पाँच करोड २० लाख बैना लिएर व्यक्तिको जग्गा किर्ते गरि सरकारी जग्गासमेत बिक्री गर्न खोज्ने गिरोहका दुई पक्राउ

भक्तपुर, १४ जेठ : सार्वजनिक जग्गा सहित व्यक्तिको जग्गा किर्ते गरि बिक्री गर्न पाँच करोड २० लाख रुपैया बैना लिएर ठगि गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले चाँगुनारायण नगरपालिका–७ का ७२ को केशवप्रसाद अधिकारीलाई कमलविनायकबाट र भक्तपुर नगरपालिका–८ बस्ने ईश्वर गाईजुलाई भक्तपुरस्थित मालपोत कार्यालयको गेटबाट पक्राउ गरि महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तपुर जिल्ला कोषाध्यक्षसमेत रहेका अधिकारी र गाईजू बाहेक यस घट्नामा अन्य व्यक्तिको समेत संलग्नता रहेको हुनसक्ने स्थानीय र पीडितको भनाइ छ ।

खोटाङ बुईपा–३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी न.पा–१४ बस्ने धनिराम राई समेतको जाहेरीका आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरि प्रहरी परिसर भक्तपुरलाई बुझाएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू केसीले महाशाखाले पक्राउ परेका व्यक्ति र मिसिल भक्तपुर परिसरलाई बुझाएको बताउदै भक्तपुर प्रहरीले आजैबाट थप अनुसन्धान गरि कानूनी प्रक्रिया अगाडि बढाउने बताउनु भयो ।

पक्राउ परेका अधिकारी र गाईजुले भक्तपुर साविक सुडाल गा.वि.स–४ ‘क’ मा रहेको बिभिन्न कित्ता नम्बरका अरुकै नामको जग्गा सम्बन्धित जग्गा धनीसंग अनुमती नलिई अनुमती लिएको छौ भन्दै झुक्याएको र त्यसंगै रहेको कि.नं. ३९९ को ०–४–०–० क्षेत्रफल सरकारी जग्गा समेत बिक्री गर्न करारनामा गरी बैना बापत रु. ५ करोड २० लाख रुपैयाँ लिएर ठगी गरेको अभियोग छ । प्रहरी नायब उपरीक्षक केसीले प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गर्ने बताउनु भयो ।

यद्यपी यस घट्नामा अधिकारी र गाइजूको मात्रै संलग्नता नरही अन्यको समेत मिलेमतो रहेको हुनसक्ने भएकाले प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गर्नु पर्ने पीडित पक्षले माग गरेका छन् । यस घट्नामा अन्य व्यक्तिसमेतको संलग्नता रहने अबस्था देखेपछि पक्राउ परेकालाई छुटाएर घट्नालाई साम्य बनाउन केही राजनीतिक दलका नेताहरु सक्रिय रहेको पीडित पक्षले आरोप लगाएका छन् ।

सर्वोच्चको फैसला : श्रीमतीको हत्या गर्ने कोइरालालाई जन्मकैद

काठमाडौँ, १२ जेठ : सर्वोच्च अदालतले श्रीमतीको हत्या गेरेर जेल परेका सशस्त्र प्रहरीका तत्कालीन नायब महानिरीक्षक (डीआइजी) रञ्जन कोइरालालाई जन्मकैद (२० वर्ष) जेल सजाय हुने फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टङ्कबहादुर मोक्तान र डा कुमार चुडालको पूर्ण इजलासले आज कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनको फैसलालाई सदर गर्दै उक्त फैसला सुनाएको हो । यसअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलालाई उल्टयाउँदै जन्मकैदको जेल सजाय हुने फैसला गरेको हो । राणा र केसी इजलासले श्रीमती हत्या अभियोगमा सजाय काट्दै आएका कोइरालालाई कैद छुट दिँदै २० वर्षको जन्मकैदलाई साढे आठ वर्षमा झार्ने फैसला गरेको थियो ।

