मध्यपुरथिमि नगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेस-माओवादी गठबन्धन विजयी

भक्तपुर, १७ जेठ । मध्यपुरथिमि नगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेससहितको गठबन्धन विजयी भएको छ । आज भएको कार्यपालिकाको निर्वाचनमा २८ मत प्राप्त गरि गठबन्धन विजयी भएको मध्यपुरथिमिका सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिनु भयो ।

पाँच महिला कार्यपालिका सदस्यतर्फ कांग्रेसका उज्वला थापा श्रेष्ठ, तुइलमाया चक्रधर, शर्मिला विश्वकर्मा, सरस्वती खड्का र सीता विश्वकर्मा विजयी हुनु भएको छ । कांग्रेसबाट दलित एवं अल्पसंख्यकतर्फ जसे सार्की र सरोज परियार विजयी हुनु भएको छभने माओवादी केन्द्रबाट दलित एवं अल्पसंख्यकतर्फ बालकृष्ण परियार विजयी हुनु भएको सिलवालले जानकारी दिनु भयो ।

आठ कार्यपालिका सदस्यमध्ये कांग्रेसले सात र माओवादीले एक सदस्यमा भागबन्डा गरेका छन् । मध्यपुरथिमिमा गठबन्धनको कार्यपालिकामा एकल बहुमत पुगेको छ । विजयी कार्यपालिका सदस्यहरुलाई निर्वाचत अधिकृत मैंया कडेँलले प्रमाण पत्र प्रदान गर्नु भयो भने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सपथ सुवाउनु भयो ।

ओली निवास पुगेका बालेनलाई मतपरिणाम सार्वजनिक हुनु अगावै ओलीले दिएका थिए बधाई

काठमाडौं, १७ जेठ । काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चल्दै मेयरका प्रत्याशी बालेन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेको थाहा भएको छ । यो भेटको विवरण अहिलेसम्म दुवै पक्षले गोप्य राखेका थिए । बालेनको चुनावी टिमका सदस्य कुमार बेनले ओलीसँग भेट भएको पुष्टि गरे ।

बेनका अनुसार मतगणना सकिने अघिल्लो दिन बालेनसहितको समूह बालकोटमा पुगेको थियो । उनले भेटको विवरण चाँडै सार्वजनिक गर्ने जानकारी दिए । बालेनकै प्रस्तावमा यो भेटघाट भएको स्रोतको भनाइ छ । चुनावअघि पनि बालेन ओलीसँग भेट्न इच्छुक थिए । तर, तारतम्य मिलेको थिएन ।

बालकोटमा ओलीले सुरुमा बालेनको टिमसँग सामूहिक र त्यसपछि बालेनसँग एक्लै कुराकानी गरेको स्रोतले बतायो । समकालीन नेताहरुमा आफूहरुलाई ओलीबाटै आशा भएको बालेनले बताएको पनि स्रोतको दावी छ ।

सूर्यविनायक नगर कार्यपालिका सदस्यमा एमालेका सबै उम्मेदवार विजयी

भक्तपुर, १७ जेठ । सूर्यविनायक नगरपालिकाको नगर कार्यपालिकामा एमालेका सबै उम्मेदवार विजयी भएका छन् । सूर्यविनायक प्राणी उद्यानको कार्यालयस्थित निर्वाचत अधिकृतको कार्यालय आज भएको मतदानमा एमालेले कूल ३३ मत प्राप्त गरेर कार्यपालिकामा कार्यपालिकाका सबै सदस्यमा विजयी हासिल गरेको हो ।

कूल ५१ मत रहेकोमा एमालेले ३३ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवारले १८ मत प्राप्त गरेको नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवं नेकपा एमाले सूर्यविनायक नगर कमिटी अध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनु भयो ।

कार्यपालिका सदस्यहरु महिलातर्फ कमला पोखरल, तारा सापकोटा, शर्मिला बस्नेत, हेमा दाहाल खतिवडा, साबित्री मिश्र विजयी हुनु भएको सापकोटाले जानकारी दिनु भयो ।

