विज्ञसँग छलफल र सहकार्य गरेर काठमाडौँ महानगरलाई अगाडि बढाउँछु : नेत्री सिंह

काठमाडौँ, २५ वैशाख : गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाकी नगरप्रमुखकी उम्मेदवार सिर्जना सिंहले विज्ञहरूसँगको छलफल र सहकार्य गरेर काठमाडौँ महानगरपालिकालाई अगाडि बढाउने बताउनुभएको छ । आज यहाँ आयोजित ‘बुद्धिजीवी भेला एवं छलफल कार्यक्रम’ मा नगरप्रमुखको उम्मेदवार सिंहले विज्ञको सल्लाहमै काठमाडौँ महानगरलाई अगाडि बढाउने बताउनुभयो ।

काठमाडौँ महानगरको विकासका लागि कहाँ के गर्न सकिन्छ । सम्बन्धित विषयका विज्ञसँग छलफल गरेर समृद्ध महानगर निर्माणमा लाग्नेछु”, उहाँले भन्नुभयो । काठमाडौँलाई समृद्ध महानगर बनाउनका लागि कुनै स्वार्थ नराखी आफ्नो र अर्को नभनी काम गर्ने उहाँको भनाइ छ । नेत्री सिंहले सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा र दिगो पर्यटन, सुरक्षित सहर, संस्कृति, सम्पदा र सभ्यता, सवल र समुन्नत पूर्वाधार, सवल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरबासी निर्माण आफ्नो मुख्य एजेण्डा भएको भन्दै सोहीअनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफू मेयर भएकै दिनदेखि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ थियो । उहाँले महानगरभित्रका गरिब तथा विपन्न जनताको स्वास्थ्यलाई ध्यानमा राखेर सुविधा सम्पन्न महानगर अस्पताल खोलेर जनतालाई स्वास्थ्य सेवा प्रदान गर्नेसमेत बताउनुभयो । “महानगरभित्र सुशासन कायम गर्न भ्रष्टाचारमुक्त काठमाडौँ र प्रविधिको प्रयोग गरेर घरबाटै सेवा लिने वातावरण निर्माण गर्छु”, उहाँले भन्नुभयो । कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले प्रजातन्त्र स्थापनामा सिंहको महत्वपूर्ण योगदान रहेको बताउँदै काठमाडौँ महानगरपालिकामा सिंहको जित नै लोकतन्त्रको जित भएको बताउनुभयो । उहाँले काठमाडौँ महानगरपालिकाले एक सक्षम र योग्य महिला उम्मेदवार पाएको भन्दै उहाँलाई जिताउनका लागि सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो । –––

मतसंकेत गर्न नसक्ने मतदाताको सहयोगीबारे स्पष्ट

काठमाडौँ, २५ वैशाख : निर्वाचन आयोगले यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफैँ मत संकेत गर्न नसक्ने भर्ई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मत संकेत गर्ने गोप्य स्थानमा आपूmसँगै लैजाने अनुमति मागेमा मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मत संकेत गर्ने गोप्यस्थनमा प्रवेश गर्न अनुमति दिनुपर्ने प्रावधानबारे थप स्पष्ट पारेको छ ।

दृष्टिविहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा परिवारको सदस्यलाईसँगै जान अनुमति दिँदा एक्लै मतदान कक्षमा गई आफैँ मतदान गर्न असमर्थ व्यक्ति हो होइन एकीन गरी अनुमति दिनुपर्ने, दृष्टिविहीन मतदाता वा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने व्यवस्था रहेको छ ।

कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणवश आफैँ मत संकेत गर्न नसक्ने भई मत संकेत गर्ने काममा सहयोग पु¥याउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छाअनुसार मत संकेत गर्ने काममा सहयोग गर्नुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा रहेको छ । सो व्यवस्थाअनुसार कुनै मतदाताको कुनै एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगी मात्र भएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

मत माग्ने पत्रकार सङ्गठनलाई आयोगको स्पष्टीकरण

काठमाडौँ, २५ वैशाख : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत स्थानीय तह निर्वाचनका सन्दर्भमा मतदाताहरूलाई अपिलको विषयको विज्ञप्ति सार्वजनिक गर्ने विभिन्न पाँच पत्रकार सङ्गठनलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न जवाफ माग गरेको छ ।

आयोगले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार सङ्घ नेपालका सचिव श्यामलाल पोखरेललाई स्पष्टीकरण सोधेको हो ।

उहाँहरूले संयुक्त अपिल जारी गरी पहिलो प्रवृत्तिका रुपमा सत्तारुढ पाँच दलीय वामलोकतान्त्रिक गठबन्धन अगाडि आएको र दोस्रो प्रवृत्तिको प्रतिनिधित्व प्रतिगमनको नेतृत्व गर्ने नेकपा एमालेले गरेको भन्दै सत्ता गठबन्धनलाई मतदानका लागि गर्नुभएको आग्रह निर्वाचन आचारसंहिता, २०७८ विपरीत भएको आयोगको भनाइ छ ।

