राष्ट्रपति भण्डारीले १३ विधेयक प्रमाणीकरण

काठमाडौँ, ३१ असार : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विभित्र १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको छ ।

विधेयकको नाम र प्रमाणीकरण मिति यस प्रकारको छ ।

१. लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९÷३÷३१,

२. आर्थिक वर्ष २०७९÷०८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९÷३÷३१,

३. ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक २०७९÷३÷३१,

४. राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक २०७९÷३÷३१,

५. नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९÷३÷३१,

६. तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९÷३÷३१,

७. यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९÷३÷३१,

८. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९÷३÷३१,

९. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०७९÷३÷३१,

१०. सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७९÷३÷३१,

११. औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक २०७९÷३÷३१,

१२. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक २०७९÷३÷३१ र

१३ रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९÷३÷३१ रहेको छ ।

सिसिटीभी क्यामेराले कैद गरिएका डाटा सुरक्षित नै छन् भन्ने अनुमान गर्न सकिन्छ : सर्वोच्च अदालत

काठमाडौँ, ३१ असार  : सर्वोच्च अदालतले अर्थ मन्त्रालयको सिसिटिभी क्यामेराले कैद गरेका डाटाहरु सुरक्षित राखिएको छैन भन्ने अनुमानसमेत गर्न नसकिने भन्दै सो सम्बन्धमा तत्काल अन्तरिम आदेश जारी गर्नु नपर्ने जनाएको छ । आज न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सिंहदरबार देशको केन्द्रीय प्रमुख प्रशासकीय परिसरभित्रको सुरक्षासमेतलाई दृष्टिगत गर्दा सम्बन्धित निकायहरुले सिंहदरबारभित्र पर्ने अर्थ मन्त्रालयलगायत अन्य मन्त्रालयहरूको सिसिटिभी सुरक्षित नै रहेको अनुमान गर्न सकिने बताएको छ ।

सर्वोच्चले सिंहदरबारको सुरक्षा संवेदनशीलताको कारण यी दृश्य मेटिए होलान् भनी अनुमान गर्न नसकिने भन्दै अन्तरिम आदेश आवश्यक नभएको बताएको छ । अदालतले बजेट निर्माणको गोपनीयता र संवेदनशीलता जोडिएको विषयसँग सम्बन्धित निवेदन भएकाले चाँडो टुंगोमा पुर्याउनुपर्ने भन्दै प्राथमिकता दिन अग्राधिकारको आदेशसमेत दिएको छ । अधिवक्ताहरू सरोजकृष्ण घिमिरे, बाबुराम अर्याल र कपिलदेव ढकालले अर्थ मन्त्रालय र अन्य मन्त्रालयसमेत सिसिटिभी फुटेज सुरक्षित राख्न माग राखी दायर गर्नुभएको रिटको प्रारम्भिक सुनुवाइमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।

सात राजदूतको सपथ

काठमाडौँ, ३१ असार  : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उक्त अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो ।

शपथ लिने राजदूतहरुमा तीर्थराज वाग्ले (बहराइन), डोरनाथ अर्याल (ओमान), नवराज सुवेदी (साउदी अरेबिया), बासुदेव मिश्र (श्रीलङ्का), भरतकुमार रेग्मी (अष्ट्रिया) तथा संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि, सुशीलकुमार लम्साल (इजिप्ट) र घनश्याम भण्डारी (बङ्गलादेश) हुनुहुन्छ ।

जव हातमा मसाल बोकेर सूर्यविनायक सडकमा निस्कियो सरकारको शव

भक्तपुर, २९ असार । भक्तपुरको सूर्यविनायक सडक । साँझ ढल्किदै थियो । मानिसहरुको जमघट बाक्लिदै गयो । केही बेरमै एमाले निकट राष्ट्रिय युवासंघ नेपालका कार्यकर्ताहरु र नेताहरुको उपस्थिति बाक्लियो । अपरान्ह पाँच बजेदेखि नै बाक्लिएको सूर्यविनायक चोकमा युवा संघका नेताहरुले गठबन्धन सरकारले चरम मूल्य बृद्धि गरेर जनताको गाँस बास खोस्न खोजेको र बाच्नै कठिन हुने अबस्थामा पुर्याएको भन्दै सरकारको आलोचना भइरहेको थियो ।