त्यस्तै दलित एवं अल्पसंख्यकतर्फ सुमन परियार, प्रजुन त्रिखती, अल्पसंख्यकतर्फ सुनिल भुजेल निर्वाचित हुनु भएको छ । विजयी सदस्यहरुलाई निर्वाचत अधिकृत सरिता कुमारी खतिवडाले प्रमाणपत्र प्रदान गर्नु भयो भने नगर प्रमुख वासुदेव थापाले सपथ ग्रहण गराउनु भएको थियो ।

स्थानीय तहमा चौध हजार ४०२ महिला निर्वाचित

काठमाडौँ, १२ जेठ : स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् । सो आँकडाका आधारमा ४० दशमलव ८९ प्रतिशत हुन्छ । निर्वाचनमा ५५ हजार ६९९ महिला उम्मेदवार रहेका थिए । कूल ७५३ स्थानीय तहमा ३५ हजार २२१ पद रहेका छन् ।

निर्वाचन आयोगको सूचना प्रणालीमा आज साँझसम्म प्रविष्ट भएको परिणामअनुसार तीन वटा पालिकामा प्रमुख र उपप्रमुख दुवै जना महिला निर्वाचित हुनुभएको छ । सोमध्ये झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी र उपप्रमुखमा पुजन न्यौपाने कुँवर निर्वाचित हुनुभएको छ । राजवंशी नेपाली कांग्रेस र न्यौपाने नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएको थियो । दैलेखको भैरवी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित हुनुभएको छ । सो पालिकाको प्रमुखमा रीता शाही र उपप्रमुखमा देवी भण्डारी निर्वाचित हुनुभएको छ । दुवै जना कांग्रेसबाट उम्मेदवारी दिनुभएको थियो ।

कैलालीको लम्की–चुहा नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित हुनुभएको छ । सो नगरपालिका प्रमुखमा सुशीला शाही र उपप्रमुख पदमा जुना चौधरी निर्वाचित हुनुभएको छ । प्रमुख कांग्रेसबाट र उपप्रमुख एमालेबाट उम्मेदवारी दिनुभएको थियो । प्रदेशगत आधारमा निर्वाचित महिला प्रदेश १ मा आठ हजार १९६ उम्मेदवार भएकामा दुई हजार ४५५ जना महिला निर्वाचित हुनुभएको छ । मधेस प्रदेशमा १५ हजार ७८० उम्मेदवार रहेकामा दुई हजार ७७० जना निर्वाचित हुनुभयो । सोहीअनुसार बागमती प्रदेशमा आठ हजार ३४४ महिला उम्मेदवार रहेकामा दुई हजार ३४७ जना निर्वाचित हुनुभयो ।

गण्डकी प्रदेशमा चार हजार ६४९ महिला उम्मेदवार रहेकामा एक हजार ६२२ जना निर्वाचित हुन सफल हुनुभयो । सोहीअनुसार लुम्बिनी प्रदेशमा आठ हजार ७६७ महिला उम्मेदवार रहेकामा दुई हजार १२४ जना निर्वाचित हुन सफल हुनुभयो । आयोगको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा चार हजार ८७८ महिला उम्मेदवार रहेकामा एक हजार ५२४ जना निर्वाचित हुनुभयो । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा पाँच हजार ८५ उम्मेदवार रहेकामा एक हजार ५६० जना निर्वाचित हुनुभयो । प्रमुख पदमा महिला देशभरबाट २५ वटा पालिका प्रमुखमा महिला निर्वाचित हुनुभएको छ । आयोगको तथ्याङ्कअनुसार झापाको विर्तामोड नगरपालिका प्रमुखमा पवित्रा महतारा निर्वाचित हुनुभएको छ ।