निर्वाचन आचारसंहिता, २०७८ को दफा २२ मा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणको खण्ड ९ख० मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था छ । सोही दफाको खण्ड ९घ० मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने व्यवस्था छ ।

“यस सन्दर्भमा स्वतन्त्र पत्रकारहरूको पेशागत सङ्गठनको तर्फबाट तपाईंले हस्ताक्षर गरी विज्ञप्ति जारी गर्नु निर्वाचन आचारसंहिता विपरीत हुन्छ, हुँदैन रु स्वतन्त्र पत्रकारको पेशागत सङ्गठनको अध्यक्ष÷सचिवले कुनै अमुक राजनीतिक दलको÷दल पक्ष वा विपक्षमा विज्ञप्ति जारी गर्न मिल्छ, मिल्दैन ”, आयोगको स्पष्टीकरणमा भनिएको छ, “कुनै राजनीतिक समूहप्रति पक्षधरता प्रकट गरी मतदातालाई कुनै अमुक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न भनी विज्ञप्ति जारी गर्ने कार्य पत्रकार वा पत्रकारको सङ्घरसङ्गठनको पेशागत मर्यादाभित्र पर्छ, पर्दैन रु पत्रकारको पेशागत सङ्गठन अमुक गठबन्धनका पक्षमा उभिने विषयले प्रेस स्वतन्त्रता कुण्ठित हुन्छ, हुँदैन ।

पत्रकारिताको क्षेत्र र राजनीतिक क्षेत्र भिन्न हो, होइन रु” आयोगलले कुनै पनि सञ्चार प्रतिष्ठान सम्बद्ध कर्मचारी र पत्रकारले पेशागत सङ्घरसङ्गठनमा आबद्ध भई सोमार्फत निर्वाचन आचारसंहिता विपरीत वक्तव्य जारी गर्दा आचारसंहिता उल्लल्घन हुँदैन भन्ने दलिल पेश गर्न मिल्छ, मिल्दैन रु भन्दै पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र उक्त विज्ञप्ति हटाई सोही समयभित्र आयोगमा प्राप्त हुने गरी लिखित जवाफ पेश गर्न आग्रह गरेको छ ।

शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न बिभिन्न निर्णय पारित

भक्तपुर, २५ बैशाख : यहीँ ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले निर्वाचन अबधीभर भक्तपुरमा मदिरा बिक्री वितरण तथा सेवन नगर्न नगराउन कडा निर्देशन जारी गरेको छ ।

आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा मुख्य निर्वाचन अधिकृत एवं भक्तपुरका मुख्य न्यायाधिस गोपालप्रसाद बास्तोला, जिल्ला निर्वाचन कार्यालय, तीनवर्टै सुरक्षा निकायका प्रमुख, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल पत्रकार महासंघलगायत सरोकारवाला निकायबीच भएको निर्वाचन सम्बन्धी छलफलमा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न बिभिन्न निर्णयहरु गरेको छ ।

बैठकले ३० गतेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भय रहित, शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आगामी २७ गते राती १२ बजेदेखि ३० गतेसम्म कुनै पनि प्रकारको मदिरा बिक्री वितरण गर्न र सेवन गर्न निषेध गर्ने निर्णय गरेको छ । साथै मतगणना सम्पन्न नभएसम्म मतगणना स्थल आसपास मदिरा बिक्री वितरण एवं सेवन निषेध गर्ने निर्णय गर्दै यो आदेशलाई अबज्ञा गरे तत्काल पक्राउ गरि कारबाही गरिने प्रजिअ शर्माले जानकारी दिनु भयो ।

त्यस्तै सबैले आचार संहिताको पूर्ण पालना गर्ने गराउने, मतगणना स्थलमा २४ सै घण्टा विद्युत, टेलिफोन तथा इन्टरनेटको आफूर्ती गर्न विद्युत प्राधिकरण र टेलिकमलाई निर्देशन गरेको छ ।

छलफलमै उठेको बिभिन्न विषयमा निर्णय गर्दै निर्वाचनका दिन जिल्लामा रहेका सबै एम्बुलेन्सलाई आवश्यक पर्ने बित्तिकै प्रयोगमा आउने गरि प्राथमिक उपचारका सामग्री, स्वास्थ्यकर्मीसहित तयारी अबस्थामा राख्न, जिल्लाका सरकारी तथा निजी अस्पताल, स्वास्थ्य संस्थालाई जनशक्तिसहित नियमित सञ्चालन गरी आकस्मिक सेवा दिनसक्ने गरि तयारी अबस्थामा राख्न, दमकल, डोजरलाई तयारी अबस्थामा राख्न निर्देशन दिएको छ ।

