एमाले अध्यक्ष केपी ओली, नेमकिपाका अध्यक्ष बिजुक्छेसम्म गरे मतदान (फोटो फिचर)

भक्तपुर, ३० बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकस्थित बालकोट २ मा रहेको महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट मतदान गर्नु भएको छ ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका–५ दरवार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान स्थलबाट मतदान गर्नु भएको हो ।

त्यसैगरि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पनि मतदान गर्नु भएको छ । उहाँले मध्यपुरथिमि–१ लोकन्थली उप स्वास्थ्य चौकी, निस्ट स्कुलको मतदानस्थलबाट मतदान गर्नु भएको हो ।

आजै नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभा सांसद महेश बस्नेतलेसाविक गुण्डु गाविस भवन हालको वडा कार्यालय भवन मतदान स्थलबाट मतदान गर्नु भएको हो ।

देउवाले डडेल्धुराबाट र ओलीले बालकोटबाट गरे वादप्रतिवाद

काठमाडाै, ३० वैशाख । कम बोल्ने प्रधानमन्त्री शेरबहादुर देउवा र बेलाबखत बोलिराख्ने एमाले अध्यक्ष केपी शर्मा ओलीबीच धेरै वादप्रतिवाद भएको सुनिँदैन । तर, आज चुनावका दिन उनीहरूको रोचक वादप्रतिवाद भयो ।

संयुक्त सत्ता गठबन्धन हाँकिरहेका कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा पुगेर भोट खसाल्दै सरकारले चुनावसम्बन्धी सबै भ्रम चिरेको दाबी गर्दै थिए । उनको प्रतिस्पर्धी दल एमालेका अध्यक्ष केपी ओलीले भक्तपुरबाट देउवाको टिप्पणीको जवाफ एकै छिनपछि दिएका छन् ।

देउवाले निर्वाचनविरोधी शक्तिहरूलाई समेत सहभागी गराएर ३० वैशाखमै निर्वाचन गराउनु सरकारको सफलता भएको बताएका थिए । उनले त्यसो भनेर एमालेसमेतलाई संकेत गर्न खोजेका थिए ।

उनले व्यंग्य गर्दै भनेका थिए,’चुनाव हुँदैन हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो होला ।’

गन्यापधुरास्थित असिग्राममा मतदानका लागि पुगेका प्रधानमन्त्री देउवाले भनेका थिए, ‘अहिले चुनाव भइरहेको छ । निर्वाचनविरोधी शक्तिहरू पनि आएका छन् । स्थानीय तहको समृद्धि र विकासका निम्ति यो निर्वाचन महत्त्वपूर्ण छ ।’

अनि देउवाले थपे, ‘अवाञ्छित क्रियाकलाप र तौरतरिका अपनाएर रोक्न खोजियो, हामीले चुनाव गरायौँ । आज सबैले भोट हालिरहेको देखिरहनुभएको छ ।’ के देउवाले भनेझैं ओलीली चुनाव रोक्न लागि परेका हुन् त रु महेन्द्र शान्ति स्कुलमा भोट हाल्न पुगेका एमाले अध्यक्ष ओलीलाई यही कुरा सोधियो ।

‘तपाइले नचाहे पनि शंकाकै बीचमा चुनाव गर्न सफल भएको भनी देउवाले बोलेको कुरामा तपाईंको टिप्पणी के छु भनी सञ्चारकर्मीले मतदानस्थलमा सोधेको प्रश्नमा ओलीको जवाफ थियो- ‘वैशाख ९ गते उहाँले चुनाव सारौँ भनी प्रस्ताव पठाउनुभएको थियो, मैले देशलाई यस्ता कुरा गरेर अब द्वन्द्वतिर नधकेल्नुहोस् भनेँ, अलोकतान्त्रिक बाटो नहिँड्नुहोस् भनेर अलिक राम्रैसँग खबर पठाएको थिएँ । निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि, कानुनले बाध्यता भएपछि उहाँहरू तयार भएको हो । त्यसैले गफै नगरे हुन्छ ।’

