चुनावको तिक्ततालाई छोड्दै अब भक्तपुरको विकासमा सबै मिलेर हातेमालो गर्दै अगाडि बढौँ : महेश बस्नेत : नगद रु. १० हजार पुरस्कार सहित उत्कृष्ट गैसससहित बिभिन्न व्यक्तिलाई सम्मान

भक्तपुर, ३१ जेठ : गैरसरकारी संस्था महासंघ नेपाल भक्तपुरले २०७८ सालमा जिल्ला भरिका गैसस मध्ये उत्कृष्ट काम गर्न सफल सामुदायिक स्वास्थ्य केन्द्र सूर्यविनायकलाई नगद रु. १० हजार सहित पुरस्कार प्रदान गरेको छ ।

गैसस नेपाल भक्तपुरको आज सम्पन्न १८ र्औ वार्षिक साधारण सभा, शुसासन स्मासिका बिमोचन, उत्कृष्ट संस्था पुरस्कार तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा उत्कृष्ट संस्थाका अध्यक्ष न्हुच्छेकुमार त्वायनालाई दोसल्ला ओढाएर, सम्मान प्रत्र प्रदान गरि नगद रु. १० हजारसहित पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा संघीय सांसद एवं पूर्व मन्त्री महेश बस्नेतले त्वयनालाई सम्मान पत्र प्रदान गर्नु भयो । उहाँले गैसस भक्तपुरले प्रकाशन गरेको शुसासन स्मारिका बिमोचन गर्नु भयो । उहाँले जिल्ला समन्वय समिति भक्तपुरका नवनिर्वाचित प्रमुख इश्वरबहादुर थापा र उपप्रमुख सुजाता वादेलाई सम्मान गर्नु भयो । त्यसैगरि कार्यक्रममा गैसस महासंघ केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी र महासचिव अर्जुन भट्टराई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा सांसद बस्नेतले गैससले सामाजिक बिकासको क्षेत्रमा हमत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै आगामी दिनमा जिल्ला समन्वय समिति र स्थानीय सरकारसँग सहकार्य गर्दै समग्र बिकासमा लाग्न सक्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले दुई महिनासम्म चलेको राजनीतिक प्रतिस्पर्धालाई अब यहीँ थाती राखेर दलहरुको तिता क्षणहरुलाई बिर्सेर भक्तपुरको बिकासमा सबै राजनीतिक दल र जनप्रतिनिधिहरु एक साथ लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख थापाले गैससहरुसँग समन्वय र सहकार्यमा सामाजिक उत्तरदायित्वका क्षेत्रमा काम गर्ने बताउनु भयो ।

त्यस्तै गैसस महासंघका केन्द्रीय अध्यक्ष सुवेदीले सरकारले नाफामूलक निजी व्यापारिक क्षेत्रलाई जस्तै गैससले दाताहरुबाट सामाजिक काम गर्न ल्याएको बजेटमा पनि भ्याट लगाउने नीति ल्याएर सामाजिक क्षेत्र र संस्थालाई अंकुश लाउन लागेको भन्दै यसलाई नसच्याए गैससले देशव्यापी आन्दोलन सुरु गर्ने बताउनु भयो ।

गैसस महासंघ केन्द्रीय महासचिव भट्टराईले स्थानीय तहले कतिपय अबस्थामा गैससलाई निषेध गर्ने, आफ्नो ऐन कानूनमा गैससको भूमिका नसमेट्ने कार्य गरिरहेको प्रति आपत्ति जनाउदै गैससले वाग्मति प्रदेश सरकारसँगको सहकार्यमा निर्माण गरेको निर्देशिका पालिकाहरुले कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेपाल बार एशोसिएशन भक्तपुरका अध्यक्ष रबिन्द्र प्रधान, नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजिब शुभचिन्तक, गैसस महासंघ भक्तपुरका सल्लाहकारद्धय दुर्गामोहन श्रेष्ठ, जुना बस्नेत, गैसस महासंघ भक्तपुरकी उपाध्यक्ष अनिता पाण्डेलगायतले गैससको भूमिका सरकारको सहयोगीको रुपमा रहेपनि गैससमाथिको विभेद भने अन्त्य नभएको चर्चा गर्नु भयो ।

गैसस महासंघ भक्तपुरका सचिव रमेश गिरीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष पहलमान श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नु भयो । गैसस महासंघ भक्तपुरका अध्यक्ष एवं कार्यक्रमका सभापति नारायणप्रसाद न्यौपानेले गैससले सामाजिक बिकासको क्षेत्रमा गरेको कामको चर्चा गर्दै कोरोनाले ल्याएको विपदलाई मध्यनगर गर्दै गैससले विपद व्यबस्थापन कोष स्थापना गरेको बताउनु भयो ।

 

सातवटै प्रदेशमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गरिने

काठमाडौँ, ३१ जेठ : नेपाल सरकारले यसै वर्षदेखि लागि सातवटै प्रदेशस्तरमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मतपत्र छपाइ र कागज अभावका कारण यस शैक्षिकसत्रका लागि निःशुल्क पाठ्यपुस्तक छपाइ तथा वितरण पर्याप्त हुन नसकेको सन्दर्भमा पाठ्यपुस्तक पुग्न नसकी पढाइमा सहजताका लागि सामग्री उपलब्ध गराउने गरी सरकारले वैकल्पिक व्यवस्था पनि गर्दै आएको छ ।

शैक्षिक सत्र २०७९ मा विद्यार्थीका लागि निःशुल्क पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १ देखि १२ सम्मको सरकारी स्वामित्वको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट छपाइ तथा वितरण हुने व्यवस्था भए तापनि कक्षा १–३ को पाठ्यपुस्तक निजी प्रकाशनबाट र कक्षा ११–१२ को साझा प्रकाशनमार्फतसमेत छपाइ तथा वितरण हुने व्यवस्था मिलाइएको छ । केन्द्रबाट कक्षा ४–१० सम्मका विद्यार्थीका लागि जम्मा एक करोड ९६ लाख थान पाठ्यपुस्तक छपाइ गरी वितरण गर्नुपर्नेमा हालसम्म एक करोड ७० लाख थान छपाइ तथा वितरण भइसकेको छ भने बाँकी छपाइ सम्पन्न हुने क्रममा रहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गतको छलफलका क्रममा सांसद्हरुले राखेका जिज्ञाशामाथि जवाफ दिँदै कोभिड–१९ का कारणबाट शैक्षिक सत्र २०७८ मा विद्यालय लामो समय बन्द रहेका र विद्यार्थीको पढाइमा पुगेको क्षति कम गरी उक्त सत्रमा हुनुपर्ने पढाइलाई पूरा गर्न शैक्षिक सत्र २०७९ असार पहिलो साताबाट हुने भनिएको र सोही अनुसार छपाइका पूर्व तयारी भएको अवस्थामा सरकारबाट जेठ १ बाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय हुँदा एक महिना अघि शैक्षिक सत्र सुरु भएको तथा रुस र युक्रेन युद्धका कारण कागज आपूर्तिमासमेत प्रभाव पर्दा छपाइमा केही ढिलाइ हुन गए तापनि मन्त्रालयको नियमित अनुगमन तथा निर्देशनका कारण पुस्तक छपाइ नियमित रुपमा हुन सकेको अवगत गराउनुभयो । अपेक्षाअनुसार भएन शिक्षा बजेट शिक्षामन्त्री पौडेलले शिक्षा क्षेत्रमा अपेक्षाअनुसार बजेट विनियोजन नभए पनि अन्य मन्त्रालयको तुलनामा सबैभन्दा बढी रकम शिक्षा मन्त्रालयका लागि विनियोजन भएको बताउनुभयो ।

मन्त्री पौडेलले बजेट बढाउन आफूले सक्दो कोसिस गरेको र सांसदहरुले पनि त्यसमा चासो दिएकामा धन्यवाद दिनुभयो । उहाँले बजेट तर्जुमाका क्रममा मन्त्रालयलाई चालु आर्थिक वर्षकै निरन्तरताका आधारमा बजेट सीमा प्राप्त भएकामा आफूहरुले आपत्ति जनाएर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा गम्भीररुपमा छलफल गरेको अवगत गराउँदै सरकारको नीति तथा कार्यक्रममा कक्षा ८ सम्मका विद्यार्थीका लागि दिवा खाजा दिइने भनिएकामा बजेट वक्तव्यमा कक्षा ६ सम्मका मात्रै भनिएकाले त्यसलाई कक्षा ८ सम्ममै खाजा उपलब्ध गराउन अझै पहल गरिने विश्वास व्यक्त गर्नुभयो ।