त्यत्तिकैमा सडकमा मानिसहरुले लहरै हात हातमा मसाल लिएर बिच सडकमा सरकारको शव यात्रा गरे । त्यो देखेर वरिपरिका मानिस मात्रै होइन, सडकमा गुडिरहेका सवारी समेत टक्कर रोकिएर सरकारको शव हेर्न थाले ।

हातमा मसाल बोक्नेहरुले शेरबहादुर देउवा नेतृत्व सरकारको आलोचना गर्दै नारा लगाउदै अगाडि बढिरहे. । यो दृश्य हो राष्ट्रिय युवासंघ नेपाल भक्तपुर जिल्ला कमिटीद्वारा जिल्ला कमिटी उपाध्यक्ष कम्रेड रबिन थापा को नेतृत्वमा आयोजित परमादेश संघीय सरकारले गरेको चरम मुल्य वृद्धि र अर्थ मन्त्री जनार्दन शर्माको अनैतिक गतिविधिको विरोध गर्दै मसाल जुलुस प्रर्दशन गरेको थियो भने सरकारको शव यात्रा गरेको थियो ।

कार्यक्रममा एमाले पार्टी जिल्ला कमिटीका अध्यक्ष वचन देउजा र सचिवमोहनवीर श्रेष्ठ को सहभागिता पनि रहेको थियो । कार्यंक्रममा राष्ट्रिय युवासंघ नेपाल भक्तपुर जिल्ला कमिटी, एमाले सुर्यविनायक नगर कमिटी, अखिल नेपाल महिला संघ भक्तपुर २ नम्बर क्षेत्रका नेता कार्यर्का लगायत अन्यको बाक्लो उपस्थिति रहेको थियो ।

 

भक्तपुरमा ६ महिनाको अबधीमा २४० वटा मानव अधिकार हननका घट्ना, अपराधका ४७३ वटा घट्ना सार्वजनिक

भक्तपुर, १३ असार : भक्तपुर जिल्लामा विगत ६ महिनामा मानव अधिकार हननका २४० वटा घट्नासहित कूल ४७३ वटा घटना बिभिन्न घट्नाहरु घटेका छन् । आज अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले यहाँ आयोजना गरेको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा २०२२ जनवरीदेखि जुनसम्म भक्तपुरमा भएका मानव अधिकार हननका घट्नाको सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

इन्सेक भक्तपुरले सार्वजनिक गरेको तथ्यांक अनुसार यो ६ महिनाको अबधीमा पाँच जनाको हत्या, तीन जना आफ्नै परिवारबाट हत्या, नौ जनाको हत्या प्रयास, १४ जनाको बलात्कार, दुई जनाको बलात्कार प्रयास, चारजना बहुबिवाहको, एक जना मानव बेचबिखन तथा ओसारपसर र एक जना अपहरण उद्योगबाट पीडित भएका छन् ।

त्यस्तै अभद्र व्यबहारबाट ३७ जना महिला पीडित भएका छन् भने घरेलु हिंसाबाट पाँच जना महिला, पाँच ठगिबाट जना आत्महत्या दुरुत्साहनबाट दुई जना पीडित भएका छन् । भक्तपुर जिल्ला अदालनतमा सम्बन्ध बिच्छेदका लागि १७४ जनाको मुद्धा दर्ता गराएकोमा १२१ जनाको सम्बन्ध बिच्छेद भएको छ । बैंकिङ् कसुरबाट १२८ जना लागू औषधमा १३, पशु जन्य अपराधमा १ जना, चोरीका घट्ना ३१, चोरी गर्ने उद्योगमा एक, जुवाका ६ वटा घट्ना भएका छन् ।