अदाललते उक्त फैसलालाई उल्टयाउँदै कोइरालालाई जन्मकैद हुने फैसला गरेको हो । यसअघिको अदालतलको आदेशसँगै कोइराला साढे आठ वर्ष कैद भुक्तान सकेर घर फर्किएका थिए । आजको अदालतको फैसलापछि अब कोइराललो साढे ११ वर्ष कैद भुक्तान गर्नुपर्ने छ । निलम्बित प्रधानन्यायाधीश राणा र तेजबहादुर केसीको इजलासले २०७७ असार १५ गते कोइरालालाई ११ वर्ष छ महिना छुट दिने फैसला सुनाएको थियो । कोइरालाले श्रीमती गीता ढकाललाई जलाएको स्वीकार गरे पनि सजायमा कानूनसम्मत नगरी छुट दिएको विषयमा सर्वत्र विरोध भएको थियो । उक्त फैसला विवादमा परेपछि सरकारले विसं २०७७ साउन ११ गते पुनरावेदन दर्ता गरेको थियो । सोही साउन १२ गते नै सर्वोच्च अदालतले सो निवेदनमा सुनुवाइका लागि निस्सा प्रदान गरेको थियो ।

यसअघिको फैसलामा कोइरालाको श्रीमती गीताको मृत्युपछि दुई नाबालक छोराको हेरचाह, संरक्षण एवं शिक्षादीक्षा लगायतका कार्य अभिभावक विहीनताको कारणले अनिश्चय र अन्योल हुन गई उनीहरुको हितमा दूरगामी प्रभाव पर्न जाने कारणले जन्मकैदको सजाय गर्दा चर्को पर्न जानेजस्तो चित्तमा लागेको हुँदा फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १७ (क) बमोजिम कैद गर्दा कोइरालालाई आठ वर्ष छ महिना कैद हुने ठहर गरिएको थियो । “मकवानपुरको मेत्राङमा पाइएको अस्थिपञ्जर गीता ढकालकै रहेछ र निजलाई मृत्युपश्चात् जलाइएको रहेछ भन्ने कुरा प्रमाणित हुन आई मिसिलमा जेजस्ता दशी प्रमाणहरू मौजुद छन्”, फैसलामा भनिएको थियो, “तिनको समग्रमा अध्ययन र विश्लेषण गरी हेर्दा रञ्जनप्रसाद कोइराला निर्दोष भन्न सकिने अवस्था देखिएन ।”

फैसलामा प्रमाणहरुको मूल्याङ्कन गर्दा मृतक गीता ढकालको मृत्यु कोइरालाबाटै भएको र दोषी ठहर भए पनि सर्वश्वसहित जन्मकैदलाई छुट दिएर साढे आठ वर्ष मात्र सजाय हुने पूर्णपाठमा थियो । घटना हुनुको मुख्य कारण ः तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआइजी) कोइराला र श्रीमती गीता ढकाल सम्बन्ध राम्रो नभएपछि छुट्टाछुट्टै बस्दै आएका थिए । दुई छोराहरु एक बाबुसँग र एक आमासँग बस्दै आएका थिए । छोरी (गीता) बेपत्ता भएपछि माइती पक्षले खोजी गर्दै हनुमान ढोकामा उजुरी दर्ता गराएका थिए ।

विसं २०६८ पुस २८ गते बिहान मकवानपुरको पालुङमा एउटा शव ७० प्रतिशत जलेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त घटनामा कोइरालाको संलग्न भएको आशङ्कामा प्रहरीले कोइरालालाई प्रक्राउ गर्यो । प्रहरीको अनुसन्धानमा रञ्जनले घरमै गीताको हत्या कपडाले घाँटी थिचेर गरेको पत्ता लगेको थियो । कोइरालाले हत्यापछि प्रमाण नष्ट गर्न शवलाई गाडीमा हालेर पालुङ लगेको र जलाउनका लागि पेट्रोल पनि घरबाटै लिएर गएको, राति जङ्गल छेउमा गाडी रोकेर लास जलाएको र पूर्णरुपमा जलिनसक्दै फर्किएको पत्ता लागेको थियो । सर्वोच्च अदाललते उक्त घटनामा यसअघि कैद सजाय छुट हुने फैसलालाई उल्टाउँदै जन्मकैद सजाय हुने फैसला गरेको हो ।

