सात राजदूतको सपथ

काठमाडौँ, ३१ असार  : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उक्त अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो ।

शपथ लिने राजदूतहरुमा तीर्थराज वाग्ले (बहराइन), डोरनाथ अर्याल (ओमान), नवराज सुवेदी (साउदी अरेबिया), बासुदेव मिश्र (श्रीलङ्का), भरतकुमार रेग्मी (अष्ट्रिया) तथा संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि, सुशीलकुमार लम्साल (इजिप्ट) र घनश्याम भण्डारी (बङ्गलादेश) हुनुहुन्छ ।

शनिवार बिहानै ३०० यात्री साइकलमा सररर……………

भक्तपुर, ३१ असार । भक्तपुरको पर्यटकीय क्षेत्रलाई विश्वमाझ चिनाएर स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने मुख्य उदेश्य लिएर भक्तपुरमा ३०० जना भन्दा बढीले एकै साथ साइकल यात्रा अर्थात साइकलिङ च्यालेन्ज गर्ने भएका छन् ।

पैदल र पेडल मैत्री सहर भन्ने मुख्य नाराका साथ कोरा भक्तपुर अभियान चलाएका साइकल कनेक्ट भक्तपुरले आज रफत सञ्चार क्लब सूर्यविनायकमा आयोजना गरेको पत्रकार सम्मेलनमा भोली शनिवार बिहान ६ बजेबाट साइकलिङ च्यालेन्ज कार्यक्रम अन्तर्गत ‘भक्तपुर कोरा २०२२’ सुरु गर्ने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती वाचन गर्दै आयोजक साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुनिल बालाले भोली शनिवार बिहान पर्यटकीय एवं सम्पदा स्थल भक्तपुर दरबास्क्वायरबाट एकै साथ ५०, ७५ र १०० किलोमिटरको तीन वटा रुटमा साइकलिङ च्यालेन्ज यात्रा सञ्चालन गरिने जानकारी दिनु भयो ।

साइकलिङ च्यालेन्जमा ५० किलोमिटरका लागि ८ महिलासहित १३८ जना, ७५ किलोमिटरका लागि २ महिलासहित ४७ जना र १०० किलोमिटरका लागि ३ महिलासहित १०७ जना गरि कूल २९२ जनाले नाम दर्ता गराएको र भोली बिहानसम्म ३०० भन्दा बढीको सहभागिता रहने उहाँले बताउनु भयो ।

अध्यक्ष बालाले भन्नुभयो, “साँस्कृतिक र प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै विश्वमाझ नेपाललाई चिनाउदै पर्यटकको आगमन बढाउने मुख्य उदेश्यले यो कार्यक्रम आयोजना गरेका हौ, त्यसको साथै कोरोनाबाट मृत्यु भएका पाराएथलिट तथा साइकलिष्ट यमलाल रसाईको परिवारलाई आर्थिक सहयोग गर्न रु. ६ लाखको कोष स्थापना गर्ने लक्ष्यले यो कार्यक्रम आयोजना गरेका हौँ ।”

यस कार्यक्रममा खाजाका लागि रु. ५०० बाहेक निःशुल्क सहभागिता जनाउन सकिने आयोजकले बताएको छ । सांस्कृतिक र प्राकृतिक छटाहरुको कनेन्ट साइकलबाट गराउने, वातावरण संरक्षणका लागि साइकलिङका प्रवद्र्धन गर्ने, नेपालमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको छ ।

पत्रकार सम्मेलनमा साइकलिङ च्यालेन्ज कार्यक्रमका संयोजक सुनिल ख्याजूले कोरा भक्तपुर साइकलिङ च्यालेन्जका लागि तीन वटा रुट बनाएर भक्तपुरका चार वटै नगरपालिकाका सहरदेखि ग्रामिण क्षेत्रसम्मका आकर्षक पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो “निर्धारण गरिएका तीन वटा रुटमा ३०० जनाले २५ हजार किलोमिटरको यात्रा तय गर्ने भएको छ । यो यात्राका लागि कम्तीमा १३ घण्टा लाग्ने अनुमान हामीले गरेका छाँै, यो यात्रा साईकलप्रेमीहरुका लागि मात्रै नभई पर्यटनप्रेमी र अरुका लागि पनि हो ।”

