समाचार लेख्दा राजनीतिक टोपी फुकालेर पसे मात्रै प्रेस स्वतन्त्रतालाई जोगाउन सकिन्छ : एमाले नतो एवं सांसद बस्नेत

एमाले नेता एवं सांसद बस्नेतले पत्रकारिताले भ्रम छर्यो भने समाज भ्रममै रहन्छ भन्दै एउटा व्यक्ति भ्रममै जन्मने, भ्रमममै हुर्किने र भ्रममै मृत्यु हुने अबस्था आउन दिन नहुने र सत्यमै बाँच्ने ताकत बनाउने पत्रकारिता हुनु पर्नेमा जोड दिनु् भयो ।
राजनीतिक दल तथा प्रतिपक्ष दललाईः भने केही छुट रहेको बताउदै सांसद बस्नेतले भन्नुभयो, ‘प्रतिपक्षको धर्म नै सत्ता पक्षलाई नङ्ग्याउने नै हो भन्दै उहाँले राजनीतिमा त्यो छुट भए पनि पत्रकारितामा त्यस्तो छुट नहुने बताउनु भयो ।

श्रीभक्त कासिछ्वा प्रदेश खेलकुद बिकास परिषदको सदस्यमा नियुक्त

काठमाडौं, ५ साउन । वाग्मति प्रदेश सरकारले प्रदेश खेलकुद बिकास परिषदको सदस्यमा भक्तपुरका श्रीभक्त कासिछ्वालाई नियुक्त गरेको छ ।

वाग्मति प्रदेश युवा तथा खेलकुद मन्त्रालयले आज भक्तपुरका समाजसेवी, व्यवसायी, एवं जिल्ला खेलकुद विकास समिति भक्तपुरका निवर्तमान अध्यक्ष श्रीभक्त कासिछ्वालाई परिषदको सदस्यमा नियुक्त गरेको हो ।

प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले उहाँलाई नियुक्त पत्र प्रदान गरि आजै सपथ ग्रहण गराउनु भएको छ । मन्त्री ढकालसँगै वाग्मति प्रदेशका अर्थ मन्त्री शालिकराम जमरकट्टेल, प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठलगायतले उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ ।

लामो समयदेखि खेलकुदको विकासमा निरन्तर लाग्नु भएका कासिछ्वा तेक्वाण्डो र ब्याडमिन्टनको खेलाडी हुनु हुन्छ ।
भक्तपुर व्याडमिन्टन संघका कोषाध्यक्ष, चाँगुनारायण उद्योग वाणिज्य संघका अध्यक्षलगायत बिभिन्न संघसंस्थामा आबद्ध रहनु भएका कासिछ्वा राजनीतिकर्मीसमेत हुनुहुन्छ ।

जिल्ला खेलकुद विकास समिति भक्तपुरको अध्यक्ष हुँदा उहाँले भाडामा बस्दै आएको समितिको कार्यालयलाई आफ्नै पहलमा जिल्ला मै पहिलो पटक समितिको आफ्नै कार्यालय राख्न सफल हुनु भएको थियो ।

भक्तपुरमा खेलकुदको विकासका लागि बिभिन्न खेलको प्रतियोगितासमेत गर्दै आउनु भएका उहाँले बिभिन्न संघसंस्था एवं सामाजिक विकासमा समेत योगदान दिदै आउनु भएको छ । भक्तपुरका अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणको सुरु गर्नु भएको छ । कासिछ्वाकै नेतृत्वमा चाँगुनारायणमा अन्तर्राष्ट्रियस्तरको रग्बी रंगशाला निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । प्रदेश सरकारले मध्यपुरथिमिकी खेलाडी रत्नकेशरी प्रजापतिलाई पनि पुनः समितिको जिल्ला सदस्यमा नियुक्त गरेको छ ।

कोरोनाले दुई वर्ष रोकिएको सापारु अर्थात गाईजात्रा यस वर्ष भव्य रुपमा मनाइने

भक्तपुर, ५ साउन : कोभिड–१९ का कारण दुई वर्षदेखि मनाउन नपाइएको सापारु अर्थात गाईजात्रा यसवर्ष भव्य र सभ्य रुपमा मनाइने भएको छ ।

भक्तपुर नगरपालिकाले २०७९ सालको गाईजात्रा पर्व (सापारु) प्रदर्शन गर्नेबारे आज संस्कृतिकर्मीको भेला गरेर कोरोनाका कारण दुई वर्षसम्म औपचारिकतामा मात्रै मनाएको गाइजात्रा पर्वलाई यसवर्ष भने टोल टोलमा भव्य र सभ्य रुपमा मनाउने भएको हो ।

नगरका दाफा, भजन, साँस्कृतिक टोलीलगायतको सहभागितामा भएको छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड महामारीका कारण दुई वर्षसम्म गाईजात्रालाई औपचारिकतामा सीमित गर्नुपरे पनि यस पटकको गाईजात्रा भने सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गरिने बताउनु भयो ।