यसअबधीमा आत्महत्याका घट्नाबाट ३४ जनाको ज्यान गएको छ । त्यस्तै बालिबालिका, महिला, पुरुष गरि ११७ जना हराएकोमा ९३ जना भेटिएका छन् । त्यस्तै सवारी दुर्घटनामा १५ जनाको ज्यान गएको छभने दुई जनाको अंगभंग भएको छ ।

कार्यक्रममा महानगरीय पहरी परिसर भक्तपुरका प्रमुख शिबकुमार श्रेष्ठले अपराधको मुख्य कारक तत्व लागू औषधको कारोबार एवं दुव्र्यसनी र मदिरा सेवननै रहेको बताउदै यसलाई सरकारले कडाईका साथ नियन्त्रणकोनीति लिनु पर्ने बताउनु भयो ।

उहाँले भक्तपुरमा पहिलो लागू औषध, दोश्रोमा बलात्कार, तेश्रोमा चोरी, चौथोमा सवारी ज्यान, पाँचौमा ठगी जस्ता समस्या जटिल बन्दै आएको बताउदै अपराध मुक्त समाज निर्माणका लागि समुदायले आफ्नो समाजलाई अपराध मुक्त बनाउने अभियान सञ्चालन गर्नेमा जोड दिनु भयो ।
बलात्कारमा ३० प्रतिशत त गलत नियतले फसाउनका लागि आएका उजुरी हुने गरेको बताउनै उहाँले भक्तपुरमा कुनै पनि समस्या र उजुरी गर्नु परेमा कसैको भनसुन नगरी सिधै प्रहरी परिसरको सोधपुछमा आएर सम्पर्क गरे पुग्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल बार एशोसियसन भक्तपुरका अध्यक्ष रबिन्द्र प्रधानले यातायात मजदुर, इँटा भट्टा, बालुवा तथा माटो खानी, श्रम क्षेत्रमा अपराधका घट्ना बढी हुने गरेको बताउदै अधिकार प्रयोगका नाममा छाडा र दुरुपयोग भइरहेको औल्याउनु भयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष नारायण न्यौपानेले अपराध नियन्त्रणमा गैससले अभियान नै सञ्चालन गरेको बताउनु भयो । नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार एवं पूर्वअध्यक्ष पुष्करराज बुढाथोकीले अपराधको मुख्य कारक तत्वको खोजीलाई त्यसलाई जरैदेखि उखेल्नु पर्ने बताउनु भयो ।

त्यसअवसरमा गैसस महासंघका कोषाध्यक्ष पहलमान श्रेष्ठ, मानव अधिकारकर्मी युवराज घिमिरे, सिविसका महासचिव अनिता पाण्डे, पत्रकार रामचन्द्र प्रजापति , गैससकी सीता अधिकारी, इन्सेकका भक्तपुर सहजकर्ता राजु मंग्रान्ती, मानव अधिकार समूहका अध्यक्ष बच्चुराम न्यौपानेलगायतले मानव अधिकारको वर्तमान् अबस्थाकाबारेमा चर्चा गर्नु भएको थियो ।

एकीकृत समाजवादीको राष्ट्रिय भेला तीन नेताको बहिष्कार

काठमाडौं १३ असार । सत्तारुढ नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक जारी छ। सोमबार र मंगलबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित परिषदको बैठकमा सहभागी हुन देशभरबाट प्रतिनिधि उपस्थित भएका छन्।

प्रज्ञा भवनमा सोमबारदेखि सुरु केन्द्रीय परिषदको बैठकमा समूहगत छलफल सुरु भएको छ। पहिलो दिनको बैठकमा प्रदेशगत रुपमा ११ वटा समूह निर्माण गरी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ‘राजनीतिक तथा सांगठनिक प्रतिवेदन’माथि छलफल सुरु भएको छ।समूहगत छलफलबाट आएका निष्कर्षसहित मंगलबार बस्ने बैठकमा थप छलफल गरेर अध्यक्षले बैठक समापन गर्ने एकीकृत समाजवादीले बताएको छ।