बिहान ६ बजे भक्तपुर दरबार क्षेत्रबाट सुरु हुने यात्रा सिद्धपोखरी, मध्यपुरथिमिको निकोसेरा, बहाखा बजार, बोडे, निलबाराही, चाँगुनारायण नगरपालिकाको वेशीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाठ, खावा, नाला गुम्बा, सूर्यविनायक नगरको भंगाल, लटरम्बेश्वर महादेव, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डुप, गाम्चा, सिरुटार, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा आएर समापन हुने छ ।

च्यालेन्जमा भक्तपुर, काठमाडौं, ललितपुर, बनेपा, पनौति, पोखरा, तनहुँ, धरानलगायतका शहरहरूबाट साइकलयात्री सहभागी रहने संयोजक ख्याजुले बताउनु भयो ।

कार्यक्रममा पर्यटन व्यवसायी एवं होटल हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले साईकलबाट पनि आन्तरिक तथा बाह्य पर्यटनको बिकास गर्न सकिन्छ भनेर युवाहरुले सुरु गरेको अभियान निकै सकारात्मक भएको बताउनु भयो । उहाँले नेपालको साँस्कृतिक सम्पदा एवं प्राकृतिक सोन्दर्यतालाई विश्वमा चिनाउन सफल हुने यस्ता कार्यक्रमले ग्रामिण क्षेत्रको पर्यटनको विकासमा समेत टेवा पुर्याउने बताउनु भयो ।

त्यसअवसरमा नेपाल इको प्यानलका सञ्चालक कृष्ण भक्त दुवाल, रफत सञ्चार क्लबका अध्यक्ष शुसिलबन्धु थापालगायतले सरकारले अब बन्ने सडकमा अनिवार्य साइकल लेनको व्यबस्था गर्न र साईकल यात्रालाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन आग्रह गर्नु भयो ।

जव हातमा मसाल बोकेर सूर्यविनायक सडकमा निस्कियो सरकारको शव

भक्तपुर, २९ असार । भक्तपुरको सूर्यविनायक सडक । साँझ ढल्किदै थियो । मानिसहरुको जमघट बाक्लिदै गयो । केही बेरमै एमाले निकट राष्ट्रिय युवासंघ नेपालका कार्यकर्ताहरु र नेताहरुको उपस्थिति बाक्लियो । अपरान्ह पाँच बजेदेखि नै बाक्लिएको सूर्यविनायक चोकमा युवा संघका नेताहरुले गठबन्धन सरकारले चरम मूल्य बृद्धि गरेर जनताको गाँस बास खोस्न खोजेको र बाच्नै कठिन हुने अबस्थामा पुर्याएको भन्दै सरकारको आलोचना भइरहेको थियो ।

त्यत्तिकैमा सडकमा मानिसहरुले लहरै हात हातमा मसाल लिएर बिच सडकमा सरकारको शव यात्रा गरे । त्यो देखेर वरिपरिका मानिस मात्रै होइन, सडकमा गुडिरहेका सवारी समेत टक्कर रोकिएर सरकारको शव हेर्न थाले ।

हातमा मसाल बोक्नेहरुले शेरबहादुर देउवा नेतृत्व सरकारको आलोचना गर्दै नारा लगाउदै अगाडि बढिरहे. । यो दृश्य हो राष्ट्रिय युवासंघ नेपाल भक्तपुर जिल्ला कमिटीद्वारा जिल्ला कमिटी उपाध्यक्ष कम्रेड रबिन थापा को नेतृत्वमा आयोजित परमादेश संघीय सरकारले गरेको चरम मुल्य वृद्धि र अर्थ मन्त्री जनार्दन शर्माको अनैतिक गतिविधिको विरोध गर्दै मसाल जुलुस प्रर्दशन गरेको थियो भने सरकारको शव यात्रा गरेको थियो ।

कार्यक्रममा एमाले पार्टी जिल्ला कमिटीका अध्यक्ष वचन देउजा र सचिवमोहनवीर श्रेष्ठ को सहभागिता पनि रहेको थियो । कार्यंक्रममा राष्ट्रिय युवासंघ नेपाल भक्तपुर जिल्ला कमिटी, एमाले सुर्यविनायक नगर कमिटी, अखिल नेपाल महिला संघ भक्तपुर २ नम्बर क्षेत्रका नेता कार्यर्का लगायत अन्यको बाक्लो उपस्थिति रहेको थियो ।

