ्घले सहभागी नहुने जनाएकामा चिन्ता व्यक्त गर्नुभयो ।

राष्ट्रसेवक र जिम्मेवार शिक्षक÷कर्मचारीले विद्यार्थीको पढ्न पाउने हकलाई कुण्ठित गर्न नहुने उहाँको भनाइ छ । शिक्षा, विज्ञान तथा प्रविधिराज्य मन्त्री प्रमिला कुमारीले शिक्षा विधेयक पारित भएपछि शिक्षाको मौलिक हक कार्यान्वयनमा सहयोग मिल्ने जनाउनुभयो । कार्यक्रममा उत्कृष्ट विद्यालय, कलेज, शिक्षक, कर्मचारी, प्राध्यापकलगायतलाई पुरस्कार प्रदान गरिएको थियो ।

आज ऋषि तर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन मनाउदै
काठमाडौँ, १४ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ ।
तागाधारीले यज्ञोपवीत धारण गर्दै
आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै ९यज्ञोपवीत० फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।
स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।
वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।
क्वाँटीको परम्पररा
जनै पूर्णिमाका दिन एघारथरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहु्न्छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उहाँले सुनाउनुभयो ।
तराई क्षेत्रमा राखी बाँधिदै
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूँड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गर्छ ।
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा ८० हजार भक्तजनले गरे दर्शन
भक्तपुर, ३२ साउन : त्यसो त मन्दिर ३०० वर्ष पुरानो हो । तर पनि भक्तपुर जिल्लाको ग्रामिण क्षेत्रमा पर्ने चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलस्थित ऐतिहासिक मत्स्यनारायण मन्दिरमा यसअघिका मलमास लागेका वर्षहरुमा स्थानीयको सामान्य पूजापाठ मै सिमित रहन्थ्यो । नत यहाँको महिमाकोबारेमा अन्यत्र चर्चानै चल्थ्यो ।
ऐतिहासिक यस मन्दिरमा भने पहिलो पटक यस पुरूषोत्तम महिना (मलमास) सुरु भएयता गएरातीसम्म पनि दर्शनार्थीको घुईचो मात्रै बढेन एक महिनाको यो अबधीमा बिभिन्न जिल्लाबाट आएका करिब ८० हजार भक्तजनले दर्शन एवं पूजा अर्चना गरे ।
छालिङ गोकुल गाउँको यस मन्दिरमा बिहान पाँचबजेदेखि साँझसम्म दैनिक भजन किर्तनले गुञ्जायमान भयो भने पुरुषोत्तम महात्म्य प्रवचनले यहाँका जेष्ठ नागरिकलाई धार्मिक ज्ञान प्राप्त गर्न निकै सहज भयो । मत्स्यनारायण मन्दिरमा एक महिने ‘मत्स्यनारायण मेला’ सुरु भएदेखिनै ओझेलमा पर्दै आएको यस मन्दिरमा यसवर्षदेखि भक्तजनको नजर परेको एक महिने पुरुषोत्तम मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गरे के नहुदोँ रहेछ र ?, ३०० वर्ष पुरानो यो मन्दिर अझै ओझेलमा थियो, यहाँका मान्यगन्य, जेष्ठ नागरिकहरुसँग सुझाब लियौँ, हामी युवाहरु यहाँको प्रचारमा लाग्यौ, यो मन्दिरमा पहिलो पटक हरेक दिन दर्शनार्थीको घुँईचो देखेर हाम्रा अग्रजहरु पनि छकक पर्नु भयो, यो मन्दिरको दीर्घकालिन रुपमा संरक्षण र बिकासमा हामी लाग्नेछौँ ।”
स्थानीयस्तरबाटै महिनादिनसम्मका लागि प्रवचन र भजनकिर्तनका टोली ल्याएको, नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन गरिएको, यहाँ आउने दर्शनार्थीहरुलाई सहज पूजा गर्ने व्यबस्था गरेको बताउदै उहाँले भक्तपुरका चारवटै नगरपालिका, काठमाडौं, ललितपुर, साँखु, मूलपानी, काभ्रेपलाञ्चोकदेखि बिभिन्न जिल्लाका दर्शनार्थीको यो मन्दिरमा भीड लागेको बताउनुभयो ।
मन्दिर संरक्षक समेत रहनु भएका पुरीले भन्नुभयो, “यो तीनसय वर्ष पुरानो मन्दिर हो, दुईवटा पिपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुर्ननिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ, १०० वर्ष पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरिनै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।”
स–साना तीन वटा नदीको संगमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका नामले समेत चिनिने गरिन्छ ।  मन्दिर संरक्षणसँगै ६४ शिव लिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण बर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेको यस मन्दिर परिषरमा मलमासमा यसवर्ष दर्शनार्थीको अधिक घुइचो लागेको छ । यहाँको कुण्डमा स्नान गरेमा छालालगायतका बिभिन्न रोगहरु नाश हुने जनविश्वास रहदै आएको छ ।
यस क्षेत्र प्राकृतिक सौन्दर्यता रहेको र यहाँ पार्कहरु निर्माण गरेकाले बाह्रै महिना आन्तरिक पर्यटकको आगमन बढ्दो रहेको पुरीले बताउनु भयो । यस मन्दिरमा तीज, जनै पूर्णिमामा पनि मेला लाग्ने गरेको छभने, बालाचर्तुदशीमा महाद्धिप बाल्न र ६४ शिवलिङ्ग परिक्रमा गरि सदबिज छर्न पनि यहाँ घुईचो लाग्ने गर्दछ ।
मन्दिरसम्म पुग्ने सडक कच्ची भएकाले यसलाई पक्क सडकको रुपमा बिकास गर्न सके उपत्यकाबाट नजिक पर्ने यस क्षेत्रमा पारिवारिक रुपमा घुम्म र रमाइलो गर्न आउने आन्तरिक पर्यटकको संख्या अझै बढ्ने भएकाले यसका लागि पहल भइरहेको उहाँले बताउनुभयो ।
त्यसैगरि भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) मा पनि साउन २ गतेदेखि लागेको एक महिने मत्स्येनारायण पुरुषोत्तम मलमास मेलामा स्थानीयले पूजा एवं दर्शन गरेका छन् । यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन गरिएको थियो ।  यहाँका कुण्डमा स्नान गरि मन्दिरमा दर्शन गरे रोगव्याधी नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहदै आएकाले भक्तपुर नगरका बासिन्दाले यहाँ पूजा, दर्शन एवं स्नान गरेका छन्