मन्त्रीबाट बिदा ३ नेता अनुपस्थित
केन्द्रीय परिषद बैठकमा आइतबारमात्र मन्त्री पदबाट बिदा भएका ३ जना निवर्तमान मन्त्री अनुपस्थित भए। देशभरका प्रतिनिधिहरू उत्साहित हुँदै बैठकमा उपस्थित हुँदा काठमाडौंमै रहेका उनीहरु भने बैठकमा देखिएनन्।

निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ बैठकमा उपस्थित भएनन्। पार्टीले पूर्व जानकारी नगराई निर्णय गरेको भन्दै असन्तुष्ट भएर सरकारबाट बाहिरिन आनाकानी गरेका उनीहरु केन्द्रीय परिषद् बैठकमा उपस्थित नहुनु अर्थपूर्ण भएको चर्चा बैठकस्थल भित्रै चलेको थियो।

ढिलो पुगेकी रामकुमारी निराश
शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट आइतवार मात्रै राजीनामा घोषणा गरेकी नेतृ रामकुमारी झाँक्री भने बैठकस्थलमा ढिलागरी उपस्थित भएकी थिइन्।

झाँक्री पुग्दा अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरिरहेका थिए। मन्त्री पदबाट राजीनामा दिँदै गर्दा रामकुमारीले सिंहदरबारमा बगाएको आँसुको चर्चा समाजवादीको बैठकस्थलमा आज पनि चल्दै थियो।

बैठकस्थलमा पुग्दै गर्दा उनको अनुहारमा उत्साह थिएन। केही बेचैनी र उदासीनतासहित उपस्थित भएकी झाँक्री बैठकमा पुगेसँगै मोबाइलमा ब्यस्त देखिइन्।

केही कार्यकर्ता अघि–पछि लगाएर पुगेकी झाँक्रीले सुरुमा महासचिव वेदुराम भुसालसँग केही भलाकुसारी गरिन्। लगत्तै, मञ्चको पछिल्लो लाइनमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईनजिक पुगेर बसिन्।

नेपालले सम्बोधन गरिरहँदा केही कार्यकर्ता हुटिङ गरिरहेका थिए। सम्मानित नेता झलनाथ खनाल र महासचिव भुसाल भने डकुमेन्टमा काममा ब्यस्त देखिन्थे। तर, झाँक्रीले बैठक अवधिभर घोप्टो परेर मोबाइल चलाइरहिन्।

सदस्यको हातमा कालो ब्याग र फारम
केन्द्रीय परिषद् बैठकमा उपस्थित हुन आएका सबै प्रतिनिधिलाई पार्टीले एउटा कालो ब्याग उपलब्ध गराएको थियो। एक–एकवटा फारम र एउटा प्रतिवेदन राखेर सदस्यहरुलाई ब्याग उपलब्ध गराइएको थियो।

अध्यक्ष नेपालको सम्बोधन सकिएपछि महासचिव भुसालले सबै सदस्यहरुलाई उक्त ब्याग खोल्न आग्रह गरेका थिए। ब्यागभित्र भएको फारम भरेर समूहगत रुपमा उपलब्ध गराउन भुसालले आग्रह गरेका थिए।

फारममा ब्यक्तिगत विवरण भर्न आग्रह गरिएको छ। एउटा फोटोसहित सदस्यहरुलाई आफ्नो नाम, जन्म मिति, जन्म स्थान, पार्टी सदस्यता नम्बर, ठेगाना लगायतका विवरण भर्ने गरी फारम उपलब्ध गराइएको हो।

राप्रपाद्धारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना

भक्तपुर, १३ असार : राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले किसानलाई रासायनीक मल उपलब्ध गराउन माग गर्दै आज दिनभर जिल्ला कृषि विकास कार्यालय भक्तपुरमा धर्ना दिएका छन् ।

