दुई करोड ३२ लाख बैकिंङ कसुर मुद्दाका फरार घिमिरे पक्राउ

भक्तपुर, ७ असार : बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ हलेसी नगरपालिका–६ घरभई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरेलाई महानगरीय प्रहरी बृत्त जगातीको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनु भयो ।

घिमिरेले बिभिन्न १० जना व्यक्तिहरुलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी दुई करोड ३२ लाख ४० हजार रुपैयाँ बराबरको बैंकिङ कसुर गरी फरार रहेको उहाँले जानकारी दिनु भयो । पक्राउ गरी प्रहरी बृत्त जगातीको हिरासतमा राखेर घिमिरे माथि थप अनुसन्धान अगाडि बढाएको छ ।

गाडी र साल तथा सल्लाको काठ सहित दुई जना पक्राउ

भक्तपुर, ८ असार । अबैध रुपमा गाडीमा राखेर साल र सल्लाको काठ सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–३ बस्ने सवारी चालक ३० वर्षीय प्रबिन ठकुरी र काठ धनी सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ घर भई हाल काठमाण्डौ मुलपानी बस्ने ३३ वषीृय दानबहादुर सापकोटालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो ।

आज प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका–९ ब्रम्हायणी चेकप्वाईन्टबाट बा. १८ च. ३१३० नम्बरको बोलेरो गाडीलाई चेकजाँचको क्रममा बिल नभएको उत्तिस, सल्ला, चिलाउनेको अन्दाजी ३, ४ र ७ फिटका चिरेको र नचिरेको गरी २७ थान काठ ल्याएको फेला परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले नियन्त्रणमा लिएको काठ, गाडी र पक्राउ परेकालाई जिल्ला बन कार्यालय भक्तपुरमा बुझाइएको र बन ऐन अन्तर्गत आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको उहाँले जानकारी दिनु भयो ।

 

अबैध जग्गा खण्डिकरणले भोलीको पुस्ताले सराप्ने छ : नगर प्रमुख खत्री

भक्तपुर, ६ असार । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले चाँगुनारायणमा भइरहेको अबैध जग्गा खण्डिकरण एवं प्लटिङले भोलीका पुस्ताले सराप्ने बताउनु भएको छ ।

गैरसरकारी संस्था महासंघ भक्तपुर शाखा र राष्ट्रिय मानव अधिकार सञ्चार प्रतिष्ठान ललितपुरले संयुक्त रुपमा सोमबार आयोजना गरेको ‘विपद व्यबस्थापनमा स्थानीय सरकारसँग नागरिक समाजको अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

नगर प्रमुख खत्रीले भन्नुभयो, ‘हामीले हामी आफ्नै लागि विपत्ति निम्त्याउने कार्य गरिरहेका छौँ, अबैध रुपमा जग्गा खण्डिकरणले हाम्रो जिन्दगी त सहज कट्ला तर हाम्रा भोलीका पुस्ताले सराप्ने छन्, त्यसैले वस्ती विकासमा ऐन नियम, कानून बनाएर व्यबस्थित वस्ती विकास गर्नु आवश्यक छ, नागरिकलाई सचेत गर्नु आवश्यक छ ।’

चाँगुनारायण र सूर्यविनायक नगर नयाँ सहरको रुपमा विकास हुदैछ भन्दै उहाँले अहिले नै वस्ती व्यबस्थित गर्नु आवश्यक रहेको भन्दै उहाँले चाँगुनारायणले अबको ५० देखि १०० वर्ष पछाडिसम्मका लागि नगरपालिका कस्तो बनाउने भनेर सुरक्षित नगर, बस्न लागयक नगर र नमूनाको नगर बनाउने गरि दीर्घकालिन योजना ल्याउने बताउनु भयो ।