भोट किन्न राती गुण्डु पुगेर भोज खाइरहेका कांग्रेस नेता परे जनताको घेराबन्दीमा

भक्तपुर । सुर्यबिनायक नगरपालिका ७ गुण्डुका जनतालाई पैसा बाड्न र प्रलोभन दिदै हिडेका कांग्रेसका वडा अध्यक्षका उम्मेदवार हरि खडका, क्षेत्रीय सभापति भेषबहादुर कार्की र जिल्ला सचिब शुशिल बस्नेत सहितको टोलीलाई जनताले राती १० बजे घेराबन्दीमा पारेका छन् ।

कांग्रेसको उक्त टोलीले ३ वटा गाडी र २० वटा मोटरसाइकलमा मतदाताको भोट किन्न राति साँडे १० बजे धोबिखोला स्थित पिपल डाँडामा भोज खाइरहदा स्थानियको घेरामा परेका हुन् । एमालेका प्रभावाली नेता महेश बस्नेतको घर भएको र एमालेको लालकिल्ला मानिएको त्यस क्षेत्रमा कांग्रेसले निर्वाचन आचार संहिता विपरित गरेको उक्त कार्यको स्थानीय जनताले घोर बिरोध गरेका छन् ।

राती १० बजे उनीहरुलाई घ्याम्पेडाँडा, खहरे र अन्तलिङ्गेश्वरबाट स्थानियले घेरा हालेपछि गुण्डु क्षेत्र राति ३ बजे सम्म तनाब ग्रस्त बनेको स्थानीयले बताएका छन् । राति नै कांग्रेस जिल्ला सभापति दुर्लभ थापा निकै अत्तालिदै प्रधान्मन्त्री देउवा र बाल्कृष्ण खाँडसंग सहयोग मागे पछि मध्यराती १ बजे डिएसपीको नेतृत्वको जनपथ, सशस्त्र र सेनाको टोली घटना स्थलमा पुगेर आक्रोसित स्थानीयलाई सम्झाएर राती नै काग्रेस नेता कर्यकर्ताको उद्धार गरेको स्थानीयले जानकारी दिएका छन् ।

अहिलेसम्मका विगतमा निर्वाचनमा शान्तिपुर्ण ढंगले निर्बाचन हुने भक्तपुरमा हिजो पनि बिरामी हेरेर फर्कने क्रममा सूर्यबिनायक–५ कटुन्जेमा एमाले अध्यक्ष उम्मेदवार रहेका राजकुमार जोशी र सद्स्य उम्मेदवार मनोज थापा समेतलाई कांग्रेस नेता कार्यकर्ताले दुव्र्यबहार गरि हात पात गरेका थिए ।

अघिल्ला निर्बाचनमा समेत संबेदनशिल ठानिएका बालकोटको गणेश प्राबि र महेन्द्रशान्ति मतदान केन्द्र एवं कटुन्जेको वार्ड कार्यालय, शुसिला भैरब मतदान केन्द्रमा कांग्रेसले कुने हर्कत गर्यो भने एमालेको बलियो पकड भएको सिरुटार दधिकोट गुण्डु सिपाडोल चित्तपोल नंखेलमा रहेका १२ वटा केन्द्रमा समस्या हुन सक्ने बताइएको छ । प्रशासनले सबैतिर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्ने वातावरण मिलाउन र शान्निपूर्ण निर्वाचन सम्पन्न गराउन एमाले भक्तपुरले आव्हान गरेको छ ।

बिरामी भेटन गएका एमाले उम्मेदवारलाई काँग्रेस कार्यकर्ताद्धारा आक्रमण

भक्तपुर, २९ बैशाख । मोटरसाइकल दुर्घटना परेर घाइते भएका पार्टीको कार्यकर्तालाई भेट्न जादै गरेका एमालेका उम्मेदवारलाई काँग्रेस कार्यकर्ताले आक्रमण गरि कुटपिट गरेका छन् । नेकपा एमालेको तर्फबाट सूर्यबिनायक नगरपालिका वडा न. ५ का वडा अध्यक्षका उम्मेदवार राजकुमार जोशी र वडा सदस्यको उम्मेदवार मनोज थापा विरामी भेट्न जादै गरेको अबस्थामा झूटो आरोप लगाउदै कुटपिट गरेर घाइते बनाएका छन् ।

