सूर्यविनायकको गुण्डुमा औद्योगिक ग्राम निर्माण हुने

भक्तपुर, २३ जेठ : सूर्यविनायक नगरपालिका–७ गुण्डुमा भक्तपुर जिल्लामै पहिलो औद्योगिक ग्राम बन्ने भएको छ । यहाँ रहेको सार्की खोल्छा नाममा चिनिने स्थानमा रहेको ८४ रोपनी सार्वजनिक जग्गा र स्थानीयको करिब एक हजार रोपनी जग्गामा बिशाल औद्योगिक ग्राम निर्माण हुने भएको हो ।

वडा कार्यालय अगाडिकै क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि नेपाल सरकारसँग प्रस्ताव गरेपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विनियोजन गरेको रु. १ करोडको बजेटले औद्योगिक ग्रामको गुरुयोजना निर्माण अन्तिम चरणमा पुर्याई कार्यान्वयनका लागि छलफल अगाडि बढाएको स्थानीयवासी एवं संघीय सांसद महेश बस्नेतले जानकारी दिनु भयो ।

औद्योगिक ग्रामका लागि गुरुयोजना निर्माण र सडक निर्माण अन्तिम चरणमा पुगे पछि स्थानीयलाई अधिक भन्दा अधिक फाइदा हुने र त्यस क्षेत्रमा आर्थिक क्रान्ति आउने गरि आयोजनालाई पूर्णता दिनेबारे बिज्ञसहित स्थानीयसँग छलफल सुरु भएको उहाँले जानकारी दिनु भयो ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य, पूर्वमन्त्री एवं सांसद बस्नेतका अनुसार त्यस क्षेत्रमा तीन प्रकारका उद्योगहरु सञ्चालनमा आउने छन् । उहाँले भन्नुभयो, “त्यस क्षेत्रमा तीन प्रकारका उद्योगहरु सञ्चालनमा आउने छन्, एकमा मेशिनको प्रयोग नगरी उत्पादन हुने माइक्रो इन्डस्ट्रि जस्तै हस्तकलाका सामानहरु, दोश्रोमा घरेलु उद्योगहरु जसमा मेशिनको प्रयोग हुने जस्तै धातु कला, काष्ट कला र तेश्रोमा साना तथा मझौला उद्योगहरु सञ्चालनमा आउने छन् ।”

उद्योगहरुसँगै प्रशासनकी भवन, हरियाली क्षेत्र, स्वास्थ्य उपचार क्षेत्र, मजदुरका बालबालिका हेरचाह केन्द्र, बालग्राम, प्रशोधन केन्द्र, मेशिन सर्भिस सेन्टरलगायतका आवश्यक संरचनाहरु समेत निर्माण हुने छन् । त्यस क्षेत्रलाई औद्योगिक शहरको रुपमा बिकास गर्दै ल्याण्ड पुलिङ गरि उद्योगीदेखि मजदुरसम्मले घरेडी खरिद गरि बसोबासको क्षेत्र बनाउन सक्ने गरि पूर्वाधारहरु निर्माण गर्ने योजना रहेको छ ।

औद्योगिक ग्रामका २०० मिटर आसपासका क्षेत्रका बासिन्दाले यहाँका करिब एक हजार रोपनी क्षेत्रफल रहेको आफ्नो निजी जग्गालाई समेत औद्योगिक ग्रामकै रुपमा विकास गरि निजी स्तरमा उद्योग व्यबसास सञ्चालन गर्न सक्ने वा कुनै उद्योग सञ्चालनका लागि जग्गा भाडामा दिएर आम्दानीको बलिाये श्रोत बनाउने सक्ने गरि योजना अगाडि बढेको छ ।

सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले औद्योगिक ग्राम निर्माणबारे गुरुयोजना अन्तिम चरणमा पुगेको र स्थानीयवासी एवं बिज्ञहरुसँग बिभिन्न चरणमा छलफल भइरहेको बताउनु भयो । औद्योगिक ग्राम निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा आर्थिक क्रान्तिको रुपमा बिकास हुने र स्थानीय स्तरमा रोजगारीको समेत बृद्धि हुने अपेक्षा गरिएको बताउनु भयो ।

 

महिलालाई कानूनी अधिकारबारे जानकारी दिन छहारी साकोसको महिला हिंसा सम्बन्धि अभिमुखीकरण सम्पन्न