आफ्ना नगरवासीलाई बिपत्तिबाट कसरी जोगाउने र प्राकृतिक बिपत्ति आइ हाल्यो भने पनि त्यसबाट कसरी जनधनको क्षति हुन बाट रोक्ने तथा खोज तथा उद्धार र राहत वितरणको काम तत्काल गर्नेबारेमा चाँगुनारायण नगरपालिकाले पूर्ण रुपमा तयारी अबस्थामा रहेको बताउनु भयो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका नगर कार्यपालिका सदस्य सर्मिला विश्वकर्माले विपद जोखिम न्यूनकिरण गर्न सबै नगरपालिकाले योजनाबद्ध रुपमा तयारीमा लाग्नु पर्ने औल्याउनु भयो । त्यस अवसरमा नेपाल रेडक्रस सोसाईटीका महामन्त्री मनोज थापाले स्थानीय तहमा प्राृकतिक जोखिमको अबस्था, व्यबस्थापनको चुनौी, तयारी र सरकारले व्यबस्थापन गरेको नीतिलगायतका स्थानीय सरकारले चाल्नु पर्ने कदमकाबारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहका एवं निवर्तमान् अध्यक्ष पुष्करराज बुढाथोकीले सबै स्थानीय तहले आफ्नो नगरमा कस्ता विपत्तिको जोखिममा रहेको छ, त्यसको पहिचान गरि आवश्यक पूर्वतयारीमा जुटेर जनधनको क्षति हुनबाट रोक्ने गरि तयारी गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा गैसस महासंघ भक्तपुरका अध्यक्ष एवं कार्यक्रमका सभापति नारायणप्रसाद न्यौपानेले चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीलाई खादा लगाई सम्मान पत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भयो । त्यसअवसरमा राष्ट्रिय मानव अधिकार सञ्चार प्रतिष्ठानका कार्यक्रम अधिकृत मदन अधिकारीले कार्यक्रमको उदेश्य र औचित्यतामाथि प्रकाश पार्नु भएको थियो दिपेश विसुङ्खेले सहजीकरण गर्नु भएको थियो ।

गैसस महासंघ भक्तपुरका उपाध्यक्ष अनिता पाण्डेले सञ्चालन गर्नु भएको कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, गैससका बिभिन्न तहका पदाधिकारी एवं सल्लाहकार, गैससका प्रतिनिधि, पत्रकार एवं सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यस वर्षको एसईई परीक्षाको नतिजा असार ३२ गते सार्वजनिक हुदै

भक्तपुर, ७ असार :राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार ३२ गते भित्र सार्वजनिक गर्ने भएको छ ।

बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले अहिले एसईई परीक्षाकोसमयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य नितब्र रुपमा भइरहेको जानकारी दिदै प्राबिधिक रुपमा कुनै समस्या नआए असार ३२ गते भित्र नतिजा सार्वजनिक गर्ने गरि काम भइरहेको बताउनु भयो ।
राष्ट्रिय परीक्षा बोर्ड एसईई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायामाझीले असार ३२ गते एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिनु भयो ।

अहिले उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको काम समेत अन्तिम चरणमा पुगेको जानकारी दिदै उहाँले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्ने लगायतका काम भइरहेको जानकारी दिनु भयो । सम्पुर्ण काम सकेर असारको अन्तिम दिन अर्थात् असार ३२ गते नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक रायामाझीले बताए ।

कार्यालयले असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरि कार्ययोजना बनाएर काम भइरहेको भन्दै उहाँले प्राबिधिक रुपमा समस्या नआए असार ३२ गते नतिजा सार्वजनिक हुन्छ भन्नु भयो ।

यस अघि चार महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यसवर्ष करिब दुई महिनामै सार्वजनिक गर्ने गरि काम भइरहेको परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिनु भयो । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाट नसतजा सार्वजनिक भए पनि दुई वर्ष पछि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

दुई हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरि ५ लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायामाझीले जानकारी दिनु भयो । बोर्डले ६१ विषयमा परीक्षा सञ्चालन भएको थियो ।

दीर्घकालिन योजना एवं भूउपयोग नीति ल्याउन नगर प्रमुख खत्रीलाई बिज्ञहरुको आग्रह : नगर प्रमुखसँग नागरिक समाज

भक्तपुर, ५ असार : चाँगुनारायण नगरपालिका भित्र बसोबास गर्ने बौद्धिक, प्राज्ञिक एवं सरकारी उच्च तहमा रहेर कार्य गर्नु बिज्ञहरुले चाँगुनारायणको बिकासका लागि दीर्घकालिन योजना एवं भूउपयोग नीति बनाउन आग्रह गरेका छन् ।