त्यस्तै निर्वाचनका दिन खानेपानी, एम्बुलेन्स, दमकल, शव बाहन, अस्पताल, विद्युत सेवा, रेडक्रसका गाडी र सवारी पास बाहेकका कुनै पनि साधनलाई सञ्चालन गर्न नदिने, कुनै पनि पास भएका सवारी साधनले मतदाता बोकेको पाइए नियन्त्रणमा लिएर तत्कालै पास खारेज गर्ने निर्णय समेत गरेको प्रजिअ शर्माले जानकारी दिनु भयो ।

नेपाल रेडक्रस सोसाईटी भक्तपुरका सभापति मनोजकुमार थापाले निर्वाचनका दिन चार वटै नगरपालिकाका लागि चार वटा एम्बुलेन्समा प्राथमिक उपचारको सामग्री सहित राख्ने बताउनु भयो । मतदान स्थलमा स्थानीय पालिकाले प्राथमिक उपचारका सामग्री पठाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

छलफलमा मुख्य निर्वाचन अधिकृत वास्तोलाले विद्युत आपूर्ती नियमित गराउन आग्रह गर्नु भयो भने जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले तयारीकाबारेमा जानकारी गराउनु भयो । प्रहरी परिसर भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठले सुरक्षाको अबस्थाकाबारेमा चर्चा गर्नु भयो ।

उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष शिव मानन्धर, नेपाल चेम्बर अफ कमर्स भक्तपुरका अध्यक्ष न्हुच्छे मानन्धरले निजी क्षेत्रलाई पनि निर्वाचनको अनुगमन गर्न परिवेक्षक बनाइनु पर्ने माग गर्नु भयो । उहाँहरुले निर्वाचनको बेलामा बजारमा कालोबजारी हुन नदिन बजार नियन्त्रणको पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार तथा राससका प्रतिनिधि रमेश गिरी र नेपाल पत्रकार महासंघ भक्तपुरका उपाध्यक्ष लीला श्रेष्ठले निर्वाचनका दिन यहाँका क्रियासिल पत्रकारलाई सवारी पासको व्यबस्था जिल्ला प्रशासन कार्यालयले गर्न माग गर्नु भयो ।

उपत्यका भित्र रहे पनि भक्तपुर केन्द्रबाट टाढा रहेको भन्दै उहाँहरुले सूचना विभागबाट जारी प्रमाणपत्रको आधारमा भक्तपुरका लागि पनि निर्वाचन आयोगबाटै सवारी पास लिनु पर्ने व्यबस्था यहाँका लागि अब्यबहारिक रहेको भन्दै यहाँका क्रियासिल पत्रकारलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरलेनै सवारी पासको व्यबस्था गर्न माग गर्नु भयो ।–––

भक्तपुरको तीनवटै नगरपालिका एमालेले जित्छ, भक्तपुरमा जग हल्लायौँ, यो चुनाबमा खाता खोल्छौ : महेश बस्नेत

भक्तपुर, २४ बैशाख । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभाका सांसद महेश बस्नेतले भक्तपुरका तीन वटै नगरपालिका एमालेले जित्ने दाबी गर्नु भएको छ ।

नेकपा एमाले भक्तपुर नगर कमिटीले शनिवार भक्तपुरको टौमढीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यसअघि एमालेले नेतृत्व गरेको सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि तीन वटै नगरपालिका बैशाख ३० गतेको चुनाबमा पनि एमालेले जित्ने दाबी गर्नु भएको हो ।

एमालेका युवा नेता एवं पूर्वमन्त्री बस्नेतले भन्नुभयो, “जनताले सही मूल्यांकन गर्ने छन्, ४० वर्षसम्म हुन नसकेको भक्तपुरको बिकास ५ वर्षमा भएको छ, एमालेले नेतृत्व गरेको तीन वटा नगरपालिकामा भएको विकास देखेका जनताले भक्तपुरलाई बिकास, समृद्ध र सुखी बनाउन एमालेलाई नै रोज्छन्, भुत्ते गठबन्धनले केही गर्दै, एमालेलाई जनताले ल्याउछन् ल्याउछन् ।”

भक्तपुर नगरपालिकाले नगर भित्रका जनताको पक्षमा काम गर्न नसक्दा यहाँका जनता पुस्तौदेखि जस्ताको तस्तै रहेको तर अन्य नगरपालिकाका विकाससँगै आएको परिवर्तन र जनताको स्तर माथि उठेपछि भक्तपुरका जनता सूर्यविनायक र चाँगुनारायणमा बसाई सर्ने क्रम तिब्र रहेको भन्दै उहाँले एमाले, एमालेले गरेको बिकास र महेश बस्नेत नेमकिपाका लागि टाउँको दुखाई बनेको बताउनु भयो ।