आर्थिक वर्ष २०७९÷८० का लागि सरकारको कूल बजेट रु १७ खर्ब ९३ अर्ब ८३ करोडमध्ये शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट कार्यान्वयन हुने नेपाल सरकार, प्रदेश र स्थानीय तहका लागि जम्मा रु एक खर्ब ९६ अर्ब ३८ करोड छुट्याइएको छ । यो वर्ष कूल विनियोजनको १० दशमलव ९५ प्रतिशत शिक्षामा छुट्टा्यइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको बजेटमध्ये एक खर्ब २१ अर्ब १ करोड (६१दशमलव ६२ प्रतिशत) अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत स्थानीय तहमा शैक्षिक व्यवस्थापनका लागि सोझै विनियजित भई जान्छ । प्रदेश तहमा प्रमुखरुपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सञ्चालन र विद्यालय शिक्षक तालिम कार्यक्रमका लागि जम्मा रु पाँच अर्ब ३२ करोड (२ दशमलव ७१ प्रतिशत) सोझै विनियोजित भई जान्छ । मन्त्रालय तहमा जम्मा ७० अर्ब पाँच करोड बजेट (३५ दशमलव ६७ प्रतिशत) विनियोजन भएको छ ।

मन्त्रालयमा विनियोजन भएको बजेटमध्ये राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, माध्यमिक तहका विद्यार्थीका लागि सीपमूलक तालिम तथा कक्षा ६ का विद्यार्थीका लागि दिवाखाजा कार्यक्रम आदिका लागि झण्डै रु ११ अर्ब स्थानीय तहमा हस्तान्तरण हुने व्यवस्था रहेको छ । मन्त्री पौडेलले भन्नुभयो, “सरकारले शिक्षामा विनियोजन गरेको बजेट पर्याप्त नभए पनि चालु आर्थिक वर्षकोभन्दा केही वृद्धि भएको छ । शिक्षाको बजेट र सुधारका बारेमा सांसदहरुले राख्नुभएका चासो प्रति म सहमत छु । शिक्षामा सबै एकै पक्ष छौँ । कोही पक्ष विपक्ष छैनौँ ।”

सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि प्रतिबद्ध उहाँले सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि नेपाल सरकार प्रतिबद्ध रहेको र नीति तथा बजेट र कार्यक्रममा विद्यालय शिक्षा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र सीप विकास र उच्च शिक्षा सुधारमा जोड दिइएको बताउँदै विद्यालय शिक्षा सुदृढीकरणका लागि विद्यालय शिक्षा क्षेत्र योजना, उच्च शिक्षामा सुधारका लागि उच्च शिक्षामा उत्कृष्टता प्रवर्धन कार्यक्रम तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सुधारका लागि सीप विकास कार्यक्रम कार्यान्वयनमा जोड दिइएको जानकारी दिनुभयो । उहाँले आगामी तीन वर्षमा सबै सामुदायिक विद्यालयको न्यूनतम भौतिक पूर्वाधार विकास गर्न कार्यक्रम तय गरिएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा विद्यालय पुनः निर्माण कार्य सम्पन्न गरिनेछ । बाँकी ४५ जिल्ला लक्षित गरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट विद्यालय भौतिक निर्माण कार्य सञ्चालन गरिनेछ ।

उच्च शिक्षा प्रदायक त्रिचन्द्र कलेजलगायतका आंगिक क्याम्पसको भौतिक निर्माणकार्य सुरु गरिने जानकारी दिनुभयो । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला विस्तार तथा सुदृढीकरण, सूचना प्रविधि प्रयोगाशाला स्थापना तथा शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, विद्यालयमा विषयगत शिक्षकको सुनिश्चितताका लागि गणित, विज्ञान तथा अंग्रेजी विषय शिक्षकको व्यवस्था गर्न कार्यक्रम प्रस्ताव गरिएको जानकारी दिँदै उहाँले शिक्षकको पेशागत सीप र क्षमता विकासका लागि भर्चुअल विधिसमेत प्रयोग गरी शिक्षक तालिम कार्यक्रम सञ्चालन, शिक्षक दरबन्दी मिलान कार्य सम्पन्न, प्रदेश शिक्षा तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना तथा सञ्चालन र डिजिटल सिकाइ सामग्रीको उत्पादन, आवश्यकताका आधारमा पाठ्यपुस्तकमा सामयिक परिमार्जन तथा अद्यावधिकरण, नमूना तथा उत्कृष्ट विद्यालय विकास तथा सञ्चालन, उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई प्रोत्साहनलगायतका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । “विद्यालयको भौतिक पूर्वाधार विकास नभइ गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्न कठिन हुन्छ ।

शैक्षिक तथ्याङ्कका आधारमा अझै पनि २८ हजार भवन निर्माण गर्न आवश्यक रहेको छ । विद्यालय पुनःनिर्माण कार्यक्रमबाट सात हजार ५८३ विद्यालयको निर्माणकार्य सम्पन्न भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट तीन हजार ९८२ विद्यालय भवन निर्माण भएका छन् । आगामी तीन वर्षभित्र अन्य विद्यालय निर्माण, सवलीकरण तथा पुनःनिर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ”, मन्त्री पौडेलले भन्नुभयो । उहाँले शिक्षा मुलुक विकासको पूर्वाधारको पनि पूर्वाधार भएकाले सबै नागरिकलाई गुणस्तरीय, सीपमूलक तथा व्यावहारिक शिक्षाको प्रत्याभूति नगरी देशका लागि आवश्यक जनशक्ति आपूर्ति हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो “विद्यालय शिक्षालाई गुणस्तरयुक्त बनाउने, प्राविधिक शिक्षाको पहुँच विस्तार तथा सुदृढीकरण र उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउने कार्यमा मन्त्रालय प्राथमिकताका साथ लागिरहेको छ ।

शैक्षिक सुधारका लागि उपलब्ध बजेटको उच्चतम् उपयोग गर्ने प्रयास गरिएको छ । शिक्षा सुधारका लागि बजेट वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौँ ।” सरकारले बालविकास शिक्षक, प्रत्येक सामुदायिक विद्यालयमा एक एकजना विद्यालय सहयोगी कर्मचारी र प्रत्येक माध्यमिक विद्यालयमा थप एक सहायक कर्मचारी गरी ३६ हजार कर्मचारी व्यवस्था गर्न एकमुष्ठ अनुदान उपलब्ध गराउँदै आएको छ । चालू आव २०७८÷७९ मा सङ्घीय सरकारबाट रु ८ हजार र स्थानीय तहबाट रु सात हजार गरी न्यूनतम मासिक १५ हजार उपलब्ध हुने व्यवस्था गरिएको छ ।

बालविकास शिक्षकको हकमा सङ्घीय सरकारबाट रु दुई हजार थप गरी १० हजार उपलब्ध गराउन बजेट व्यवस्था गरिएको छ । हाल विद्यालयमा कार्यरत पूर्व प्राथमिक शिक्षक, कर्मचारीको विवरण अध्यावधिक गरी कर्मचारी व्यवस्थापनको सेवा शर्त निर्धारणका लागि कार्य अघि बढाइएको छ । सेवा शर्त निर्धारण भए पश्चात सोही अनुरुप कर्मचारीको तलब निर्धारण हुनेगरी अर्थ मन्त्रालयसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाइनेछ । शैक्षिक गुणस्तर सुधारलगायत शैक्षिक विकासका लागि प्रस्तावित कार्यक्रम सार्वजनिक विद्यालय सुदृढीकरणका लागि लक्षित रहेका छन् ।