भक्तपुर, २२ जेठ । सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चा चोकमा रहेको छहारी साकोसले यहाँका महिलाहरुलाई महिला अधिकार प्रत्यायोजित गर्दै महिला हिंसा रोक्ने उदेश्यले एक दिने महिला हिंसा सम्बन्धि कानूनी परामर्शको आयोजना गरेको छ ।

यही जेठ २१ गते शनिवार छहारी साकोसको आफ्नै सभा कक्षमा युवा विकास तथा अध्ययन केन्द्रकोे सहयोगमा आयोजना भएको महिला हिंसा तथा लैगिक अधिकार सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा महिला अधिकार र हिंसा रोकथाम तथा कानूनी अधिकारकाबारेमा परामर्श दिएको संस्थाका अध्यक्ष कृष्णहरि खड्काले जानकारी दिनु भयो ।

छहारी साकोसमा आवद्ध महिलाहरुलाई कानूनी परामर्श दिने र कानूनबारेमा कानूनी अधिकारकाबारेमा दक्ष बनाउने उदेश्यले सञ्चालन गरेको परामर्श कार्यक्रममा केन्द्रका सुमन न्यौपानेले परामर्श दिनु भएको थियो । कार्यक्रममा महिलाहरुले आफूमा रहेको महिला हिंंसा, कानूनी उपचार, कानूनी प्रक्रिया, महिला अधिकारकोबारेमा जानकारी गराएको संस्थाका अध्यक्ष खड्काले जानकारी दिनु भयो ।

संस्थाका कोषाध्यक्ष प्रविण शंखदेवले संविधानमा उल्लेख भएका, ऐन कानूनले महिलालाई दिएका अधिकार पनि कतिपय अबस्थामा कानूनी प्रक्रिाय थाहा नपाउँदा महिला पछाडि परेको अबस्थामा संस्थाले यस प्रकारको कानूनी परामर्श दिएको बताउनु भयो । यसले महिलाहरुको हक, अधिकार सुनिश्चित गर्दै कानूनी अधिकार व्यबहारमा लागू गर्न तालिमले प्रभावकारी भूमिका निर्वाह गर्नेउहाँले बताउनु भयो ।

समाजका हुने महिला हिंसा रोक्दै समाजलाई स्वच्छ बनाउने उदेश्यले आयोजना गरेको एकदिने परामर्श अत्यन्तै उपयोगी रहेको सहभागि महिलाहरुले बताएका छन् ।

चुनावी गठबन्धन बनाउने निर्णय गर्दै लोसपाले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउदै

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले आफ्ना विभिन्न माग पुरा गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएको छ । मंगलवार ज्ञापनपत्र बुझाउने निर्णय आइतबार बसेको कार्यकारिणी समितिको बैठकले गरेको छ ।

ज्ञापनपत्र तयार गर्ने जिम्मेवारी कार्यकारिणी सदस्य लक्ष्मण लाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला र केशव झालाई दिएको छ । नागरिकता, संविधान संशोधन, मधेश आन्दोलनको क्रममा लागेको मुद्दा फिर्ता, जेलमा रहेकालाई रिहायलगायतका माग राख्दै लोसपाले ज्ञापनपत्र बुझाउन लागेको कार्यकारिणी सदस्य एकवाल अहमदल जानकारी गराए । बबरमहलस्थित पार्टी कार्यालयमा दुई दिनदेखि लोसपा केन्द्रीय समितिको बैठक चलिरहेको थियो । बैठक आज सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकमा चुनावको समिक्षा, आगामी चुनावका लागि रणनीति तथा संगठन निर्माणको विषयमा केन्द्रित रहेर छलफल गरेको छ ।

लोसपा नयाँ पार्टी भएको, पूर्णरुपमा संगठन निर्माण हुन नसकेको कारण स्थानीय चुनावमा सोचे जस्तो नतिजा ल्याउन नसकेको निष्कर्ष लोसपाले निकालेको छ । पाँच दलीय गठबन्धनले स्थानीय तहको चुनावमा सत्ताको दुरुपयोग गरेर लोसपालाई ठाउँ ठाउँमा कमजोर बनाउने प्रयास गरेको पार्टीले निष्कर्ष निकालेको कार्यकारिणी सदस्य अहमदले बताए । पाँच दलको गठबन्धन नभएको भए लोसपाले पनि राम्रै नतिजा ल्याउथ्यो तर गठबन्धनका कारण सोचे जस्तो नतिजा नल्याएको तर निराश हुने अवस्था पनि नरहेको लोसपाले जनाएको छ ।

