सीमा नाकामा कडाइ, अस्पताललाई तयारी रहन निर्देशन

काठमाडौँ, २९ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो ।

भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट सङ्क्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिनुभयो ।

“कोरोना भाइरसको नयाँ भेरियन्टले धेरै जनालाई सङ्क्रमण सार्ने गर्ने सम्भावना छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि सबै अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेका छौँ ।”

मन्त्रालयका अनुसार हाल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

कोरोना सङ्क्रमणका कारण बुधबार एक जनाको निधन भएको छ । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताललाई तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले चिकित्सक, सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटर र अक्सिजनलाई तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबारे सचेत रहँदै आफूृहरु तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

“अहिले ने आत्तिनुपर्ने अवस्था छैन तर सजग भने हुनुपर्छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणको सम्भावित जोखिम नहोस् भनेर तयारी अवस्थामा रहेका छौँ ।” अस्पतालमा एक जना भेन्टिलेटर र दुई जना कोरोना सङ्क्रमित सघन उपचार कक्ष (आइसियु)मा उपचाररत रहेको उहाँले जानकारी दिनुभयो ।

बुधबार मात्रै देशभर एक सय छ जना नयाँ सङ्क्रमित देखा परेका थिए । हाल काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

महाशाखाले नेपाल प्रवेश हुने सीमा नाकामा कडाइ गरिएको जनाएको छ । सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरुको कोरोना परीक्षण सुरु गरिएको छ ।

नमस्ते ख्वप टेलिभिजनको तेश्रो बार्षिकोत्सव : स्थानीय मिडियालाई बचाउनु पर्ने रासस अध्यक्ष झाको भनाई

भक्तपुर, २८ चैत : राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झाले स्थानीयस्तरमा समाचार र सूचनाका माध्यमबाट जनतालाई सूसुचित गर्ने स्थानीय मिडियालाई स्थानीय तहको सहयोग हुनु पर्ने बताउनु भएको छ । आज भक्तपुरमा नमस्ते ख्वप टेलिभिजनको तेश्रो बार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले नेपालको स्थानीय मिडियालाई सबैले मेरो मिडिया भनेर स्वीकार्नु पर्ने बताउनु भएको हो ।

रासस अध्यक्ष झाले भन्नुभयो, “मिडिया जहिले राष्ट्रिय हुनु पर्छ भन्छन् तर मिडिया जहिले पनि स्थानीय हुन्छ, हुनुपर्छ, स्थानीयले स्वीकार्नु पर्छ । नेपालको स्थानीय मिडिया बाँच्नु पर्छ र बचाउनु पर्छ ।” जनतालाई सूसुचित गराउने कुरामा मिडियाको भूमिका हुने बताउदै उहाँले बिभिन्न मिडिया मार्फत आएका समाचार आफ्नैमा पोजेटिभ र नेगेटिभ भन्ने नहुने उहाँको भनाइ थियो ।

“मिडियाकोलाई अझै धेरैले बुझ्न जरुरी रहेको छ, मेरो पक्षमा समाचार आए पोजेटिभ, मेरो बिरुद्ध समाचार आए नोगेटिभ भन्ने मानसिकताबाट मुक्त हुनु पर्छ,” रासस अध्यक्ष झाले भन्नुभयो, “समाचार समाचार नै त्यो आफैमा नेगेटिभ र पोजेटिभ भन्ने हुदैन, आएको समाचारलाई आम पाठकले कसरी बुझ्छन् भन्ने कुरा महतव हो ।”

मिडिया छ र त आज समाचार छ, मिडिया नभए समाचार कसरी थाहा पाउने भन्दै उहाँले मिडियाको अबधारणा र गलत बझाईलाई बदल्नु आवश्यक रहेको उहाँको भनाई थियो । नेपालमा मात्रै नभई विश्वमै भक्तपुरको चिनारी प्रसिद्ध रहेको बताउदै उहाँले आफैसंग रहेको बिनाको गन्ध पहिचान गर्न नसकेर कस्तुरीले बिना खोज्दै हिडे जस्तो भक्तपुरले पहिचान खोज्दै हिड्नु आवश्यक नरहेको बताउनु भयो ।

भक्तपुरका चार वटा नगरपालिका आफैमा साँस्कृतिक, प्राकृतिक मनोरम र पहिचान बोकेको स्थानीय तह भएकाले भक्तपुर जिल्लालाई एकीकृत रुपमा सांस्कृतिक जिल्ला र पर्यटकीय प्याकेजको रुपमा बिकास गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा अध्यक्ष झाले मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख मदनसुन्दर श्रेष्ठ, राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलगायतका बिभिनन व्यक्तित्वहरुलाई सम्मान गर्नु भयो ।

त्यसअवसरमा वाग्मति प्रदेश सभाका सा.सद किरण थापा, नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजा, मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख श्रेष्ठ, नमस्ते ख्वप टेलिभिजनका अध्यक्ष बालकृष्ण श्रेष्ठ, सोही टेलिभिजनका कार्यकारी निर्देशक ऋषिकेश श्रेष्ठलगायत बिभिन्न व्यक्तित्वहरुले नमस्ते ख्वप टेलिभिजनले शिक्षा, स्वास्थ्य, कला, संस्कृति लगायतको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा बिभिन्न नृत्य, गीत र फेसन शोहरु प्रस्तुत गरिएको थियो ।