हिजोको धनी भनेको भक्तपुर नगरपालिका र यहाँको जनताकोस्तर जहाँको त्यही छ, हिजोको गरिब भनेको सूर्यविनायक र चाँगुनारायण आज कहाँ पुग्यो, यहाँका जनताले हेर्दै नेमकिपालाई सपारी रहेको टिप्पणी गर्नु भयो । भक्तपुर नगरपालिकामा समेत यस वर्ष एउटा वडामा मात्रै भए पनि खाता खोल्ने दाबी गर्दै उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिका भित्र एमाले छिरिसकेको छ, नेमकिपाका नेता, कार्यकर्ता एमालेमा प्रवेश गरिरहेका छन्, नेमकिपाको कुर्सी एमालेले यस पटक जगैसम्म हल्लाएको छ, अब एमाले भक्तपुरमा आउँछ, आउँछ, एउटा वडामा भए पनि यसवर्ष एमालेले खाता खोल्छ ।”

भक्तपुर नगर भित्र २०७४ सालको निर्वाचनमा ३ हजार भोट लिएको एमालेले प्रदेश सभाको निर्वाचनमा रोमन शिलाकारलाई उठाउँदा ८ हजारभन्दा बढी भोट ल्यायो, यो चुनाबमा एमालेले १० हजार भोट ल्यायो भने हाम्रो लागि त्यो जित हुनेछ भन्दै उहाँले यो वर्ष भक्तपुर नगरपालिकामा कमसेकम १ वटा वडामा एमालेले खाता खोल्ने संकल्प लिएको बताउनु भयो ।

अम्बा एक पटक टोक्न गाह्रो हुन्छ, त्यसपछि सिंगो अम्बा खान सजिलो हुन्छ, एमालेले यस पटक एउटा गाँस त खायो खायो भन्दै सांसद बस्नेतले भन्नुभयो, “नेमकिपामा जीवन अर्पण गर्नु भएका ज्ञानबहादुर न्याईच्याई माथि अन्याय गर्ने नेमकिपा बिरुद्ध एमालेबाट उहाँकै छोरा रमेश न्याईच्याई वडाध्यक्षमा उठ्नु भएको छ, उहाँको योगदानको मूल्यांकन गरेर यहाँको जनताले भोट उहाँलाई दिनेछन्, यस पटक रमेश न्याईच्याई नेमकिपालाई परास्त गरेर भक्तपुर नगरपालिकामा प्रवेश गर्नेछन्, अनि पाँच वर्ष भित्र भक्तपुर नगरपालिकाबाट पनि नेमकिपालाई बिदाई गर्छौँ ।”

भक्तपुरमा एमाले प्रवेश गर्छ भन्ने डरले २०७४ को निर्वाचनमा २ नं. क्षेत्रमा परेको भक्तपुरको ८ वटा वडाको विषयमा नेमकिपाले झगडा गरेरै ती वडाहरु थपेको बताउदै उहाँले अहिले सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकामा नेमकिपाले आफ्नो अस्तित्व जोगाउन नसक्ने अबस्थामा पुगेको बताउनु भयो् । भक्तपुर क्षेत्र नं. २ मा नेमकिपाले ३ हजार भोट ल्याउन नसक्ने अबस्थामा पुगेको उहाँको आरोप छ ।

सरकारले पठाउने समपुरक बजेट हरेक वर्ष यो जिल्लामा सबभन्दा बढी भक्तपुर नगरपालिकामा आउँने गरेको बताउदै उहाँले भन्नुभयो, “सूर्यविनायकमा ६० करोड, चाँगुनारायणमा ५५ करोड र भक्तपुरमा १ अर्ब बजेट आउँछ, आन्तरिक आय तर्फ सूर्यविनायकको वर्षमा १२ करोड, चाँगुनारायणको १८ करोड र भक्तपुरको एक अर्ब हुन्छ, भौगोलिक रुपमा हेर्ने हो भने सबभन्दा सानो पालिका भक्तपुर नगरपालिका हो, त्यो २ अर्ब पैसा ख्वपमा कलेजमा सकियो भन्न मिल्छ ? यहाँको जनताले तिरेको कर खै ? जनता झक्किएका छन् ।”

भक्तपुर नगरपालिकाले अहिलेसम्म एने, कानून नबनाई ख्पव कलेज चलाएको आरोप लगाउदै उहाँले भक्तपुरकै पुरोना भक्तपुर क्याम्पस बनाउन कुनै सहयोग नगर्ने, आफ्नै जनताले दैलोमै उपचार पाउने १०० भन्दा बर्ष भन्दा पुरोना भक्तपुर अस्पताल बनाउन, त्यहाँ आईसियू, भेन्टिलेटर राख्न, कुनै पहल नगर्ने भक्तपुर नगरपालिकाले उल्टै अस्पतालको साँघुरो जग्गामा स्मार्ट शौचालय बनाएर पैसा उठाउनुले पनि उसको नियत प्रष्ट हुने बताउनु भयो ।

