राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ११९ क्षेत्रमा विजयी, कांग्रेसले १७ क्षेत्रमा जित हासिल

काठमाडौँ, २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ११९ क्षेत्रमा विजयी भएकोे छ । आज साँझ ५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले छ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म १५५ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ ।

त्यस्तै, नेकपा (एमाले) सात स्थानमा विजयी भएको छ भने तीन स्थानमा अगाडि रहेको छ । आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट हालसम्म सात उम्मेदवार विजयी हुनुभएको छ । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयी हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी हुनुभएको छ ।

समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म ४५ लाख ३० हजार ९१३ मतगणना सम्पन्न भएको छ । त्यसमध्ये रास्वपाले २२ लाख ३९ हजार ८७०, कांग्रेसले सात लाख ६० हजार ४८५, एमालेले छ लाख ४६ हजार ७७० र नेकपाले तीन लाख चार हजार ६२, राप्रपाले एक लाख ६३ हजार १५१ र श्रम संस्कृति पार्टीले एक लाख सात हजार ३२ मत प्राप्त गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको सन्देश : लैङ्गिक समानता, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको संस्कृतिलाई अझ सुदृढ बनाउन हातेमालो गर्न आह्वान

काठमाडौँ, २४ फागुनः प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक समानता, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको संस्कृतिलाई अझ सुदृढ बनाउन हातेमालो गर्न आह्वान गर्नुभएको छ ।

अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले अझै पनि धेरै महिला गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, सम्मानजनक रोजगारी र नेतृत्व तहमा सार्थक सहभागिताबाट वञ्चित भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभएको छ, “उनीहरुलाई अझै विश्वास गरिहाल्ने र रु भन्ने मनोविज्ञान ज्युँ का त्यूँ छ । हिजो चुलाचौकामा बेहोरेको विभेद्को नयाँ स्वरुप आज कार्यस्थलमा छ ।” अब हाम्रो लक्ष्य केवल सहभागिता बढाउने मात्र होइन, अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ छ ।

“अहिले शिक्षाको विस्तार भएको छ, चेतनाको स्तर उठेको छ । त्यसैले महिला अधिकारका लागि अझ दृढताका साथ अगाडि बढिरहेका छन् । हामीले यो पनि बुझ्नुपर्छ कि सबै महिलाको अवस्था समान छैन,” सन्देशमा भनिएको छ । उहाँले समाजमा पछि परेको, विकासको मूलधारबाट वञ्चित समुदायका महिला अझै बढी प्रताडित भएको पनि उल्लेख गर्नुभएको छ । उहाँले विशेषगरी दलित महिला, कर्णालीका महिला, मधेसका महिला तथा सीमान्तकृत समुदायका महिलाको आवाज राज्यको नीति निर्माणमा अझ स्पष्ट रूपमा प्रतिविम्बित हुन आवश्यक रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री कार्कीले समानता, सशक्तीकरण र सामाजिक न्यायको आधारमा समतामूलक समाज निर्माण गर्नु आजको ऐतिहासिक दायित्व भएको र त्यो दायित्व राज्यको मात्र नभइ राजनीतिक दलहरू, नागरिक समाज, निजी क्षेत्र, सञ्चार जगत, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदारको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “जब महिलाले सम्मान, सुरक्षा र समान अवसर प्राप्त गर्नेछन्, तब मात्र लोकतन्त्र सुदृढ हुन्छ । तब मात्र संविधानको मर्म कार्यान्वयन हुन्छ । तब मात्र समृद्ध, न्यायपूर्ण र समतामूलक नेपाल निर्माण सम्भव हुन्छ ।”

उहाँले दिवसले हामी सबैमा समानता, न्याय, समावेशीता र लोकतान्त्रिक चेतनालाई अझ सशक्त बनाओस् भन्ने शुभकामना पनि गर्नुभएको छ ।
(((