बैठकले आगामी चुनावमा दलहरूसँग चुनावी तालमेल गरेर जाने निर्णय गरेको अर्का केन्द्रीय सदस्य एकवाल मियाँले बताए । उनले भने,  ‘चुनावमा कुनै नकुनै दलसँग तालमेल गर्ने तर कुन दलसँग गर्ने अहिले नै निश्चित भएको छैन, आवश्यकता अनुसार दलहरुसँग वार्ता गरेर यस विषयमा अगाडि बढ्ने विषयमा छलफल भएको छ ।’ बैठकले केन्द्रीय समिति गठन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माणलगायतका कार्य चाडै सम्पन्न गर्ने निर्णय गरेको छ । त्यसका लागि तत्कालै शीर्ष नेताहरुको बैठक बसेर यस कामलाई अगाडि बढाउने सहमति भएको उनले बताए ।

एमाले अध्यक्ष ओलीको आरोप : पैसाबाहेक अरू केही पनि नसोच्नेहरूको हातमा सरकार पुग्यो

काठमाडौँ, २२ जेठ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पैसाबाहेक अरू केही पनि नसोच्नेहरूको हातमा सरकार पुगेको टिप्पणी गरेका छन्। उनले वातावरण विनाशको डिलमा पुग्न लागेको उल्लेख गर्दै यसबारे केही नलेज छ कि छैन ? भनी सरकारलाई प्रश्नसमेत गरे।

विश्व वातावरण दिवसको अवसर पारेर आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा उनले नेपालको हिमालले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकै कारण आफू नेतृत्वको सरकारले तय गरेको ‘सगरमाथा संवाद’ कार्यक्रमलाई अगाडि बढाउन वर्तमान सरकार सक्षम नभएको बताए।

उनले वातावरणीय प्रश्नमा नेपालको हिमाल महत्वपूर्ण रहेको विषयमा आफूले सरकारमा रहँदा विश्वका नेतासँग संवाद गरेको उल्लेख गर्दै त्यसको महत्व दर्शाउनका लागि अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको पनि स्मरण गराए।

तर, त्यो सन् २०२० मा कोभिडका कारण अघि बढ्न नसकेको र त्यसपछि अघि बढाउन खोज्दा सरकारबाट हट्नुपरेको अध्यक्ष ओलीको भनाइ थियो।

उनले भने, ‘हाम्रा हिमालले दिएको ओस, हाम्रा हिमालले दिएको पानीको स–सना कोण, जो हावामा पठाइएको छ। त्यसको असरका कारण पूरै ड्राई भएको हुँदैन। मैले संयुक्त राष्ट्रसंघका वातावरणको सम्बन्धमा काम गर्ने लिडरहरू, लिडिङ परसनालिटी, जसले इन्भारोमेन्टबारे काम गर्छ। उनीहरूलाई मैले के हो माउन्टेन, माउन्टेन क्लाइमेट के हो र हिमाल नेपालमा मुख्य रूपमा छन्।सबभन्दा धेरै त नेपालमा छ। नेपालको १७ प्रतिशत भूभाग हिमाल छ। यो खाली नेपालका लागि मात्रै महत्वपूर्ण छैन। र, हिमालको क्लाइमेट भनेको हाम्रा लागि हैन, हाम्रा निम्ति मात्रै होइन। यो विश्वका लागि हो। त्यसकारण विश्वले यसमा बुझ्नुपर्छ भनेर मैले इन्टरनेसनल फोरममा, युएनका जिम्मेवार व्यक्तिसँगको भेटमा सबै ठाउँमा यसलाई उठाएको छु। र, यसै प्रयोजनका लागि हामीले सन् २०२० मा अहिलेभन्दा २ वर्षअगाडि सगरमाथा संवाद आयोजना गर्न खोजेका थियौं। एभरेष्ट डाइलग भनेर हामीले आयोजना गर्न खोजेका थियौँ। तर, त्यो कोभिड १९ का कारण डिस्टर्व भयो। र, गत सेप्टेम्बरमा आयोजना गर्ने तय गरिएको थियो, अनफरचुनेट्ली हामी जुलाइतिरै गयौँ होला। हामी सरकारबाट हटेपछि कसले सोच्ने वातावरण, कसले सोच्ने अरु। पैसाबाहेक अरू नसोच्नेहरूका हातमा सरकार पुगेपछि के–को, वातावरण के–को के ? त्यो सबै टुंगियो कुरा।’