सरकारकै बजेटबाट सूर्यविनायक र चाँगुनारायणमा आईसियू र अक्सिजन प्लान्टसहितको अस्पताल बनाएको तर ख्वप अस्पतालका लागि जनतासँग ६ करोड चन्दा उठाउने नगरपालिकाले भक्तपुरका लागि सरकारले छुट्याएको २८ करोड लिन केन्द्रीय र प्रदेश सरकारसँग समन्वय नगरेको उहाँको भनाइ थियो ।

अरुलाई भ्रष्टाचार गर्यो भन्ने नेमकिपाले डोलेश्वरमा बनाएको मन्दिर र सूर्यविनायकमा सडक, पुल निर्माणको काम र लागत र भक्तपुर नगरपालिकाले बनाएको पुल र त्यसको लागत दाजेर हेरे पुग्छ भन्दै उहाँले भक्तपुर नगरपालिकाले गरेको जग्गा एकीकरण आयोजनाबाट गरिबमाथि गरेको शोषण र भ्रष्टाचारकै कारण अहिले नेमकिपा बिरुद्ध आवाज उठेको बताउनु भयो ।

भूकम्पले भक्तपुरमा सबभन्दा बढी क्षति पुग्दा दैलोको नगरपालिका र नेमकिपाले केही नगरे पछि यहाँका जनतालाई आफूले बस्ने बाँसदेखि गाँससम्मको व्यबस्था गरेको चर्चा गर्दै नेता बस्नेतले भन्नुभयो,“भूकम्प गएर धेरै जनधनको क्षति हुँदा नेमकिपा कहाँ भाग्यो ? त्यतिखेर यहाँका जनतालाई राहत दिन एमाले आउनु पर्यो, मैले भक्तपुर नगरपालिका भित्र २१०० वटा टहरा बनाएर दिए, जस्ता दिए, खानलाई राहत वितरण गरे, प्रत्येक मृतक परिवारलाई १ हजार राहत दिए, कोभिड महामारीमा नेमकिपाले त्यस्तै गर्यो ।”

हनुमन्ते सफाई अभियान १०० हप्ता र अरनिको राजमार्ग सफाई २ महिने अभियान चलाउदा नेमकिपा नआएको र जानेलाई कारबाही गर्ने धम्की दिएको भन्दै अरनिको राजमार्गमा उज्यालो बनाउने अभियान चलाएर सडकमा बत्ति हाल्ने क्रममा राधे राधेसम्म सडक बत्ति भएको तर यता भक्तपुरमा अध्यारोमा राख्न भक्तपुर नगरपालिकाले बत्ति हाल्न नदिदाँ हनुमन्ते पुलदेखि सूर्यविनायकसम्म बत्ति हाल्ने योजना पुरा गर्न नपाउँदा सडक अध्यारै भएको बताउनु भयो ।

हनुमन्ते करिडोर निर्माण गर्न आफूले २ अर्ब बजेट ल्याएर भक्तपुरका ३ ठाउँबाट ७० लाखका दरले सुरु गर्न लाग्दा सूर्यविनाक र मध्यपुरथिमि क्षेत्रमा करिडोर बनेपनि भक्तपुर नगरपालिका क्षेत्रमा हनुमन्ते करिडोर बन्न नदिदाँ रोकिएको बताउनु भयो ।

भूकम्पले भत्किएका विद्यालय बनाउन भक्तपुर नगरपालिकाले नदिएको भन्दै उहाँले सूर्यविनायकमा ३४ वटा, चाँगुनारायणमा ४८ वटा विद्यालय पुर्ननिर्माण हुँदा भक्तपुरमा ८ वटामात्रै पुर्ननिर्माण भएको बताउनु भयो । भक्तपुरमा स्मार्ट सिटीदेखि रंगशालासम्म निर्माणसम्मको बिरोध गर्ने यो नगरपालिकाले आफूले गरेको इँता पाखे, कमल विनायक, लिवालीमा गरेको जग्गा प्लटिङमा भ्रष्टाचार गरे पछि जनता बाध्य भएर बिरोधमा उत्रिएको भनाइ राख्नु भयो ।

 

नेकपा समाजवादीका वडाध्यक्ष एमाले प्रवेश गर्दै भने माधव नेपालको पार्टी अब कम्युनिष्ट रहेन

भक्तपुर, २३ बैशाख । एमाले चाँगुनारायण नगर कमिटीको कार्यालयमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेकपा (एकीकृत) समाजवादी चाँगुनारायण नगरपालिका वडा १ का अध्यक्ष लीला बहादुर रोक्का नेकपा समाजवादी परित्याग गरि एमाले प्रवेश गर्नु भएको हो ।