 

भक्तपुरमा ६ महिनाको अबधीमा २४० वटा मानव अधिकार हननका घट्ना, अपराधका ४७३ वटा घट्ना सार्वजनिक

भक्तपुर, १३ असार : भक्तपुर जिल्लामा विगत ६ महिनामा मानव अधिकार हननका २४० वटा घट्नासहित कूल ४७३ वटा घटना बिभिन्न घट्नाहरु घटेका छन् । आज अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले यहाँ आयोजना गरेको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा २०२२ जनवरीदेखि जुनसम्म भक्तपुरमा भएका मानव अधिकार हननका घट्नाको सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

इन्सेक भक्तपुरले सार्वजनिक गरेको तथ्यांक अनुसार यो ६ महिनाको अबधीमा पाँच जनाको हत्या, तीन जना आफ्नै परिवारबाट हत्या, नौ जनाको हत्या प्रयास, १४ जनाको बलात्कार, दुई जनाको बलात्कार प्रयास, चारजना बहुबिवाहको, एक जना मानव बेचबिखन तथा ओसारपसर र एक जना अपहरण उद्योगबाट पीडित भएका छन् ।

त्यस्तै अभद्र व्यबहारबाट ३७ जना महिला पीडित भएका छन् भने घरेलु हिंसाबाट पाँच जना महिला, पाँच ठगिबाट जना आत्महत्या दुरुत्साहनबाट दुई जना पीडित भएका छन् । भक्तपुर जिल्ला अदालनतमा सम्बन्ध बिच्छेदका लागि १७४ जनाको मुद्धा दर्ता गराएकोमा १२१ जनाको सम्बन्ध बिच्छेद भएको छ । बैंकिङ् कसुरबाट १२८ जना लागू औषधमा १३, पशु जन्य अपराधमा १ जना, चोरीका घट्ना ३१, चोरी गर्ने उद्योगमा एक, जुवाका ६ वटा घट्ना भएका छन् ।

यसअबधीमा आत्महत्याका घट्नाबाट ३४ जनाको ज्यान गएको छ । त्यस्तै बालिबालिका, महिला, पुरुष गरि ११७ जना हराएकोमा ९३ जना भेटिएका छन् । त्यस्तै सवारी दुर्घटनामा १५ जनाको ज्यान गएको छभने दुई जनाको अंगभंग भएको छ ।

कार्यक्रममा महानगरीय पहरी परिसर भक्तपुरका प्रमुख शिबकुमार श्रेष्ठले अपराधको मुख्य कारक तत्व लागू औषधको कारोबार एवं दुव्र्यसनी र मदिरा सेवननै रहेको बताउदै यसलाई सरकारले कडाईका साथ नियन्त्रणकोनीति लिनु पर्ने बताउनु भयो ।

उहाँले भक्तपुरमा पहिलो लागू औषध, दोश्रोमा बलात्कार, तेश्रोमा चोरी, चौथोमा सवारी ज्यान, पाँचौमा ठगी जस्ता समस्या जटिल बन्दै आएको बताउदै अपराध मुक्त समाज निर्माणका लागि समुदायले आफ्नो समाजलाई अपराध मुक्त बनाउने अभियान सञ्चालन गर्नेमा जोड दिनु भयो ।
बलात्कारमा ३० प्रतिशत त गलत नियतले फसाउनका लागि आएका उजुरी हुने गरेको बताउनै उहाँले भक्तपुरमा कुनै पनि समस्या र उजुरी गर्नु परेमा कसैको भनसुन नगरी सिधै प्रहरी परिसरको सोधपुछमा आएर सम्पर्क गरे पुग्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल बार एशोसियसन भक्तपुरका अध्यक्ष रबिन्द्र प्रधानले यातायात मजदुर, इँटा भट्टा, बालुवा तथा माटो खानी, श्रम क्षेत्रमा अपराधका घट्ना बढी हुने गरेको बताउदै अधिकार प्रयोगका नाममा छाडा र दुरुपयोग भइरहेको औल्याउनु भयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष नारायण न्यौपानेले अपराध नियन्त्रणमा गैससले अभियान नै सञ्चालन गरेको बताउनु भयो । नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार एवं पूर्वअध्यक्ष पुष्करराज बुढाथोकीले अपराधको मुख्य कारक तत्वको खोजीलाई त्यसलाई जरैदेखि उखेल्नु पर्ने बताउनु भयो ।