विद्यालय भौतिक पूर्वाधार विकास, शिक्षक तालिम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, विभिन्न प्रकारका प्रयोगशालाको स्थापना, शिक्षण सिकाइमा सूचना प्रविधिको उपयोग, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकको क्षमता विकासका कार्यक्रम समेटी विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा ल्याइएको छ । साथै उच्च शिक्षामा सुधारका लागि उच्च शिक्षामा उत्कृष्टता प्रवर्दन कार्यक्रम सञ्चालनमा ल्याइएको छ । उच्च शिक्षामा गुणस्तर कायम गर्न त्रिविविलाई उत्कृष्टता केन्द्रको रुपमा विकास गर्न कार्यक्रम प्रस्ताव गरिएको छ साथै विश्वविद्यालय तथा क्याम्पसको भौतिक तथा शैक्षिक पूर्वाधारका कार्यक्रम प्रस्ताव गरिएको छ । बजेटमा विद्यालय शिक्षामा छात्रा, दलित, अपाङ्गता भएका विद्यार्थी तथा लक्षित समूहका लागि आवासीय तथा गैर आवासीय छात्रवृत्तिको व्यवस्था, विद्यालय दिवाखाजा कार्यक्रम, निःशुल्क पाठ्यपुस्तकको व्यवस्था, छात्राका लागि सेनेटरी प्याड आदिको व्यवस्था गरिएको छ ।

उच्च शिक्षामा पिछडिएको समुदायका विद्यार्थीका लागि छात्रवृत्ति, चिकित्सा तथा प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिलगायतका कार्यक्रम प्रस्ताव गरिएका छन् । विशेष आवश्यकता भएका विद्यार्थीका लागि आवासीय विद्यालय सञ्चालन, आवासीय विद्यालय स्थापना तथा सञ्चालन, ब्रेल पाठ्यपुस्तकलगायत सिकाइ र सहयोगी सामग्रीको व्यवस्थाका लागि कार्यक्रम सञ्चालन गरिने भनिएको छ । सबै स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँच सुनिश्चतता, सिक्दै कमाउँदै कार्यक्रम विस्तार, व्यावसायिक तालिमको अवसर वृद्धि गरी शिक्षालाई रोजगारमूलक र व्यावसायिक बनाउन जोड दिइएको छ । सञ्चालनमा रहेका विश्वविद्यालयको पूर्वाधार विकास तथा शैक्षिक कार्यक्रम सञ्चालन गरी उच्च शिक्षा सुधार गर्ने लक्ष्य रहेको छ ।

आंगिक क्याम्पसको भौतिक सुधार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसको भौतिक पूर्वाधार विकास, शिक्षण सिकाइमा शैक्षिक प्रविधिको प्रयोग र शिक्षण सिकाइलाई अनुसन्धानमुखी बनाउन त्रिभुवन विश्वविद्यालयलाइ उत्कृष्टताको केन्द्र बनाउन कार्यक्रम तय गरिएका छन् । चिकित्सा शिक्षा अध्ययनको अवसर विस्तारका लागि नयाँ मेडिकल कलेज विकासका लागि कार्यक्रम सञ्चालनमा ल्याएको छ । त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्र (सेडा, सेरिड, सिनास, रिकास्ट)लगायत अन्य विश्वविद्यालयका अनुसन्धान केन्द्रहमार्फत हुने अन्वेषण तथा अनुसन्धान कार्य गर्ने तय गरिएको छ ।

मन्त्री पौडेलले शैक्षिक मुद्दाहरुको समाधानका लागि वार्ता र संवादबाट समाधान गर्न सकिने भएकाले अबदेखि विश्वविद्यालयमा कुनै पनि तालाबन्दी र हड्ताल नगर्न पनि आह्वान गर्नुभयो । सङ्घीय शिक्षा ऐन र शिक्षक दरबन्दी व्यवस्थापन मन्त्री पौडेलले सङ्घीय शिक्षा ऐन (विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, राष्ट्रिय योग्यता प्रारुप र एकीकृत स्वास्थ्य शिक्षासम्बन्धी)को मस्यौदा तयार भइसकेको र सहमतिका लागि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र अर्थ मन्त्रालयसँग आवश्यक छलफल भइरहेको जानकारी दिनुभयो भने शिक्षक दरबन्दी मिलान प्रतिवेदनका अनुसार प्रत्येक सामुदायिक विद्यालयमा न्यूनतम शिक्षक सुनिश्चित गर्नका लागि ५३ हजार शिक्षक दरबन्दी थप गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

उक्त प्रतिवेदन अनसार १२ हजार ८३५ शिक्षकको स्थान्तरण गरी मिलान गर्नुपर्ने हुन्छ । सो सङ्ख्यामध्ये नौ हजार ४९६ शिक्षक सम्बन्धित स्थानीय तहभित्र नै मिलान हुने एवं तीन हजार ३३९ शिक्षकको जिल्लान्तर सरुवाबाट मिलान हुनेपर्ने अवस्था छ । स्थानीय तहभित्रनै मिलान हुनुपर्ने सङ्ख्यामध्ये आठ हजार ५०० शिक्षकको मिलान सम्पन्न भइसकेको छ र बाँकी ९९६ जना शिक्षकको मिलान चालु शैक्षिक सत्रमा नै मिलान गरिसक्ने लक्ष्य रहेको छ ।

जिल्लान्तर सरुवाबाट मिलान हुनुपर्ने सङ्ख्यामध्ये एक हजार ४८६ जनाको जिल्लान्तर सरुवाबाट मिलान सम्पन्न भइसकेको छ भने बाँकी सङ्ख्या यसै शैक्षिक सत्रभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । न्यून रहेको शिक्षक दरबन्दी आपूर्तिका लागि यसै वर्ष माध्यमिक तहमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका चार हजार ७५० जना र आधारभूत तह कक्षा ६–८ मा २६०० जना गरी सात हजार ३५० जना शिक्षक व्यवस्थाका लागि बजेट व्यवस्था गरिएको छ । उक्त सङ्ख्याका अतिरिक्त प्राविधिक विषयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गरेका विद्यार्थीलाई इन्टर्नका रुपमा परिचालन गर्न बजेट व्यवस्था गरिएको छ ।

सबै विद्यार्थीलाई सहुलियत चुल्होको व्यवस्था गर्न नेविसङ्घको माग

काठमाडौँ, ३१ जेठ : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले सबै विद्यार्थीलाई सहुलियत दरमा चुल्होको व्यवस्था गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा आज वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्राविधिक निर्देशक डा नारायणप्रसाद अधिकारीलाई भेटेर सरकारद्वारा सहुलियत दरमा वितरण गरिने भनिएको विद्युतीय चुल्हो सबै विद्यार्थीहरुलाई वितरण गर्न माग गरिएको हो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको जेठ २५ को निर्णयअनुसार आदिवासी, जनजाति र दलित विद्यार्थीलाई सहुलियतमा चुल्हो दिने निर्णयको नेविसङ्घले स्वागत गर्दै आवश्यकताको सिद्धान्तअनुसार सम्पूर्ण विद्यार्थीलाई सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउन माग गरेको हो । नेविसङ्घका अध्यक्ष शेर्पाले विद्यार्थीको आधारभूत आवश्यकता विद्युतीय चुल्हो भएकाले सहुलियत दरमा उपलब्ध गराउन केन्द्रलाई आग्रह गर्नुभएको हो ।

अध्यक्ष नेपालद्वारा बैठकमा प्रतिवेदन प्रस्तुत

काठमाडौँ, ३१ जेठ  : नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको १२औँ बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचन, २०७९ को समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । केन्द्रीय कार्यालयमा आज बसेको बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षाका साथै सातवटै प्रदेशबाट प्रदेश इञ्चार्जले आ–आफ्नो प्रदेशको रिपोर्ट प्रस्तुत गर्नुभएको महासचिव डा बेदुराम भुसालले जानकारी दिनुभयो ।

रिपोर्ट प्रस्तुत गर्नेमा प्रदेश १ का घनेन्द्र बस्नेत, मधेस प्रदेशका रामचन्द्र यादव, बागमती प्रदेशका सावित्रा भुसाल, गण्डकी प्रदेशका केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशका भागवत विश्वासी, कर्णाली प्रदेशका प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशकी मदनकुमारी (गरिमा) शाह हुनुहुन्थ्यो । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गर्नुभएको सो बैठकमा पार्टी उपमहासचिव डा विजय पौडेलको पूर्ण स्वास्थ्य लाभको कामना गरिएको थियो । बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगन गरिएको छ । बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल गरिने बताइएको छ ।