उहाँलाई नेकपा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्र, नेकपा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजा, जिल्ला समिन्वय समितिका प्रमुख नवराज गेलाललगायत जिल्ला कमिटीका पदाधिकारी, नगर कमिटीका पदाधिकारीहरुले स्वागत गर्नु भएको थियो ।

एमाले पार्टी प्रवेश गरे पछि बोल्दै रोक्काले नेकपा समाजवादी भ्रम छर्ने पार्टी रहेको र आफ्नो कम्युनिष्ट सिद्धान्त नै बेचेर काँग्र्सको शरणमा गएको बताउदै अब माधव नेपाल नेतृत्वको त्यो पार्टी न कम्युनिष्ट हुने न त कांग्रेस नै हुने अबस्थामा पुर्याए पछि पुरानै आफ्नै माउ पार्टीमा फर्केको बताए ।

नेकपा समाजवादीमा जानु आफ्नो भूल भएको भन्दै उहाँले भू र भ्रमलाई चिर्दै त्यो पार्टी छाडेर पुरानै मूल पाटीृमा फर्कन आव्हान गर्दै अन्यथा आफ्नै पहिचान समेत हराउने अबस्थामा पुग्ने बताएको युवा नेता जयराम बास्तोलाले जानकारी दिनु भयो ।

नगरकोटमा भव्य रुपमा एमालेको घरदैलो

भक्तपुर, २३ बैशाख । नेकपा एमाले चाँगुनारायण नगर कमिटीले आयोजना गरेको घर दैलो कार्यक्रममा आज चाँगुनारायण–६ नगरकोटमा भव्य रुपमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रको नेतृत्वमा चाँगुनारनयणको निर्वतमान उपप्रमुख तथा नगरप्रमुखको उम्मदवार विना बास्तोला, उपप्रमुखका उम्मेदवार रमेश बुढाथोकी, वडाध्यक्ष उम्मेदवार बिष्णु तामाङ, खुल्ला सदस्य विजय लामा, रमेश लामिछाने, महिला सदस्य चिनीमाया तामाङ, दलित महिला सदस्य सुनिता सुनार लगायतको सर्यौ कार्यकर्ता तथा स्थानीय मतदाताको सहभागितामा भव्य रुपमा घर दैलो सम्पन्न भयो ।

नगरकोटको भट्टे डाँडामा कोण सभा गरि सुरु भएको कार्यक्रमा मेयरका उम्मेदवार बास्तोलाले आफ्नो कार्यकालमा अधुरो रहेको योजनालाई पुरा गर्न र नयाँ योजनासहित बिकास गर्न उम्मेदवार दिएको बताउनु भयो । घर दैलो कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य, संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले चाँगुनारायण नगरपालिकामा एमालेको जीत सुनिश्चित रहेको बताउनु भयो ।

बासुदेव थापा ल्याउछौ, ल्याउछौ भन्दै सिपाडोलमा मतदाताको एउटै स्वर ‘हातले सूर्यलाई छेकिन्न, एमालेबाहेक अरुलाई देखिन्न’

भक्तपुर, २३ बैशाख । नेकपा एमाले सूर्यविनायक नगरकमिटीको आयोजनामा आज वडा नं. ८ मा नेकपा एमालेको सयौँ व्यक्तिको सहभागितामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

सूर्यविनाकको गणेश मन्दिरबाट एमाले जिल्ला कमिटी सदस्य एवं सूर्यविनायक वडा नं. ८ का निवर्तमान वडाध्यक्ष किरण थापाको नेतृत्वमा भएको सयौँ मतदाता सहभागि र्यालीमा मतदाताले नाच गान गर्दै उल्लासका साथ घर दैलो गरेका छन् ।

नेकपा एमाले पोलिटव्यूरो सदस्य एवं संघीय सांसद महेश बस्नेतको प्रमुख आतिथ्यता, वागमती प्रदेशका सांसद शशीजंग थापाको विशेष आतिथ्यतामा एमालेको तर्फबाट सूर्यविनायक नगरपालिकाका प्रमुख पदका उम्मेदवार बासुदेव थापा, उपप्रमुख पदका उम्मेदवारसरिता तिमिल्सना भट्टराई, वडाध्यक्ष पदका युवा उम्मेदवार पुष्पराज बस्नेत, वडा सदस्यका उम्मेदवारहरु सावित्री मिश्र, अञ्जना नेपाली, विक्रम तामाङ तथा विश्वराज त्वानाबासु जनताको घरदैलो पुग्नु भएको थियो ।

सयौँ कार्यकर्ता र मतदाताका साथमा जनताको घर दैलो पुगेर सूर्यमा मतदान गर्न आव्हान गर्नु भयो । घर दैलो कार्यक्रमको र्यालीमा बोल्दै एमाले नेता एवं वडाध्यक्ष किरण थापाले यस क्षेत्रमा एमालेको तीन तहको सरकारको पालामा भएको बिकास र आफ्नो कुशल नेतृत्वका कारण यो वडा यहीँ निर्वाचनबाट एमालेको लालकिल्ला घोषणा हुने बताउनु भयो ।