ओलीले अरु थपे, ‘मैले अहिलेसम्म यो कुरा भनेको थिइनँ । यस्ता राजनीतिक संवादका कुरा साधारणतया भनिँदैनन् । तर अब भन्दा फरक पर्दैन जस्तो लाग्यो ।’

बिरामी भेटन गएका एमाले उम्मेदवारलाई काँग्रेस कार्यकर्ताद्धारा आक्रमण

भक्तपुर, २९ बैशाख । मोटरसाइकल दुर्घटना परेर घाइते भएका पार्टीको कार्यकर्तालाई भेट्न जादै गरेका एमालेका उम्मेदवारलाई काँग्रेस कार्यकर्ताले आक्रमण गरि कुटपिट गरेका छन् । नेकपा एमालेको तर्फबाट सूर्यबिनायक नगरपालिका वडा न. ५ का वडा अध्यक्षका उम्मेदवार राजकुमार जोशी र वडा सदस्यको उम्मेदवार मनोज थापा विरामी भेट्न जादै गरेको अबस्थामा झूटो आरोप लगाउदै कुटपिट गरेर घाइते बनाएका छन् ।

निवर्तमान वडाध्यक्षसमेत रहेका जोशीले भने “हामी बैशाख २७ गते चुनदेवीमा स्कुटर दुर्घटना भई मध्यपुर अस्पतालमा उपचार गरिरहेका हाम्रो पार्टीका सदस्य सुजन त्वायनालाई भेटघाट गर्न जादै थियौं, हामी चढेको गाडीलाई गुण्डा शैलीमा ३÷४ वटा मोटरसाइकलमा आएका कांग्रेस कार्यकर्ताहरुले अपशब्द प्रयोग गरी थप व्यक्तिहरु र प्रहरीलाई बोलाई गाडी खानतलासी गरे, प्रहरीले गाडी र हाम्रो खानतलासी गर्यो, तर कुनै प्रचार सामग्री र पैसा नभेटे पछि त्यस विषयमा छलफल गरेर घर फर्कने क्रममा फेरी स्थानीय नेपाल तरुण दल भक्तपुर जिल्ला अध्यक्ष राजु थापाको भाइ पर्ने प्रदिप थापा (बटे) भन्नेले निर्वतमान न.स.स एवं हाल एमालेबाट न.स.स पदका उम्मेदवार मनोज थापालाई एक्कासी सांघातिक आक्रमण गरि कुटपिट गरे ।”

निवर्तमान वडाअध्यक्षसमेत रहनु भएका जोशीले आफूसहितको उम्मेदवारलाई काग्रेस कार्यकर्ताले झुटो आरोप लगाउदै आक्रमण गरेको र एमाले बिरुद्ध जनतालाई भ्रम फैलाउन केही सञ्चार माध्यमहरुमा ‘पैसा बाढ्न हिडेका एमालेका वडाध्यक्षका उम्मेदवार र वडा सदस्य कटुञ्जेमा नियन्त्रणमा’ भन्ने भ्रम पूर्ण समाचार सम्प्रेषण गर्न लगाएको भन्दै आपत्ति जनाएका छन् ।

नेकपा एमाले सबै खाले निर्वाचनलाई अत्यन्त शान्तिपुर्ण र सौहार्दपूर्ण तबरले सफल बनाउन प्रतिवद्ध जनाउदै निर्वाचन आचारसहिंताको पूर्णपालन गर्न र गराउन प्रतिबद्ध रहदै आएको अबस्थामा झूटो आरोप लगाउदै कांग्रेसले गाडीमै आक्रमण गरेर कुटपिट गरेको उनको भनाइ छ ।

अध्यक्षका प्रत्यासी उम्मेदवार तथा निवर्तमान वडाध्यक्ष जोशीले कांग्रेसले चुनावमा झुटको राजनीतिक फण्डामात्र मच्चाएको भन्दै काँग्रेसको योजनाबद्ध रुपमा फैलाएको भ्रममा नपर्न आम मतदाताहरुलाई हार्दिक अपिल गरेका छन् ।