नवनिर्वाचित नगर प्रमुख जीवन खत्रीलाई आज भक्तपुरमा आयोजित नागरिक समाजसंगको अन्तरक्रिया कार्यक्रममा बिज्ञहरुले दीर्घकालिन योजना एवं भूउपयोग नीति नहुँदा चाँगुनारायणको सम्पदादेखि खनिजसम्म संकटमा परेको भन्दै यस्ता नीति बनाउन आग्रह गरेका हुन् ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव वामनप्रसाद न्यौपानेले उपत्यकाका काठ क्षेत्रको बिकासमा सरकारले दीर्घकालिन सोच नराख्दा राजधानी उपत्यकाका काँठ क्षेत्र अहिले पनि बिकट जस्तै सास्ती खेप्नु परेको भन्दै यसलाई अब स्थानीय सरकारले सम्बोधन गर्नु पर्ने औल्याउनु भयो ।

उहाँले प्रदुषण फैलाउने इँटा भट्टालाई ततकाल हटाउनु पर्ने, यहाँका प्राकृतिक बालुवा खानी, माटो खानी र जमिन मुनीको पानीको दोहनलाई तत्काल रोक्नु पर्ने, गैरकानूनी जग्गा प्लटिङ् रोकेर कृषि योग्य जमिनको संरक्षण गर्नु पर्ने, नगरपालिकाले दीर्घकालिन योजना र भूउपयोग रणनीति तत्काल ल्याउनु पर्ने बताउनु भयो ।

संसद सचिवालयका सचिव सुदर्शन खड्काले अन्तर्राष्ट्रिय क्रिक्रेट मैदान बनाउने नाममा चाँगुको डाँडो भासेर अबैध बालुवा माटो बिक्री गरेको भन्दै यसअघि उत्तरदायी स्थानीय सरकार नभएको महसुस भएको बताउनु भयो । उहाँले विश्व सम्पदा सूचीँमा रहेको चाँगुनारायणमा बालुवा र माटोको व्यापक दोहन भएको भन्दै सार्वजनिक यातायातका साधनको सहज पहुँच चाँगुनारायणका अधिकांश क्षेत्रमा नहुँदा यहाँका बासिन्दाले सास्ती खेप्नु परेको औल्याउनु भयो ।

सडक बत्ति बाल्न, सामान्य सिफारिसमा समेत लिदै आएको मंहगो दस्तुर घटाउनु पर्ने नाम मात्रको नगर अस्पताललाई सेवा र सुबिधा सम्पन्न बनाउनु पर्ने, इँटा भट्टालाई निषेध गर्न नगर प्रमुखलाई आग्रह गर्नु भयो । नेपाल सरकारका सहसचिव धु्रब गैँडाले दिगो बिकास र शुसासनका केन्द्रीय भएर नगरपालिका अगाडि जानु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा पत्रकारद्धय विकास थापा र सुन्दर खनालले नगरपालिका पारदर्शी र सूचनामैत्री हुनु पर्ने, सबै सूचनाहरु वेभसाइटमा अपडेट हुनु पर्ने र जनताको आवश्यकताका आधारमा योजना बनाउनु पर्ने बताउनु भयो ।

बिज्ञहरु नेत्रप्रसाद न्यौपाने, पुरण फुँयाललगायतले सामुदायिक विद्यालयको शिक्षा अझै पनि ४० वर्ष अगाडिकै शैक्षिक पद्धतिमा चलिरहेको भन्दै नयाँ पाठ्यक्रम निर्माण गर्ने, नयाँ समय र प्रबिधि अनुरुप शिक्षालाई ढाल्दै लैजानु पर्ने आवश्यकता औल्याउनु भयो ।

गीतकार तथा साहित्यका हरिहर तिमिल्सिना, नेपाल रेडक्रस सोसाइटी केन्द्रय महामन्त्री एवं भक्तपुर सभापति मनोज थापा, प्राध्यापक शिव मुनंकर्मी, स्वास्थ्य बिज्ञ, प्राबिधिक, कानून, जलविद्युत क्षेत्रका बिज्ञहरुले नगरपालिकाको भ्रष्टाचार रोक्नु पर्ने, बिरोध गर्नेहरुको आवाज सुन्नु पर्ने, बिकासलाई आजका लागि नभई ५० वर्ष पछाडिलाई सोचेर योजना बनाउनु पर्नेलगायतका सुझाब दिनु भयो ।