राप्रपाका सह–महामन्त्री रबिन्द्रप्रताप शाहको नेतृत्वमा केन्द्रीय सदस्य रामेश्वर थापा, जिल्ला अध्यक्ष रामशरण लामिछानेसहित सयौं नेता तथा कार्यकर्ताले बिरोध र्याली प्रर्दशन गर्दै धर्ना दिएका हुन् ।

असारमा धान रोपेर खेती गर्ने बेलामा रासायनीक मल नदिएको भन्दै सल्लाघारीबाट सुरु भएको बिरोध र्याली सूर्यविनायकस्थित कृषि बिकास कार्यालय अगाडि धर्ना दिएर बिरोध प्रर्दशन गरेको थियो ।

कार्यक्रममा सह–महामन्त्री शाहले तत्काल किसानका लागि मलको व्यबस्था गर्न माग गर्नु भयो । असार आउदै छ भन्ने सरकारलाई थाहा नभएको होइन भन्दै उहाँले हरेक वर्ष खेती गर्ने बेलामा मलको हाहाकार हुँदा उत्पादनमा असर परेको भन्दै मल उपलब्ध गराउनु पर्ने बताउनु भयो ।

 

शोभा प्रधान बिजुक्छेँको शवयात्रामा हजारौको भीड, सिंगो भक्तपुर शोकमा डुब्यो

भक्तपुर, १० असार : मुसुक्क मुस्कान, उज्यालो अनि हसिलो मुहार देखिएको शोभा प्रधान बिजुक्छँेको सुन्दर तस्विर अंकित प्ले कार्ड हातमा बोकेर अन्तिम बिदाईमा आएका भक्तपुरवासीको आँखा दिनभर रसाई रहयो । भक्तपुर नगरपालिका–१ दूधपाटी पिपलबोटको आँडमा आज दिउँसो १ बजे अगाडिनै हजारौ भक्तपुरवासीको भीडमा अधिकांशको आँखा रसाएका थिए ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको जीवनसङ्गीनी, नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय कोषाध्यक्ष एवम् नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय सदस्य शोभा प्रधानको शवयात्रा आज दिउँसो १ बजे हुने भएपछि शवयात्रामा सहभागि हुन हजारौ महिला पुरुषहरुको उपस्थिति रहेको थियो ।

क्यान्सर रोगसँग परास्त भएपछि गत ८ गते नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा निधन हुनु भएकी शोभा पार्टी अध्यक्षको पत्नी भएर मात्रै होइन, एक कुशल शिक्षिका र महिला आन्दोलनकी नेतृ भएर पनि त्यहाँ हजारौ भक्तपुरवासी अन्तिम विदाई गर्न भेला भएका थिए । त्यो भीडमा कयौ पार्टी कार्यकर्ता, कयौ विद्यार्थी र शिक्षकहरुको आँखामा आँसु टिल्पिलाएको देख्दा लाग्थ्यो, आजको यो प्रहरमा सिंगो भक्तपुर रोइरहेको छ, सिंगो भक्तपुर शोकमा डुबेको छ ।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँले फूल, मालाले अन्तिम श्रद्धाञ्जली अर्पण गर्दा शोभा प्रधानलाई धेरै नजिकबाट बुझ्नेहरु मात्र हैन्, उहाँलाई चिन्नेहरु, उहाँले शिक्षा दिएका विद्यार्थीहरु, उहाँले महिला अधिकारका सवालमा दिएका सयौँ प्रशिक्षणमा सहभागि महिलाहरु शवयात्रामा सहभागि हजारौको आँखा रसाएका थिए, भाव व्हिल भएका थिए । पार्टीको तर्फबाट सचिव प्रेम सुवालले प्रधानको मृत शरीरमा पार्टीको झन्डा ओढाउन भएको थियो ।

