धार्मिक पर्यटनका लागि सूर्यविनायकमा शिव सर्किट निर्माण
-रमेश गिरी
भक्तपुर, १० साउन ः धार्मिक पर्यटनको विकास गर्ने उदेश्यले सूर्यविनायक नगरपालिकाले शिव सर्किट निर्माण गरेको छ । ‘धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यता, समृद्ध सूर्यविनायक नगरपालिका’ भन्ने नाराका साथ नगरपालिकाले शिव सर्किट निर्माण गरेको हो ।
नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाको १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिव मन्दिरहरुलाई एउटै रुटबाट जोडेर सवारी साधन र पैदल दुबै मार्गबाट जान सकिने गरि शिव सर्किट निर्माण गरेको बताउनुभयो ।
नगर प्रमुख थापाले राससलाई भन्नुभयो, “आन्तरिक तथा बाह्य पर्यटकको प्रर्वद्धनमा टेवा पु¥याउने, स्थानीय धार्मिक सम्पदाको संरक्षण एवं विकास गर्ने र सूर्यविनायक नगरपालिकाभित्र रहेका ग्रामीण क्षेत्रको विकासमा टेवा पु¥याउने मुख्य उद्देश्यले हामीले शिव सर्किट निर्माण गरेका हौ, मेरो यसअघिको कार्यकालमै सुरु भएको यो अभियानले अहिले सार्थकता पाएको छ, अब छिट्टै जनप्रतिनिधिको टोलीले यो रुटको संयुक्त अवलोकन गरेर उद्घाटन गर्ने तयारीमा छौँ ।”
अनन्तलिङ्ेश्वर नगरपालिका र सूर्यविनायक नगरपालिकालाई गाभेर बनेको साविक बालकोट, सिरुटार, दधिकोट, गुण्डु, कटुञ्जे, सिपाडोल, नंखेल र चित्तपोल गाविस अन्तर्गत पर्ने सूर्यविनायक नगरपालिकाको करीब १४ किलोमिटरको दूरीमा रहेका प्रसिद्ध १३ वटा शिव मन्दिरमा पुग्न एउटै सडक प्रयोग गर्नेगरी शिव सर्किट निर्माण गरिएको हो ।
नगरप्रमुख थापाले भन्नुभयो, “शिव सर्किटलाई यस नगरपालिकाको अर्को पहिचानका रुपमा अगाडि बढाउँदै छौँ, यहाँको आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ हामीले काम गरेका हौँ, अघिल्लो कार्यकालमा नगरपालिकाले शिव सर्किटको सर्वे गर्ने, विस्तृत अध्ययन परियोजना (डिपीआर) तयार पार्ने काम गर्यौ र यो कार्यकालमा पूर्णता दियौँ ।”
नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले शिवशर्किट सञ्चालनका लागि आवश्यक तयारी पुरा भएको जानकारी दिनुभयो । नगरपालिकाले १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिवमन्दिरहरुको विकास तथा व्यबस्थापन समितिका अध्यक्ष एवं पदाधिकारीहरु, वडाअध्यक्षहरु र सरोकारवालाहरुसँग शिव सर्किट सञ्चालन गर्नेबारेमा छलफल सकेको बताउनु भयो ।
मन्दिर आएका आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक सहयोग गर्ने, एक मन्दिरबाट अर्को मन्दिरमा जान अभिप्रेरित गर्ने र आवश्यक समन्वय गर्ने निर्णय भएको जानकारी दिदै उहाँले आवश्यक पूर्वाधार एवं सडक सञ्जालले पनि सबै मन्दिरलाई जोडिसकेको बताउनुभयो । नगरपालिकाकाको सूर्यविनायक नपा–२ बालकोट सुरु गरेर वडा नं.१० चित्तपोलमा लगेर टुङ्गिने गरि १३ वटा मन्दिर पुगिने शिवसर्किटको रुट निर्माण गरेको छ ।
जसमा बालकोटको धर्मेश्वरबाट सुरु भई क्रमश सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डीश्वर, दधिकोटको अनन्तलिङ्गेश्वर, गुण्डुको रामभक्तेश्वर, कटुञ्जेको सुवर्णेश्वर, सूर्यविनायक गणेश मन्दिर, सिपाडोलको डोलेश्वर, आशापुरेश्वर, नंखेलको नन्दीकेश्वर, चित्तपोलको कैलशानाथ र लटरम्वेश्वर मन्दिर जोड्ने गरी शिव सर्किट निर्माण गरिएको हो ।
यी मन्दिरसँगै यस क्षेत्रमा रहेको धार्मिक एवं ऐतिहासिक पर्यटकीय क्षेत्र र अन्य प्रसिद्ध मन्दिरलाई समेत टेवा पुर्याउदै धार्मिक पर्यटन प्रर्बद्धनमा समेत ठूलो टेवा पुग्ने अपेक्षाका साथ शिव सर्किट निर्माण गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनुभयो ।