कार्यक्रममा नगर प्रमुख खत्रीले ऐतिहासिक सम्पदा एवं पर्यटकीय गन्तव्य रहेको चाँगुनारायण नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउने लक्ष्यका साथ जनअपेक्षा र आवश्यकतालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।
उहाँले कार्यक्रमबाट आएको सुझाबलाई आत्मासात गर्ने बताउदै विभेदरहित ढंगले नगरको बिकासमा आफ्नो कार्यकाल खर्चिने र नगरवासीको आवश्यकतालाई पहिचान गरि विकासका आयोजनालाई अगाडि बढाउने बताउनु भयो ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं वडानंं ८ का वडाध्यक्ष जनक खत्रीले आर्थिक वर्ष २०७९/०८० का लागि जनअपेक्षित नीति, कार्यक्रम तथा बजेट बनाउने उदेश्यले बिभिन्न कोणबाट छलफल र सुझाब संकलन भइरहेको बताउनु भयो ।

त्यसअवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईले नगरपालिकाले विगतमा थालनी गरेका कामलाई निरन्तरता दिने र अधूरा कामलाई पुरा गर्ने बताउनु भयो । उहाँले आफ्ना नागरिकका चाहना र आवश्यकतालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर समिति श्रोत र साधनबाट धेरै उपलब्धी हासिल गर्ने गरि नगरपालिकाले योजना तर्जुमा गर्ने बताउनु भयो । उहाँले आउँदो आ.ब.का लागि नगरपालिकाले आन्तरिकतर्फ करिब ५२ करोडको बजेटको सिलिङ तयार पारेको बताउनु भयो ।

प्रधानमन्त्री देउवाको दूत बनेर एमाले अध्यक्ष ओली भेटन बालकोट पुगे गृह र कानूनमन्त्री

भक्तपुर, ३ असार । देशमा सत्ता पक्ष र प्रतिपक्षको वाक युद्ध चलिरहेकै बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटन आज दुई मन्त्री बालकोट स्थित उहाँकै निवासमा पुगेका छन् ।

संसदमा समेत सत्ता पक्ष र प्रतिपक्षबीच बिभिन्न विषयमा जुहारी चलिरहेकै बेलामा एमाले अध्यक्ष ओली भेट्न गृहमन्त्री बालकृष्ण खाँण र कानून मन्त्री गोविन्द्रप्रसाद शर्मा कोइराला साँझ बालकोटस्थित ओली निवासमा पुग्नुो हो ।

बालकोटस्थित ओली निवासमा ४ बजेर १७ मिनेटमा कानून मन्त्री कोइराला पुग्नु भएपछि सुरुमा एमाले अध्यक्ष ओली र मन्त्री कोइरालाबीच भेटवार्ता भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।

उहाँहरुको भेटको बीचमा साँझ ५ बजेर १७ मिनेटमा गृहमन्त्री खाँण ओली निवास बालकोट पुग्नु भएको थियो । भेटवार्ता सकेर दुई मन्त्री ओली निवासबाट साँझ ६ बजेर ४५ मिनेटमा बाहिरिनु भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट संसदमा विचाराधीन विधेयकहरूकोबारेमा ओलीसँग छलफल गर्न दुई मन्त्री बालकोट पुग्नु भएको बताइएको छ ।

भेटमा मुख्य गरि संसदमा रहेको नागरिकता विधेयकबारे छलफल भएको बताइएको छ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ । नागरिकता विधेयश संसदबाट पारित गर्न एमालेको सहयोग गर्नेबारे छलफल भएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय मार्फत राप्रपा भक्तपुरले प्रधानमन्त्री देउवालाई बुझायो ज्ञापन पत्र

भक्तपुर, १ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुर जिल्ला समितिले आज जिल्ला प्रशासन कार्यालय भक्तपुर मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

राप्रपा केन्द्रीय नेता एवं पूर्व मन्त्री टंक ढकाल, सहमहामन्त्री रबिन्द्रप्रताप शाह, केन्द्रीय सदस्य रामहरि थापा, जिल्ला अध्यक्ष रामशरण लामिछाने, नेताहरु मुकुन्द कार्कीलगायत जिल्लाका नेता तथा कार्यकर्ताहरुले पार्टीको जिल्ला कार्यालय कमल विनायकबाट र्याली सहित जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेर ज्ञापन पत्र बुझाएको हो ।