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एक हजार पृष्ठको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझायो बुझायो
काठमाडौँ, २४ फागुनः प्रधानमन्त्री सुशीला कार्कीसमक्ष भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एक हजार पृष्ठको प्रतिवेदन प्रस्तुत गरेको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य हुनुहुन्थ्यो ।
प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेपछि आयोगका सदस्य शर्माले करिब २०० जनालाई सोधपुछ गरिएको र विज्ञहरुसँग पनि राय लिएर तयार गरिएको  प्रतिवेदनमा दोषीमाथि कारबाहीको सिफारिस गरिएको जानकारी दिनुभयो ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिनुभयो।
भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘कुशासनका कारण यो घटना भएको छ। नियमनकारी निकायहरूलाई विकृत पारिएको छ। न्यायपालिका, कार्यपालिका सबैतिर ढिलासुस्ती छ। न्यायाधीशदेखि संवैधानिक नियुक्तिसमेत दलीय भागबण्डामा गर्ने प्रवृत्तिले आक्रोश बढेको पाइएको छ। यो प्रतिवेदन कार्यान्वयन भएमा देशको मुहार फेरिन्छ।’
आयोगका सदस्य विज्ञानराज शर्माले यो प्रतिवेदन जाँचबुझ मात्र भएकाले अब कारबाही गर्ने निकायले अनुसन्धान गर्नुपर्ने र यसमा अनुसन्धानका लागि आधार तयार गरिदिएको बताउनुभयो।
अर्का सदस्य विश्वेश्वर भण्डारीले सुशासनका लागि के गर्ने भन्ने विषयमा प्रतिवेदनले उल्लेख गरेका कुरा कार्यान्वयन गर्न सके मुलुकको अवस्था धेरै फेरिन सक्ने बताउनुभयो।
गृहमन्त्री ओमप्रकाश अर्यालले भन्नुभयो : सुशासन भएकाले यसपटकको निर्वाचन सम्भव भयो

काठमाडौँ, २४ फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा निर्वाचन सुशासन कायम भएको बताउनुभएको छ ।

निर्वाचन आयोगको कार्यालय बहादुर भवनमा आज आयोजित निर्वाचन सुरक्षा समीक्षा  उहाँले राजनीतिक सुशासनको जग निर्वाचन सुशासन भएकाले यसपटकको निर्वाचनमा त्यो सम्भव भएको बताउनुभयो । वर्तमान सरकार फागुन २१ गते निर्वाचन गराउनैका लागि गठन भएकाले स्वच्छ र निष्पक्ष निर्वाचन गराएर कार्यभार सम्पन्न गराउने मार्गमा अघि बढेको जानकारी पनि गृहमन्त्री अर्यालले दिनुभयो ।

“हिंसा नभई निर्वाचन सम्पन्न भएको छ, सुदृढ सुरक्षा व्यवस्थाबीच निर्वाचन गराउने दायित्व सरकारले पूरा गरेको छ, यो निर्वाचनमा अरुका नाममा मतदान पनि भएन, समयमा निर्वाचन गराउन सरकारका सबै अङ्ग समन्वयात्मक रुपमा क्रियाशील भए, गृह मन्त्रालयमा सामूहिक नेतृत्वको अभ्यास गरी निर्वाचन समन्वयात्मक रुपमा सफल भयो, केन्द्र, प्रदेश र वडा तहसम्म समन्वयात्मक एकीकृत सुरक्षा योजना अन्तर्गत काम भयो, नेतृत्वमा विकेन्द्रीकरण गरेर निर्वाचन सम्पन्न भयो”, उहाँले भन्नुभयो ।

निर्वाचन कार्यतालिका अनुसार निर्वाचन सम्पन्न गराउन आयोगले नेतृत्वदायी भूमिका खेलेकामा गृहमन्त्री अर्यालले सो अवसरमा धन्यवाद दिनुभयो ।