निवर्तमान वडाध्यक्षसमेत रहेका जोशीले भने “हामी बैशाख २७ गते चुनदेवीमा स्कुटर दुर्घटना भई मध्यपुर अस्पतालमा उपचार गरिरहेका हाम्रो पार्टीका सदस्य सुजन त्वायनालाई भेटघाट गर्न जादै थियौं, हामी चढेको गाडीलाई गुण्डा शैलीमा ३÷४ वटा मोटरसाइकलमा आएका कांग्रेस कार्यकर्ताहरुले अपशब्द प्रयोग गरी थप व्यक्तिहरु र प्रहरीलाई बोलाई गाडी खानतलासी गरे, प्रहरीले गाडी र हाम्रो खानतलासी गर्यो, तर कुनै प्रचार सामग्री र पैसा नभेटे पछि त्यस विषयमा छलफल गरेर घर फर्कने क्रममा फेरी स्थानीय नेपाल तरुण दल भक्तपुर जिल्ला अध्यक्ष राजु थापाको भाइ पर्ने प्रदिप थापा (बटे) भन्नेले निर्वतमान न.स.स एवं हाल एमालेबाट न.स.स पदका उम्मेदवार मनोज थापालाई एक्कासी सांघातिक आक्रमण गरि कुटपिट गरे ।”

निवर्तमान वडाअध्यक्षसमेत रहनु भएका जोशीले आफूसहितको उम्मेदवारलाई काग्रेस कार्यकर्ताले झुटो आरोप लगाउदै आक्रमण गरेको र एमाले बिरुद्ध जनतालाई भ्रम फैलाउन केही सञ्चार माध्यमहरुमा ‘पैसा बाढ्न हिडेका एमालेका वडाध्यक्षका उम्मेदवार र वडा सदस्य कटुञ्जेमा नियन्त्रणमा’ भन्ने भ्रम पूर्ण समाचार सम्प्रेषण गर्न लगाएको भन्दै आपत्ति जनाएका छन् ।

नेकपा एमाले सबै खाले निर्वाचनलाई अत्यन्त शान्तिपुर्ण र सौहार्दपूर्ण तबरले सफल बनाउन प्रतिवद्ध जनाउदै निर्वाचन आचारसहिंताको पूर्णपालन गर्न र गराउन प्रतिबद्ध रहदै आएको अबस्थामा झूटो आरोप लगाउदै कांग्रेसले गाडीमै आक्रमण गरेर कुटपिट गरेको उनको भनाइ छ ।

अध्यक्षका प्रत्यासी उम्मेदवार तथा निवर्तमान वडाध्यक्ष जोशीले कांग्रेसले चुनावमा झुटको राजनीतिक फण्डामात्र मच्चाएको भन्दै काँग्रेसको योजनाबद्ध रुपमा फैलाएको भ्रममा नपर्न आम मतदाताहरुलाई हार्दिक अपिल गरेका छन् ।

यसबारेमा बुझ्दा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले मौन अवधिमा एमाले र कांग्रेस दुवै पक्ष रातको समयमा हिडेको तर एमालेका उम्मेदवारहरुले पैसा बाढेको भन्ने प्रमाण कही कतै नभेटिएको बताए । दुवै पक्षको दावी फरक फरक भएता पनि पैसा बाँढेको प्रमाण पुग्ने कुनै पनि ठोस आधार नभएको एसपी श्रेष्ठको भनाइ छ ।

कांग्रेसको आक्रमण र भ्रम फैलाउने गतिविधिलाई कडा शब्दमा खण्डन गर्दै एमाले निकट राष्ट्रिय युवा संघको युथ फोर्सका जिल्ला प्रमुख रविन थापाले कांग्रेस तथा केही मिडियाको गलत प्रयोग गरेको भन्दै समाचारलाई पुष्टी गर्न चुनौती दिए । एमाले कार्यकर्ता माथि आक्रमण गरेर कानूनी फन्दामा परिने डरले भ्रम फैलाएको भन्दै कति पैसा कुन घरमा वा गाडीमा बरामद भयो ? प्रमाण पेश गर्न र सत्यता बुझेर समाचार लेख्न चुनौती दिनु भए ।