वातावरणीय संरक्षणको प्रश्नमा नेपालको भूमिका महत्वपूर्ण रहेकोतर्फ पनि विश्व नेताहरूको ओलीले ध्यानाकर्षण गराए। उनले भने, ‘वातावरणको सन्दर्भमा बढी सचेत छ नेपाल। वातावरणीय प्रश्नमा विश्वले एमेजोन रेन फरेस्टमा मात्रै ध्यान दिने होइन, त्यसको चर्चा मात्र गर्ने होइन कि हाम्रा माउन्टेनको पनि चर्चा गर्नुपर्छ। रेन फरेन्ट अन्त पनि बनाउन सकिएला। तर, हिमाल रोप्न सकिँदैन। माटोलाई जीवित राख्न, धर्तीलाई जीवित राख्न, पृथ्वीलाई जीवित राख्न आवश्यक छ, मानव जातिको भविष्य सुरक्षित गर्नका लागि।’

अध्यक्ष ओलीले वातावरण संरक्षणका लागि वनको भन्दा पनि हिमालको भूमिका महत्वपूर्ण हुने भएकाले विश्व नेताहरूले नेपालको हिमालबारे चर्चा गर्नु जरुरी रहेको तर्क गरे।

गाईको बाछो काटेर मासु भाग लाउदै गरेका मोक्तान पक्राउ

भक्तपुर, २२ जेठ : गाईको बाछो काटेर मासु भाग लगाई रहेको अबस्थामा प्रहरीले मध्यपुरथिमि नगरपालिका–८ बोडेबाट दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा काटाकुटी गाँउपालिका–२ घर भई हाल बोडे पाटी बिहार बस्ने ३८ वर्षीय निमा मोक्तानलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पोण्डेले जानकारी दिनु भयो ।

मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित वडा कार्यालयको भवन नजिकै सार्वजनिक शौचालयमा गाईको बाछो काटी मासु भाग लगाई रहेको स्थानीयले जानकारी गराए लगत्तै महानगरीय प्रहरी बृत्त थिमिबाट खटिएको प्रहरी टोलीले मोक्तानलाई गाईको बाछो काटेर मासु भाग लगाई रहेको अबस्थामा २० के.जी गाईको बाछोको मासु सहित पक्राउ गरेको जानकारी दिनु भयो ।

अन्य तीन जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले आज मोक्तानलाई जिल्ला अदालत भक्तपुर पेश गरि थप अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाउने उहाँले जानकारी दिनु भयो ।

सर्वनाम शिक्षालयको यौन दुर्व्यवहार घटना : प्रिन्सिपलसहित दुई शिक्षक पक्राउ

काठमाडौं, २२ जेठ । जोरपाटीस्थित सर्वनाम शिक्षालयमा भएको यौन दुर्व्यवहारकाे घटनामा प्रिन्सिपलसहित थप दुई शिक्षक पनि पक्राउ परेका छन्। होस्टल वार्डेनका रुपमा खटिएका एक व्यक्तिलाई रामेछापबाट पक्राउ गरेको प्रहरीले थप दुई जनालाई पक्राउ गरेको हो।

गोकर्णेश्वर नगरपालिका–६ बाहुनधारास्थित सर्बनाम शिक्षालयमा कक्षा १० मा अध्यनरत १५ वर्षीया किशोरी, कक्षा ७ मा पढ्ने १२ वर्षीया र कक्षा ८ मा अध्यनरत १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो।

सुरुमा होस्टलका वार्डेन रामेछाप घर भएका ३५ वर्षीय रामजी बस्नेतलाई शनिबार दिउँसो रामेछाप प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो। उनलाई शनिबार राति साढे १० बजे रामेछापबाट काठमाडौं ल्याइएको थियो।

सोधपुछ तथा थप अनुसन्धानका लागि सोही शिक्षालयका प्रिन्सिपलसमेत थप २ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरुको भने नाम सार्वजनिक गरिएको छैन। प्रहरी वृत्त बौद्धबाट उक्त घटनाको अनुसन्धान अघि बढाइएको छ।
उपसभामुखसहित दुई मन्त्री दिएर लोसपालाई सरकारमा ल्याउदै प्रम देउवा