त्यसअवसरमा गैसस महासंघका कोषाध्यक्ष पहलमान श्रेष्ठ, मानव अधिकारकर्मी युवराज घिमिरे, सिविसका महासचिव अनिता पाण्डे, पत्रकार रामचन्द्र प्रजापति , गैससकी सीता अधिकारी, इन्सेकका भक्तपुर सहजकर्ता राजु मंग्रान्ती, मानव अधिकार समूहका अध्यक्ष बच्चुराम न्यौपानेलगायतले मानव अधिकारको वर्तमान् अबस्थाकाबारेमा चर्चा गर्नु भएको थियो ।

एकीकृत समाजवादीको राष्ट्रिय भेला तीन नेताको बहिष्कार

काठमाडौं १३ असार । सत्तारुढ नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक जारी छ। सोमबार र मंगलबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित परिषदको बैठकमा सहभागी हुन देशभरबाट प्रतिनिधि उपस्थित भएका छन्।

प्रज्ञा भवनमा सोमबारदेखि सुरु केन्द्रीय परिषदको बैठकमा समूहगत छलफल सुरु भएको छ। पहिलो दिनको बैठकमा प्रदेशगत रुपमा ११ वटा समूह निर्माण गरी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ‘राजनीतिक तथा सांगठनिक प्रतिवेदन’माथि छलफल सुरु भएको छ।समूहगत छलफलबाट आएका निष्कर्षसहित मंगलबार बस्ने बैठकमा थप छलफल गरेर अध्यक्षले बैठक समापन गर्ने एकीकृत समाजवादीले बताएको छ।

मन्त्रीबाट बिदा ३ नेता अनुपस्थित
केन्द्रीय परिषद बैठकमा आइतबारमात्र मन्त्री पदबाट बिदा भएका ३ जना निवर्तमान मन्त्री अनुपस्थित भए। देशभरका प्रतिनिधिहरू उत्साहित हुँदै बैठकमा उपस्थित हुँदा काठमाडौंमै रहेका उनीहरु भने बैठकमा देखिएनन्।

निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ बैठकमा उपस्थित भएनन्। पार्टीले पूर्व जानकारी नगराई निर्णय गरेको भन्दै असन्तुष्ट भएर सरकारबाट बाहिरिन आनाकानी गरेका उनीहरु केन्द्रीय परिषद् बैठकमा उपस्थित नहुनु अर्थपूर्ण भएको चर्चा बैठकस्थल भित्रै चलेको थियो।

ढिलो पुगेकी रामकुमारी निराश
शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट आइतवार मात्रै राजीनामा घोषणा गरेकी नेतृ रामकुमारी झाँक्री भने बैठकस्थलमा ढिलागरी उपस्थित भएकी थिइन्।

झाँक्री पुग्दा अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरिरहेका थिए। मन्त्री पदबाट राजीनामा दिँदै गर्दा रामकुमारीले सिंहदरबारमा बगाएको आँसुको चर्चा समाजवादीको बैठकस्थलमा आज पनि चल्दै थियो।

बैठकस्थलमा पुग्दै गर्दा उनको अनुहारमा उत्साह थिएन। केही बेचैनी र उदासीनतासहित उपस्थित भएकी झाँक्री बैठकमा पुगेसँगै मोबाइलमा ब्यस्त देखिइन्।

केही कार्यकर्ता अघि–पछि लगाएर पुगेकी झाँक्रीले सुरुमा महासचिव वेदुराम भुसालसँग केही भलाकुसारी गरिन्। लगत्तै, मञ्चको पछिल्लो लाइनमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईनजिक पुगेर बसिन्।

नेपालले सम्बोधन गरिरहँदा केही कार्यकर्ता हुटिङ गरिरहेका थिए। सम्मानित नेता झलनाथ खनाल र महासचिव भुसाल भने डकुमेन्टमा काममा ब्यस्त देखिन्थे। तर, झाँक्रीले बैठक अवधिभर घोप्टो परेर मोबाइल चलाइरहिन्।