त्यस्तै झापाकै गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी निर्वाचित हुनुभयो । मोरङको कानेपोखरी गाउँपालिका प्रमुखमा राजमति इङनाम निर्वाचित हुनुभएको छ । सोलुखुम्बुको लिखु पिके गाउँपालिका प्रमुखमा मीनादेवी कार्की निर्वाचित हुनुभएको छ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा अरुणादेवी राई विजयी हुनुभएको छ । सोही जिल्लाको हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा विमला राई निर्वाचित हुनुभयो । सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित हुनुभएको छ । सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा कल्पनाकुमारी कटुवाल निर्वाचित हुनुभयो । त्यस्तै रौतहटको ईशनाथ नगरपालिका प्रमुखमा कौशल्या देवी र सोही जिल्लाको मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी साह निर्वाचित हुनुभयो ।

सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पार्वती सुनुवार निर्वाचित हुनुभएको छ । सोही जिल्लाको सुनकोसी गाउँपालिका प्रमुखमा दीपा बोहरा दाहाल निर्वाचित हुनुभयो । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका प्रमुखमा रेणुका चौलागाईं, मकवानपुरको हेटौँडा उपमहानगरपालिका प्रमुखमा मीना लामा, चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेणु दाहाल र सोही जिल्लाको माडी नगरपालिका प्रमुखमा ताराकुमारी काजी महतो (थारु), निर्वाचित हुनुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका प्रमुखमा लक्ष्मी पाण्डे, सोही जिल्लाको सुनवल नगरपालिका प्रमुखमा विमला अर्याल, बागलुङको बडिगाड गाउँपालिका प्रमुखमा गण्डकी थापा अधिकारी निर्वाचित हुनुभएको छ । त्यस्तै पर्वतको मोदी गाउँपालिकामा हीरादेवी शर्मा निर्वाचित हुनुभएको छ । पाल्पाको बगनासकाली गाउँपालिका प्रमुखमा सरस्वती दर्लामी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्रमुखमा मोहनमाया ढकाल र अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका चलाउने निर्वाचित हुनुभयो ।

दैलेखको भैरवी गाउँपालिका प्रमुखमा रीताकुमारी शाही निर्वाचित हुनुभएको छ । सोहीअनुसार कैलालीको लम्की–चुहा नगरपालिका प्रमुखमा सुशीला शाही निर्वाचित हुनुभएको छ । आयोगको तथ्याङ्कअनुसार दलित महिला सदस्यमा १२३ स्थानीय तह खाली रहेको छ । त्यस्तै एक जना महिला सदस्य स्थानीय तहमा खाली रहेको छ । काठमाडौँ महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र बाजुराको बूढीगङ्गा नगरपालिकाको परिणाम आउन बाँकी नै रहेको छ ।

एमालेबाट नगर प्रमुखमा निर्वाचित बासुदेव थापालाई काँग्रेसका प्रत्यासी ढुङ्गेलले दिए बधाई

भक्तपुर, ५ जेठ । सूर्यविनायक नगर प्रमुखमा निर्वाचित एमालेका बासुदेव थापालाई प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसका निशान ढुङ्गेलले बधाई दिनु भएको छ । आज नगर प्रमुखमा थापा विजयी भए पछि असल संस्कारलाई अंगाल्दै ढुङ्गेलले थापाको घर मै पुगेर टीका तथा खादा लगाई बुकी दिएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।

नवनिर्वाचित थापाले ढुङ्गेलाई नगरपालिका सबै जनताको भएकाले आफू सबै जनताको पक्षमा काम गर्ने बताउनु भयो । उहाँले कुनै पनि दल, संघ, संगठन, जात, धर्म नहेरी सबै नागरिक, पार्टी कसैलाई भेदभाव नगरी समान रुपमा व्यबहार गरि विपक्षी दलसंग पनि सहयोग र सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो।

सबै मिलेर नगरपालिकाको बिकास गर्ने, सबैको सल्लाह, सुझाबमा अगाडि बढ्ने बताउनु भयो । उहाँले प्रतिस्पर्धा आजबाटै सकिएकाले अब सबै मिलेर नगरपालिकाको बिकासमा एक्यबद्धता भएर काम गर्ने बताउनु भयो ।

मेयर बासुदेव थापालाई एमाले अध्यक्ष ओलीको शुभकामना, ३ बजे सूर्यविनायकबाट विजय र्याली