बिक्री भएको ऐतिहासिक कमल पोखरी फर्काउन अदालतमै मध्यपुरथिमिवासीको धर्ना

भक्तपुर, ३१ जेठ : मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष अगाडिदेखि धार्मिक, ऐतिहासिक एवं साँस्कृतिक रुपमा रहेको कमल पोखरी अर्थात पलिस्वाँ पुखुःसार्वजनिक रुपमा फर्काउन माग गर्दै बोडेका बासिन्दाले आज उच्च अदालत पाटनमा धर्ना दिएका छन् ।

धार्मिक र साँस्कृतिक महत्व बोकेको पोखरीमाथि विभिन्न चलखेल गर्दै अवैध रुपमा दर्ता तथा किनबेच गरि पोखरी पुरेर जग्गा टुक्राउन डोजर आए पछि पोखरी बिक्री भएको चाल पाएका मध्यपुरथिमिका बासिन्दाले पोखरी सार्वजनिक रुपमा फर्काउन माग गर्दै आज अदालतमा धर्ना दिएका हुन् ।

उच्च अदालत पाटन परिसर बाहिर मध्यपुरथिमिका बासिन्दाल हातहातमा प्ले कार्ड बोकेर धर्ना दिदै भूमाफिया बिरुद्ध नारा लगाई रहेका छन् । महिला, पुरुषदेखि जेष्ठ नागरिक समेत गरि १०० भन्दा बढी स्थानीयवासीको धर्नामा संम्पदा संरक्षण सम्बन्धी बिभिन्न नारा लेखिएका प्ले कार्ड हात, छाती र टाउँकोमा राखेर धर्ना दिइ रहेका छन् ।

हाम्रो सम्पदा हाम्रो पहिचान, सार्वजनिक सम्पदा जोगाआँै, हाम्रो सम्पदा फिर्ता गर, भूमाफियालाई कारबाही गर, कमल पोखरी हाम्रो हो, संरक्षण गरौँ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर धर्ना दिइरहेका स्थानीय बिरेन्द्र जयनाले जानकारी दिनु भयो ।

तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं. १ को १५ रोपनी ९ आना सार्वजनिक पोखरी २०४२ साल असार ३१ गते कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते अधिकृत वारेशनामा बकसपत्र गरी मनाङ्ग घरभई काठमाडौं ठमेल बस्ने ग्ल्याल्पो गुरुङ्गको नाममा पास भएको थियो । जसमध्ये १३ रोपनी ९ आना ग्ल्याल्पोको नाममा, १ रोपनी तेन्जी शेर्पिणीको नाममा, एक रोपनी कर्सी जद्योना गुरुङ्गको नाममा पास गरी हाल ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिको नाममा जग्गा पास गरेर बिक्री गरेको पाइएको धर्नामा सहभागि स्थानीय बताउँछन् ।

स्थानीय गणेशमान चक्रधरको संयोजकत्वमा ऐतिहासिक कमल पोखरी (पलिस्वाँ पुखुः) संरक्षण समितिनै गठन गरी पोखरीको धनीपूर्जा खारेज गरी पोखरीलाई सार्वजनिक कायम गर्न माग गर्दै मुद्धा दायर भएको थियो ।

त्यसो त यसअघि जिल्ला अदालत भक्तपुरले उक्त मुद्धामा २०७५ साल असार १९ गते मंगलबार वादी कान्छा चक्रधर र प्रतिवादी सुर्जेराम श्रेष्ठसमेत भएको उक्त मुद्दामा जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले मध्यपुरथिमि–८ बोडेस्थित कमलपोखरीलाई सार्वजनिक कायम गरी संरक्षण गर्नुपर्ने फैसला गरेको थियो । जग्गा खरिद गर्ने पक्ष जिल्ला अदालतको फैसला बिरुद्ध उच्च अदालत पाटनमा मुद्धा दर्ता गराएका थिए ।

आज उच्च अदालतमा अन्तिम फैसला हुने चर्चा चले पछि स्थानीयवासी पोखरीलाई सार्वजनिक रुपमा नै फर्काउनु पर्ने, जिल्ला अदालतको फैसलालाई सदर गर्नु पर्ने माग गर्दै धर्ना दिएका हुन् । अदालत परिसरमा पूर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, पोखरी संरक्षण समितिका संयोजक चक्रधर, वडा नं. ८ का वडाध्यक्ष रमेश थापा श्रेष्ठसहित जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, पूर्व जनप्रतिनिधिहरु, बिभिन्न पार्टीका प्रतिनिधिहरु र स्थानीयवासीहरु पुगेका छन् ।

जिल्ला अदालतको फैसला आउने बित्तिक मध्यपुरथिमि नगरपालिकाले उक्त पोखरीको संरक्षण अभियान सुरु गरेको थियो । पूर्वनगर प्रमुख श्रेष्ठले जिल्ला अदालतको फैसला कार्यान्वयनका लागि नगरपालिकाबाट ७५ लाख बजेट विनियोजन गरेर कमल पोखरी संरक्षण गरेको, पोखरीलाई दाँची अप्पा, माँअप्पा इँटाको प्रयोग गरेर कलात्मक र ऐतिहासिक शैलीमा पुनःनिर्माण गरी वरिपरि बार लगाइएको, पोखरीको वरिपरि निर्माण भएको १० फिट चौडाइको ढलानसहितको फुटपाथ त्यसमाथि पोखरीको डिलमा तेलिया इँटा छापेर खाली खुट्टाले पनि हिँड्न मिल्ने बनाइएको, पाँच लाख रुपैयाँको लागतमा दुईवटा डुङ्गा सञ्चालनमा ल्याएको, दुई हजार माछाको भुरा पनि छाडेको बताउदै अहिले पोखरीमा रोपिएको कमलको बिरुवाबाट फूल फुल्न थालेको बताउनु भयो ।

यहीँ पोखरीमा फुलेको कमलको फूल यहीँको लायकू दरबारमा दसैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँकोे फूल चढाएर जात्रा चलाउने र जिब्रो छड्ने जात्रा चलाउने ५० वर्ष अगाडिको परम्परालाई नगरपालिकाले यसै वर्षदेखि सुरु गरेको बताउदै श्रेष्ठले उच्च अदालतले पनि जनताकै पक्षमा फैसला सुनाउने अपेक्षा गरेको बताउनु भयो ।

स्थानीय बिरेन्द्र जयना भन्नुहुन्छ “हामी बच्चा हुँदा पोखरीमा कमल फुल्थ्यो, पौडी खेलिन्थ्यो, पछि पुरियो, फोहर भयो, किनबेच भयो, बोडेका बासिन्दा पोखरी जोगाउन लागिरहयौँ, पोखरीमा अहिले कमलको फूल फुल्यो यो ठाउँ हेर्दा हेर्दै आन्तरिक पर्यटनको गन्तव्य बन्यो । आज यही कमल पोखरी फकाएन सेतै कपाल फुलेका बा, आमा समेत अदालतमा आउनु भएको छ ।”

स्थानीयले जिल्ला अदालत भक्तपुरको फैसलालाई उच्च अदालतले सदर गर्ने विश्वासमा रहेकै बेलामा मिलापत्र गर्ने गरि प्रस्ताव आएपछि स्थानीय थप आक्रोसित बन्दै मिलापत्र गर्न पाइदैन भन्दै सार्वजनिक सम्पादा बिक्री गर्न पाइदैन जस्ता नारा लगाएको स्थानीय कृष्णभक्त पाँ श्रेष्ठले बताउनु भयो ।

यसबारेमा कमल पोखरी संरक्षण समितिका संयोजक चक्रधरले मुद्धाको अन्तिम किनारा लाग्ने चरणमा पुगेको भन्दै पोखरी खरिद गर्ने पक्षबाट मिलापत्र गर्ने प्रस्ताव आए पनि उच्च अदालतको फैसला नै अन्तिम हुने बताउनु भयो । पोखरीलाई सार्वजनिक रुपमानै फर्काउनु पर्ने माग गर्दै अदालत परिसर पुग्नु भएका मध्यपुरथिमि–८ का वडाध्यक्ष श्रेष्ठले दुई पक्षका कानून व्यवसायीले मिलापत्र गरेर पोखरीलाई सार्वजनिक गर्ने प्रस्ताव ल्याए पनि अदालतमा मुद्धा रहेकाले मिलापत्र तर्फ नलागी फैसला नै कुर्नु पर्ने भएको बताउनु भयो ।