राप्रपा भक्तपुरका अध्यक्ष लामिछानेले जिप्रकामा र्याली सहित पुगेर सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरेको १९ बुँदे बिभिन्न माग सहितको पत्र बुझाउनु भएको हो । समक्ष ले विभिन्न मागसहित २२ बुँदे ज्ञापनपत्र बुझाएको छ । राप्रपाले आज काठमाडौँमा प्रधानमन्त्रीलाई र देशका ७६ जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको जनाएको छ ।

राप्रपाले महँगी नियन्त्रण, किसानलाई समयमा नै मल, बीउ उपलब्ध गराइनुपर्ने, लगायत जनजीविकासँग सरोकार राख्ने मुद्दाहरुको साथै राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदुढीकरण, सुशासन र समृद्घिसँग सम्बन्धित माग सरकारसमक्ष पेश गरेको सहमहामन्त्री शाहले जानकारी दिनु भयो ।

राप्रपाले केन्द्र र स्थानीय दुई तहको बलियो सरकार बनाउनुपर्ने, मुलुकलाई एउटै निर्वाचन क्षेत्र कायम गरी संसद्को निर्वाचन पूर्ण समानुपातिक रुपमा गराउनुपर्ने, मौलिक अधिकारको रुपमा रहेको शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुपर्ने, भूमिहीन तथा घरवारविहीन सुकुम्बासी समस्याको स्थायी समाधान गर्नुपर्ने, बेरोजगारी समस्याको दीर्घकालीन समाधान गर्नुपर्ने, व्यापार घाटा नियन्त्रण गर्दै व्यापार सन्तुलन कायम गर्नुपर्ने, पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा घोषणा गरी उक्त दिन सार्वजनिक बिदा दिर्नुपर्ने, राजसंस्था पुर्नस्थापना गर्नु पर्ने माग गरेको उहाँले जानकारी दिनु भयो ।

यसैगरी ज्ञापन पत्रमा अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा, लिपुलेक फिर्ता लिन कूटनीतिक पहल गर्नुपर्ने, महिला, बालबालिका तथा दलित समुदायविरुद्घ हुने सबै प्रकारका हिंसा र विभेद अन्त्य गर्न सशक्त कदम चाल्नुपर्ने, विदेशमा रहेका नेपाली नागरिकले आगामी निर्वाचनमै मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने, स्थानीय तहमा लगाएका अव्यावहारिक करहरु तथा तीन तहका सरकारबाट लगाइएका दोहोरो कर तत्काल खारेज गर्नुपर्ने, वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र निर्माण गर्नुपर्नेलगायत माग गरिएको छ ।

गरिब बिद्यार्थीका लागि नगरपालिकाका उपप्रमुख बुढाथोकीद्धारा १०० जोर पोशाक प्रदान

भक्तपुर, १ असार : चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफ्नै खर्चबाट आज चानपा–२ दुवाकोटस्थित आजात माध्यमिक विद्यालयका निम्न आय भएका १०० जना छात्रछात्राका लागि १०० जोर पोशाक प्रदान गर्नु भएको छ ।

नगरपालिकाबाट पाएको सुबिधाको गाडी चाँगुनारायणका असाह्य, अपाङ्ग र जेष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य सेवा पुर्याउने उदेश्यले चाँगुनारायण अस्पताललाई प्रदान गर्नु भएका उपप्रमुख बुढाथोकीले आज चानपा–२ दुवाकोटस्थित आजात माध्यमिक विद्यालयका विद्यार्थीका लागि पोशाक हस्तान्तरण गर्नु भएको हो ।

उहाँले विद्यालय व्यबस्थापन समितिका अध्यक्ष टेकबहादुर लाखाजु, विद्यालयकी प्रधानाध्यापक गीता ढकाल दवाडीलाई स्कुल पोशाक हस्तान्तरण गर्नु भयो । बुढाथोकीले सामाजिक सेवा अन्तर्गत आफ्नो ब्यक्तिगत रकमबाट पोशाक खरिद गरि विद्यार्थीका लागि विद्यालयलाई हस्तान्तरण गरेको बताउनु भयो ।