भक्तपुर, ५ जेठ । सूर्यविनायक नगरपालिका क्षेत्रमा बस्दै आउनु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको प्रमुख, उपप्रमुखसहित विजयी हुने एमालेका सबै उम्मेदवारलाई बधाई तथा शुभकामना दिनु भएको छ । आज बिहान बालकोटस्थित आफ्नै निवासमा नवनिर्वाचित नगर प्रमुख बासुदेव थापा र उपप्रमुख सरिता तिमिल्सििना भट्टराईलाई उहाँले टीका तथा खादा लगाइदिएर बधाई दिनु भएको हो ।

बिजयी भए पछि ओली निवास पुग्नु भएको प्रमुख थापा र उपप्रमुख भट्टराईलाई उहाँले बधाई तथा शुभकामना दिदै सूर्यविनायकको बिकास, समृद्धि र जनताको उन्नतीका लागि कुनै कसर नराखी काम गर्न सुझाब दिनु भयो । जनताको मन जित्दै जनचाहना र आवश्यकतालाई बुझेर एमालेको सान जोगाउदै काम गर्न उहाँले शुभकामना दिनु भयो ।

त्यसैगरि आजै नेकपा एमालेले दिउँसो ३ बजे सूर्यविनायकस्थित पार्टी कार्यालयबाट विजय र्याली आयोजना गर्ने भएको छ । सूर्यविनायक पार्टी कार्यालयबाट निस्कने विजय र्याली सूर्यविनायक नगरपालिकाको सुन्दरबस्ती, पाण्डुबजार, सल्लाघारी हुदै कटुञ्जेस्थित चक्रपाणाी चोकमा पुगेर सभामा परिणत हुने भएको छ ।

एमाले युवा नेता महेश बस्नेतको निर्वाचन क्षेत्रमा प्रमुख, उपप्रमुखसहित एमालेको सानदान विजय, गठबन्धन पराजित

भक्तपुर, ५ जेठ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं भक्तपुर निर्वाचन क्षेत्र नं. २ का सांसद महेश बस्नेतको निर्वाचन क्षेत्र सूर्यविनायक नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार बासुदेव थापा विजयी हुनु भएको छ ।

यस नगर पालिकामा नेपाली कांग्रेसका उम्मेदवार निशान ढुङ्गेललाई एक हजार ५२६ मतान्तरले पराजित गर्दै थापा विजयी हुनु भएको हो । नगर प्रमुखमा एमालेका बासुदेव थापाले १४ हजार ७५८ मत प्राप्त गरि विजयी हुनु भयो भने उहाँको निकटतम प्रतिद्धन्द्धी कांग्रेसका निशान ढुङ्गेलले १३ हजार २३२ मत प्राप्त गर्नु भयो ।

त्यसै गरि उपप्रमुखमा नेकपा एमालेकै सरिता भट्टराई तिमिल्सििना विजयी हुनु भएको छ । सरिताले १४ हजार ७५८ मतका प्राप्त गरि विजयी हुनु भयो भने गठबन्धनको तर्फबाट उपप्रमुखको उम्मेदवार नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले आठ हजार ३२९ मतको मतान्तर अर्थात ६ हजार ६६१ मत प्राप्त गर्नु भयो । यस नगरपालिकामा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निकै पछाडि पार्दै मुख्य दुई दल एमाले र कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो ।

त्यस्तै यस नगरपालिकाको अन्तिम वडाको रुपमा रहेको वडा नं. १० को वडाध्यक्षमा शिवराम राउत, वडा सदस्यहरुमा विदुर देउजा, ताराबहादुर विष्ट, शर्मिला बस्नेत र राधिका मिजार विजयी हुनु भएको छ । आज बिहानै मतपरिणाम घोषणा भए पछि एमाले नेता, संघीय सांस्द एवं पूर्व मन्त्री महेश बस्नेतले निर्वाचि मेयर थापा, उपमेयर भट्टराई, वडाध्यक्ष राउतलगायत विजयी टिमलाई बधाई दिदै नगरपालिकाको बिकासमा केन्द्रीत रहेर काम गर्न शुभकामना दिनु भयो ।