अदालतमा मिलापत्र गरेर पोखरीलाई सार्वजनिक बनाउने, पोखरी किन्ने समूहलाई क्षतिपूर्तिको व्यबस्था गर्ने र उनीहरुलाई मध्यपुरथिमिमा सम्मान गर्ने प्रस्ताव आएपछि स्थानीय थप आक्रोसित हुदै पोखरी किनबेच गर्नेलाई कारबाही गर्नु पर्ने माग राखेका छन् ।

यसवर्ष भक्तपुरलाई हेर्ने सरकारको बक्रदृष्टि परेको छ, बिकासमा समन्वय गरेर अगाडि बढौँ : सांसद एवं पूर्वमन्त्री महेश बस्नेत

भक्तपुर, ३० जेठ । नेकपा एमालेको पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभा सांसद महेश बस्नेतले भक्तपुरको बिकासमा वर्तमान् सरकारको बक्रदृष्टि परेको बताउनु भएको छ । जिल्ला समन्वय समिति भक्तपुरमा आज आयोजना गरेको सपथ ग्रहण एवं बधाई कार्यक्रममा बोल्दै उहाँले विगतका वर्षहरुमा भक्तपुरमा आएका बजेट र योजना वर्तमान् शेरबहादुर देउवा नेतृत्व सरकारले काटेको बताउनु भयो ।

उहाँले सरकारले आगामी आ.ब.का लाीग ल्याएको बजेटमा समेत भक्तपुरका धेरै नियमित बिकासका योजना र बजेट काटेर सरकारले भक्तपुरलाई हेर्न बक्रदेष्टि प्रयोग गरेको बताउनु भएको हो ।

ओली नेतृत्व सरकारमा विनियोजन भएको बजेट र आयोजनाको चर्चा गर्दै उहाँले भन्नुभयो, “संघबाट बजेट आएर बन्न नसकेको हनुमन्ते कोरिडोर, मनोहरा कोरिडोर, गठ्ठाघरको पाँच हजार क्षमताको सभा हल, सूर्यविनायकको प्राणी उद्यान, दुई वटा डिपिआर सम्पन्न भएका स्मार्ट सिटी , अर्को डिपिआर बन्दै गरेको स्मार्ट सिटी, बजेट विनियोजन भएर टेण्डर गर्न नसकेको सूर्यविनायक धुलिखेल सडक खण्ड, नौ अर्ब बजेटको सुनिश्चता गरेर अघिल्लो चालू आ.ब.मा रु. २ अर्ब बजेट तोकिएको त्यस सडक निर्माणका लागि टेण्डर गर्ने कुरामा जिससको समन्वय गर्दै आयोजना पुरा गर्न पहल कदमी पुग्नु आवश्यक छ ।”

दुवाकोटमा वीर अस्पतालको भवन निर्माणमा २ अर्ब, सडक निर्माणमा एक अर्ब गरि रु.३ अर्ब बजेट विनियोजना भएको तर त्यसलाई व्यबस्थित गर्न नसकेको उहाँको गुनासो छ । निजी क्षेत्रले सञ्चालन गरेको क्यान्सर अस्पताललाई सरकारीकरण गरेर क्यान्सर सेन्टरको बनाउन ओली नेतृत्व सरकारले २ अर्ब बजेट छुट्याएको र त्यसको लागि जग्गाको खोजी भए पनि अगाडि बढाउन नसकेको बताउनु भयो ।

उहाँले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, नगर विकासलगायतका जिल्लाका ६ वटा सरकारी कार्यालयहरु निर्माण गर्न भन्दै जगातीस्थित इँटा टायल कारखानाले ओगटेको २५ रोपनी जग्गामा आयोजना अगाडि बढाउन पुर्ननिर्माण प्राधिकरणले रु.२ अर्ब बजेटको व्यबस्था गरे पनि असार मसान्त आउन लागिसक्दा पनि टेण्डर हुन नसक्नु दुर्भाग्यको कुरा भएको बताउनु भयो ।

इँटा टायल कारखानाले ओगटेको जमिनमा सहमति लिन उद्योग मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठाउँदा पनि अर्थले बेवास्ता गरेको भन्दै उहाँले यी दुई मन्त्रालयबीचको सहमति नबन्दा र अर्थ मन्त्रालयले जग्गाको स्वामित्व दिन नमान्दा यो दायित्व जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, सूर्यविनायक नगरपालिका, प्रहरी परिसरले लिएर आयोजना सम्पन्न गर्न गराउन पहल गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

उहाँले हेर्दाहेर्दै एक महिना भित्र भक्तपुरमा आएको २ अर्ब रुपैयाँ ल्याप्स भयो भने त्यो सिंगो भक्तपुरकै लागि बिडम्बना हुने बताउनु भयो ।
पूर्वमन्त्री एवं सांसद बस्नेतले भन्नुभयो, “यसअघि स्मार्ट सिटिलाई १÷१ अर्ब गरि २ अर्ब बजेट छुटिएको थियो, यसवर्ष रातो किताबलाई हेर्दा भक्तपुरलाई हेर्ने सरकारको बक्रदृष्टि परेको छ, विगतमा भएका धेरै योजनाको अहिलेको बजेटमा काटिएको छ ।”

उहाँले डोलिडारको अफिस खारेज भएको भन्दै ओली नेतृत्व सरकारको पालामा ४० करोडको बजेट विनियोजन भई सुरु भएको बालकुमारी रानीकोट पनौती २१ किमि सडक निर्माणको काम भइरहेको अबस्थामा वर्तमान शेरबहादुर देउवा नेतृत्व सरकारले ल्याएको यसपालीको बजेटमा यसलाई हटाएको बताउनु भयो ।

अहिलेको सरकारले निर्माण भइरहेको डोलेश्वर पलासँे सडकको बजेट हराएको, वागेश्वरी हेल्थ पोष्टको जाने सडक, वागेश्वरी हेल्थ पोष्टबाट जाने सडक, सुडाल गोसंपुलबाट अगाडि जाने सडकको बजेट हराएको भन्दै उहाँले डोलीडारले विगतमा गरेको महत्वपूर्ण पाँच वटा सडकको बजेट यसपाली सरकारले काटि दिएको बताउनु भयो ।

त्यसैगरि विश्व बैंक र एशिलायी बिकास बैंकको सहयोगमा भक्तपुरका पाँच वटा महत्वपूर्ण सडक प्रस्ताव गरेको बताउदै नेता बस्नेतले भन्नुभयो, “थानकोट भक्तपुर प्रशारण लाइन २० मिटरका चौडा सडक, सिरुटारदेखि झौखेलसम्मको उत्तर दक्षिण जोडेने बिशेष गरि महत्वपूर्ण सडकको रुपमा डिपिआर गरेको, खिम्ती जलविद्युत परियोजना र सुनकोशी जलविद्युत परियोजनाबाट सूर्यविनायक र मध्यपुर, चाँगनाुरायण र मध्यपुर गरि दुई वटा भूभागलाई समेट्ने गरि २० मिटर चौडाको सडकको डिपिआर सम्पन्न गरेको, गुण्डुको तारकेश्वरदेखि घ्याम्पे डाँडा र नैचाल काक्राबारी हँुदै पलासे सडक, चाँगुनारायण फास्ट ट्रयाक सडक निर्माण गर्ने योजना थियो, त्यो सडक अहिले प्रदेशमा पठाइयो भन्ने सुनेको छु, प्रदेशमा पनि हराउने अबस्था छ ।”