त्यस्तै अध्यक्ष झाले राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको फोटो प्रर्दशनीको अवलोकन गर्नु भएको छ । सोही कार्यक्रममा राससकर्मी श्रेष्ठले बिस्केट जात्राको बारेमा यसअघिका जात्रामा लिएका ९० वटा तस्विरको प्रर्दशनी गएिको थियो । उक्त प्रर्दशनीको अध्यक्ष झा लगायत अन्य अतिथि र सहभागिहरुले अवलोकन गर्नु भएको थियो ।

अध्यक्ष झाले फोटो प्रर्दशनीले राससको शान बढाएको बताउदे यसले भक्तपुरका जात्राको सिंगो इतिहास प्रस्तुत गरेको बताउनुभयो । प्रर्दशनीकाबारेमा फोटो पत्रकार श्रेष्ठले बिस्केट जात्राको अवसर पारेर जात्राकाबारेमा जानकारी दिने उदेश्यले आफूले जात्रामा खिचेका महतवपूर्ण ९० वटा तस्विरलाई प्रर्दशनीमा राखिएको बताउनु भयो ।

 

‘केपी ओलीसँग मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका ५२ देशबाट छानिएर नेपालीभाषी नवप्रतिभा अन्तरक्रिया

भक्तपुर, २८ चैत :  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालबाट भएको बताउनुभएको छ ।

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका लागि विश्वका ५२ भन्दा बढी देशबाट छानिएर फाइनलका लागि आएका नेपालीभाषी प्रतिभासँग आज आफ्नो निवास बालकोटामा अन्तरक्रियाका क्रममा उहाँले भन्नुभयो, “गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपाली भूमिमा भएको हो, गीत, सङ्गीत कला, सम्पदा आदिमा हाम्रो इतिहास सत्ययुगदेखिकै हो ।”

उहाँले भन्नुभयो, “हामीले सुनेका, देखेका छौँ ताण्डव नृत्य, शिव नृत्य आदि । ती नृत्यको इतिहास कति पुरानो छ ? यो सत्ययुगकै कुरा होइन ? त्यसैले हामी गीत, सङ्गीत, कला, संस्कृति एवं सम्पदामा संसारका अरु कुनै देशभन्दा अगाडि छौँ, हाम्रो इतिहास सबैभन्दा पुरानो छ ।”

एमाले अध्यक्ष ओलीले गीत सङ्गीत मात्र नभएर ज्ञान र शिक्षाको उद्गमस्थल पनि नेपाल नै भएको धारणा राख्नुभयो । उहाँले ज्ञान, शिक्षा, सम्पदा तथा वैदिक परम्परामा हामी विश्वमै अरु देशभन्दा अघि रहेका उदाहरण पनि प्रस्तुत गर्नुभयो ।

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा विश्वभरका नेपालीलाई लक्षित गरेर आयोजना गरिएको यो गायन र नृत्यसम्बन्धी प्रतियोगिता अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो । गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् ।

ओली निवासमा पुगेका नेपाली युवा प्रतिभाले उहाँसमक्ष विभिन्न विषय जिज्ञासा राखेका थिए । उनीहरुले आफूहरु पितृ तथा मातृभूमिमा आउँदा अत्यन्तै खुसी भएको अनुभव पनि सुनाएका थिए । पहिलोपटक नेपाल आएका कतिपयले सो प्रतियोगिताका कारण आफूहरु नेपाल आउन पाएकामा आयोजकलाई धन्यवाद पनि दिएका थिए ।

नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न सो प्रतियोगिताको आयोजना गरेको जनाइएको छ ।
त्यस अवसरमा सो फाउण्डेसनका बोर्ड सदस्य ओमराज गुरुङले संसारमा छरिएर रहेका नेपालीलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट पुस्तौँपुस्तासम्म जोड्नका लागि नेपालमै सो प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो ।

एमाले गुटबन्दीलगायत सबै खाले जालझेल सहेर उठेको पार्टी हो : एमाले अध्यक्ष ओली

राँझा, २७ चैत  : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा सङ्घ नेपालमा कुनै पनि प्रकारको गुटबन्दी हुन नहुने बताउनुभएको छ । बाँकेको नेपालगञ्जमा आजदेखि सुरु भएको सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उहाँले एमाले गुटबन्दीलगायत सबै खाले जालझेल सहेर उठेको पार्टी भएकाले अब युवा सङ्घमा कुनै पनि बाहनामा पक्ष विपक्षको कुरा नहुने उल्लेख गर्नुभयो । “युवा सङ्घ जस्तो गतिशील, सिर्जनशील संस्था जात, क्षेत्र र भूगोलको आधारमा पक्ष विपक्ष र गुटबन्दी गरेको सुहाउँदैन”, उहाँले भन्नुभयो, “सामाजिक सद्भाव, राष्ट्रिय एकतालाई आत्मसाथ गर्दै नयाँ जोश, उत्साह अठोट र खुल्ला मनका साथ अघि बढ्न जरुरी छ ।”