मौन अवधिमा दुई पक्षीय झडप, बम विष्फोटसम्म

स्थानीय तह निर्वाचनको मौन अवधि वैशाख २७ मा मध्यरातदेखि शुरु भएको छ । मौन अवधिमा कुनैपनि कार्यक्रम गर्न र मत माग्न निर्वाचन आयोगले निषेध गरेको छ । तर, सो अवधिमा पनि बुधवार दिनभर झडपका घटना भइरहे ।रुपन्देहीको बुटवल उप–महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार बाबुराम भट्टराईले पैसा बाँड्न खोजेको आरोप लागेको छ ।

भट्टराई पत्नी माया भट्टराईलाई पैसा बाँड्न खोजेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । वुटवल–१२ स्थित देवीनगरको सुकुम्बासी बस्तीमा उनले पैसा बाँड्न खोजेको आरोप स्थानीयले लगाएका छन् ।

तर, उनको साथमा पैसा फेला नगरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । उनले भने–‘पैसा भेटिएको छैन, विवाद समाधान भैसक्यो ।’ पैसा बाँड्न खोजेको विवाद समाधान भएको केही घण्टामा बुटवलको मिलनचोकमा बम विष्फोट भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकस्थित सनराइज बैंक अगाडि विष्फोट भएको थियो । विष्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्युठानमा मौन अवधिमा भेला भएका सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताको बीचमा झडप भएको छ । सरुमारानी गाउँपालिका–३ मा झडप हुँदा ४ जना घाइते भएका प्युठानकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् ।

घाइते हुनेहरुमा शंकर विश्वकर्मा, टेकेन्द्र मस्याङ्गी, गुमानसिंह लम्तरी र रमेश राना छन् । घाइते मध्येका रमेश राना सत्तारुढ गठबन्धनका कार्यकर्ता हुन् । उनलाई उपचारका लागि बुटवल लगिएको छ । अरु ३ जना एमालेका कार्यकर्ता हुन् ।

उपत्यका नगरपालिका फोरमको कार्यालय चोरियो

भक्तपुर, २८ बैशाख । उपत्यका नगरपालिका फोरमको कार्यालय अज्ञात समूहले फुटाएका छन् । आज मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा रहेको फोरमको कार्यालयमा फुटाएको नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । कार्यालयको ताला फुटाएर ढोका फोडिएको, कार्यालय भित्रका दराजलगायतका फुटाएको, सामानहरु यत्रतब छरिएको अबस्थामा भेटिएको उहाँले जानकारी दिनु भयो ।

महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी निरीक्षक निर्मल थापाले चोरी गर्ने समूहले कार्यालय फुटाएको हुन सक्ने बताउनु भयो । उहाँले नगरपालिका फोरमको कार्यालय र त्यही भवनमा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पनि फुटाएको जानकारी दिनु भयो । सहकारीबाट १ हजार ८०० रुपैयाँ चोरी भएको र सोही भवनमा रहेको फोरमको कार्यालय पनि फुटाएको अबस्थामा भेटिएकोले चोरी गर्ने समूहले नै कार्यालय फुटाएको हुन सक्ने उहाँले बताउनु भयो ।

प्रहरी निरीक्षक थापाले प्रहरीको विशेष टोलीले दुबै कार्यालयको घट्नास्थलको निरीक्षण गरि भएको क्षतिको विवपरण लिएको जानकारी दिदै उहाँले घट्नाबारे अनुसन्धान भइरहेको र कार्यालय तथा सहकारी फुटाउनेको खोजी भइरहेको जानकारी दिनु भयो । प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनारायण चौधरीले प्रहरी एवं सुरक्षाकर्मी निर्वाचनको खटिएको मौका पारेर चोरी गर्ने समूह सक्रिय भएको हुन सक्ने भएकाले सबैमा सचेत रहनु समेत आव्हान गर्नु भयो ।