प्रदेश सरकारका कर्मचारीहरुका अनुसार भक्तपुरका फाइल अहिले घोप्ट्याएर राखिएको बताउदै बिकास योजनामा पूर्वाग्रह राखेर हामीले ल्याएको बजेट र आयेनजना हराउने अबस्था आउँदा अब भक्तपुर बिकासमा पछाडि परेको भान भएको बताउनु भयो ।
भक्तपुरको बिकास गर्न सबै राजनीतिक दलहरु मिलेर बजेट ल्याउन लाग्नु पर्छ भन्दै उहाँले यसका लागि जिससले भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो । संघीय सांसदको भूमिकाले बिधि र कानून निर्माण मात्रै नभई विकास निर्माणको पहल पनि गर्ने प्रतिबद्धता कार्यक्रममा उहाँले व्यक्त गर्नु भयो ।

सांसदले बिकासमा पहल नगर्ने हो भने बिकासको गति अगाडि बढ्दैन भन्दै उहाँले हामीले बिकास गर्न सक्छौ कि सक्दैनौ, भन्दा पनि बजेट ल्याएर बिकासका गतिबिधिलाई अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो । जिल्लाका स्थानीय तह र दलहरुबीचको समझदारी बनाउने काममा जिल्ला समन्वय समितिले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनु भयो । उहाँले अहिले संविधानले दिएको अधिकार प्रयोग गर्दै समन्वय गर्ने, अुनगमन गर्ने, क्षमताको अभिबृद्धि गर्ने लगायतको अधिकारलाई सही ढंगले सदुपयोग गर्न उहाँले जिसस पदाधिकारीलाई आग्रह गर्नु भयो ।

संविधान निर्माण गर्दानै तीन तहको सरकार बनाउन दलहरुबीच सहमति बने पछि जिल्ला तहको कुनै संरचना बनाउने नि कि नबनाउने भन्नेमा लामो बहस चलेर सहमतिमै संविधानमा जिससको परिकल्पना गरेको भन्दै उहाँले जिल्लाको निर्वाचन क्षेत्र, नगरपालिका भनिरहदाँ संबिधान र कानूनले जिससलाई तहको रुपमा स्वीकार नगरे पनि यसलाई संघ, प्रदेश र स्थानीय पछिको चौथो तहको सरकारको रुपमा लिन सकिने बताउनु भयो । पूर्वमन्त्रीसमेत रहनु भएका सांसद बस्नेतले जिससलाई अस्विकार गर्ने प्रबृत्ति पनि देखिएको भन्दै यस्तो प्रबृत्तिलाई दलहरुले सच्याउनु जानु पर्नेमा जोड दिनु भयो ।

तीन वर्ष अगाडि हनुमन्तेमा बाढी आउँदा भौतिक र मानवीय क्षति हुनबाट रोक्न जिल्ला प्रशासन कार्यालय र प्रहरीले खेलेको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै उहाँले विपद व्यबस्थापनमा सबभन्दा बढी तयारी गर्ने जिल्ला सम्भवत भक्तपुर नै रहेको चर्चा गर्नु भयो ।
यहाँका उद्योग व्यवसायीहरुसँग चन्दा उठाएर करिब रु.२४ लाख संकलन गरेर प्राकृतिक प्रकोपसँग सबिन्धत उद्धार सामाग्रीहरु खरिद गरि सूर्यविनायकस्थित नेपाली सेनाको ब्यारेकमा राखिएको बताउदै उहाँले अरनिको राजमार्गमा दुर्घटना नियन्त्रणका लागि यहाँका व्यवसायीहरुले रु. ७३ लाख भन्दा बढी पैसा उठाएर सीसी क्यारमेरा राख्ने काम गरेको बताउनु भयो ।

उहाँले १०० हप्तासम्म हनुमन्ते सफाई अभियान, अरनिको राजमार्ग सफाई अभियान चलाएको स्मरण गर्दै उज्यालो भक्तपुर, सडकको सौन्दर्यता बिकास गर्ने काम गरेको बताउदै जिल्लाको बिकासमा यसअघि पनि जिल्ला समन्वय समितिको महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । विगत पाँच वर्षलाई सम्झदा भक्तपुरको सन्दर्भमा जिससले हरेक विषयमा महत्वपूर्ण काम गरेको चर्चा गर्दै यो पाँच वर्ष बिकासको दृष्टिकोणले धेरै बजेट ल्याउन सफल भएको र चालू आयोजना धेरै अगाडि बढेको बताउनु भयो ।

जिल्लाको बिकासमा संघ र प्रदेशबाट आएको बजेटलाई उचित व्यबस्थापन गरेको भन्दै उहाँले त्यसको अनुगमनको क्षेत्रमा समेत जिससले राम्रो र महत्वपूर्ण भूमिका निर्वाह गर्दैनिर्देशिका जारी गरेको, प्राकृतिक श्रोत साधनमा उपयोगका लागि निर्देशिका जारी गरेको बताउनु भयो ।

जिससले आफ्नो बजेटलाई सही ढंगले प्रयोग गरेको बताउदै एमालेका युवा नेता बस्नेतले भन्नुभयो, “सूर्यविनायक नगरपालिकाको भवन बनाउन ३ करोड, चाँगुनारायण नगरको भवन निर्माण गर्न ३ करोड, शिक्षाको आयोजना पुरा गर्न, स्वास्थ्यका आयोजना, वडाका कार्यालय निर्माण गर्न जिससले २८ करोड भन्दा बढी बजेट विनियोजना गरको छ । भक्तपुरका सबै राजनीतिक दलले जिल्ला समन्वय समितिप्रति कारात्मक भूमिका खेल्दै आएको छ ।”

दलहरुबीचको समझदारी बनाउने काममा पनि जिससले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिदै उहाँले अरनिको हाइवे सुरक्षित राख्न, हनुमन्ते सफाई अगाडि बढाउन, चारवटै नगरपालिकासँग समन्वय गर्न जिससको भूमिका हुनु पर्ने बताउनु भयो । जिससका नवनिर्वाचित सबैलाई सल्लाह गरेर, मिलेर बिकासको काम गरौ । बिकासमा आग्रह पूर्वाग्रह नराखौ उहाँले भन्नुभयो ।

एमाले अध्यक्ष ओलीको विकासमा सबैसँग समन्वय गर्न निर्देशन, जिसस प्रमुख थापालाई अध्यक्ष ओली र नेता बस्नेतको बधाई

भक्तपुर, ३० जेठ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला समन्वय समिति भक्तपुरका नवनिर्वाचित प्रमुख इश्वर थापालाई सबै नगरपालिका र दलसँग समन्वय गरेर विकासका काम गर्न निर्देशन गर्नु भएको छ ।

आज ओली निवास बालकोटमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा थापालाई टीका तथा खादा लगाएर बधाई दिदै भक्तपुरको समग्र विकासमा पार्टी र चारवटै नगरपालिकासँग समन्वय गरेर काम गर्न आग्रह गर्नु भएको हो । भक्तपुरको बिकासलाई सबै मिलेर अगाडि बढाउनु पर्ने बताउदै उहाँले बिकासलाई पहिलो प्राथमिकतामा राखेर निर्णय गर्न निर्देशन गर्नु भयो ।

कार्यक्रममा एमाले पोलिट व्यूरो सदस्य महेश बस्नेतले तीन तहकै सरकार, जिल्लाका चार नगरपालिका तथा रोकिएका बिकासलाई अगाडि बढाउन जिल्ला समन्वय समितिको भूमिका प्रभावकारी रुपमा निर्वाह गर्ने अपेक्षा गरेको बताउनु भयो ।

ओली निवासमा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोम मिश्र, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, जिससका निवर्तमान प्रमुख नवराज गेलाल, निवर्तमान् उपप्रमुख सरिता कुँवरलगायतले पनि बधाई तथा शुभकामना दिनु भयो ।

 

मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही गर्न र अर्थमन्त्रीको विषयमा छानविन गर्न महेश बस्नेतको माग

काठमाडौँ, ३० जेठ । नेकपा एमालेका सांसद महेश बस्नेतले मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही गर्न माग गरेका छन्। सोमबार प्रतिनिधिसभामा मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सो माग गरेका हुन्।

कृषि बाटै ८ प्रतिशत आर्थिक वृद्धि गर्ने भनिरहेको बेला किसानले मल नपाउने अवस्था रहेकोले उनले भने, ‘मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनुपर्छ।’ त्यस्तै, फोहोरलाई कम्पोष्ट मल बनाउने योजना बनाउन किन कार्यान्वयन नभएको भन्दै जवाफ खोज्न सरकारसँग माग गरेका छन्।