काठमाडौं, २२ जेठ । कुनै पनि बेला कम्युनिष्ट फेरी एक हुन सक्ने र सरकार ढल्न सक्ने आँकलन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सरकारमा ल्याउने भएका छन् । यसका लागि प्रधानमन्त्री देउवाले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरि उपसभामुखसहित दुईै मन्त्री लिएर सरकारमा सहभागि हुन प्रस्ताव राखेको कांग्रेस श्रोतले जानकारी दिएको छ ।

प्रम देउवासँगको भेटमा ठाकुरले वृहत लोकतान्त्रिक एकता बनाएर जानु पर्ने प्रस्ताव राखेको श्रोतको दाबी छ । लोसपा नेताहरुसँग देउवाका दूतहरुले भेटघाट तिव्र पारिरहेका छन् । प्रम देउवाले महन्थलाई समेत समेटेर सरकारमा लैजाने रणनीति तय गरेको कांग्रेसको दाबी छ ।

सबैलाई भागवण्डा पुर्याउन नेकपा एकीकृत समाजवादीबाट मन्त्री हेरफेर, मन्त्रीमा फेरी गैर सांस्द थपिए

काठमाडौं, २२ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो मन्त्रीहरू हेरफेर गरेको छ । मन्त्रीहरूले प्रेमबहादुर आले, रामकुमारी झाँक्री, विरोध खतिवडा र किसान श्रेष्ठलाई फिर्ता बोलाउँदै उनीहरूको ठाउँमा नयाँ मन्त्रीको नाम सिफारिस भएको छ ।

समाजवादी अध्यक्ष माधव कुमार नेपालले मेटमणि चौधरी, शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठ र हिराचन्द्र केसीलाई मन्त्री बनाउन प्रधानमन्त्री समक्ष सिफारिस गरेका हुन् । सिफारिस भएका मध्ये शेरबहादुर कुँवर गैर सांसद हुन् । सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्य रहेका उनको कार्यकाल गत फागुन मै सकिएको हो ।

श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, चौधरीले शहरी विकास, कुँवरले श्रम तथा रोजगार र खापुङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। यसअघि खापुङ स्वास्थ्य राज्यमन्त्री थिए। सचिवालय बैठकपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री बनाउने भएका चारै जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन्। प्रधानमन्त्री देउवाले उनीहरूलाई मन्त्री  नियुक्त गर्न लागेका छन्।

यसअघि देउवा सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा गोविन्द बन्दीलाई मन्त्री बनाइएको थियो । उनी पनि गैर सांसद हुन बन्दी पनि नेकपा एस निकट मानिन्छन् । अध्यक्ष नेपालले ६ महिनामा मन्त्रिमण्डल हेरफेर गर्ने पार्टीको सहमतिअनुसार नै फेरबदल भएको बताएका छन् । तर गैरसांसद व्यक्तिलाई मन्त्री बनाउने बाध्यता नेकपा एसलाई किन पर्यो भन्ने उनले खुलाएनन् ।

नयाँ नियुक्त हुन लागेका मन्त्रीको शपथ ग्रहण भने आज नहुने भएको छ। सोमबार शपथ ग्रहण गर्ने तयारी गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

भक्तपुर, २१ जेठ । सूर्यविनायक नगरपालिका वडा नं.१, सिरुटार स्थित सिरु बौद्धिक समाजको १९ औं साधारणसभा सम्पन्न भएको छ । सिरु बौद्धिक समाजको सिरुटारमा सम्पन्न सभामा सूर्यविनायक नगरपालिका वडा नं.१ का नवनिर्वाचित जनप्रतिनिधि सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य शशीजंग थापाले सामाजिक सेवाको कार्यमा सिरु बौद्धिक समाज र वडाका जनप्रतिनिधिले सहकार्य गर्दै अगाडी बढ्न सुझाव दिन भयो । उहाँले स्थानीय विकासमा प्रदेश सभा सदस्यको हैसियतमा सूर्यविनायक नगरपालिका वडा नं.१ को विकास निर्माणमा सक्दो सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नवनिर्वाचित वडा अध्यक्ष सानुकाजी कायस्थले जनमतबाट आफू पुनः निर्वाचित भएकोमा स्थानीय मतदाता सबैलाई धन्यवाद दिँदै वडाको विकासको कार्यमा अझ सक्रिय भएर लाग्ने प्रतिबद्धता प्रकट गर्नु भयो ।