अन्तिम विदाई यात्रामा उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै उपस्थिति पार्टीका नेताहरुले उहाँको सम्मानमा शिर झु्काउँदा, पुष्प गुच्छा अर्पण गर्दा सहभागिहरु निक्कै भावुक बनेका थिए । अन्तिम विदाईमा आएकाहरु स्तब्ध थिए । कयौको मुखबाट वाक्य फुटेको थिएन, आँखाबाट आँसु रोकिएको थिएन । कयौँ महिलाले पछ्यौराले आँसु पुछिरहे, कतिले आँसु लुकाउन खोजे तर सकेनन् ।

भावव्हिल वातावरणमा भएको श्रद्धाञ्जलि सभा पछि सुरु भएको शवयात्रा दूधपाटीबाट भार्वाचो, नासमना, टौमढी, सुकुलढोका, तचपाल, च्याह्मासिंह हुँदै हनुमानघाटसम्म पुग्दा त्यो भीड बढ्दो थियो । लाग्थ्यो उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न, उहाँको अन्तिम विदाई गर्न सिंगो भक्तपुर उल्टिएको थियो । हनुमानघाँट र त्यहाँ आसपासका क्षेत्र मानिसहरुको भीडले खचाखच भरिएको थियो ।

हनुमानघाँटमा प्रधानको अन्तिम विदाई गर्दाको क्षणमा मानवीय आँखा मात्रै होइन, प्रकृतिनै रोएको थियो । त्यहीँ बेलामा परेको पानीमा रुझ्दै हजारौ सहभागिहरु नडगमगाई पानीमा भिज्दै बसिरहेका थिए ।

बिजुक्छेँका दुई छोराहरु सुवेग र सुवान बिजुक्छेंले दागबत्ती दिएर अन्तिम विदाई गर्दा सहभागिहरुको रुवाई देख्ने जोकोहीको खाँखा रसाएका थिए । नेपाल मजदुर किसान पार्टी, नेपाल क्रान्तिकारी महिला संघ र नेपाल क्रान्तिकारी शिक्षक संघले उहाँप्रति सम्मान, स्मरण र श्रद्धाञ्जलि अर्पण गर्दै शवयात्रामा संघको झण्डा आधा झुकाइएको थियो ।

२३ वर्ष अघि स्तन क्यान्सर भई पूर्णरूपमा निको हुनुभएका शोभा प्रधान पुनः २०७४ सालदेखि पाठेघर क्यान्सरबाट पीडित हुनुभएको थियो । नेपाल क्यान्सर अस्पतालमा नियमितरूपमा उपचाररत उहाँ असार ८ गते दिनको ३ः४५ बजे निधन हुनुभएको थियो ।

 

नेमकिपा अध्यक्ष बिजुक्छेँलाई पत्नी शोक

भक्तपुर, ८ असार । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नी शोक परेको छ ।
पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारका क्रममा आज अपराह्न निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईले जानकारी दिनु भयो ।

२०१७ पुस १४ गते रामेछापमा जन्मिनु भएकी शोभा प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंसँग २०४० साल मंसीर ११ गते विवाह भएको थियो । उहाँका दुई पुत्र सुवेगमान र सुभान रहेको गोसाईले जानकारी दिनु भयो ।

लामो समयदेखि शिक्षण पेशामा आवद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएर उपचार पछि निको भए पनि केही वर्ष अघि पुनः क्यान्सर देखिएपछि उपचाररत हुनुहुन्थ्यो । उहाँको अन्तिम संस्कार भने विदेशका रहेका पुत्र नेपाल आइपुगे पछि गरिने परिवार श्रोतले जानकारी दिएको छ ।

अबैध जग्गा खण्डिकरणले भोलीको पुस्ताले सराप्ने छ : नगर प्रमुख खत्री

भक्तपुर, ६ असार । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले चाँगुनारायणमा भइरहेको अबैध जग्गा खण्डिकरण एवं प्लटिङले भोलीका पुस्ताले सराप्ने बताउनु भएको छ ।