नेताले आशिर्वाद दिएर नेतृत्वमा पुग्ने कामले सङ्गठन जुझारु नहुनेतर्फ इङ्गित गर्दै अध्यक्ष ओलीले आफू केन्द्रित नभई सङ्गठन, युवा आन्दोलन र देशलाई केन्द्रमा राखेर अघि बढ्न युवालाई आग्रह गर्नुभयो । सम्पूर्ण क्षेत्रमा पार्टीलाई सशक्तरूपमा प्रमुख हैसियत बनाउनुमा युवा सङ्घको ठूलो भूमिका रहेको बताउँदै उहाँले राजनीतिलाई जनताको पक्षमा परिणाम निस्किने सन्दर्भमा युवा सङ्घले योगदान पुर्याएको उल्लेख गर्नुभयो ।

विसं २०४७ मा संविधान जारी हुने वा नहुने आशंका रहेको बेला संविधान जारी गराउन र जनताको पक्षमा गराउन युवा सङ्घले भूमिका खेलेको स्मरण गर्दै अध्यक्ष ओलीले अहिले पनि युवा सङ्घले राज्य सत्ताको दुरुपयोग हुन नदिन, आमनिर्वाचन स्वच्छ बनाउन र जनताको पक्षमा गराउन भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो ।

विगतको गौरवमय इतिहासलाई अझ प्रभावकारी र सशक्तरूपमा अगाडि बढाउने जोश जाँगर, क्षमता सिर्जनशीलता र पार्टीले सारेको नीति कार्यान्वयन गर्ने नेतृत्व महाधिवेशनले चयन गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “युवालाई सङ्गठित गर्ने, सही बाटो देखाउने र असल मान्छे बनाउने काम युवा सङ्घको हो । कार्यशैली र व्यवहार हेर्दा बित्तिकै युवा सङ्घको कार्यकर्ता भन्ने चिनिन सक्ने हुनुपर्छ, परिचय देखाएर युवा सङ्घको चिनारी दिन आवश्यक छैन ।”

राष्ट्रिय युवा सङ्घ एमालेको बलियो खम्बा हो भन्दै उहाँले यसले पार्टीलाई अफ्ठ्यारो परेको बेला नेपाली जनतालाई अफ्ठ्यारो परेको बेला जोश र जाँगरका साथ आफ्नो जिम्मेवारी पूरा गर्दै आएको छ बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “महाधिवेशनमा पदका लागि होइन काम र जिम्मेवारी निर्वाह गर्ने सोचका साथ दुई वर्षसम्म रात दिन सक्रियताका साथ खट्न सक्ने क्षमता हुन जरुरी छ ।”

आज दाम चढाएर श्रेष्ठ भन्नुहुन्छ, ‘जिब्रो छेडी महाद्धिप बोकेर बोडे शहर घुम्न दुई गतेको प्रतिक्षामा छु’

भक्तपुर, २७ चैत : मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको बैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यसवर्ष पहिलो पटक बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएका छन् ।
आज श्रेष्ठले नाय पमाको घरमा पुगेर चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नुका साथै आजबाट ब्रत प्रारम्भ गरेको छ ।

श्रेष्ठले जात्राका नाय पमाः जलकृष्ण पिला श्रेष्ठ, अर्का पमा माइला भासिको श्रेष्ठ, कर्मी नाय कृष्णचन्द्र वाग श्रेष्ठ, बुद्धिबहादुर खड्गी, श्याम कृष्ण खड्गीलाई चार दाम चढाएर सुगन दिई जात्रामा जिब्रो छेड्ने पक्का गर्नु भएको हो ।

नवौँ पटक बोडेका ५० वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठको कान्छो छोरा सुजनले यस वर्ष जिब्रो छेडाउने भए पछि चार दशक यो परिवारले जिब्रो छेडाउदा पुस्तान्तरण भएको छ । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाए पछि उहाँका भाई बुद्धकृष्ण बाग श्रेष्ठ नौ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएकोमा यस वर्ष बुद्धकृष्णका कान्छो छोराले पहिलो पटक जिब्रो छेडाएर जात्रालाई पुस्तान्तरणका रुपमा अगाडि बढाउने भएका छन् ।

बुद्धकृष्णले भन्नुभयो, “मानवीय सेवा र कला संस्कृतिको संरक्षणमा लाग्दै आएको मैले यस गतवर्षसम्म नवौँ पटक जिब्रो छेडाए, मेरो दाजूले १२ पटक जिब्रो छेडाउनु भयो । यसवर्ष मेरो कान्छो छोराले जिब्रो छेडाउन आज चारदाम चढाएर पक्का गरेको छ, विश्व प्रसिद्ध यो जात्रा, यहाँको कला, संस्कृतिलाई अब मेरो छोरा जस्ता अरु यहाँका युवा पुस्ताले जोगाउनु पर्छ । जात्रा लोप हुन दिनु हुदैन ।”

आज चार दाम चढाए पछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जूठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नून खान नहुने बोडे देश छाडेर बाहिर जान नहुने उहाँले बताउनु भयो । जिब्रो छेड्ने व्यक्तिले तीनदिन अघिदेखि भने केही नखाई व्रत बस्नुपर्छ । जिब्रो छेड्न तयार भएका युवा सुजनले आफू सानैदेखि बुबाले जिब्रो छेडेर जाा चलाएको हेर्दै आएको बताउदै जात्रालार्य जोगाउन आफूले यसवर्ष जिब्रो छेडन तयार भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, “बुबाले जिब्रो छेडाउदा म संगै हुन्थे, उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्यो र आँट आयो, म दुई वर्षदेखिनै जिब्रो छेड्न तयार थिए, यसवर्ष जुर्यो, मनमा डर छैन, दुई गते कहिले आउँला र जिब्रो छेडाएर महाद्धिप बोकेर बोडे देश घुमौला भनेर प्रतिक्षामा छु ।” उहाँले युवाहलेनै संस्कृति बचाउनु पर्छ भन्ने सन्देश दिन र हरेक वर्ष जिब्रो छेडाउन युवाहरु तयार हुनु पर्छ भन्ने सन्देश दिन जिब्रो छेडाउन लागेको बताउनुभयो ।