उपप्रमुख बुढाथोकीले नगरपालिकाबाट आफूले पाउने सम्पूर्ण तलब, भत्ता, सुबिधाहरु आफूले नलिने र त्यस वापतको रकम शिक्षाको क्षेत्र एवं महिला रोजगारीको क्षेत्रमा खर्च गर्ने घोषणा गर्नु भएको छ ।

भक्तपुर अदालतको फैसला सदर गर्दै बिक्री भएको कमल पोखरी सार्वजनिकनै हुने उच्च अदालतको फैसला, खुसीयालाी मनाउदै बोडेवासीले गरे बाजागाजासहित पोखरी परिक्रमा

भक्तपुर, १ असार  : मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष पुरानो धार्मिक, ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेको कमल पोखरी अर्थात पलिस्वाँ पुखुःसार्वजनिक नै रहेको अदालतले फैसला गरेको छ ।

आज उच्च अदालत पाटनले कमल पोखरीको मुद्धाको अन्तिम किनारा लगाउदै उक्त पोखरी सार्वजनिक नै रहेको फैसला गरेको हो । अदालत परिसरबाट मध्यपुरथिमि नगरपालिकाका पूर्व नगर प्रमुख मदनसुन्दर श्रेष्ठले उच्च अदालत पाटनका न्यायाधिसद्धय राजेन्द्र खरेल र रमेश ढकालको संयुक्त इजलालसले भक्तपुर जिल्ला अदालतको फैसलालाई सदर गर्दै कमल पोखरी सार्वजनिक रहेको फैसला गर्नु भएको जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, “कमल पोखरी बिक्री भएपछि बोडेका बासिन्दाले पोखरी जोगाउन संरक्षण समिति बनाएर अभियाननै चाल्नु भयो, भक्तपुर जिल्ला अदालतले २०७५ साल असार १९ गते पोखरी सार्वजनिक भएको फैसला गर्दै संरक्षणलाई आदेश दिए पछि नगरपालिकाले तत्कालै ७५ लाखको बजेट विनियोजन गरेर संरक्षण अभियान थाल्यौ, आज फेरी जनताको पक्षमा फैसला आउँदा हामी खुसी भएका छौँ ।”

पाटन उच्च अदालतको प्रत्येक पेशीदेखि हिजो र आजसम्म बोडेका युवा, महिला, जेष्ठ नागरिक, जनप्रतिनिधिदेखि यहाँका बासिन्दाले अदालत परिषर क्षेत्रमा पोखरी सार्वजनिक रुपमा फर्काउन माग गर्दै हात हातमा प्ले कार्ड बोकेर धर्ना दिएका थिए ।

अदालतको फैसला आउने बित्तिकै धर्नामा बसेका स्थानीयवासीमा खुसीयाली छाएको स्थानीयवासी एवं शिक्षासेवी बिरेन्द्र जयनाले बताउनु भयो । उहाँले भन्नुभयो, “आज जनताको जित भएको छ, यो फैसलाले सिंगो बोडेवासी र मध्यपुरवासीमा खुसी छाएको छ, सेतै कपाल फुलेका जेष्ठ नागरिकदेखि महिला, युवा, नेतासमेतले घाम पानी नभनी पोखरी फर्काउन लागिपर्नु भएको थियो । यो फैसलाले सार्वजनिक सम्पत्तिमा आँखा लगाउने भूमाफियालाई सचेत गराएको र जनताको पक्षमा फैसला आएको छ ।”

आज दिनभर पूर्व नगर प्रमुख श्रेष्ठ, वर्तमान् नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय श्रेष्ठ, ८ नं.का वडाध्यक्ष रमेश थापा श्रेष्ठ, कमल पोखरी संरक्षण समितिका संयोजक गणेशमान चक्रधर, अन्य जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा स्थानीयवासी जनताको पक्षमा फैसला आउने आशामा अदालत परिसरमा बस्नु भएको थियो ।

तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं. १ को १५ रोपनी ९ आना सार्वजनिक पोखरी २०४२ साल असार ३१ गते पोखरीको रेखदेख गर्ने कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते अधिकृत वारेशनामा बकसपत्र गरी मनाङ्ग घरभई काठमाडौं ठमेल बस्ने ग्ल्याल्पो गुरुङ्गको नाममा पास भएको थियो ।