यसबारेमा बुझ्दा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले मौन अवधिमा एमाले र कांग्रेस दुवै पक्ष रातको समयमा हिडेको तर एमालेका उम्मेदवारहरुले पैसा बाढेको भन्ने प्रमाण कही कतै नभेटिएको बताए । दुवै पक्षको दावी फरक फरक भएता पनि पैसा बाँढेको प्रमाण पुग्ने कुनै पनि ठोस आधार नभएको एसपी श्रेष्ठको भनाइ छ ।

कांग्रेसको आक्रमण र भ्रम फैलाउने गतिविधिलाई कडा शब्दमा खण्डन गर्दै एमाले निकट राष्ट्रिय युवा संघको युथ फोर्सका जिल्ला प्रमुख रविन थापाले कांग्रेस तथा केही मिडियाको गलत प्रयोग गरेको भन्दै समाचारलाई पुष्टी गर्न चुनौती दिए । एमाले कार्यकर्ता माथि आक्रमण गरेर कानूनी फन्दामा परिने डरले भ्रम फैलाएको भन्दै कति पैसा कुन घरमा वा गाडीमा बरामद भयो ? प्रमाण पेश गर्न र सत्यता बुझेर समाचार लेख्न चुनौती दिनु भए ।

निर्वाचनका दिन सूचना विभागको परिचय पत्र देखाएर सवारी साधन चलाउन पाइने

 काठमाडौँ २८ बैशाख : काठमाडौँ २८ बैशाख : स्थानीय निर्वाचन हुने दिन वैशाख ३० गते पत्रकारले सवारी साधन चलाउन पाउने भएका छन्। बुधबार निर्वाचन आयोग र नेपाल पत्रकार महासंघबीच सूचना विभागबाट जारी भएको परिचय पत्र देखाएर पत्रकारलाई सवारी साधन चलाउन दिने सहमति भएको हो। सूचना विभागको परिचय पत्र नभएकाको हकमा भने सम्बन्धित सञ्चार गृहको सिफारिसका आधारमा पास उपलब्ध गराउने सहमति भएको छ।

यसअघि निर्वाचन आयोगले सम्बन्धित सञ्चार गृहको सिफारिसमा निश्चित संख्यामा पत्रकारलाई पास उपलब्ध गराउने र सोही आधारमा सवारी साधन चलाउन दिने बताएको थियो। अब भने सूचना विभागको परिचय पत्र भएकाले सवारी साधन चलाउन पास लिन नपर्ने भएको छ।

मौन अवधिमा दुई पक्षीय झडप, बम विष्फोटसम्म

स्थानीय तह निर्वाचनको मौन अवधि वैशाख २७ मा मध्यरातदेखि शुरु भएको छ । मौन अवधिमा कुनैपनि कार्यक्रम गर्न र मत माग्न निर्वाचन आयोगले निषेध गरेको छ । तर, सो अवधिमा पनि बुधवार दिनभर झडपका घटना भइरहे ।रुपन्देहीको बुटवल उप–महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार बाबुराम भट्टराईले पैसा बाँड्न खोजेको आरोप लागेको छ ।

भट्टराई पत्नी माया भट्टराईलाई पैसा बाँड्न खोजेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । वुटवल–१२ स्थित देवीनगरको सुकुम्बासी बस्तीमा उनले पैसा बाँड्न खोजेको आरोप स्थानीयले लगाएका छन् ।

तर, उनको साथमा पैसा फेला नगरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । उनले भने–‘पैसा भेटिएको छैन, विवाद समाधान भैसक्यो ।’ पैसा बाँड्न खोजेको विवाद समाधान भएको केही घण्टामा बुटवलको मिलनचोकमा बम विष्फोट भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकस्थित सनराइज बैंक अगाडि विष्फोट भएको थियो । विष्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्युठानमा मौन अवधिमा भेला भएका सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताको बीचमा झडप भएको छ । सरुमारानी गाउँपालिका–३ मा झडप हुँदा ४ जना घाइते भएका प्युठानकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् ।