छोरोको रहरकोबारेमा भन्नुभयो बुद्धकृष्णले भन्नुभयो, “मैले जिब्रो छेडाउदा सानैदेखि छोरा संँगै हुन्थ्यो, यो जात्रा जोगाउनु पर्छ, यो जात्रा नभए बोडेको पहिचान मेटिन्छ भन्ने मलाई मात्र होइन मेरो छोरालाई पनि लाग्यो, त्यसैले यसवर्ष उसले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिदै छ, बोडेको संस्कृति जोगाउन अब हरेक वर्ष बोडेका युवाहरु तयार हुनुपर्छ ।”

जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नु अघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौं भक्तजनहरुको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउँमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ ।

हालसम्म १२ जनाबाट निरन्तर १०८ वर्ष जिब्रो छेड्का छन् । अहिलेसम्म वि.स. १९६९ देखि १९९० सम्म हर्कनरसिंह बासँश्रेष्ठले २२ पटक, वि.स. १९९१ देखि २०२२ सम्म बेखानारायण हायश्रेष्ठ ३२ पटक, २०२३ मा हरिदेव किलाश्रेष्ठले एक, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले एक, २०४८ मा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म तथा २०७३, २०७५, २०७६, २०७८ गरि नौ पटक, जुजुभाई बासँ श्रेष्ठले २०६५ देखि २०७२ सम्म आठ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिदै आएका थिए ।

तौमढीबाट तानिएको भैरबको रथ इनाचो पुग्यो, जात्रामा हजारौको भीड, ८०० सुरक्षाकर्मी तैनाथ

भक्तपुर, २७ चैत : नयाँवर्षको आगमनसंगै भक्तपुरमा नौ दिन, आठ रातसम्म तान्त्रिक विधि अनुसार मनाईने प्रसिद्ध विस्काः अर्थात बिस्केट जात्राको पहिलो दिन आज भैरबको रथ तानिएको छ । प्योगोडा शैलीमा काठैकाठले निर्माण भएको तीन तले भैरबको रथ स्थानीयले आज अपरान्ह ४ बजेदखि तौमढी (पाँचतले मन्दिर प्राङ्गन) बाट तल र माथिका बासिन्दाले होस्य, हैस्यै, हाः हाः हाः गर्दै रथ तानेर जात्रा सुरु गरिएको हो ।

आज राती ८ बजेसम्ममा तौमढीबाट माथिल्लो तर्फ सुकुलढोका, गोल्मढी हुदै इनाचो पुर्याइएको छ । हजारौका सहभागिता रहेको जात्रामा भैरबको रथलाई दत्तात्रयसम्म लैजाने प्रयास जारी छ । तौमढी भन्दा तलका बासिन्दाले पनि रथलाई तौमढी तर्फ ल्याउन तानिरहेका छन् ।

रथको अगाडि लामो वेतसीं (बेताल राख्ने अर्धचन्द्राकार लामो काठ) राखिएको छ । त्यसमा बेताल देवतालाई राखिएको छ । रथका ठूला चारवटै पाङ्ग्रामो भैरवको मुखाकृतिको चित्र कोरेर थप आकर्षण बनाइन्छ । रथका अगाडि ६ र पछाडि चार÷चार वटा डोरी बाँधिन्छ जसलाई नवदुर्गाको प्रतिकका रुपमा लिने गरिन्छ । रथका अगाडि पछाडि बाधिएको डोरीलाई स्थानीय जात्रालुले समातेर जात्राले रथ तान्न सुरु गरेका हुन् ।

आजको रथ तानातान गर्ने कार्यलाई जात्राको प्रमुख आकर्षण मानिन्छ । यसरी तानेर रथलाई क्वने (तल्लो) वा थने (माथिल्लो) टोलका स्थानीयले आ–आफ्नो टोलमा लैजाने प्रयास गर्दछ । पहिलो दिन रथलाई तानातान गर्ने क्रममा माथिल्लोतर्फ तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढीहुँदै तलतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने परम्परा छ ।

आज बिहान ५ बजेदेखि सर्वसाधारणको लागि भैरबको रथमा पुजा खुल्ला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिनुभयो । दिउँसो १२ बजे गुठी संस्थानको प्रमुख र सिकर्मी नाइकेले सरकारी पूजा गरेपछि समुदायको पूजा सकेर ४ बजेबाट भैरबको रथ तान्न सुरु गरिएको उहाँले बताउनु भयो ।