त्यस्तै आर्थिक वर्ष २०७९/ ८० को बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत रुपमा एक पूर्वकर्मचारीलाई सहभागी गराएको विषय बाहिर आएपछि संसदमा प्रश्न उठेको हो ।

सांसद महेश बस्नेतले अर्थमन्त्रीको विषयमा प्रश्न उठेको भन्दै छानविनको माग समेत गरे । उनले भने, ‘आज मात्रै हामीले समाचार सुन्यौं । अर्थमन्त्रीज्यूले भन्सारका दररेटहरु र करका दररेटहरु परिवर्तन गर्न अघिल्लो दिन राति एकजना पूर्वसुब्बालाई ल्याएर गडबडी गर्नुभयो । वायर कारखानादेखि लिएर सेनेटरी प्याड सबै कुरामा तमाम दररेटहरु खारेज गरेर अर्थमन्त्रीज्यूले नियमित कमिसन खाने योजना बनाउनुभयो भन्ने कुरा सुन्यौं ।’

सांसद बस्नेतले  नीतिगत सुधारदेखि मन्त्रीहरुको व्यवहार परिवर्तन हुन जरुरी रहेको बताए ।  सिमेन्ट र रडमा  महिनाको ३० करोड विद्युत तिर्ने कारखानालाई १५ प्रतिशत छुट दिनएर एक मुष्ट करोडौं रकम आम्दानी लिने कुरा बाहिर आएको भन्दै उनले अर्थमन्त्रीको भूमिकामाथि प्रश्न गरे।

उनले भने, ‘सिमेन्ट र रडमा  महिनाको ३० करोड विद्युत तिर्ने कारखानाहरुलाई १५ प्रतिशत छुट दिने कुराले एक मुष्ट करोडौ रकम आम्दानी लिएको कुरा, महिनाको ३७ लाख रुपैंया नियमित लिएको कुरा पनि आएको छ । रोम जलिरहेछ निरोहरु बाँसुरी बजाइरहेछन् भन्ने कुरा देखिरहेका छौं । यो विषय छानविन हुनुपर्छ । ’

एमाले सचिवालय बैठक : निर्वाचन परिणामको समीक्षासहित आगामी कार्यभारमा केन्द्रित हुने

काठमाडौँ, ३० जेठ : नेकपा (एमाले) को सचिवालयको नवौँ बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले प्रमुख पदहरूमा सन्तोषजनक स्थान हासिल गर्न नसकेको ठहर गर्दै त्यसको गम्भीर समीक्षा गर्दै आगामी कार्यभारका लागि केन्द्रित रहने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज भएको बैठकबारे जानकारी दिँदै एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले निर्वाचन जनताको सार्वभौम अधिकार प्रयोग गर्ने उच्चतम थलो भएकाले निर्वाचनमा भाग लिएपछि त्यसको परिणाम स्वीकारिने बताउनुभयो ।

उहाँले ३४ प्रतिशत लोकप्रिय मतसहित एमाले ठूलो दलका रुपमा अगाडि आएको तथ्य स्थापित भएको जनाउँदै स्थानीय तहका प्रमुख र अध्यक्षहरूमा एमालेले पाएको मत सन्तोषजनक नरहनुमा सत्ता गठबन्धन र एमालेको आन्तरिक कारण रहेको विषयमा बैठकमा छलफल भएको बताउनुभयो । उहाँले समयमा उम्मेदवार चयन, आकाङ्क्षीहरूको सही व्यवस्थापन र निर्वाचन परिचनामा कुशलता हसिल नभएका आन्तरिक कारण तथा केही ठाउँमा घात अन्तर्घात भएकाले प्रमाणित भएका अन्तर्घातमा संलग्नलाई सम्बन्धित कमिटीले कारबाही गर्ने र आगामी अभिभारामा केन्द्रित हुने तय भएको जानकारी दिनुभयो । नेता ज्ञवालीले निर्वाचनमा पार्टीको स्थानबारे आन्तरिक समीक्षा गर्नुका साटो पार्टीका कुनै पनि नेताले पार्टी प्रतिष्ठा र मूल नेतृत्वलाई अनावश्यक लाञ्छना लगाउने कार्यमा संलग्न हुनु नहुने स्पष्ट गर्नुभयो ।

उपमहासचिव ज्ञवालीले नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डतामा आँच आउन नदिन राष्ट्रियताको पहरेदारी गर्ने विषयमा पनि बैठकमा छलफल भएको बताउनुभयो । सचिवालय बैठकले आउँदो असार २ र ३ गते काठमाडौँमा पार्टीका तर्फबाट निर्वाचित प्रमुख, अध्यक्षसहित जनप्रतिनिधिलाई स्थानीय तहका अधिकार क्षेत्र, नीति कार्यक्रम तर्जुमा गर्दा समृद्ध नेपाल र समृद्ध नेपालको आधार निर्माण, जनप्रतिनिधि र जनताको सम्बन्ध आदिबारे अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेलसहितले प्रशिक्षण दिने कार्यक्रम पनि तय गरेको छ । यस्तै बैठकले केही विभागहरुको गठन र पूर्णता दिएको छ ।

व्यक्तिको नाममा बिक्री भएको ऐतिहासिक कमल पोखरी सार्वजनिक रुपमा फर्काउन मध्यपुरथिमिवासीको माग 

भक्तपुर, २९ जेठ : बिक्री भएर व्यत्तिःको नाममा गएको मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष अगाडिदेखि धार्मिक, ऐतिहासिक एवं साँस्कृतिक रुपमा रहेको कमल पोखरी अर्थात पलिस्वाँ पुखुःसार्वजनिक रुपमा फर्काउन स्थानीयवासीले माग गरेका छन् ।
यहीँ कमल पोखरीमा फुलेको कमलको फूल बोडे लायकू दरबारमा दशैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँकोे फूल चढाएर जात्रा चलाउने र जिब्रो छड्ने जात्रा चलाउने परम्परा रहदै आएको कमल पोखरी सार्वजनिक रुपमै फर्काउन स्थानीयले माग गरेका हुन् ।

कमल पोखरी सुटुक्क व्यक्तिको नाममा नामसारी गरि किनबेच समेत भएको थाहा पाएपछि स्थानीयले भूमाफियासँग पोखरी सार्वजनिक सम्पत्तिकै रुपमा फर्काउन कानूनी लडाई लड्दै आएको छन् । तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं. १ को १५ रोपनी ९ आना सार्वजनिक जग्गा २०४२ सालमा व्यक्तिको नाममा दर्ता भई बिक्री वितरण गरेको भन्दै बोडेका बासिन्दाले सो पोखरी सार्वजनिक रुपमै फर्काइनुपर्ने माग राखेका हुन् ।

२०४२ साल असार ३१ गते उक्त पोखरी कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते अधिकृत वारेशनामा बकसपत्र गरी मनाङ्ग घरभई काठमाडौं ठमेल बस्ने ग्ल्याल्पो गुरुङ्गको नाममा नामसारी भएको हो । जसमध्ये १३ रोपनी ९ आना ग्ल्याल्पोको नाममा, १ रोपनी तेन्जी शेर्पिणीको नाममा, एक रोपनी कर्सी जद्योना गुरुङ्गको नाममा पास गरी हाल ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिको नाममा जग्गा पास गरेर बिक्री गरेको पाइएको छ धार्मिक तथा साँस्कृतिक महत्व बोकेको कमल पोखरी जोगाउनुपर्ने माग गर्दै मध्यपुरथिमिका बासिन्दाले यस अघि पनि पटक पटक उच्च अदालत पाटनमा धर्ना दिदै आएका छन् ।

धार्मिक एवं सार्वजनिक पोखरीको खरिद बिक्री हुँदै आए पनि कसैले उपभोग गर्न नआउँदा स्थानीयले पत्तो नपाएको अबस्थामा २०७० साल अगाडि पोखरीमा माटो पुरेर जग्गा टुक्राएर बस्ती बिकास गर्न भन्दै डोजर आए पछि बल्ल पोखरी किनबेच भएको स्थानीयले थाहा पाएका थिए । स्थानीयले माटो पुर्न आएका डोजर र केही व्यक्तिलाई लछारपछार गर्दै लखेटे पछि पोखरी सार्वजनिक सम्पत्तिको रुपमा फर्काउन कानूनी लडाई सुरु भएको थियो ।