घाइते हुनेहरुमा शंकर विश्वकर्मा, टेकेन्द्र मस्याङ्गी, गुमानसिंह लम्तरी र रमेश राना छन् । घाइते मध्येका रमेश राना सत्तारुढ गठबन्धनका कार्यकर्ता हुन् । उनलाई उपचारका लागि बुटवल लगिएको छ । अरु ३ जना एमालेका कार्यकर्ता हुन् ।

मध्यपुरथिमिमा मतदान केन्द्रको निरिक्षण, प्रचार सामग्री हटाइयो

भक्तपुर, २८ बैशाख । स्थानीय तहको निर्वाचन आउँन दुई दिन बाँकी हुँदा बुधबार जिल्लाका बिभिन्न मतदान स्थल तथा मतदान केन्द्रहरुको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा जिल्लाका बिभिन्न ठाउँका मतदान केन्द्र एवं मतदान स्थल र मतगणना स्थलको अनुगमन गरिएको हो ।

 

मतदान स्थलको तयारी कस्तो भइरहेको छ, मतदान पछि कसरी मतपेटिका लैजाने, मतगणना स्थलको तयारी कस्तो छ, थप गर्नु पर्ने अबस्था छ कि छैन लगायतकाबारेमा अनुगमन गरिएको प्रजिअ शर्माले जानकारी दिनु भयो ।

मध्यपुरथिमिस्थित निर्वाचन अधिकृतको कार्यालयले यहाँका बिभिन्न मतदान केन्द्रहरुको अनुगमन सम्पन्न गरेको छ । मौन अबधीमा पनि आचार संहिता पालना भए नभएको र मतदान स्थलको अबस्था कस्तो छ भन्ने जानारी लिदै आवश्यक तयारी पुरा गर्न अनुगमन गरिएको सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, निर्वाचन अधिकृत मैँया कडेँल, सहायक मतदान अधिकृत केशव सिलवाल, नेपाली सेनाको भैरबवाण गुल्म गठ्ठाघरका मेजर परशुराम थापा, प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनारायण चौधरी, शसस्त्र प्रहरी दुवाकोट गणका प्रहरी नायब उपरीक्षक सुरज कार्कीलगायतको टोलीले बिभिन्न मतदान स्थलको अनगुमन गरेको हो ।

अनुगमनमा मतदानस्थल लगायतका क्षेत्रमा आचारसंहिता विपरित बिभिन्न राजनीतिक दलका झण्डा, फ्लेक्स, मतदान चिन्हलगायतका प्रचार सामग्रीहरु तत्काल हटाउन लगाएको सहायक निर्वाचन अधिकृत सिलवालले जानकारी दिनु भयो ।

मौषमको प्रतिकुल अबस्थाको मध्यनगर गर्दै मतदान केन्द्र र स्थलको तयारी गर्न निर्देशन दिएको जानकारी दिनु भयो । आजै मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण कार्यको समेत अनुगमन गरिएको उहाँले जानकारी दिनु भयो । मतदानको सबै तयारी पुरा भएको समेत उहाँले जानकारी दिनु भयो ।

 

मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म

काठमाडौँ, २८ वैशाख : “पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?” आयोगको कान्तिपथस्थित कार्यालयमा सञ्चालित पैसा नलाग्ने कल सेन्टर—११०२ मा अहिले दैनिक यस प्रकारका धेरै जिज्ञाशा आउने गरेका छन् । यस पटक आयोगले कम खर्च र स्मार्टरुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका कारण स्थानीय तहमा यसका लागि घरदैलोमा टोली पठाएको छैन ।

त्यसरी टोली नजाँदा बदर मत बढ्ने त होइन ? भन्ने प्रश्न पनि उत्पन्न भएका बेला निर्वाचन आयोगले श्रव्यदृष्य सामग्री र विभिन्न सन्देश तयार गरेर आयोगको आफ्नै फेसबुक, युट्युब, ट्वीटर, भाइबरमा नियमित प्रसारण गरिरहेको छ । आयोगले विशिष्ट व्यक्ति, लोकप्रिय कलाकार र व्यक्तित्वहरुलाई समेटेर निर्वाचनको महत्व, आचारसंहिताका व्यवस्थाका विषयका आधारमा सन्देश तयार गरेको छ ।