२०७४ सालको निर्वाचनमा जनताले दिएको मतको उच्च सम्मान गर्दै वडा नं. ८ क्षेत्रको बिकासमा पुर्याएको योगदानलाई जनताले कहिल्य नबिर्सने भन्दै उहाँले बिकास र समृद्धिका लागि नेकपा एमालेलाई जनताले मत दिनेमा आफू पुरा विश्वस्त रहेको बताउनु भयो ।

जनताको घर दैलोमा पुग्दा कार्यकर्ताले पाँच दलीय गठबन्धन ठग बन्धन हो भन्दै आफ्ना श्रीमति, छोरा, छोरी, साला, साली, भाई, बुहारी, दिदी, भिनाजु, साडदाईका लागि भएको गठबन्धन देशका लागि घातक भएको बताएका थिए ।

 

बिकासको बिरोध गर्ने, बिकासको बजेट काट्ने काँग्रेसलाई जनताले कसरी भोट दिनु : एमालेका युवा नेता महेश बस्नेत : एमाले सूर्यविनायक नगरको प्रतिबद्धता पत्र सार्वजनिक

पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भन्नु भयो, “हामीले भक्तपुरमा १६ अर्बको बजेट ल्याएर बिकास गर्यौ, सूर्यविनायक नगरपालिकाको बिकासमा फड्को मार्यौ, तर काँग्रेसले हामीले ल्याएको बिकासको बिरोध गर्दै आयो, केपी ओलीको नेतृत्वको सरकारको पालामा ल्याएको बजेट काट्न यहाँका कांग्रेसका नेता मन्त्रालय धाए, आएको बिकासको बिरोध गर्ने, आएको बजेट काट्न जाने कांग्रेसले चुनाबमा यहीँका जनतासँग फेरी बिकास गर्छौ भनेर कुन नैतिकताले जनताको घर दैलोमा गएको छ ?”

============================================================

भक्तपुर, २२ बैशाख । नेकपा एमालेको पोलिटव्युरो सदस्य एवं युवा नेता महेश बस्नेतले आफ्नै गाउँमा आएको बिकासको बिरोध गर्ने काँग्रेसलाई जनताले पत्याउने आधार नभएको बताउनु भएको छ ।

नेकपा एमाले सूर्यविनायक नगर कमिटीद्वारा आयोजित नेकपा (एमाले) सूर्यविनायक नगरपालिका स्थानीय तह निर्वाचन २०७९ को प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले आफ्नै नगर र वडामा आएको बिकासको बिरोध गर्ने, बिकासको बजेट काट्न जाने काँग्रेस जनताको घरदैलोमा भोट माग्न जाने आधार गुमाएको बताउनु भयो।

पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भन्नु भयो, “हामीले भक्तपुरमा १६ अर्बको बजेट ल्याएर बिकास गर्यौ, सूर्यविनायक नगरपालिकाको बिकासमा फड्को मार्यौ, तर काँग्रेसले हामीले ल्याएको बिकासको बिरोध गर्दै आयो, केपी ओलीको नेतृत्वको सरकारको पालामा ल्याएको बजेट काट्न यहाँका कांग्रेसका नेता मन्त्रालय धाए, आएको बिकासको बिरोध गर्ने, आएको बजेट काट्न जाने कांग्रेसले चुनाबमा यहीँका जनतासँग फेरी बिकास गर्छौ भनेर कुन नैतिकताले जनताको घर दैलोमा गएको छ ?”

नौ महिनाको गठबन्धन सरकारमा सूर्यविनायक क्षेत्रमा बिकासका लागि ९ हजार रुपैया पनि ल्याउन नसक्ने कांग्रेसका नेताले हामीले जिते बिकास गर्छौ भन्नु हाँस्यासपद रहेको बताए । एमालेको पालामा भएको बिकासलाई जनताले देखिरहेको बताउदै बस्नेतले एमालेले जितेका वडामा बिकास हुने कांग्रेसले जितेको वडामा बिकास हुन नसक्नुले पनि कांग्रेसको बिकासको गतिलाई जनताले बुझ्नु पर्ने बताउनु भयो ।

“हामीले सूर्यविनायक नगरपालिकामा बिकास गर्न संघीय सरकार, प्रदेश सरकारबाट बजेट ल्यायौ? नगरपालिकाबाट बिनियोजित बजेट बिना भेदभाव प्रत्येक वडाको पठाइएको छ, तर एमालेले जितेको वडामा विकास हुने कांग्रेसले जितेको वडामा बिकास नहुने किन, जनताले त्यसलाई बुझेर बिकास गर्ने, जनताको भावना बुझ्ने पार्टी एमालेलाई मतदान गर्नु पर्छ, नत्र नगरपालिकाको बिकासले पूर्णता पाउदैन ।” बस्नेतले भन्नु भयो ।