कार्यक्रममा समाजका कार्यकारिणी सदस्य नातिबाबु बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गर्नु भयो भने समाजका सचिव सनोदकुमार थापाले वार्षिक प्रतिवेदन र आगामी कार्य योजना प्रस्तुत गर्नु भयो । कोषाध्यक्ष गीताप्रसाद पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा वागमती प्रदेश प्रमुख कार्यालयका सचिव शिवराम न्यौपाने, महालक्ष्मी नगरपालिका, ललितपुरका शिक्षा विभाग प्रमुख चिरञ्जीवि पौडेल र स्थानीय सिमबिरुवा खानेपानी उपभोक्ता समितिका सचिव मधुकर थापा, ले साधारण सभाको सफलता र नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई शुभकामना व्यक्त गर्नु भयो ।

स्थानीय निर्वाचन २०७९ बाट सूर्यविनायक नगरपालिका वडा नं.१ का नवनिर्वाचित वडा अध्यक्ष सानुकाजी कायस्थ, वडा सदस्यहरु कुमारप्रसाद चौलागाई, सुवास न्यौपाने, महिला वडा सदस्य मञ्जु कार्की, दलित महिला वडा सदस्य कल्पना नेपालीलाई वागमती प्रदेश सभा सदस्य थापाले सम्मान पत्र प्रदान गर्दै सम्मान गर्नु भयो । समाजका अध्यक्ष एवं कार्यक्रमका सभापति ध्रुवराज विष्टले आफ्नो कार्यकाल सफल पुर्याउन सहयोग पुराउनु हुने कार्यसमिति लगायत सबै सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।

त्यसैगरि सभाले समाजको नयाँ कार्य समिति सर्वसम्मत चयन गरेकको छ । नेपाल सरकार, न्याय सेवाका पूर्व सहसचिव एवम् अधिवक्ता विष्णुकाजी थापाको अध्यक्षतामा राजेन्द्रकुमार श्रेष्ठ उपाध्यक्ष, सनोदकुमार थापा सचिव, नातिकाजी बस्नेत कोषाध्यक्ष र सदस्यहरुमा गीताप्रसाद पोखरेल नातिबाबु बुढाथोकी, रामकृष्ण कार्की, सुश्री भगवती थापा, जनार्दन न्यौपाने, मिलन थापा, अमर के.सी. र नवराज गिरी सहितको १३ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ । सिरु बौद्धिक समाजको विधानमा सूर्यविनायक नगरपालिका वडा नं.१ को अध्यक्ष कार्य समितिको पदेन सदस्य रहने प्रावधान अनुरुप वडा अध्यक्ष सानुकाजी कायस्थ समेत कार्य समिति सदस्य रहनु हुने छ ।

कालीगण्डकीको बिजुली भारत निर्यात सुरु, प्रतियुनिट न्यूनतम २.३८ रुपैयाँदेखि १९ रुपैयाँ सम्म

काठमाडौँ, २१ जेठ : नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत्गृहबाट उत्पादित विद्युत् आज राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो । प्राधिकरणले विद्युत् भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स)मा बिहीबारदेखि त्रिशूली र देवीघाट जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिकरुपमा करिब ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको छ ।

कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत् भारत निर्यात गर्नेछ । कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत् भारत निर्यात हुनेछ । वर्षात्सँगै नदीनालामा पानीको बहाव बढेर विद्युत्गृह पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिकरुपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज रातिदेखि निर्यात हुने विद्युत्को औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको बताउनुभयो । “अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु) छ”, घिसिङले भन्नुभयो । आइएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरकफरक हुने गरेको छ ।

प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विद्युत्को अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमश: भारु १२ (१९.२ नेरु) र २.४९ (३.९८नेरु) छ । त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६.७२ (१०. ७६ नेरु) छ । यसैगरी, शनिबार प्राधिकरणले अधिकतम प्रतियुनिट मूल्य १९.२ रुपैयाँ (१२ भारु) र न्यूनतम ४.०८ रुपैयाँ (२.५५ भारु)मा विद्युत् बिक्री गरेको छ । औसतम मूल्य ११.४८ रुपैयाँ (७.१८ भारु) रहेको छ । नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेञ्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाटसम्म विद्युत् बिक्री गर्न अनुमति पाएको छ ।