जोगीले फेरि लगाउने शैलीमा मनोज गजुरेल, पुराणवाचक दिनबन्धु पोखरेलको पुराण वाचनको क्यारिकेचरमा कलाकार सुवोध गौतमले मतदातालाई स्थानीय तह निर्वाचनबारे सरलरुपमा बुझाउने सन्देश पस्कनुभएको छ । यस्तै वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कलाकारहरु सीताराम कट्टेल र कुञ्जना घिमिरे, (धुर्मुस—सुन्तली), केदार घिमिरे (माग्ने बुढा), दीपकराज गिरी, दिपाश्री निरौलालगायत, दमन रुपाखेतीका प्रस्तुतिका साथै गायकहरु पशुपति शर्मा र मनमाया वाइवाको लोकदोहोरी पनि मततदाता शिक्षा सन्देशका रुपमा प्रयोग गरिएको छ ।

निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले ती सन्देशलाई १६ राष्ट्रिय दैनिक र २८ टेलिभिजन (रेडियो नेपाल, नेपाल टेलिभिजनसहित) बाट पनि प्रसारण भइरहेको छ । निर्वाचन तथा मतदाता शिक्षा नीति, २०७८ र निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ स्वीकृत गरी कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले आयोगले ब्रोसर, लिफ्टलेट, पर्चा, पम्प्लेट, नमूना मतपत्र, पोष्टरलगायतका सामग्री छपाई गरेर वितरण पनि गरिसकेको र कसरी मतदात गर्न सकिन्छ भन्ने सही तरिकाबारे बुँदागत सर्कुलर पनि गरिसकेको बताउनुभयो । “हामी कागजी प्रकारको शिक्षाभन्दा यस पटक भर्चुअल माध्यमको शिक्षामा केन्द्रित भएका छौँ । यसमा दल, उम्मेदवार र नागरिक समाजको पनि सक्रिय भूमिका हुन आवश्यक छ ।”

आयोगमा मतदाता शिक्षासमेत हेर्ने आयुक्त डा तुलाधरले भन्नुभयो, “कुनै पनि मतदाता सचेतनतापूर्वक मतदान गर्न पाउने अधिकारबाट वञ्चित नहोस् भन्ने आयोगको मनसाय रहेको छ । हरेक रुचिका मतदातालाई सम्बोधन गर्ने गरी विविध सामग्री तयार गरेर प्रवाह गरेका छौँ । “आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालय, ७० जिल्ला जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरी सो निर्देशन दिएको छ ।

निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदानस्थलमा मतदाता सूचना कक्षको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था भएकोमा मतदानको दिन (वैशाख ३० गते) उक्त कार्यक्रम नगरी मतदानको अघिल्ला दुई दिन (वैशाख २८ र २९ गते) मतदान स्थलहरुमा सम्बन्धित मतदान अधिकृतहरुको नेतृत्वमा खटिने मतदान टोलीबाट आयोगले उपलब्ध गराएका मतदाता परिचयपत्रको वितरण गर्ने र आयोगले उपलब्ध गराएका नमूना मतपत्र लगायतका पोष्टर, ब्रोसर आदि छपाई सामग्रीको माध्यम मतदान गर्ने सही तरिका बुझाउन आग्रह गरिएको छ ।

निर्देशनमा मतदान अधिकृतको नेतृत्वमा खटिएको मतदान कार्यटोली मतदानस्थलमा पुगेपछि वैशाख २८ र २९ गतेका दिन सबै मतदातालाई मतदान गर्ने तरिका र मतदाता शिक्षाको लागि उपस्थित हुन सूचना दिने र यस कार्यको लागि आवश्यकता अनुसार सर्वदलीय सर्वपक्षीय सहयोग लिने, मतदानस्थलमा उपस्थित मतदातालाई नमूना मतपत्र देखाएर मतदान गर्ने तरिकाको बारेमा निष्पक्ष रुपमा जानकारी दिने, मतदान गर्ने तरिका बारेमा मतदातालाई जानकारी गराउँदा कुनै पनि राजनीतिक दलको निर्वाचन चिन्हको नाम नलिने, मतदातालाई मतदाता शिक्षासम्बन्धी जानकारी दिएपछि मतदान गर्ने दिन वैशाख ३० गते शुक्रबार बिहान ७.०० देखि अपरान्ह ५ बजेभित्र मतदान गर्न आउन आग्रह गर्ने उल्लेख रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