सूर्यविनायक नगरपालिका क्षेत्रमा नेकपा एमालेले नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यसहित ३३ पदमा नेकपा एमालेले विजयी हासिल गरेको र नेपाली कांग्रेसले वडाध्यक्ष र सदस्य गरि १९ पदमा विजयी भएको नेकपा एमाले सूर्यविनायक नगर अध्यक्ष एवं सूर्यविनायक नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनु भयो ।

नगरपालिकामा वडा नं. १, ५, ७, ८ र १० एमालेले विजयी हासिल गरेको छ भने गठबन्धनले वडाध्यक्षमा २, ३, ४, ६ र ९ झिनो मतले विजयी हासिल गरेको छ । वडा सदस्यमा भने एमालेले वडा नं. १ मा एक सिट गुमाएको छ । त्यस्तै कांग्रेसको गढ मानिएको वडा नं. ३ मा एमालेले एक सिट ल्याउन सफल भएको छ । त्यस्तै वडा नं. ४ मा तीन जना सदस्य एमालेबाट निर्वाचित हुनुभएको छ । वडा नं. ९ मा वडाध्यक्ष बाहेक तीन सदस्य एमालेले विजयी हासिल गरेको छ । यसरी हेर्दा नगरपालिकामा एमालेको तर्फबाट मेयर र उपमेयर सहित ३३ जना जनप्रतिनिधिहरु निर्वाचित हुनुभएको छ भने गठबन्धनको तर्फबाट वडाध्यक्षसहित जम्मा १९ जना जनप्रतिनिधि निर्वाचित हुनुभएको छ । यस नगरपालिकामा अरु दलले खाता खोल्न पनि सकेनन् भने अधिकांशको जमानत जफत भएको छ ।

 

सूर्यविनायक–८ को वडाध्यक्षमा अत्याधिक मतले पुष्पराज बस्नेत विजयी, महेश बस्नेतले दिए बधाई

भक्तपुर, ४ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ८ बाट वडाध्यक्षमा एमालेका युवा नेता पुष्पराज बस्नेतले २१ सय २२ मत ल्याएर विजयी हुनु भएको छ । उहाँको प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बिदुरमान सिंह बस्नेतले ९९१ मत प्राप्त गर्नु भएको छ । वडा सदस्यहरुमा विश्वराम त्वायनाबासु, बिक्रम तामाङ, साबित्री मिश्र र अञ्जना नेपाली विजयी हुनु भएको छ ।

मत गणना सम्पन्न भएसंगै निर्वाचन अधिकृतको कार्यालय (प्राणाी उद्यान) बाट सुरु भएको विजयी र्र्याली सिपाडोलस्थित वडा कार्यालय पुगे पछि नेकपा एमाले पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभाका सांसद महेश बस्नेतले सूर्य विनायक नगरपालिका जीतको नजिक पुगेको बताउनु भयो ।

उहाँले एमालेले स्थानीय निर्वाचनलाई ठूलो पाठको रुपमा लिदै गम्भिर समिक्षा गर्ने बताउदै युवा नेतृत्वले वडामा विजयी भएकाले सिपाडोल क्षेत्रको बिकास र युवाको बिकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने बताउनु भयो ।

कार्यक्रममा निवर्तमान् वडाध्यक्ष किरण थापाले भक्तपुर जिल्लाको कर्णालीमा रहेको सिपाडोलको पार्टी भञ्याङ, नैचाल, काक्राबारी लगायतको क्षेत्रले रुप परिवर्तन गरेको भन्दै पाँच वर्षमा बिकासले ठूलो फड्को मारेकाले जनताको बिश्वासको मत आएको बताउनु भयो । एमालेले यहाँका जनताको मन जितेर मत पाउन सफल भएको भन्दै उहाँले यहाँका जनताले सूर्यलाई भोट दिएर कहिल्य पछुताउनु नपर्ने बताउनु भयो ।

उहाँले २०७४ को निर्वाचनमा पनि यहीँ वडाले मेयरको विजय सुनिश्चित गरेको र अहिलेको चुनाबमा पनि यहीको वडाले विजयी सुनिश्चित गरेर अगाडि बढाएको बताउनु भयो ।