तान्त्रिक बिधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरबको रथमा भैरबनाथ र बेताल बिराजमान गराई हनुमान ढोकाबाट राजाको प्रतिक स्वरुप ल्याईएको खड्ग, तरबार र निशान राखेपछि बिधिपूर्वक रथ तानेर जात्रा सुरु भएको थियो । भैरवनाथको रथलाई आज सँझसम्म गःहिटीमा पु¥याई पहिलो दिनको जात्रा सम्पन्न गर्ने तयारी गरिए पनि रथ तौमढीबाट माथिल्लो टोलमा तानेर इनाचो पुर्याएको छ ।

आजको जात्रा सम्पन्न भएपछि चैत ३० गते ल्यासिंखेलमा गुठी पुजासहित सबै प्रक्रिया पुरा गरी अपरान्ह ५ बजे लिङ्गो उठाईने जात्रा हुनेछ । बैशाख १ गते अपरान्ह ५ बजेभित्र लिङ्गो ढाल्ने र बैशाख ५ गते पनि अपरान्ह ५ बजेसम्म रथ तानीसकेर जात्रा सम्पन्न गर्ने गरि तयारी गरिएको उहाँले बताउनु भयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्रामा हुलदंगा हुन नदिन र शान्तिपूर्ण रुपमा जात्रा सम्पन्न गराउन सुरक्षा व्यबसथा कडा गरिएको बताउनु भयो । जात्रामा सादा पोशाकमा सुरक्षाकर्मीले पनि मोवाइलबाट फोटो र भिडियो खिचेर अनुगमन रिरहेको र नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा नेपाली सेनाको सुरक्षाकर्मी खटिएको बताउनु भयो ।

जात्रा भड्काउन खोज्ने, ढुङ्गा हान्ने र हुलदंगा गर्न खोज्नेलाई पक्राउ गरि कडा कारबाही गरिने उहाँले बताउनु भयो । भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जात्राका लागि काठमाडौंबाट समेत थप प्रहरीको मद्धत आउने बताउनु भयो । उहाँले ६४९ जना सुरक्षाकर्मी र ५० जना सादा पोशाककमा सुरक्षाकर्मी जात्राका लागि खटाएको बताउनु भयो ।

क्तपुर–नगरकोट सडक खण्डको ठेक्का सम्झौता रद्ध गर्ने

भक्तपुर, १४ चैत : दुई वर्षमा सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएर सुरु भएको भक्तपुर–नगरकोट सडक खण्ड बिस्तार कार्य आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभए पछि सरकारले ठेक्का सम्झौता रद्ध गर्ने भएको छ ।

२०७३ असार ३ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने गरि २०७१ साल जेठ २२ गते पहिलो ठेक्का सम्झौता गरि निर्माण सुरु भएको १५ किलोमिटर ६६० मिटर लामो भक्तपुर–नगरकोट सडक खण्ड आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभए पछि सरकारले ठेक्का सम्झौता रद्ध गर्ने तयारी गरेको हो ।

गत फागुन १८ गते उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उक्त सडक खण्डको प्रतक्ष्य अनुगमन गरि मन्त्री श्रेष्ठले एक महिना भित्र सडकको सम्पूर्ण निर्माण कार्य सम्पन्न नगरे ठेक्का सम्झौता रद्ध गर्ने बताउनु भएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग मातहत रहेको सडक सुधार तथा विकास परियोजना निर्देशनालयले ठेक्का सम्झौता रद्ध गर्ने सूचना जारी गरेको हो ।

शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्शन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्तरूपमा निर्माण गर्ने गरि ठेक्का सम्झौता भएर अन्तिम पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न नभए पछि निर्देशनालयले ठेक्का सम्झौता रद्ध गर्न १४ दिने सूचना जारी गरेको हो ।

सडक ठेक्का पाएको शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि र अराभली इन्फ्रापावर लिमिटेड जेभी ताल्चिखेल, सुनाकोठीविरुद्ध ठेक्का नतोड्नुपर्ने कुनै कारण भए १४ दिनभित्र कार्यालयमै उपस्थित भएर जानकार िगराउन निर्देशनालयले सार्वजनिक सूचना जारी गरेको हो ।

अन्तिम पटक भन्दै गत फागुन महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरि म्याद थप गरे पनि कार्य अगाडि नबढेपछि निर्देशनालयले पटक–पटक लिखित र मौखिक निर्देशन दिए पनि ठोस प्रगति नदेखिएको भन्दै अब ठेक्का तोड्नुको विकल्प नदेखिएको जनाएको जनाएको छ ।

सडक बिस्तारको काम सुरु भएको नौ वर्ष बित्दा ४–५ वर्षअघि गरेको कालोपत्रे समेत भत्किएको छ । ठेकेदारले कालोपत्रे भनेको बाटो अहिले धूलाम्य छ खल्डैखाल्डो रहेको छ । रु. २७ करोडमा ठेक्का सम्झौता भए पनि भेरिएयसन गरेर ३१ करोड पु¥याइएको यो सडकको डिजाइन परिवर्तन भई अन्तिम भेरिएसन गर्दा २८ करोडमा झरेको र उक्त रकम कन्स्ट्रक्सन प्राप्त समेत गरिसकेको जनाएको छ ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले सडक निर्माण सुरु भएको नौ बर्ष हुँदा पनि अझै निर्माण सम्पन्न नगर्दा पर्यटन व्यवसाय धरापमा परेको बताउनु भयो । उहाँले कोरोना पछि लयमा फर्कदै गरेको पर्यटन व्यवसाय सडकको जीर्ण अबस्थाले धरापमा परेको भन्दै वर्षामा हिलो र हिउँदमा धुलो उडेर यहाँका बासिन्दादेखि पर्यटकसमेतले सास्ती व्यहोर्नु परेको बताउनु भयो ।