यस्तै मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिई जान भन्ने, मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्ने तरिकाको बारेमा मतदातालाई मतपत्रमा सातवटा निर्वाचन चिन्हमा मतसङ्केत गरी मतदान गर्नुपर्ने, पहिलो ठाडो लहरमा प्रमुख वा अध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, दोस्रो ठाडो लहरमा उपप्रमुख वा उपाध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, तेस्रो ठाडो लहरमा वडा अध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, चौथो ठाडो लहरमा महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, पाँचौँ ठाडो लहरमा दलित महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, छैठौँ र साताँै ठाडो लहरमा रहेका दुई सदस्य पदका उम्मेदवारहरुको निर्वाचन चिन्हहरुमध्ये कुनै दुई निर्वाचन चिन्हमा छुट्टाछुट्टै छाप लगाई दुई उम्मेदवारलाई मतदान गनुपर्ने आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन्, भने छ वडा अध्यक्षसहित ३५ स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् । यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ मध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् । मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख ९ हजार ८८ कर्मचारी र ६५ हजार ८६५स्वयंसेवक आ–आप्mनो मतदान केन्द्रमा पुगिसकेका छन् ।

निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेका छन । ५५ हजार ६९८ महिला र ८९ हजार ३१३ पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाधरुपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारलगायत सम्बन्धित स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिइसकिएको र सो बमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको आयोगले जनाएको छ ।

नामावालीमा नाम भएकाले नागरिकता वा राहदानीका आधारमा पनि मत दिन पाइने

काठमाडौँ, २८ वैशाख  : निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने निर्णय गरेको छ ।

आयोगले आज गरेको निर्णयानुसार मतदानका लागि मतदाता नामावलीमा नाम हुनु अनिवार्य छ भने मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रमाण हुनु आवश्यक हुने गरी मतदान गर्न दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ ।

मतदान केन्द्रभित्र फोटो खिच्न नपाइने

काठमाडौँ, २८ वैशाख : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे स्पष्ट गरेको छ । स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले गरेका व्यवस्थाका आधारमा आयोगले मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवं दृष्टिविहीन वा शारीरिकरूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको छ तर मादकपदार्थ सेवन गरेको व्यक्ति मतदाता भए तापनि मतदान अधिकृतबाट मतदान केन्द्रमा प्रवेश गर्न दिइने छैन ।

त्यस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाइ, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमूना मतपत्रलगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा सङ्केत जनिने कुनै वस्तु लैजान नपाइने आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

“उपरोक्त बमोजिमका कुनै कार्य कहीँकतैबाट भएमा कानूनबमोजिम कारबाही हुने हुँदा मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढङ्गले सञ्चालनमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालालाई आयोग हार्दिक अपिल गर्दछ ।” विज्ञप्तिमा भनिएको छ ।

भक्तपुरका मतदाता भन्छन् : ‘हाम्रालाई होइन राम्रालाई भोट’

भक्तपुर, २७ बैशाख : गहुँ भित्रयाउने चटारोमा परेका भक्तपुरका किसान, व्यापारी, महिला, पहिलो पटक मतदान गर्न लागेका युवा युवती ३० गतेको स्थानीय तहको निर्वाचनमा हाम्रालाई नभई राम्रालाई भोट दिने बताउन थालेका छन् । गहुँ काट्दै गरेको खेतमा होस कि, चिया पसलमा, कलेज गएर फर्कदै गरेका विद्यार्थीलाई होस कि, घरमा काम गर्ने महिला, जेष्ठ नागरिक अचेल सबैको उस्तै भावना सुनिन्छ, ‘हाम्रालाई होइन राम्रालाई भोट ।’