भक्तपुर क्षेत्र नंं २ मा समानुपातिक तर्फ पनि रास्वपा पहिलो, एकमा रास्वपाको अग्रता कायमै
भक्तपुर, २४ फागुन : भक्तपुर क्षेत्र नं.२ मा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । आज सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४३ हजार ३२२ मत ल्याएर पहिलो बनेको मतदान अधिकृत राधिका सुवालले जानकारी दिनुभयो ।
त्यस्तै नेपाली काँग्रेसले ८ हजार ७७८, नेकपा (एमाले)ले ८ हजार ३९०, नेमकिपाले ३ हजार ५२१, नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले १ हजार ९३०, राप्रपाले २ हजार ८३२, श्रम संस्कृति पार्टीले १ हजार ७५ मत प्राप्त गरेका छन् । मत परिणाम अनुसार भक्तपुर क्षेत्र नं. २ मा नेपाली काँग्रेस दोश्रो र नेकपा एमाले तेश्रो भएका छन् ।
त्यसैगरि भक्तपुर क्षेत्र नं. १ मा आज बिहान ११ बजेबाट समानुपातिक तर्फको मतगणना सुरु भएको छ । आज दिउँसो १ बजेसम्मको मत परिणाम अनुसार (रास्वपा)ले ११ हजार ७११ मत ल्याएर पहिलो बनेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम बिसीले जानकारी दिनुभयो ।
त्यस्तै नेपाली काँग्रेसले १ हजार ५६५, नेकपा (एमाले)ले १ हजार ६५, नेमकिपाले ३ हजार ६५४, नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले ३२७, राप्रपाले ७३१, श्रम संस्कृति पार्टीले १९२ मत प्राप्त गरेका छन् । क्षेत्र नं. १ मा मतगणना जारी रहेको उहाँले जानकारी दिनुभयो ।
रास्वपाका राजिब भक्तपुर क्षेत्र न. २ मा विजयी
भक्तपुर, २३ फागुन : भक्तपुरको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजिब खत्रीले ३१ हजार ३३८ मतको मतान्तारले विजयी हुनु भएको छ ।
भक्तपुर क्षेत्र नं.२ मा रास्वपाका खत्रीले ४२ हजार ३३४ को फराकिलो मत प्राप्त गरि विजयी हुनु भएको र उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका महेश बस्नेतले १० हजार ९९६ मत प्राप्त गर्नु भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम विसीले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका करिब राणाको ८ हजार ४०१ मत प्राप्त गर्नु भएको छ । भक्तपुर क्षेत्र नं. २ मा ९८ हजार ३५६ मतदाता रहेकोमा ७२ हजार ७६१ मत खसेको थियो ।
नेमकिपाका प्रेम सुवाललाई पाँच हजार २८९ मतान्तरले पछाडि पार्दै विजयी भए रास्वपाका रुकेश रंजित, भक्तपुरमा रचेँ पहिलो ईतिहास
भक्तपुर, २३ फागुन : भक्तपुरको निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मदवार रुकेश रंजित विजयी हुनु भएको छ । अन्तिम मतपरिणाम अनुसार रञ्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दै विजयी हुनु भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अिधकारी भिम विसीले जानकारी दिनुभयो ।
रंजितका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गर्नु भएको छ । यसअघिको निर्वाचनमा ३२ हजार मतान्तरले विजयी हासिल गर्नु भएको प्रेम सुवालले यस पटकको निर्वाचनमा भने ५ हजार २८९ मतान्तरले पछाडि पर्नु भएको हो ।
२०४८ सालदेखि आफ्नो विरासतको रुपमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले विजयी हासिल गर्दै आएको यस क्षेत्रमा यस पटक भने परिणाम फेरिएको छ । रास्वपाका रंजितले ३५ वर्षदेखि भक्तपुरमा एकछत्र राज गर्दै आएको नेमकिपाको बिरासत भत्काएर ऐतिहासिकता रचेका छन् ।