जनताले नेपाली कांग्रेसलाई समर्थन गर्नु भनेको आफ्नो अनुहारमा आफै मखुण्डो लगाएर हिड्नु जस्तै हो भन्दै युवा नेता बस्नेतले कांग्रेस भन्ने पार्टीनै विकास विरोधी पार्टी भएको यथार्थ जनताले अब बुझ्नु पर्ने औल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले मात्रै होइन, जगन्नाथ आचार्यको पालादेखि गुण्डुलाई कांग्रेसले हेप्दै आएको थियो, कांग्रेसले गुण्डुलाई अपमान गरेको, गुण्डुलाई हेपेको, गुण्डुलाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यबहार गरेको, कुनै नैतिकता र इमान्दारिता नभएको कांग्रेसले जनतासँग भोट माग्ने आधार गुमाइसकेको छ ।”

जनताले यो पाँच वर्षको बिकासलाई हेरेर मूल्यांकन गरेको बताउदै नेता बस्नेतले एमालेप्रतिको उत्साह देखेर सूर्यविनायक नगरपालिकामा निर्वाचन लड्न नभई जित्न गइरहेका बताउनु भयो । भक्तपुर क्षेत्र नं. २ मा १५ वर्ष कांग्रेसले १० वर्ष नेपाल मजदुर किसान पार्टीले गरि २५ वर्ष शासन गर्दा यहाँको विकासमा अध्यारो युगमा सिमित बनेको भन्दै एमालेका युवा नेता बस्नेतले भर्खर पाँच वर्ष नेकपा एमालेले शासन गरिरहँदा विकास र समृद्धिको युग आएको बताउनु भयो ।

एमालेका नेता, कार्यकर्ता भोट माग्ने बेलामा मात्रै नभई हरेक दिन बिकासका काम लिएर जनताको घर दैलोमा पुगेको, जनताको सुखदुखको सारथी भएको र यहाँको शिक्षा, स्वास्थ्य, सडक, ढल, खानेपानी, विद्युत, पार्क, सडक बत्ति, उज्यालो नगरपालिका, पुललगायतका क्षेत्रहरुमा अघिल्लो निर्वाचनमा घोषणा पत्रमा लेखेको भन्दा १० औं गुणा बढी काम गरेर जनतालाई देखाएकाले जनताले फेरी पनि एमालेलाई विश्वास गर्ने बताउनु भयो ।

सूर्यविनायक नगरपालिकाको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा सांसद बस्नेतसँगै, वाग्मति प्रदेश सभा सदस्य शशीजंग थापा, एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्र, एमाले वाग्मती प्रदेश सदस्य एवं एमालेका पूर्व जिल्ला अध्यक्ष राजेन्द राजथला, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, सूर्यविनायक मेयरका उम्मेदवार बासुदेव थापा, उपमेयरका उम्मेदवार सरिता तिमिल्सिना भट्टराई, वडाध्यक्षका उम्मेदवार रविन्द्र सापकोटा, वडा सदस्यका उम्मेदवारहरु, जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवर तथा एमालेका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । एमालेको घरदैलो अभियानमा जनलहरले उत्साह थपेको थियो ।

 

पार्टी कार्यालयबाहेकका स्थानमा दलको झण्डा र चुनाव चिन्ह नराख्न आयोगको निर्देशन

काठमाडौं, १९ बैशाख ।
निर्वाचन आयोगले निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारहरुसँग अनुरोध गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल तथा उम्मेदवारहरुले आफ्नो पार्टी कार्यालय बाहेकका स्थानमा झण्डा, उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड नराख्न, श्रव्य सामग्री नबजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन नगर्न भनेको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले २५ चैत २०७८ देखि निर्वाचन आचार संहिता लागू गरिसकेको भन्दै आयोगले सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने प्रावधान रहेको स्मरण गराएको छ । आयोगले राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिले आचार संहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने र त्यस्तो स्थानलाई दुरुस्त बनाई राख्न निर्देशन दिएको छ ।
सार्वजनिक स्थानमा आचार संहिता विपरीत प्रचारात्मक सामग्री राखेको पाइए स्थानीय तहको उम्मेदवारले नै सो सामग्री राखेको ठहर गरी सोही दल वा उम्मेदवारले उक्त सामग्री हटाउनु पर्ने आयोगले भनेको छ । आदेशको बर्खिलाफ गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना हुने आयोगले जनाएको छ । कुनै उम्मेदवारले आयोगले बनाएको आचार संहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द समेत गर्ने प्रावधानको रहेको स्मरण आयोगले गराएको छ ।