सडक सञ्जाल जोडेर सवारी साधनबाटै सबै शिव मन्दिरमा पुग्न सकिने र पैदलयात्रीका लागि पदमार्गको समेत पहिचान गरि अधिकांश ठाउँमा पदमार्ग निर्माण गरिएको उहाँले बताउनु भयो । पदमार्गबाटै यात्रा गर्दा पनि एक दिनभरीमा यात्रा पुरा गर्न सकिने गरि सर्किट निर्माण गरिएको बताउदै पर्यटकलाई आकर्षित पार्ने बिभिन्न योजनाहरु नगरपालिकाले अगाडि सारेको प्रवक्ता सापकोटाले बताउनु भयो ।
वागमती प्रदेशसभा सदस्य एवं स्थानीयवासी किरण थापाले सूर्यविनायक नगरपालिका प्राकृतिक सौन्दर्यको रानीका रुपमा रहेको यहाँका घ्याम्पेडाँडा, रानीकोट, बोकाचोगढी आफैमा एउटा प्राकृतिक भ्यूटावरमा रुपमा रहेको भन्दै अनन्तरलिङ्गेश्वरमा निर्माण भएको भ्यूटावर र यस क्षेत्रमा करोडौको लगानीमा निर्माण भइरहेको होटल, होमस्टे, रानी झुला, झोलुङ्गे पुलले पर्यटकलाई आकर्षित गरिरहेको बताउनुभयो ।
उहाँले केन्द्रीय राजधानीसँग जोडिएको, अथाह सम्भावना भएर पनि निकै पछाडि परेको सूर्यविनायकको सम्पूर्ण क्षेत्रको बिकासमा पूर्वसांसद महेश बस्नेत, नगर प्रमुख वासुदेव थापा, यहाँका जनप्रतिनिधिहरुको परिकल्पनाले साकार रुप लिएको बताउनु भयो ।
प्रदेश सांसद थापाले भन्नुभयो, “यसअघि महेश बस्नेत सांसद हुदाँ निकै योजना र बजेट यस क्षेत्रका लागि ल्याउनु भयो, त्यतिखेर पनि बासुदेव थापानै नगर प्रमुख हुनुहुन्थ्यो, म वडाध्यक्ष र सामाजिक विकास संयोजक थिए, तीन तहकै बजेटमा सूर्यविनायकको विकासले पाँच वर्षभित्र मुहार नै फेर्ने संकल्पसहित अगाडि बढायौँ, विकासका विभिन्न अबधारण ल्यायाँै, अहिले सफल भयौँ ।”
डोलेश्वर महादेव मन्दिर केदारनाथको शिर रहेको पत्ता लागेपछि यहाँ धार्मिक पर्यटनको सम्भावना निकै बढेको अनुभूति भएपछि यहाँका शिवालयहरुलाई धार्मिक पर्यटनसँग जोडेर लैजाने अबधारणा बनेको उहाँले बताउनुभयो ।
छोटो दुरीको आन्तरिक पर्यटन तथा साहसिक पर्यटनको बिकासका लागि सूर्यविनायकले सफलता प्राप्त गर्दै गएको बताउदै उहाँले घ्याम्पेडाँडामा जीपलाइन सञ्चालनमा हुनु, घ्याम्पेडाँडा, रानीकोट, आशापुरी लगायतका क्षेत्रमा होटल, रिसोर्ट तथा होमस्टे सञ्चालन हुनुले पनि पर्यटक आकर्षण गर्न सफल भएको बताउनुभयो ।
सूर्यविनायक नपाको वडा नं. ९ र १० को सिमानामा एक करोड १६ लाखको लागतमा निर्माण सम्पन्न गरि हाल नगरपालिकाले सञ्चालनमा ल्याएको २४४ मिटर लामो झोलुङ्गे पुलले पनि शिव सर्किटलाई जोड्ने भएको छ ।
भक्तपुरका विद्यालयहरुमा अब पढाई र खेलकुद सँगसँगै सञ्चालन


डेँगी रोग खोज तथा नष्ट अभियान सुरु, रोकथाम तथा नियन्त्रणका लागि द्रुत प्रतिकार्य समिति गठन

डोलेश्वरमा श्रावणी मेला, उच्च पदस्थहरुको भ्रमण
कक्षा १२ को परीक्षाको नतिजा यहीँ महिना सार्वजनिक गरिने
भक्तपुर, ३ साउन : राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको कक्षा १२ को नतिजा यहीँ महिना अर्थात साउनमा सार्वजनिक गर्ने भएको छ । गत बैशाख २६ गतेदेखि सुरुभई जेठ ५ गते सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिना भित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले साउन महिना भित्रै कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने गरि तयारी भइरहेको बताउनु भयो । बोर्डले देशभरका एक हजार ४५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिएका थिए ।
बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागि भएका थिए । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो त्यत्तिकै विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिएका थिए ।
दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने गरि बोर्डले लागू गरेको लेटर ग्रेडिङ सिस्टमअनुसार तीन वा सोभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै ६ विषयकै परीक्षा फाराम भरेका विद्यार्थीले पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेपछि विद्यार्थीले नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिएका थिए, जसले विद्यार्थीलाई सहज बनाएको थियो ।
पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू
काठमाडौँ, ३१ असार : सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल आयल निगम लिमिटेडले आज राति १२ बजेदेखि लागू हुने गरी स्वचालित प्रणाली सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ । मन्त्रालयका सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले आम उपभोक्ताको हितलाई ध्यान दिएर पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरिएको बताउनुभयो ।
निगमको आज बसेको सञ्चालक समितिको बैठकको निर्णय सार्वजनिक गर्न आज उद्योग मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव मरासिनीले निगमको यो निर्णयबाट जनता र व्यवसायीलाई सहुलियत मिल्ने विश्वास व्यक्त गर्नुभयो । हवाई इन्धनको हकमा साबिक बमोजिमकै व्यवस्था रहेको छ । अब उप्रान्त इन्डियन आयल कोर्पोरेसनबाट प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा प्राप्त हुने नयाँ मूल्यसूचीका आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम हुनेछ ।
यो निर्णयबाट इन्डियन आयल कर्पोरेसनसँग नियमित रुपमा प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा सोही दिन निगमले पनि मूल्य समायोजन गर्ने व्यवस्था कार्यान्वयन हुनेछ । सचिव मरासिनीका अनुसार सरकारले खाना पकाउने एलपी ग्यासमा कुनै पनि मुनाफा नराख्ने भएको छ । एलपी ग्यासमा प्रतिसिलिन्डर रु १० मुनाफा थियो । आम उपभोक्तालाई मध्यनजर गरेर हाललाई यो पनि घटाइएको छ । त्यस्तै डिजेलमा दुई प्रतिशत र पेट्रोलमा दुई दशमलव पाँच प्रतिशत नाफा राख्ने निर्णय गरिएको छ ।
निगमका कार्यकारी अध्यक्ष ई. उमेशप्रसाद थानीले आम उपभोक्ताको चाहनाबमोजिम पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याइएको बताउनुभयो । निगमको ऋण दायित्व छँदाछँदै पनि उपभोक्ताको हितलाई ध्यान दिएर मूल्य प्रणाली कायम गरिएको उहाँले उल्लेख गर्नुभयो । “आम उपभोक्ता र विशेषगरी गृहिणीहरुको हितलाई ध्यानमा राखी खाना पकाउने एलपी ग्यासमा निगमले कुनै मुनाफा नलिई लागत मूल्यबमोजिम नै खुद्रा मूल्य राखिनेछ । जसबाट पेट्रोलियम पदार्थका आम उपभोक्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने निगम पनि वित्तीय रुपमा स्वस्थ हुनेछ”, कार्यकारी निर्देशक थानीले भन्नुभयो ।
पेट्रोल र डिजेलको मूल्य घट्यो :
स्वचालित प्रणालीअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु ६ र डिजेलमा प्रतिलिटर रु चार तथा एलपी ग्यासमा प्रतिसिलिन्डर रु १० घटाइएको छ । आज राति १२ बजेदेखि कायम हुने गरी एलपी ग्यासको प्रतिसिलिन्डर रु एक हजार आठ सयबाट घटेर रु एक हजार सात सय ९० कायम हुनेछ । हवाई इन्धनको हकमा निगम सञ्चालक समितिले तोकेअनुसार मूल्य लागू हुने विज्ञप्तिमा जनाइएको छ ।