स्थानीयले ऐतिहासिक कमल पोखरी (पलिस्वाँ पुखुः) संरक्षण समितिनै गठन गरी पोखरीको धनीपूर्जा खारेज गरी पोखरीलाई सार्वजनिक कायम गर्न माग गर्दै आएको स्थानीय बिरेन्द्र जयनाले बताउनु भयो । स्थानीयले जिल्ला अदालत भक्तपुरको फैसलालाई उच्च अदालतले सदर गर्ने विश्वासमा रहेकै बेलामा मिलापत्र गर्ने गरि प्रस्ताव आएपछि स्थानीय थप आक्रोसित बनेका छन् । मुद्धाको वारेस बसेका द्रव्यलाल जयनाले यहीँ जेठ ३१ गते मुद्धाको पेशी रहेको र सोही दिन फैसला हुन सक्ने भन्दै मुद्धा फैसलाबाट नभई मिलापत्रबाट टुङ्याउने प्रस्ताव आएको जानकारी दिनु भयो ।

यसबारेमा कमल पोखरी संरक्षण समितिका संयोजक गणेशमान चक्रधरले मुद्धाको अन्तिम किनारा लाग्ने चरणमा पुगेको भन्दै पोखरी खरिद गर्ने पक्षबाट मिलापत्र गर्ने प्रस्ताव आएको बताउनु भयो । त्यसकाबारेमा दुई पक्षबीच थप छलफल नभएकाले मिलापत्र भन्दा पनि उच्च अदालतको फैसला नै कुर्नु पर्ने बताउनु भयो ।

मध्यपुरथिमि नगरपालिका–८ बोडेका वडाध्यक्ष रमेश थापा श्रेष्ठले दुई पक्षका कानून व्यवसायीले मिलापत्र गरेर पोखरीलाई सार्वजनिक गर्ने प्रस्ताव ल्याएको बताउनु भयो । उहाँले भन्नुभयो, “हामीले पोखरी सार्वजनिक रुपमानै ल्याउनु पर्छ भनेर कानूनी लडाई लडेका हौँ, अहिले दुबै पक्षका वकिलहरुले मिलापत्र गरेर पोखरीलाई सार्वजनिक बनाउँ भन्ने प्रस्ताव आएको छ, यो सकारात्मक हो तर यसबारेमा पछिल्लो समयमा थप छलफल हुन सकेको छैन, यस्तो अबस्थामा अब दुई दिनमा आउने अदालतको फैसला कुर्नु नै उपयुक्त होला ।” पोखरीलाई सार्वजनिक बनाएर हारजीत नगई आफ्नो पनि पोखरीमा योगदान रहेको सन्देश सार्वजनिक पोखरी किन्ने पक्षले दिन खोजेको हुन सक्ने उहाँको भनाइ छ ।

अदालतमा मिलापत्र गरेर पोखरीलाई सार्वजनिक बनाउने, पोखरी किन्ने समूहलाई क्षतिपूर्तिको व्यबस्था गर्ने र उनीहरुलाई मध्यपुरथिमिमा सम्मान गर्ने प्रस्ताव आएको स्थानीयले बताएका छन् । स्थानीयले यो प्रस्ताव अस्विकार गर्दै आक्रोस व्यक्त गर्र्दै व्यक्तिको नाममा पोखरी बिक्री गर्ने कार्यमा संलग्न सबैको राज्यले खोजी गरि कारबाही गर्नु पर्ने माग राखेका छन् । स्थानीयले भने सार्वजनिक पोखरी किन्नेसँग सहमति गर्ने र उनीहरुलाई आफ्नै बस्तीमा ल्याएर सम्मान गर्नु भनेको सार्वजनिक सम्पत्ति हडप्न प्रोत्साहन गर्नु सरह हो भन्दै यस्तो सहमति र मिलापत्र नगर्न खबरदारी गरेका छन् ।

जिल्ला अदालत, भक्तपुरले उक्त मुद्धामा २०७५ साल असार १९ गते मंगलबार वादी कान्छा चक्रधर र प्रतिवादी सुर्जेराम श्रेष्ठसमेत भएको फैसला बदर मुद्दामा जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले मध्यपुरथिमि–८ बोडेस्थित कमलपोखरीलाई सार्वजनिक कायम गरी संरक्षण गर्नुपर्ने फैसला गरेको थियो । जग्गा खरिद गर्ने पक्ष जिल्ला अदालतको फैसला बिरुद्ध उच्च अदालत पाटनमा मुद्धा दर्ता गराएका थिए ।

जिल्ला अदालतको फैसला आउने बित्तिक मध्यपुरथिमि नगरपालिकाले उक्त पोखरीको संरक्षण अभियान सुरु गरेको थियो । अदालतमा आफै पनि प्ले कार्ड बोकेर धर्नामा बस्दै आउनु भएका नगरपालिकाका तत्कालिन नगर प्रमुख मदनसुन्दर श्रेष्ठ जिल्ला अदालतको फैसला कार्यान्वयनका लागि भोलीपल्ट नै नगरपालिकाबाट ७५ लाख बजेट विनियोजन गरेर कमल पोखरी संरक्षण थाल्नु भएको थियो । उक्त आदेशको भोलिपल्टै मध्यपुरथिमि नगरपालिकाले डोजरको सहायतमा पोखरीमा सफा गरी ७५ लाख रुपैयाँको लागतमा संरक्षणका कार्य गरिएको पूर्वनगरप्रमुख श्रेष्ठ बताउनु भयो ।

नगरपालिकाले पोखरीलाई ऐतिहासिक स्वरुपमै पुनःनिर्माण गरेको छ । पोखरीमा दाँची अप्पा, माँअप्पा इँटाको प्रयोग गरेर कलात्मक शैलीमा पुनःनिर्माण गरी वरिपरि बार लगाइएको छ । पोखरीमा रोपिएको कमलको बिरुवाबाट फूल फुल्न थालेको छ भने नगरपालिकाले आन्तरिक पर्यटनको विकासका लागि पाँच लाख रुपैयाँको लागतमा दुईवटा डुङ्गा सञ्चालनमा ल्याउनाका साथै दुई हजार माछाको भुरा पनि छाडेको छ ।

स्थानीय बिरेन्द्र जयना भन्नुहुन्छ “हामी बच्चा हुँदा पोखरीमा कमल फुल्थ्यो, पौडी खेलिन्थ्यो, पछि पुरियो, फोहर भयो, किनबेच भयो, बोडेका बासिन्दा पोखरी जोगाउन लागिरहयौँ, अहिले राम्रो पोखरी बन्यो, यहाँ त अचेल बिहान मर्निङ वाक, साँझ इभिनिङ वाक गर्ने मान्छे धेरै हुन्छन्, पोखरीमा अहिले कमलको फूल फुल्यो यो ठाउँ हेर्दा हेर्दै आन्तरिक पर्यटनको गन्तव्य बन्यो ।” पोखरीको वरिपरि निर्माण भएको १० फिट चौडाइको ढलानसहितको फुटपाथ त्यसमाथि पोखरीको डिलमा तेलिया इँटा छापेर खाली खुट्टाले पनि हिँड्न मिल्ने बनाइएको छ ।

यहीँ पोखरीमा फुलेको कमलको फूल यहीँको लायकू दरबारमा दसैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँकोे फूल चढाएर जात्रा चलाउने र जिब्रो छड्ने जात्रा चलाउने ५० वर्ष अगाडिको परम्परालाई नगरपालिकाले यसै वर्षदेखि सुरु गरेको बताउदै श्रेष्ठले उच्च अदालतले पनि जनताकै पक्षमा फैसला सुनाउने अपेक्षा गरेको उहाँले बताउनु भयो ।

बोडेका बासिन्दाले भने आगामी मंगलबार उच्च अदालत पाटनमा हुने फैसला सुन्न जानका लागि मध्यपुरथिमिका बासिन्दालाई आव्हान समेत गरेको छ ।