सूर्यविनायक नगरपालिका–१ सिरुटारकी १९ वर्षीया सम्झना खड्का पहिलो पटक मतदान गर्ने प्रतिक्षामा हुनुहुन्छ । उहाँ उत्साहित हुदै भन्नुहुन्छ, “म त पहिलो पटक मतदान गर्न लागेकी हुँ, आफ्नो गाउँको बिकास गर्न सक्ने, क्षमतावान र पुरा गर्न सक्ने विकासको योजना ल्याउने, युवा वर्गको हित गर्ने उम्मेदवारलाई भोट हाल्ने छु । मेरो पहिलो मत खेर नजाओस्, झूटा आश्वासन दिने आफन्त दिने हाम्रानै भए पनि काम गर्न सक्ने राम्रालाई भोट दिन्छु ।”

कसलाई भोट दिने भनेर परिवारमा छलफल हुने गरेको भन्दै उहाँले परिवारलाई पनि राम्रो काम गर्न सक्नेलाई भोट दिन सुझाब दिएको बताउदै भोटको सवालमा कसैले दबाब नदिएको बताउनु हुन्छ । सूर्यविनायक–४ दधिकोटकी पूजा न्यौपाने कतिपय दलले चित्तै नबुझ्ने र जनतासँग नभिजेका मानिसलाई उम्मेदवार बनाएको भन्दै गाउँका उम्मेदवार कसले गाउँको बिसका गर्न सक्छ भन्ने सही आँकलन गरेर राम्रा नेतालाई भोट दिने बताउनु हुन्छ ।

आफ्नो नगरमा आफ्नो वडामा को र कस्तो व्यक्ति कुन दल वा स्वतन्त्रबाट उठेका छन्, अधिकांशलाई चिन्ने भएकाले मतदान गर्न समस्या नहुने मतदाताहरुको भनाइ छ । विगत पाँच वर्षमा जितेर जाने पार्टीले गरेको बिकासलाई पनि मूल्यांकन गर्ने बताउनु हुन्छ सूर्यविनायक–५ कि अनिता पाण्डे ।

उहाँले भन्नुभयो, “मतदातालाई यस पटक मत दिन सजिलो छ, विगतमा जितेर जाने नेताले कति बिकास गरे, बिकासका सवालमा हार्ने दलहरुले पहल गरे कि गरेनन्, भ्रष्टाचार भयो कि भएन, सडक, खानेपानी, ढल टोल टोलमा पुग्यो कि पुगेन, चुनाब पछि जितेका र हारेका पार्टीका नेताहरु आफ्नो गाउँमा आए कि आएनन्, जनताको सुख दुखमा नेताहरु साथ दिन आए कि आएनन्, कोरोना महामारीमा नेताहरु जनताको समस्या समाधान गरे कि गरेनन् यी सबै मूल्यांकन गरेर मतदान गर्ने बिचार गरेको छु ।”

सबै दलका घोषणा पत्रमा आर्दशता कोरिएको भए पनि कति गर्नै नसक्ने योजनाको आश्वासन दिने गरेको पाइएको बताउनु हुन्छ चाँगुनारायण नगरपालिका–९ की ३१ वर्षीया रेणुका बस्नेत । उहाँले भन्नुभयो, “दल धेरै छन्, उम्मेदवार पनि धेरै छन्, तर गाउँको बिकास गर्न सक्ने नेता हामी चुन्न सक्छौँ, हिजोका काम, भोली हुने कामको लेखाजोखा हामी गर्न सक्छौँ, हामी महिलाको हक, अधिकार सुनिश्चित गर्ने र महिलालाई रोजगारसँग जोडेर लैजान सक्ने नेतालाई भोट हाल्ने निधो मैले गरेको छु, म हाम्रालाई भन्दा पनि राम्रालाई भोट हाल्छु ।”