यस्तै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य रु एक सय ६४ कायम हुनेछ । अन्य स्थानमा क्षेत्रअनुसार मूल्य परक–फरक पर्नेछ । डिजेलको रु एक सय ६४ पर्नेछ । इन्डियन आयल कर्पोरेसनलाई नेपाल आयल निगमले रु ३१ अर्ब बक्यौता रकम भुक्तानी गरेसँगै पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरिएको हो । निगमले अघिल्लो वर्ष नेपाल सरकारसँग लिएको रु सात अर्ब ऋणमध्ये अब रु तीन अर्ब ५० करोड तिर्न बाँकी रहेको जनाइएको छ । आयल निगमलाई अझै पनि सम्पूर्ण हिसाबले रु २९ अर्ब ऋण दायित्व रहेको छ ।
केदारनाथको शीर डोलेश्वरमा श्रावणी मेलाको तयारी पुरा
‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान शुरु





गठामंगल पर्व मनाईयो नेवार समुदायमा
-रमेश गिरी
भक्तपुर, ३० असार : साँझ ढल्केर झमक्क भयो । नगर टोलका चोक चोकमा महिला, पुरुष, बालबालिका, युवायुवतीको उपस्थिति बाक्लिदै गयो । दिउँसो देखि टोलटोलमा नर्कट र परालको मिश्रणबाट बनाईएको राक्षस अर्थात गठाःमुंगको परालकै हात खुट्टा, टाउँको, टाउँकोमा पुरानो हाडी राखिएको, अगाडि नाङ्गोलमा आँखा, नाक, कान बनाइएको, नर्कटमा परालको डोरीले बाँधेर लिङ्ग र भोगटेको दुई अण्डकोष बनाएर प्रर्दशन गर्न थालेपछि स्थानीयले नेपाल भाषमा बोल्न थालेको अश्लिल शब्द र गीतले एक प्कारको भीडमा शरम र हाँसोको फोहरा उत्तिकै सुनिन्थ्यिो ।
त्यसपछि साँझ झमक्क परेपछि बालबालिका, युवा एवं पुरुषहरुले हातहातमा छ्वालीको राँको बाल्दै अगाडि अगाडि बिभिन्न नारा लगाउदै र अर्को समूहले राक्षसरुपी गठाःमंगलाई बोकेर गीत गाउँदै चौबाटो, दोबाटो र नगर एवं टोल बाहिर खोला किनारा, मन्दिरको अगाडि चोकमा लगेर त्यसलाई बालेर राक्षस नष्ट गरेको भन्दै गठाःमुंग मनाएका छन् । यसरी बलेको आगोमाथि र वरिपरि रुन्चे लागेको र भूत लागेको भनिएका ससाना बालबालिकालाई आगो तपाउने गरेको पनि प्रष्ट देखिन्थ्यो । यसो गर्दा भूत र रुन्चे लागेको निको हुने जनविश्वास रहेको पाइन्छ ।
भक्तपुरमा पृथक शैलीमा मनाइने यस पर्वमा गठाःमुंग नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप आज साँझ भक्तपुरको टोलटोलबाट जठाःमंग निकालिएको थियो । भूत पिशाच आदिले दुःख दिइरहेको घरमा आजको दिन भूत भगाएर पठाउने र भूत–प्रेतलाई घरबाट बाहिर धपाइँदा घरका जहान, परिवारलाई कुनै रोग–व्याधिले छुन नपाओस् भन्ने हेतुले त्यस दिन पञ्चरंगी औंठी लगाउने पनि गर्दछन् ।
यो औंठी टोलटोलमा उभ्याइराखेको गठेमङ्गललाई छुवाएर लगाएमा भूत–प्रेत, पिशाच आदिले छुन नसक्ने र अनेक रोगव्याधिबाट बच्ने विश्वास रहदै आएको छ । यहि दिन टोलटोलमा उभ्याइराखेको गठेमङ्गललाई घरका केटाकेटीले खेल्ने कपडाले बनाइराखेको पुतलीका मालालाई लगाइदिनाले बालबालिकाले पिरेर दुःख दिइराखेका पिशाच आदिले छोडेर जाने गर्दछ भन्ने जनविश्वास रहदै आएको छ ।
भक्तपुरका इतिहास एवं संस्कृतविद डा. पुरुषोत्तमलोचन श्रेष्ठले सातौ शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेसंग जोडिएको बताउनुहुन्छ । उहाँले महादेवलाई मन पराउने राक्षसको रुपमा गठाःमुंग वीर शैव सम्प्रदाय अन्तर्गत रहेको बताउनुभयो ।
आजको दिनलाई महादेव उत्पत्तिको दिन समेत मानिने, आजदेखि रोपाई सकेर रमाईलो गर्ने, चाँडबाडको परम्परा सुरु हुने दिनका रुपमा पनि मानिने डा. श्रेष्ठले बताउनुभयो । आज केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राती राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ ।
गोपाल वंशावलीअनुसार गठाःमुंगलाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास समेत रहेको छ ।