नवनिर्वाचित वडाध्यक्ष पुष्पराज बस्नेतले आफू भन्दा ठूलाको सल्लाह, सुझाब, सबैको साथ लिएर आफ्नो वडाको विकासमा लाग्ने बताउनु भयो । वडाले नगरकै कान्छो वडाध्यक्ष पाएको बताउदै उहाँले यहाँका जनताको चाहनालाई बोकेर ठूलो मतको भारीलाई यहाँको बिकास, यहाँका जनताको समृद्धि र उन्नती दिलाएर बिसाउने बताउनु भयो ।

त्यसै गरि सूर्यबिनायक नगरपालिका वडा नं. ८ को मतगणना सम्पन्न भएसंगै नगर प्रमुखका उम्मेदवार बासुदेव थापाले अग्रता लिनु भएको छ । वडा नं. ८ सम्म आइपुग्दा नेकपा एमालेबाट मेयरका उम्मेदवार बासुदेव थापाले ११ हजार ७ मत ७५ पाउदै अग्रता लिनु भएको छ । वडा नं. ७ सम्ममा ९ हजार ७ सय ७ मतमा पछाडि पर्दै आउनु भएका थापाले वडा नं. ८ बाट कांग्रेसका उम्मेदवार निशान ढुंगेललाई पछाडि पार्दै अग्रता लिनु भएको छ ।

नेपाली काँग्रेसका मेयरका उम्मेदवार निशान ढुंगेलले वडा नं.ंं ८ मा ८ सय मत प्राप्त गर्नु भएको र उहाँको ११ हजार २ सय २७ मत प्राप्त गरि ५४८ मतले पछाडि पर्नु भएको छ । उपमेयरमा एमालेकी उम्मेदवार सरिता भट्टराईले फराकिलो मतले अग्रता लिइरहनु भएको छ । भट्टराईले ११ हजार ७ सय ९१ मत ल्याउदा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका श्याम सुन्दर बस्नेतले ५ हजार ८ सय ७५ मत प्राप्त गरि ५ हजार ९२६ को मतान्तरले पछाडि पर्नु भएको छ ।

सूर्यविनायक–१ मा एमाले विजयी 

भक्तपुर, १ जेठ : सूर्यविनायक नगरपालिका वडा नं. १ मा नेकपा एमालेका सानुकाजी कायस्थ १ हजार ३१० मतले विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्द्धी राप्रपा १ हजार १३० शेखर थापाले ८९९ मत प्राप्त गर्नु भएको थियो ।

एमालेबाट विजयी हुने वडासदस्यहरु महिलामा मञ्जु कार्की, कुमार चौलागाई, दलितमा कल्पना परियार विजयी हुनु भएको छ । वडा सदस्यमा कांग्रेसबाट घननाथ मिश्र विजयी हुनु भएको छ ।

भक्तपुर नपा–१ र ३ मा नेमकिपा विजयी

भक्तपुर, १ जेठ । भक्तपुर नगरपालिका वडा नं. १ मा २ हजार १२२ मत ल्याएर नेमकिपाका उम्मेदवार श्यामकृष्ण खत्रीसहितको प्यानल विजयी हुनु भएको छ । सदस्यहरुमा कल्पना शिल्पकार, गंगालक्ष्मी वगनु, सूर्यप्रसाद श्रेष्ठ विजयी हुनु भएको छ ।

भक्तपुर नपा वडा नं. ३ मा पनि नेमकिपाको राजकृष्ण गोराले २ हजार ४४० मत ल्याएर विजयी हुनु भएको छ । सदस्यहरुमा सुनिता अवाल, कृष्ण गोपा चगुठी र राजकुमार शिल्पकार विजयी हुनु भएको छ । भक्तपुरमा नेमकिपाले निकै फराकिलो अन्तरमा कांग्रेस र एमालेलाई पछाडि पार्दै विजयी हासिल गर्नु भएको हो । मत गणना जारी रहेको छ ।