गैरसरकारी संस्था महासंघ भक्तपुर शाखा र राष्ट्रिय मानव अधिकार सञ्चार प्रतिष्ठान ललितपुरले संयुक्त रुपमा सोमबार आयोजना गरेको ‘विपद व्यबस्थापनमा स्थानीय सरकारसँग नागरिक समाजको अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

नगर प्रमुख खत्रीले भन्नुभयो, ‘हामीले हामी आफ्नै लागि विपत्ति निम्त्याउने कार्य गरिरहेका छौँ, अबैध रुपमा जग्गा खण्डिकरणले हाम्रो जिन्दगी त सहज कट्ला तर हाम्रा भोलीका पुस्ताले सराप्ने छन्, त्यसैले वस्ती विकासमा ऐन नियम, कानून बनाएर व्यबस्थित वस्ती विकास गर्नु आवश्यक छ, नागरिकलाई सचेत गर्नु आवश्यक छ ।’

चाँगुनारायण र सूर्यविनायक नगर नयाँ सहरको रुपमा विकास हुदैछ भन्दै उहाँले अहिले नै वस्ती व्यबस्थित गर्नु आवश्यक रहेको भन्दै उहाँले चाँगुनारायणले अबको ५० देखि १०० वर्ष पछाडिसम्मका लागि नगरपालिका कस्तो बनाउने भनेर सुरक्षित नगर, बस्न लागयक नगर र नमूनाको नगर बनाउने गरि दीर्घकालिन योजना ल्याउने बताउनु भयो ।

आफ्ना नगरवासीलाई बिपत्तिबाट कसरी जोगाउने र प्राकृतिक बिपत्ति आइ हाल्यो भने पनि त्यसबाट कसरी जनधनको क्षति हुन बाट रोक्ने तथा खोज तथा उद्धार र राहत वितरणको काम तत्काल गर्नेबारेमा चाँगुनारायण नगरपालिकाले पूर्ण रुपमा तयारी अबस्थामा रहेको बताउनु भयो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका नगर कार्यपालिका सदस्य सर्मिला विश्वकर्माले विपद जोखिम न्यूनकिरण गर्न सबै नगरपालिकाले योजनाबद्ध रुपमा तयारीमा लाग्नु पर्ने औल्याउनु भयो । त्यस अवसरमा नेपाल रेडक्रस सोसाईटीका महामन्त्री मनोज थापाले स्थानीय तहमा प्राृकतिक जोखिमको अबस्था, व्यबस्थापनको चुनौी, तयारी र सरकारले व्यबस्थापन गरेको नीतिलगायतका स्थानीय सरकारले चाल्नु पर्ने कदमकाबारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहका एवं निवर्तमान् अध्यक्ष पुष्करराज बुढाथोकीले सबै स्थानीय तहले आफ्नो नगरमा कस्ता विपत्तिको जोखिममा रहेको छ, त्यसको पहिचान गरि आवश्यक पूर्वतयारीमा जुटेर जनधनको क्षति हुनबाट रोक्ने गरि तयारी गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा गैसस महासंघ भक्तपुरका अध्यक्ष एवं कार्यक्रमका सभापति नारायणप्रसाद न्यौपानेले चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीलाई खादा लगाई सम्मान पत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भयो । त्यसअवसरमा राष्ट्रिय मानव अधिकार सञ्चार प्रतिष्ठानका कार्यक्रम अधिकृत मदन अधिकारीले कार्यक्रमको उदेश्य र औचित्यतामाथि प्रकाश पार्नु भएको थियो दिपेश विसुङ्खेले सहजीकरण गर्नु भएको थियो ।

गैसस महासंघ भक्तपुरका उपाध्यक्ष अनिता पाण्डेले सञ्चालन गर्नु भएको कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, गैससका बिभिन्न तहका पदाधिकारी एवं सल्लाहकार, गैससका प्रतिनिधि, पत्रकार एवं सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।