भक्तपुरमा यो पर्वलाई यौनसंग पनि दाज्ने गरिन्छ । राक्षस रुपी गठाःमुंगलायृ शरीरको रुप दिएर परालबाट लिङ्ग बनाई दुईवटा भोगटेको अण्डकोष बनाएर दिनभरी टोलटोलको दोबाटो, चौबाटोमा उभ्याईराखेपछि साँझ त्यसलाई बोकेर अश्लिल गीतहरु गाउँदै चोकचोकबाट निकालेर टोल नगरब बाहिर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा समेत रहेको छ ।
राँको बालेर भूत भगाउँने भन्दै पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याईन्छ । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ । परम्परादेखी नै अश्लिल शब्दहरुको प्रयोग गर्ने छुट रहेको किम्बदन्ती पाउन सकिन्छ । त्यसपछि राति घरघरमा राक्षसहरू मरिसक्यो भनेर आफ्ना श्रद्धानुसार बलीपूजा गर्ने चलन पनि रहेको छ । तान्त्रिकहरू यसलाई ‘चर्हेपूजा’ भन्दछन् ।
त्यसअघि गठाःमुंग चर्हे पर्वको अवसरमा आज भक्तपुरका बिभिन्न देवदेवीको शक्ति पिठमा दर्शनार्थीको भीड लागेको थियो । नेवार समुदायले आज घरघरमा लिपपोत गरि शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएको छ । जल नछर्केसम्म कसैले खान नहुने मान्यता रहेको छ ।
घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भुत मन्छाउने) गर्दछन । काँचो माटोको सानो दहीको कतारो वा सलीचामा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रंगीविरंगी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ति बालेर टोल बाहिरको दोवाटो वा चौवाटोमा लगेर राख्दै भुत पन्छाउने गरिन्छ ।
त्यसपछि घरमा भुत प्रेत पस्न नदिन घरघरको मुल ढोका र मुख्य निदालमा पंचरंगी मयूरको प्वांख र तिन खुट्टे फलामको किला ठोकेर गरिन्छ । यसो गर्दा घरमा भूत, प्रेत पस्दैन भन्ने मान्यता अझै रहदै आएको छ । आजकै दिन घरका साना केटाकेटीहरुलाई फलाम वा तामाको औंठी लगाईदिने प्रचलन रहेको छभने वयस्क युवतीहरुले घण्टाकर्णको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन रहदै आएको छ ।
नेवार समुदायले रोपाई सकिएको पर्वको रुपमा पनि गठाःमुंगलाई ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने प्रचलन रहेको छ । आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गर्ने गरिन्छ । त्यसको साथै गाइजात्रामा प्रदर्शन गरिने भैरव लगायतका बिभिन्न नाच तथा व्यंग्यात्मक नाटकको प्रशिक्षणसमेत आजबाट सुरु गरिन्छ ।
यस्तो छ किम्बदन्ती :
भक्तपुरका प्रसिद्ध संस्कृतकर्मी एवं ऐतिहासिक दस्तावेजका लेखक लिलाभक्त मुनंकर्मीको पुस्तकमा उल्लेख भए अनुसार रूद्रयामल–तन्त्रमा, नेपाललाई ध्वंस पार्न गठेमङ्गल नाम गरेको बडेअजंगको एक राक्षस आएर उत्पात मच्चायो । सो राक्षसलाई कसैले पनि मार्न सकेन । अन्त्यमा एक जना तान्त्रिकले आफू भ्यागुतोको रूप लिई त्यस राक्षसलाई यमलोक पठाइदिए । नेपालमा त्यस राक्षसलाई श्रावण कृष्ण चतुर्दशीको दिनमा मारेकोले त्यस दिनलाई नेपालीहरूले ठूलो उत्सव साथ पर्व मानिआएको हो ।
त्यसदिन टोलटोलमा सोही राक्षसकोमूर्तिको अनुकरण गरी नेपालमा उत्पात गरी दुःख दिने राक्षस यही नै हो भनी सबैलाई देखाई साँझ पर्न लागपछि घिसारेर लगी देशबाहिर पुर्याई आगोले जलाइदिने गर्दछ । राक्षसलाई मारेको दिनदेखि नेपालमा मानिसहरूको आयु बढेको मानयता यो समुदायमा रहेको छ । रूदयाल–तन्त्रबमोजिम उक्त दुष्ट राक्षसलाई मारिदिएको श्रावण कृष्ण चतुर्दशीको दिनको बडो महत्व भएकोले पर्व गरी मनाइआएको हो । यसैको आधारमा यो पर्व आजसम्म मनाइदै आएको छ ।