सदस्यको हातमा कालो ब्याग र फारम
केन्द्रीय परिषद् बैठकमा उपस्थित हुन आएका सबै प्रतिनिधिलाई पार्टीले एउटा कालो ब्याग उपलब्ध गराएको थियो। एक–एकवटा फारम र एउटा प्रतिवेदन राखेर सदस्यहरुलाई ब्याग उपलब्ध गराइएको थियो।

अध्यक्ष नेपालको सम्बोधन सकिएपछि महासचिव भुसालले सबै सदस्यहरुलाई उक्त ब्याग खोल्न आग्रह गरेका थिए। ब्यागभित्र भएको फारम भरेर समूहगत रुपमा उपलब्ध गराउन भुसालले आग्रह गरेका थिए।

फारममा ब्यक्तिगत विवरण भर्न आग्रह गरिएको छ। एउटा फोटोसहित सदस्यहरुलाई आफ्नो नाम, जन्म मिति, जन्म स्थान, पार्टी सदस्यता नम्बर, ठेगाना लगायतका विवरण भर्ने गरी फारम उपलब्ध गराइएको हो।

दुई दिने कौसी खेती तालिम सुरु

भक्तपुर, १३ असार : भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा वडामा रहेका विद्यालयका शिक्षक馪शक्षिकाहरुलाई दुई दिने फोहोरमैला व्यवस्थापन तथा कौसी खेतीसम्बन्धी तालिम असार १३ गतेबाट सुरु भएको छ । कार्यक्रममा प्रमुख प्रजापतिले घरघरबाट नै कुहिने र नकुहिने फोहर छुट्याउन सकिए धेरै फाइदा हुने बताउनुहुँदै नपाले आयोजना गरेको कौसी खेती तालिमबाट नगरपालिकाको फोहोर व्यवस्थापनमा पनि सहयोगी भूमिका खेलेको बताउनुभयो ।

काठमाडौं उपत्यकामा फोहर व्यवस्थापन चुनौतिको रुपमा खडा रहेको उल्लेख गर्नुहुँदै उहाँले घर, विद्यालय र सिंगो समाजकै फोहर व्यवस्थापन र सरसफाइमा कौसी खेती तालिम उपयोगी भएको बताउनुभयो ।

फोहोर व्यवस्थापनको सवालमा विकसित देशहरुले आफ्ना मित्र राष्टरुसँग फोहोर किनेर मोहोरमा रुपान्तरण गरिरहेको उदाहरण दिनुहुँदै प्रमुख प्रजापतिले सरकारले जनताको जनजीवनसँग मतलब नगर्दा आज देश हरेक क्षेत्रमा परनिर्भर हुँदै गइरहेको बताउनुभयो ।
जनताको समस्याप्रति सरकार गम्भीर नभएको र सरकारको औचित्यतामाथि पनि प्रश्न उठ्ने कामहरु भइरहेकोतर्फ सजग पार्नुहुँदै कृषिप्रधान देश अब नाममै मात्र सीमित छ भन्नुभयो ।

उहाँले सरकारको एउटा गलत निर्णयले देश नै टाटपल्टन सक्ने बताउनुहुँदै देशघाती एमसीसी र एसपीपी सम्झौताले नेपालको सार्वभौमिकता र स्वाधिनतामाथि नै आँच पु叨ाइरहेको हुँदा जनता सचेत बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नपालाई आत्मनिर्भर र सुन्दर बनाउन कौसी खेती तालिम सञ्चालनमा जोड दिँदै आएको बताउनुहुँदै नपाले पाक्षिक सरसफाईलाई समेत निरन्तरता दिएको अवगत गराउनुभयो ।
तालिमका प्रशिक्षक सबिन ख्याजूले विषादीयुक्त तरकारी र फलफूलका कारण धेरै नागरिकहरु क्यान्सरजस्ता खतरनाक रोगबाट मृत्युवरण गरिरहेको यथार्थबारे अवगत गर्नुहुँदै किसानहरुले जैविक विषादीको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो भने प्रमुख अतिथि प्रजापतिले तालिमका प्रशिक्षकलाई कृषि सामाग्री हस्तान्तरण गरी तालिमको सुरुवात गर्नुभयो । तालिममा वडाका ११ वटा विद्यालयहरुबाट २ जना शिक्षक शक्षिकाहरुको सहभागिता रहेको थियो ।