अन्तिम नतिजा आएपछि रास्वपाका रंजितले भन्नुभयो, “हामी भक्तपुर नगरपालिकाका बासिन्दा यहाँ भित्रको अबस्था हामीले भोगेका छौं, यहाँ भित्रको जटिल अबस्थालाई परिवर्तन गर्न मेरो बुबाले ठूलो संघर्ष गर्नु भएको छ, उहाँको त्याग र बलिदानलाई यतिखेर सम्झन चाहन्छु, मेरो बुबाको सपना साकार भएको छ, अब भक्तपुरका जनता उकुसमुकुस भएर स्वतन्त्र हुनुभएको छ ।’
नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ र नेकपा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत प्राप्त गर्नु भएको जानकारी दिनुभयो । आजै समानुपातिकको मत गणना सुरु गरिने सूचना अधिकारी विसीले जानकारी दिनुभयो ।
भक्तपुरमा आज बिहान ७ बजेदेखि प्रतिनिधि निर्वाचन शान्तिपूर्ण रुपमा सुरु
भक्तपुर, २१ फागुन : भक्तपुरमा आज बिहान ७ बजेदेखि प्रतिनिधि निर्वाचन शान्तिपूर्ण रुपमा सुरु भएको छ । जिल्लाका दुबै निर्वाचन क्षेत्रका मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिनुभयो ।
भक्तपुरका दुई वटा निर्वाचन क्षेत्रमा मध्ये १ नं. क्षेत्रमा ३७ मतदान स्थल र ११९ मतदान केन्द्र रहेका छन् । पुरुष भन्दा महिला मतदाता बढी रहेको क्षेत्र नं. १ मा ५२ हजार ६६ पुरुष मतदाता र ५४ हजार ९८८ महिला मतदाता गरि कूल एक लाख सात हजार ५४ जना मतदाता रहेका छन् ।
त्यसैगरि भक्तपुर क्षेत्र नं. २ मा रहेको ३९ मतदान स्थलमा ११४ वटा मतदान केन्द्र रहेको छन् । पुरुष भन्दा महिला मतदाता बढी रहेको यस क्षेत्रमा ४८ हजार ०७४ जना पुरुष मतदाता र ५० हजार २७७ महिला मतदाता तथा अन्य पाँच गरि कूल ९८ हजार ३५६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख प्रकाश मगरले जानकारी दिनुभयो ।
क्षेत्र नं. १ मा  बिभिन्न राजनीतिक दलबाट १६  र स्वतन्त्रबाट ९ गरि २५ जना उम्मेदवार रहेकोमा ३ जना महिला उम्मेदवार रहेका छन् भने क्षेत्र नं. २ मा विभिन्न राजनीतिक दलबाट १७, स्वतन्त्र १५ गरि कूल ३२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ेती मध्य ६ जना महिला उम्मेदवार रहेको मगरले जानकारी दिनुभयो ।
जिल्लाका प्रत्येक निर्वाचन केन्द्रमा छ जना कर्मचारी र तीनजना स्वयंसेवक खटाइएको तथा जिल्लामा एक हजार ४००  कर्मचारी, ७०० स्वयंसेवक, तीन हजार २०० सुरक्षाकर्मी खटाइएको भक्तपरका प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । बिहानैबाट मतदान केन्द्र पुगेका मतदाताले उत्साहित भएर मतदान गरेका छन् भने मतदान गर्न उत्साहित हुदै मतदान केन्द्र पुग्नेको भीड लाग्न थालेको छ ।
एमाले अध्यक्ष ओलीदेखि विजुक्छेंसम्मले मतदान गर्दै ः
भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ११ः३० बजे मतदान गर्नु हुने भएको छ ।
त्यसैगरि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले भने विहान ११ बजे विद्यार्थी निकेतन मावि मतदान केन्द्रबाट मतदान गर्ने हुनुभएको छ ।  एमालेका केन्द्रीय सचिव
महेश बस्नेतले गुण्डुस्थित भैरवी निमावि मतदान केन्द्रबाट विहान ११ बजे मतदान गर्ने जानकारी दिनुभएको छ ।
मतदानलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षा व्यबस्था कडा पारिएको छ । मतदान गर्न पहिचान खुल्ने ६ वटा मध्ये एउटा परिचय पत्र लिएर जान सक्ने निर्वाचन आयोगले जनाएको छ ।
मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रतिमध्ये कुनै एकले मतदान गर्न पाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।