जसमध्ये १३ रोपनी ९ आना ग्ल्याल्पोको नाममा, १ रोपनी तेन्जी शेर्पिणीको नाममा, एक रोपनी कर्सी जद्योना गुरुङ्गको नाममा पास गरी हाल ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिको नाममा जग्गा पास गरेर बिक्री गरेको पाइएको थियो । स्थानीय गणेशमान चक्रधरको संयोजकत्वमा ऐतिहासिक कमल पोखरी (पलिस्वाँ पुखुः) संरक्षण समितिनै गठन गरी पोखरीको धनीपूर्जा खारेज गरी पोखरीलाई सार्वजनिक कायम गर्न माग गर्दै मुद्धा दायर गरेका थिए ।

त्यसपछि जिल्ला अदालत भक्तपुरले २०७५ साल असार १९ गते मंगलबार वादी कान्छा चक्रधर र प्रतिवादी सुर्जेराम श्रेष्ठसमेत भएको उक्त मुद्दामा जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले मध्यपुरथिमि–८ बोडेस्थित कमलपोखरीलाई सार्वजनिक कायम गरी संरक्षण गर्नुपर्ने फैसला सुनाउदै पोखरीको संरक्षण गर्न आदेश जारी गरेको थियो । जग्गा खरिद गर्ने पक्ष जिल्ला अदालतको फैसला बिरुद्ध उच्च अदालत पाटनमा मुद्धा दर्ता गराएका थिए । अवैध रुपमा दर्ता तथा किनबेच गरि पोखरी पुरेर जग्गा टुक्राउन डोजर आए पछि मात्रै पोखरी बिक्री भएको स्थानीयले चाल पाएका थिए ।

मध्यपुरथिमि नगरपालिकाले दुई वर्ष लगाएर कमल पोखरी संरक्षण अभियान चलाउदै पोखरी सफा गर्ने, पोखरीमा पानी भर्ने वरिपरि ढुङ्गाको पर्खाल निर्माण गर्दै पोखरीको वरिपरि दाँची अप्पा, माँअप्पा इँटाको प्रयोग गरेर कलात्मक र ऐतिहासिक शैलीमा पुनःनिर्माण गरी बार लगाइएको छ । पोखरीको वरिपरि निर्माण भएको १० फिट चौडाइको ढलानसहितको फुटपाथ त्यसमाथि पोखरीको डिलमा तेलिया इँटा छापेर खाली खुट्टाले पनि हिँड्न मिल्ने बनाइएको छ ।

पोखरीमा पाँच लाखको लागतमा दुईवटा डुङ्गा सञ्चालनमा ल्याएको, दुई हजार माछाको भुरा छाडेको र पोखरीमा रोपिएको कमलको बिरुवाबाट अहिले फूल फुल्न थालेको छ । पोखरीमा अहिले आन्तरिक पर्यटकको गन्तव्य बनेको छ ।

यहीँ पोखरीमा फुलेको कमलको फूल यहीँको लायकू दरबारमा दसैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँकोे फूल चढाएर जात्रा चलाउने र जिब्रो छेड्ने जात्रा चलाउने ५० वर्ष अगाडिको परम्परालाई नगरपालिकाले यसै वर्षदेखि सुरु गर्न पाएको श्रेष्ठले बताउनु भयो ।

उच्च अदालतको फैसलामा खुसीयाली मनाउदै आज साँझदेखि बोडेमा बाजागाजासहित र्याली प्रर्दशन गरिएको बोडे युवा क्लबका दीलकृष्ण प्रजापतिले जानकारी दिनु भयो । उहाँले वर्तमान् र पूर्व जनप्रतिनिधि, स्थानीयवासीहरुले धिमे बाजा बजाएर बोडे र यहाँको कमल पोखरी परिक्रमा गरि खुसीयाली मनाएको जानकारी दिनु भयो ।

प्रदेश सरकार खारेज गर्दै समानुपातिक निर्वाचन प्रणाली लागू गरौँ–राप्रपा अध्यक्ष लिङ्देनद्धारा माग

भक्तपुर, ३१ जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्री अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश संरचना खारेज गर्नु पर्ने बताउनु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा–काठमाडौं उपत्यका सम्पर्क समाजको दोस्रो अधिवेशनको आज जडिबुटीमा उद्घाटन गर्दै उहाँले देशलाई आर्थिक भार पार्ने तर उपलब्धी नहुने संघीय संरचना र प्रदेश सरकार आवश्यक नभएको भन्दै खारेज गर्नु पर्ने बताउनु भएको हो ।