 

राप्रपाद्धारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना

भक्तपुर, १३ असार : राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले किसानलाई रासायनीक मल उपलब्ध गराउन माग गर्दै आज दिनभर जिल्ला कृषि विकास कार्यालय भक्तपुरमा धर्ना दिएका छन् ।

राप्रपाका सह–महामन्त्री रबिन्द्रप्रताप शाहको नेतृत्वमा केन्द्रीय सदस्य रामेश्वर थापा, जिल्ला अध्यक्ष रामशरण लामिछानेसहित सयौं नेता तथा कार्यकर्ताले बिरोध र्याली प्रर्दशन गर्दै धर्ना दिएका हुन् ।

असारमा धान रोपेर खेती गर्ने बेलामा रासायनीक मल नदिएको भन्दै सल्लाघारीबाट सुरु भएको बिरोध र्याली सूर्यविनायकस्थित कृषि बिकास कार्यालय अगाडि धर्ना दिएर बिरोध प्रर्दशन गरेको थियो ।

कार्यक्रममा सह–महामन्त्री शाहले तत्काल किसानका लागि मलको व्यबस्था गर्न माग गर्नु भयो । असार आउदै छ भन्ने सरकारलाई थाहा नभएको होइन भन्दै उहाँले हरेक वर्ष खेती गर्ने बेलामा मलको हाहाकार हुँदा उत्पादनमा असर परेको भन्दै मल उपलब्ध गराउनु पर्ने बताउनु भयो ।

 

शोभा प्रधान बिजुक्छेँको शवयात्रामा हजारौको भीड, सिंगो भक्तपुर शोकमा डुब्यो

भक्तपुर, १० असार : मुसुक्क मुस्कान, उज्यालो अनि हसिलो मुहार देखिएको शोभा प्रधान बिजुक्छँेको सुन्दर तस्विर अंकित प्ले कार्ड हातमा बोकेर अन्तिम बिदाईमा आएका भक्तपुरवासीको आँखा दिनभर रसाई रहयो । भक्तपुर नगरपालिका–१ दूधपाटी पिपलबोटको आँडमा आज दिउँसो १ बजे अगाडिनै हजारौ भक्तपुरवासीको भीडमा अधिकांशको आँखा रसाएका थिए ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको जीवनसङ्गीनी, नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय कोषाध्यक्ष एवम् नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय सदस्य शोभा प्रधानको शवयात्रा आज दिउँसो १ बजे हुने भएपछि शवयात्रामा सहभागि हुन हजारौ महिला पुरुषहरुको उपस्थिति रहेको थियो ।

क्यान्सर रोगसँग परास्त भएपछि गत ८ गते नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा निधन हुनु भएकी शोभा पार्टी अध्यक्षको पत्नी भएर मात्रै होइन, एक कुशल शिक्षिका र महिला आन्दोलनकी नेतृ भएर पनि त्यहाँ हजारौ भक्तपुरवासी अन्तिम विदाई गर्न भेला भएका थिए । त्यो भीडमा कयौ पार्टी कार्यकर्ता, कयौ विद्यार्थी र शिक्षकहरुको आँखामा आँसु टिल्पिलाएको देख्दा लाग्थ्यो, आजको यो प्रहरमा सिंगो भक्तपुर रोइरहेको छ, सिंगो भक्तपुर शोकमा डुबेको छ ।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँले फूल, मालाले अन्तिम श्रद्धाञ्जली अर्पण गर्दा शोभा प्रधानलाई धेरै नजिकबाट बुझ्नेहरु मात्र हैन्, उहाँलाई चिन्नेहरु, उहाँले शिक्षा दिएका विद्यार्थीहरु, उहाँले महिला अधिकारका सवालमा दिएका सयौँ प्रशिक्षणमा सहभागि महिलाहरु शवयात्रामा सहभागि हजारौको आँखा रसाएका थिए, भाव व्हिल भएका थिए । पार्टीको तर्फबाट सचिव प्रेम सुवालले प्रधानको मृत शरीरमा पार्टीको झन्डा ओढाउन भएको थियो ।