उहाँले सडक निर्माण अलपत्र पर्दा यहाँको पर्यटन व्यबसाय र आर्थिक विकास १५ वर्ष पर धकेलिएको भन्दै काम गर्न नगर्नेको ठेक्का सम्झौता रद्ध गर्न निकालेको सूचना सकारात्मक रहेको बताउनु भयो ।

चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले वर्षाैदेखि जनताले आन्दोलन गरेपनि कुनै पनि सरकारले यहाँका बासिन्दाको पीडालाई नबुझेको बताउनु भयो । स्थानीय बासिन्दा र व्यवसायीले पटक पटक सडक बन्द गराएर सडक निर्माण गर्न दबाब दिए पनि निर्माण व्यवसायीले उल्टै दबाब दिनेलाई धम्क्याउने अटेर गर्ने गरेको बताउनुभयो ।

यसअघि पनि नगरकोटवासी र व्यवसायीले सडक किनारादेखि सार्वजनिक यातायातसम्ममा शैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध गरेका थिए भने चाँगुनारायण नगरपालिका वडा नं. ६ र ७ का वडाअध्यक्षहरुले असारमा तीनदिनसम्म सडकमै वडा कार्यालयको काम गरेर विरोध जनाएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालिन प्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसंग भक्तपुरका सांसद, तत्कालिन नगर प्रमुख सोमप्रसाद मिश्र, वर्तमान नगर प्रमुख जीवन खत्री, स्थानीय बासिन्दा, पर्यटन व्यवसायीलगायतले सडक निर्माण सम्पन्न गर्न वा ठेक्का रद्ध गर्न माग गर्दै पटक पटक ज्ञापन पत्र बुझाएका थिए भने पटक पटक सडक अबरुद्ध गर्दै आएका थिए् ।

स्थानीयले भने निर्माण व्यवसायी अधिकारीले यो सडक ठेक्का सम्झौता भएलगत्तै प्राप्त गरेको रकमबाट नगरेकोटको तेलकोट सडक माथि १४ रोपनी जग्गा खरिद गरेको तर सडक निर्माण भने अलपत्र पारेको आरोप लगाउदै आएका छन् ।

शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधि अनुप अधिकारीले भने बिचबिचमा रुख कटान, विद्युतको पोल सार्न समस्या आएको र भूकम्पका कारण पनि केही ढिलाई भएको र ९० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गर्नु भयो । उहाँले मन्त्री श्रेष्ठसंग अनुगमनका क्रममा अबको एक महिनामा आयोजना सम्पन्न गरेर हस्तान्तरण गर्न नसके फेरी पनि म्याद थपिदिनुस् भन्दै नजाने र सरकारले जुनसुकै कदम चाले पनि स्वकार्ने बताउनु भएको थियो ।

रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर, ११ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मिसन ग्रासरुट पार्टी अभियान अन्तर्गत नेकपा (एमाले) सूर्यविनायक ५ नं. वडा कमिटी भक्तपुरले रक्तदान जस्तो महादान कार्यक्रम आयोजना गरेको छ । कटुञ्जेमा आज आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ जना रक्तदाताले रक्तदान गर्नु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले भक्तपुरका उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गर्नुभई सहभागि सबैलाई धन्यवाद वयक्त गर्नु भयो ।

उक्त कार्यक्रममा नेकपा (एमाले) वागमती प्रदेश कमिटीका सदस्य एवं मिसन ग्रासरुट अभियान अन्तर्गत ५ नं. वडामा खटि आउनु भएका केदार अधिकारी, जिल्ला कमिटी सदस्य एवं सूर्यविनायक नगर इन्चार्ज तथा सूनपा ५ का वडाध्यक्ष राजकुमार जोशीले सबै सहभागिहरुलाई धन्यवाद दिनु भयो ।

जोशीले देशको सबै क्षेत्रमा नजर पुर्याउने शक्ति नेकपा (एमाले) नै हो र देशको राजनीतिक स्थायित्व समस्याको समाधान, खुसी नेपाली, समृद्ध नेपाल र बिकास निर्माणको नेतृत्व गर्न सक्ने पार्टी भनेकै नेकपा (एमाले) हो भनेर फेरी एक पटक प्रमाणित गर्न सफल भएको बताउनु भयो ।

उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुमा सहभागिताका लागि अनुरोध गर्दै पार्टीलाई यो बेला परेको अप्ठ्यारोमा सबै तिता मिठा कुरालाई बिर्सेर संगठन निर्माणमा लाग्नु पर्ने बताउनु भयो ।

कमिटीका अध्यक्ष मधु थापाको अध्यक्षतामा सचिव इन्दिरा उपाध्याय, उपाध्यक्ष सुमन कसपाल, जिल्ला कमिटी सदस्य मनोज थापा, अशोक ढुङ्गेल, बासुदेव पोखरेल, समाजसेवी एवं नेकपा एमालेका नेता रामशरण देउजासमेतको उपस्थिति रहेको थियो ।

 