चाँगुनारायण नगरपालिका–७ वागेश्वरीका ७६ वर्षीय रामशरण काफ्लेले जेष्ठ नागरिकको समस्या बुझ्नेलाई भोट हाल्ने बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “हामी बुढाबुढी यसो बिहान बेलुका साथीभाई भेटघाट गर्ने मिलन चौतारी, पाटी पौवा बनाइदिने, बृद्ध भत्ता, पेन्सन घरमै ल्याउने व्यबस्था गरिदिने, भजन किर्तन गर्ने ठाउँ बनाइदिने नेतालाई भोट हाल्न पाए हुन्थ्यो भन्ने लागेको छ ।”

चाँगुनारायण नगरपालिका–६ नगरकोटका सुवास लामा गरिबका लागि शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने, युवा बेरोजगारलाई रोजगार दिने, गाउँमै उद्यमी हुने कार्यक्रम ल्याउने, युवाहरुलाई व्यवसायमा प्रोत्साहन दिने, निव्र्याजी ऋणको व्यबस्था गर्ने, भ्रष्टाचार गर्दिन भनेर संकल्प गर्ने नेतालाई भोट दिने बताउनु हुन्छ । चाँगुनारायणमा पर्याप्त कृषि, पर्यटनको सम्भावना रहेकाले त्यसबाट पनि रोजगारीको सृजना गर्न सक्ने मतदाताहरु बताउँछन् ।

स्थानीय तहमा अहिलेसम्म नेमकिपाले एकछत्र राज गर्दै आएको भक्तपुर नगरपालिकाका बासिन्दा गरिब जनताको पक्षमा, किसानको पक्षमा आवाज उठाउने र किसानलाई मलको व्यबस्था गर्न सक्ने नेतालाई भोट दिने बताउछन् । “कृषि प्रधान देश, मल कारखाना छैन, भक्तपुर जिल्लाभरीका किसानले सधै मल अभाव खेप्नु परेको छ, केन्द्रीय सरकारसम्म मल कारखाना नेपालमै खोल्न र किसानलाई मलको सहजै व्यबस्था गर्न सक्ने नेता हामीलाई चाहिएको छ” भन्नुहुन्छ, भक्तपुर नगरपालिका–९ का किसान सानुकान्छा प्रजापति ।

भक्तपुर नगरपालिका व्यासीका सन्देश सुवाल सानो, सुन्दर सम्पदाको शहर भक्तपुरमा कोर क्षेत्र भन्दा बाहिर पनि बिकासको योजना नेताहरुले बनाउनु पर्ने बताउनु हुन्छ । भक्तपुरको पुरानो बस्ती भन्दा बाहिर पनि भक्तपुर छ, सिंगो भक्तपुर क्षेत्रलाई विभेद रहित रुपमा बिकास गर्ने एजेण्डा बोक्ने नेताको पहिचान गरेर मतदान गर्ने सुवाल बताउनु हुन्छ ।

मध्यपुरथिमिका बासिन्दा सम्पदाको बिकासले मख्ख छन् । यहाँका बासिन्दा सडक, ढल, खानेपानी र नगरपालिकाले प्रवाह गर्ने सेवामा सहजता गर्न सक्ने उम्मेदवारलाई मतदान गर्ने बताउँछन् । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीकी शान्ता मैनाली बताउनु हुन्छ ।
उहाँ भन्नुहुन्छ, “मध्यपुरका सम्पदा बिकास भएर हामी खुसी छौँ, कौशी खेती बढेर पनि खुसी छौँ, तर यहाँको सम्पदा मात्रै होइन, यहाँ रहेको खानेपानी, ढल, भित्री सडक, नयाँ बस्ती बिकासको योजना ल्याएर जनतासँग प्रतक्ष्य रुपमा सधै हुलमिल हुने, चुनाबमा मात्रै नभइ अरु बेलामा पनि जनताको घरदैलोमा समस्या बुझ्न जाने नेतालाई भोट दिने बताउनु हुन्छ । उहाँ हाम्रालाई होइन राम्रालाई रोजौँ भन्ने भावना सबैमा हुनु पर्ने बताउनु हुन्छ ।