अन्तिम विदाई यात्रामा उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै उपस्थिति पार्टीका नेताहरुले उहाँको सम्मानमा शिर झु्काउँदा, पुष्प गुच्छा अर्पण गर्दा सहभागिहरु निक्कै भावुक बनेका थिए । अन्तिम विदाईमा आएकाहरु स्तब्ध थिए । कयौको मुखबाट वाक्य फुटेको थिएन, आँखाबाट आँसु रोकिएको थिएन । कयौँ महिलाले पछ्यौराले आँसु पुछिरहे, कतिले आँसु लुकाउन खोजे तर सकेनन् ।

भावव्हिल वातावरणमा भएको श्रद्धाञ्जलि सभा पछि सुरु भएको शवयात्रा दूधपाटीबाट भार्वाचो, नासमना, टौमढी, सुकुलढोका, तचपाल, च्याह्मासिंह हुँदै हनुमानघाटसम्म पुग्दा त्यो भीड बढ्दो थियो । लाग्थ्यो उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न, उहाँको अन्तिम विदाई गर्न सिंगो भक्तपुर उल्टिएको थियो । हनुमानघाँट र त्यहाँ आसपासका क्षेत्र मानिसहरुको भीडले खचाखच भरिएको थियो ।

हनुमानघाँटमा प्रधानको अन्तिम विदाई गर्दाको क्षणमा मानवीय आँखा मात्रै होइन, प्रकृतिनै रोएको थियो । त्यहीँ बेलामा परेको पानीमा रुझ्दै हजारौ सहभागिहरु नडगमगाई पानीमा भिज्दै बसिरहेका थिए ।

बिजुक्छेँका दुई छोराहरु सुवेग र सुवान बिजुक्छेंले दागबत्ती दिएर अन्तिम विदाई गर्दा सहभागिहरुको रुवाई देख्ने जोकोहीको खाँखा रसाएका थिए । नेपाल मजदुर किसान पार्टी, नेपाल क्रान्तिकारी महिला संघ र नेपाल क्रान्तिकारी शिक्षक संघले उहाँप्रति सम्मान, स्मरण र श्रद्धाञ्जलि अर्पण गर्दै शवयात्रामा संघको झण्डा आधा झुकाइएको थियो ।

२३ वर्ष अघि स्तन क्यान्सर भई पूर्णरूपमा निको हुनुभएका शोभा प्रधान पुनः २०७४ सालदेखि पाठेघर क्यान्सरबाट पीडित हुनुभएको थियो । नेपाल क्यान्सर अस्पतालमा नियमितरूपमा उपचाररत उहाँ असार ८ गते दिनको ३ः४५ बजे निधन हुनुभएको थियो ।

 

नेमकिपा अध्यक्ष बिजुक्छेँलाई पत्नी शोक

भक्तपुर, ८ असार । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नी शोक परेको छ ।
पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारका क्रममा आज अपराह्न निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईले जानकारी दिनु भयो ।

२०१७ पुस १४ गते रामेछापमा जन्मिनु भएकी शोभा प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंसँग २०४० साल मंसीर ११ गते विवाह भएको थियो । उहाँका दुई पुत्र सुवेगमान र सुभान रहेको गोसाईले जानकारी दिनु भयो ।

लामो समयदेखि शिक्षण पेशामा आवद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएर उपचार पछि निको भए पनि केही वर्ष अघि पुनः क्यान्सर देखिएपछि उपचाररत हुनुहुन्थ्यो । उहाँको अन्तिम संस्कार भने विदेशका रहेका पुत्र नेपाल आइपुगे पछि गरिने परिवार श्रोतले जानकारी दिएको छ ।

अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प

काठमाडौं, ८ असार :  अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ। बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ।

दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको हो। भूकम्पको गहिराइ ५१ किलोमिटर रहेको बताइएको छ।

भूकम्पले गरेको क्षतिको विवरण भने सार्वजनिक हुन सकेको छैन। भूकम्प इस्लामबाद र देशका अन्य भागमा महशुस गरिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्।

पाकिस्तानको लाहोर, मुल्तान, क्वेटा र अन्य धेरै क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ।

भूकम्प भारतका केही भूभागमा समेत महशुस गरिएको युरोपेली मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) ले जनाएको छ।