समानताका लागि आवाज भक्तपुरले ७७ जनालाई कदरपत्रद्धारा सम्मान

भक्तपुर, ११ चैत :समानताका लागि आवाज भक्तपुरले आफ्नो २५ औ वर्षको अवसरमा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं राष्ट्रिय महिलाकिसान महासंघकी केन्द्रीय अध्यक्ष गंगालक्ष्मी अवालसहित ७७ जनालाई कदरपत्र प्रदान गरेको छ ।

संस्थाको रजत जयन्तीको अवसरमा आज भक्तपुरको व्यासीमा आयोजना गरेको सदस्य, सहयोगी व्यक्ति र संस्थालाई आजिवन सदस्यता तथा कदर पत्र वितरण समारोहमा उहाँलगायतलाई पूर्वमन्त्री एवं मानवअधिकारकर्मी डा. देवेन्द्रराज पाण्डेले खादा ओढाएर कदर पत्र प्रदान गर्नु भएको हो ।

कार्यक्रममा मानवअधिकारकर्मी पाण्डेले अपाङ्ता भएका व्यक्ति राज्यबाट पछाडि परेको बताउदै आफ्ना अधिकारका लागि आवाज उठाउनु पर्ने औल्याउनु भयो । उहाँले अपाङ्ता भएकालाई पनि राज्यले समान रुपमा बिभिन्न क्षेत्रमा प्रतिनिधित्व गराउदै उनीहरुको अधिकारलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं राष्ट्रिय महिला किसान महासंघकी केन्द्रीय अध्यक्ष गंगालक्ष्मी अवालले अपाङ्मैत्री संरचनाको अभाव रहेको बताउदै सबै मिलेर हौसला र प्रेरणा दिनु पर्ने बताउनु भयो । आफूले पाउनु मात्रै जीवन नभई हामीले हजारौ जीवन बनाउनु पर्छ भन्दै उहाँले समृद्ध समाजको निर्माणमा अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

सहि मान्छेले मात्रै सहि मूल्यांकन गर्न सक्छ भन्दै अवालले मान्छे पद र आडम्रबले भन्दा कर्म र असल विचारले ठूलो हुने भएपनि अहिले कठोर र बिचारको समाज निर्माण भइरहेकोमा दुःख व्यक्त गर्नुभयो । अहिलेको समयमा मानिस आफूलाई होइन, अरुलाई हेरेर, अरुको इश्र्याले दुखी हुने गरेको बताउदै हामीले हाम्रो बुद्धि, क्षमताको प्रयोग गरेर सबै मिलेर समाज बनाउन लाग्नु पर्नेमा अवालले जोड दिनुभयो ।

त्यसअवसरमा संस्थालाई आर्थिक, भौतिक तथा अन्य सहयोग गर्ने अवालसहित ११ जना कर्मचारी, २२८ जना सहयोगी व्यक्तित्व र २८ जना सहयोगी संस्थालाई खादा ओढाएर कदर पत्र प्रदान गरिएको समानताका लागि आवाज भक्तपुरका प्रवक्ता सुरेश राजभण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा समानताका लागि आवाज भक्तपुरका संस्थापक एवं राष्ट्रिय शारीरिक अपाङ् संघ नेपालका अध्यक्ष किरण शिल्पकार, एभरेष्ट स्कुलका प्रिन्सिपल भक्त राजभण्डारी, संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति रामप्रसाद मानन्धरलगायतले संस्थाले गर्दैं आएको कार्यक्रमको चर्चा गर्दै देशको तीन तहकै सरकारको नजर अपाङ्ताको क्षेत्रमा पर्नुपर्ने बताउनुभयो ।

काँग्रेसमा मन्त्री बन्नेको दौडधूप, यस्ता छन् आकांक्षीहरु

काठमाडौं, ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले भोली सोमबार सरकारमा विश्वासको मत लिएसँगै मन्त्रीपरिषद् बिस्तार गर्ने तयारी गरिएको छ । चैत १० गतेभित्र मन्त्रीपरिाष्द्लाई पूर्णता दिने गरि नेपाली काँग्रेस र प्रधानमन्त्री प्रचण्ड अगाड बढेपछि काँग्रेस भित्र मन्त्रीको आकाक्षीको लर्को लागेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेताहरु चैत १० पछिमात्र मन्त्रिपरिषद् विस्तार हुने बताउँछन्। विश्वासको मत लिएपछि १० दलको बैठक बसेर भागबण्डा टुंग्याइने र त्यसपछिमात्र पार्टीको बैठकबाट सरकारमा जानेको टुंगो लगाउने कांग्रेसको तयारी छ।

कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा नै  कांग्रेसमा चर्काचर्की हुने देखिन्छ। पार्टीका उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा शेखर कोइरालामध्ये एकले नेतृत्व गर्ने गरी सरकारमा पठाउनेबारे अनौपचारिक रुपमा छलफल चले पनि नेताहरु बोल्न चाहँदैनन्। विश्वासको मत लिएपछिमात्र यसबारे पार्टीमा छलफल हुने पार्टीका सहमहामन्त्री बद्री पाण्डे बताउँछन्। ‘विश्वासको मत लिएपछि छलफल होला। अहिले कसलाई सरकारमा पठाउने भन्ने तयारी केही भएको छैन,’ पाण्डेले भने।