आलमको मुद्दा कार्की र ढुङ्गानाको इजलासमा पेसी

काठमाडौं १६पुष ।
बम विस्फोटको अभियोगमा रौतहट जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दा सर्वोच्चमा पेसी चढेको छ । आज शुक्रबार आलामको मुद्दा न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशकुमार ढुङ्गानाको इजलासमा पेसी रहेको छ । जिल्ला र उच्च अदालतले पूर्पक्षका लागि थुनामा पठाएपछि आलाम उक्त निर्णयलाई चुनौती दिँदै २०७७ असोज १२ गते सर्वोच्चमा निवेदन दिएका थिए । पछिल्लो समय प्रधानन्यायाधीशको राजीनामा माग गर्दै न्यायाधीश र कानुन व्यवासायीह आन्दोलनमा रहेका बेला आलमको मुद्दा लगातार पेसी तोकिँदै सुनुवाइ नहुँदै आएको छ । मंसिर १५ गतेदेखि गोलाप्रथाद्वारा पेसी तोकिए पनि उनको निवेदन फरक फरक न्यायाधीशको इजलासमा पेसी पर्ने र सुनुवाइ नहुने हुँदै आएको छ । आलमले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्चमा दायर गरेका थिए । २०७७ असोज १२ गते दर्ता भएको निवेदनमा उनलाई थुनामा पठाउने निर्णय बदर हुुनुपर्ने माग गरिएको छ । उनको मुद्दा यसअघि विभिन्न समयमा पेसी चढे पनि सुनुवाइ हुन सकेको छैन् । जिल्ला, उच्च अदालत हुँदै उनको मुद्दा सर्वोच्च आएको हो। आलमको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन छ। पुर्पक्षका लागि थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश र सोही आदेशलाई सदर गर्ने उच्च अदालत वीरगञ्जको आदेश खारेज हुनुपर्ने जिकीर उनको निवेदनमा गरिएको छ । कोभिड–१९ को महामारी रहेको र जेलभित्र समेत संक्रमण व्यापक भएकाले रिहाइ गर्नुपर्ने तर्क आलमको निवेदनमा गरिएको छ । आलमलाई २०७६ माघ २४ गते उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेश सदर गरेको थियो। रौतहट जिल्ला अदालतले थुनामा पठाएको आदेशविरुद्ध पुनरावेदन गर्दै आलम उच्च अदालत वीरगञ्ज पुगेका थिए । उच्चले जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामै राख्ने आदेश जारी गरेको थियो। आलम २०७६ पुस २८ गते जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पुगेका थिए । उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशीको इजलासले आलमलाई थुनामै पठाउने जिल्लाको आदेश सदर गरेको थियो। २०७६ कात्तिक २९ गते जिल्ला अदालत रौतहटले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। आलमलाई ४५ वर्ष कैद सजायको माग गर्दै सरकारी वकिलको कार्यालय रौतहटले मुद्दा दायर गरेको थियो। आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको घटनामा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने जिकिर आरोपपत्रमा गरिएको थियो। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनका बेला रौतहटको राजपुरमा भएको बम विष्फोटमा करिब २० जनाभन्दा धेरैको ज्यान गएको थियो। आलमले बनाउन लगाएको बम विष्फोट हुँदा मृत्यु भएका र घाइतेहरुलाई इटाभट्टामा जलाएर हत्या गर्न लगाइएको अभियोग प्रहरीले उनीमाथि लगाएको छ।

काठमाडौंको गागलफेदीमा एकजना युवती मृत फेला

काठमाडौं, १२ पुस ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदीमा एकजना युवती मृत अवस्थामा भेटिएकी छिन् । गागलफेदी घर भएकी ३३ वर्षीया धनमाया लामाको शव सडकबाट २० मिटर तल भेटिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिनुभयो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरी र महाशाखाका एसपी पंगेनी घटनास्थलमा पुग्नुभएको छ । युवतीको हत्या भएको आशंका गरिएको छ ।

बलात्कार गरेको आरोपमा रोल्पा नगरपालिकाका प्रशासकीय अधिृकत पक्राउ

काठमाडौं, ९ पुस ।
एक महिला प्रहरीलाई बलात्कार गरेको आरोपमा रोल्पाको रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपालकी जवान एक महिलालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो । विवाह गर्ने भनेर ती महिलासँग थापाले शारीरिक सम्पर्क गर्ने गरेको र पछि विवाह गर्न नमानेपछि ती महिला प्रहरीले बलात्कारको उजुरी हालेको स्रोतले जानकारी दिएको छ । बलात्कार गरेको कसुरमा ७ दिनको म्याद लिएर थापामाथि अनुसन्धान भइरहेको छ ।