एस.एल.आर. इन्सास राईफल, चार राउण्ड गोलीसहित सेढाई पक्राउ
भक्तपुर, १९ फागुन : निर्वाचन नजिकिदै गर्दा आज प्रहरीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियार, चार राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शसस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको बिशेष टोलीले आज गोरखा पालुङटार नगरपालिका–९ घरभई हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोल बस्ने ३१ वर्षीय  आयन सेढाईलाई प्रहरीले बस्दै आएको घरबाट पक्राउ गरेको हो ।
सेढाईको कोठा साथबाट प्रहरीले ‘ए ८८९६’ नम्बरको एस.एल.आर. इन्सास राईफल एक थान, राईफलको ४ राउण्ड गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो ।
प्रहरीले सेढाईको कोठामा छापामारी प्लास्टिक एक राउण्ड, सटगनमा लाग्ने एक राउण्ड गोली, खुकुरी एक थान, खुकुरीको दाप दुई थान, बञ्चरो एक थान र लागू औषधमा प्रयोग गर्ने सिरिन्ज पाँच थान बरामद गरेको उहाँले जानकारी दिनुभयो ।
शसस्त्र प्रहरीको सादा पोशाकमा खटिएका प्रहरीले केही महिनादेखि सेढाईको गतिबिधि प्रति निगरानी गरेको, सेढाईले स्थानीयलाई पटक पटक धम्की दिदै आएको, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी बृत्त जगाती भक्तपुरबाट लुटेको हतियार भएको पाईएको ।  प्रहरी बृत्त जगातीको हिरासतमा राखी सेढाईमाथि थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
एमाले प्रवेश गर्ने राप्रपाको टिमलाई महेश बस्नेतले गरे स्वागत
भक्तपुर, १४ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कामध्यपुरथिमि नगर समितिका पूर्व अध्यक्ष भुवन वागको नेतृत्वमा नगर पदाधिकारीहरुसहितको राप्रपा टिम नेकपा (एमाले) प्रवेश गरेका छन् ।
मध्यपुरथिमिमा बुधबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा राप्रपाका पूर्व अध्यक्ष वागको नेतृत्वमा नगर कोषाध्यक्ष शलिम पुजारी, नगर सचिव मानबहादुर राजवाहकसहित २५ सदस्यीय पुरै नगर समिति एमालेमा प्रवेश गरेको हो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव एवं आसन्न २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका भक्तपुर क्षेत्र नं.२ का एमाले उम्मेदवार महेश बस्नेतले राप्रपाको टिमलाई एमाले प्रवास गराउनु भएको हो ।
एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष किरण थापालगायत नेतृत्व सहभागि पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय सचिव महेश बस्नेतले भक्तपुरको विकास, मध्यपुर थिमिमा पर्यटन प्रवद्र्धन गर्न, युवा रोजगारीलगायत विकास र समृद्धिको लक्ष्य पुरा गर्न आउने युवाहरुलाई एमालेमा स्वागत गर्नु भयो ।
कार्यक्रममा एमाले अध्यक्ष बचन देउजा र उपाध्यक्ष किरण थापाले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार महेश बस्नेतलाई निर्वाचित गराउन राप्रपामा नेतृत्व तहमा रहेर लामो समय काम गर्ने टिमलाई एमालेमा स्वागत गरेको बताउनुभयो ।
राप्रपाबाट एमालेमा प्रवेश गरेका भुवन वागले भक्तपरको विकासका लागि एमाले नेता महेश बस्नेतको जीत सुनिश्चित गर्नु आवश्यक रहेको बताउदै विकास र समृद्धिका नायक भएकाले एमाले प्रवेश गरेर आउँदो निर्वाचनमा महेश बस्नेतलाई निर्वाचित गराउन लाग्ने बताएका छन् ।