पार्टी उपसभापति खड्का उपप्रधानसहित कुनै मन्त्रालय लिएर यसपटक सरकारमा जान चाहन्छन्। तर उनको लागि देउवाको सिग्नल ‘ग्रीन’ नरहेको बताइन्छ। पछिल्लो पटक पार्टी सभापति देउवापत्नी आरजुले खड्कालाई मन्त्रिपरिषद्मा पठाउन चाहिरहेकी छैनन्। अन्तिम समयमा खड्कासहितका केही नेताहरुका कारण गठबन्धन जोगाउन नसक्दा कांग्रेसले सरकारको नेतृत्व नै गुमाएको देउवा टिमको बुझाइ देखिन्छ। जसले गर्दा उपसभापति खड्का प्रचण्ड सरकारमा सहभागी हुन मुस्किल हुने बताइन्छ। यद्यपि खड्का भने ‘एनिहाउ’ सरकारमा जाने प्रयासमा छन्।

खड्कालाई पन्छाएर पार्टीको नेतृत्व गरी सरकारमा सहभागी हुन चाहने अरु नेताहरु हुन् प्रकाशमान, विमलेन्द्र र डा शेखर। प्रकाशमान र विमलेन्द्रले देउवालाई महाधिवेशनमा सघाएका पनि थिए। त्यसैले पनि यी दुबै नेतालाई पार्टीको नेतृत्व गर्ने अवसर देउवाले दिनसक्ने बताइन्छ। दुबै नेताप्रति देउवा सफ्ट रहेको बताइन्छ। यता प्रधानमन्त्री प्रचण्ड भने कांग्रेसबाट संस्थापनइतरका नेताहरु डा शेखर र गगन थापा सरकारमा आए सत्ता सुरक्षित हुने बुझाइमा रहेको बताइएको छ। यसले गर्दा देउवाले डा शेखरलाई पार्टीको नेतृत्व गरी सरकारमा पठाउन सक्ने चर्चा छ। तर डा शेखरको सचिवालयले भने यसबारे पार्टीको निर्णय आएपछिमात्र थाहा हुने जनायो। ‘शेखर दाइको नेतृत्वमा सरकारमा जाने भन्ने कुरा आएको छ। तर बाहिर हल्ला भएजस्तो पार्टीमा कुनै छलफल भएको छैन। विश्वासको मत लिएपछि पार्टीभित्र छलफल होला,’ डा कोइराला निकट एक केन्द्रीय सदस्यले भने।

नेपाली कांग्रेसले सरकारमा सहभागी हुन चार मापदण्ड तय गरिएको छ। मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको हो।

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले ८ देखि १० मन्त्रालय दाबी गर्ने बुझिएको छ। कांग्रेसले अर्थसहित परराष्ट्र मन्त्रालयमा दाबी गरेको छ।

अर्थमा कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत, डा नारायण खड्का, ज्ञानेन्द्रबहादुर कार्की र उदय शम्शेर राणाको नाम चर्चामा छ। यद्यपि देउवाको फेभरमा अहिले प्रवक्ता डा महत भएकोले कतिपय नेताहरुले महत नै अर्थमन्त्री हुने दाबी गर्छन्। ‘डा प्रकाशशरण महत देउवाको फेभरमा देखिन्छन्। महामन्त्रीमा जिताउन नसकेका कारण पनि महतलाई देउवाले न्याय दिने देखिन्छ,’ देउवा निकट एक केन्द्रीय सदस्यले भने।

यसैगरी परराष्ट्र मन्त्रालयमा आरजुको दाबी रहेको छ। शेखर र गगनलाई मन्त्रिपरिषद्मा पठाउन आरजुले नचाहेको संस्थापनइतरका नेताहरु बताउँछन्। त्यसैले संस्थापनइतरबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्री पाण्डे, जीवन परियार र रामनाथ अधिकारीलाई मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको बुझिएको छ।

देउवा टिमबाट एनपी साउद र सीता गुरुङ मन्त्री बन्ने पक्कापक्की भइसकेको कांग्रेस नेताहरुको दाबी छ। एनपी साउद महाधिवेशनमा महामन्त्रीबाट ब्याक भएर देउवालाई सघाएका नेता हुन्। त्यसैगरी सीता प्रत्यक्षमा निर्वाचित एकमात्र महिला सांसद हुन् कांग्रेसमा। यसैगरी प्रमुख सचेतक रमेश लेखक र नारायण खड्का पनि मन्त्री बन्ने लाइनमा छन्। कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका डा शशांक कोइरालाले पनि सरकारमा जाने रहर निर्वाचन अघिबाटै गरिरहेका छन्। कोइराला आफू सरकारमा सहभागी नभए उनको कोटाबाट एकजना मन्त्री पठाइने बताइन्छ। जसमा दिपक खड्का पक्कापक्की हुने शशांक निकट नेताले बताए।

भूभाग सन्तुलन मिलाउँदा काठमाडौंबाट एक जना मन्त्री बन्ने देखिन्छ। गगन मन्त्रिपरिषद्मा सहभागी नभए अर्जुननरसिंह केसीले पनि मन्त्रीमा दाबी गर्ने बताइन्छ। जातीय सन्तुलन मिलाउन रामेछापबाट निर्वाचित भएका कान्छाराम तामाङले पनि मन्त्रीमा दाबी गर्ने बताइन्छ। यद्यपि मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा भने १० दलको भागबण्डा र कांग्रेसको भागबण्डापछि मात्र टुंगो लाग्ने देखिन्छ।