गणतन्त्र सघीयता र धर्मनिरपेक्षताले यो देशको भलाई गर्दैन भन्दै उहाँले पछिल्लो समयमा यो प्रमाणित हुदै गएको दाबी गर्नु भयो । देशको राष्ट्र राजसंस्था, धर्म निरपेक्षको सट्टा सापेक्ष हिन्दु राष्ट्र पुर्नस्थापना गर्दै प्रदेश पूर्ण रुपमा खारेज गर्नु पर्ने बताउनु भयो ।

संघीयता एवं प्रदेश कामै नभएको भन्दै अध्यक्ष लिङ्देनले भन्नुभयो, “प्रदेश पूर्ण रुपमा खारेज गर्नु पर्छ, संघ र स्थानीय सरकालाई थप अधिकार सम्पन्न गर्नु पर्छ, देश भरि नै एउटा निर्वाचन क्षेत्र बनाएर पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नु पर्छ, प्रतक्ष्य जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्ययबस्था हुनु पर्छ ।”

अहिलेको व्यबस्था सांसद बन्न जनताको भोट किन्नु पर्ने र सांसद किनेर प्रधानमन्त्री बनाउनु पर्ने अबस्था आएको आरोप लगाउदै यो व्यबस्था असफल भएको बताउनु भयो ।

कार्यक्रममा राप्रपा वाग्मति प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री बिक्रम थापा, प्रवक्ता गोपाद दाहाल, सहायक महामन्त्री वियज खड्का, सहायक प्रवक्ता प्रविणकुमार ठोकर तामाङ, मोनिका श्रेष्ठ, पार्टीका दोलखा अध्यक्ष राजन बहादुर शिवाकोटी लगायतले कार्यकर्तालाई संगठन मजबुद बनाएर अगाडि बढ्न निर्देशन दिनु भयो । अध्यक्ष होमबहादुर केसी आपागाईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

समाजको अधिवेशनले आपागाईको नेतृत्व :

त्यसै गरि समाजको अधिवेशनको बन्द सत्रले पुनः होमबहादुर केसी आपागाई अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको पार्टीका सहायक प्रवक्ता ठोकरले जानकारी दिनु भयो ।

समाजको वरिष्ट उपाध्यक्षमा निरज कोइराला, उपाध्यक्षमा यादव कार्की, उपाध्यक्षमा गंगाबहादुर बस्नेत (रामहरि), सचिवमा रुपक आचार्य, प्रवक्तामा राजेन्द्र खड्का, कोषाध्यक्षमा सपना घतानी, सह–कोषाध्यक्षमा सुभराज कार्की, सह–कोषाध्यक्षमा माधव थापा, सह सचिवमा पुष्पा कार्की निर्वाचित हुनु भएको छ ।

त्यसैगरि सदस्यहरुमा राजेन्द्र भन्डारी, सुरेन्द्रप्रसाद भन्डारी, सोभित्रा खड्का, रामशरण खड्का, राजकुमार थोकर, दिपेश खड्का, कृष्णबहादुर तामाङ, दिनेश विक, शिबहरी फुयाँल, रामचन्द्र घतानी, अँसु थापा, कृष्ण घतानी, हरि घतानी, श्रीमद कार्की, अजय थापा, दिपक कार्की, राजन बुढाथोकी, मनोज योन्जन, भोला शिवाकोटी, पुष्पा कार्की, राजेन्द्र बस्नेत, तारा खड्का, वीरबहादुर फुयाँल, भक्तबहादुर श्रेष्ठ, हरि न्यौपाने, अनिल रिजाल, अभिनाश खड्का, रामबहादुर खड्का, सुन्दर बस्नेत, उदय बस्नेत, सौरब कार्की, रामशरण केसी, राजेन्द्र बस्नेत, सागर दाहाल, केदार शाही, दिनेश कार्की, सुन्दर घिमिरे, सुजन पक्कुवाल, अम्बरबहादुर दर्जी, एल वि कार्की, शिबहरी पक्कुवाल चयन हुनु भएको छ ।