यस वर्षको सापारुमा बढीभन्दा बढी साँस्कृतिक गतिविधिहरु प्रदर्शनीका लागि नगरबासीहरुलाई उत्साहित गरिने बताउदै उहाँले गाईजात्रामार्फत जनतालाई राजनीतिक र सामाजिक रुपमा सचेत बनाउँदै लैजाने बताउनु भयो । भनपा–५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वलगायतले गाठामंग र सापारुमा पर्वमा भित्रिन थालेका विकृति हटाउदै लैजानु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा सहभागि संस्कृतिकर्मीहरूले घिन्ताङघिसी नाचमा देखिएका विकृति रोक्नु पर्ने, परम्परागत बाजाहरुको संरक्षण गर्नुपर्ने, लोप भएका संस्कृति तथा बाजागाजा उत्थान गर्न आर्थिक सहयोगको गर्नु पर्ने, पर्यटकहरुलाई आकर्षण गर्न सांस्कृतिक प्रदर्शनी गर्नुपर्ने, गाइजात्रा रुटमा केबल र तारहरुको उचित व्यवस्थापन गर्नुपर्ने बताएका थिए ।

नेपालको समृद्धिको यात्रा साझेदार बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ५ साउन  : प्रधानमन्त्री शेरबहादुर देउवासँग वल्र्ड एसोसियसन अफ पब्लिक प्राइभेट पार्टनरसीप युनिट एण्ड प्रोफेसनल्स (डब्लुएपिपिपी) का प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । डब्लुएपिपिपीका अध्यक्ष जियाद अलेक्जेन्डर हायेकसहित तीन जनाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीसँग भेट गरेको हो । भेटमा सार्वजनिक–निजी साझेदारी (पिपिपी)मार्फत पूर्वाधार तथा अन्य व्यावसायिक सम्भाव्यता भएका परियोजना कार्यान्वयन गरी सरकारको सेवा प्रवाहलाई अझै चुस्त र गुणस्तरीय बनाउन सकिनेबारे छलफल भएको लगानी बोर्डको कार्यालयले जनाएको छ ।

यसबाट स्वदेशी एवं प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गरी दिगो र समावेशी आर्थिक विस्तारको आधार तयार गर्ने विश्वास लिइएको छ । पिपिपी तथा लगानीसम्बन्धी कानूनी र संस्थागत व्यवस्थामार्फत नेपालले सार्वजनिक–निजी साझेदारीमार्फत् स्रोतको खाडल पूर्ति गरी आर्थिक विकासको लाभ हासिल गर्न गरिरहेको प्रयासको प्रशंसा गर्दै उक्त प्रतिनिधिमण्डलले नेपालले पिपिपीअन्तर्गत लगानी सहजीकरणमा प्रतिस्पर्धी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको लगानी बोर्डको कार्यालयका प्रवक्ता अमृत लम्सालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पिपिपी आकर्षक भए पनि आफैँमा जटिल विषय भएको भन्दै यसका विविध पक्ष–वित्तीय, कानूनी, प्राविधिक, वातावरणीय, सामाजिक, राजनीतिक, कार्यक्रम, परियोजना, स्थानीय र अन्तर्राष्ट्रिय परिदृश्यलगायतको कुशल तादात्म्यताबाट मात्र प्रभावकारी परिणाम निकाल्न सकिने भएकाले पिपिपीका क्षेत्रमा काम गर्ने संस्थाको सोहीअनुसार क्षमता विकास हुनुपर्ने प्रतिनिधिमण्डलको धारणा थियो । प्रतिनिधिमण्डलले लगानी बोर्डको कार्यालय डब्लुएपिपिपीको सदस्य भएकाले सहयोगका लागि सधैँ तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेको उहाँले जानकारी दिनुभयो ।

उक्त अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले संस्थागत र व्यावसायिक क्षमता विकासमा डब्लुएपिपिपीका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै प्रधानमन्त्रीको अध्यक्षतामा गठित बोर्ड सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐनबाट निर्देशित रहेको र पिपिपी परियोजना विकासलाई नेपाल सरकारले उच्च महत्व दिएको बताउनुभयो । उहाँले लगानी बोर्ड नेपालले ३३ परियोजनाका लागि रु १० खर्ब ४० अर्ब लगानी स्वीकृत गरिसकेको बताउँदै पिपिपी परियोजना विकासमा नेपालले आफूलाई प्रमाणित गर्दै अघि बढेको र बोर्डको रणनीतिक योजनाअनुसार सन् २०२५–२६ सम्म १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत गर्ने लक्ष्य रहेको जानकारी गराउनुभयो ।

उक्त भेटमा प्रधानमन्त्री देउवाले नेपालमा पिपिपीअन्तर्गत स्वच्छ र नवीकरणीय ऊर्जा, दिगो एवं उत्थानशील पर्यटकीय एवं स्वास्थ्य, शिक्षा, सूचना–प्रविधि, सुरक्षित सहरी पूर्वाधार, विद्युतीय यातायात, सुरुङमार्ग, सडक, औद्योगिक उत्पादन, कृषि प्रशोधनलगायत विविध क्षेत्रमा लगानीको सम्भाव्यता रहेको भन्दै पिपिपी परियोजनालाई लगानी सम्भाव्य बनाउन डब्लुएपिपिपीको विज्ञताको लाभ लिन इच्छुक रहेको बताउनुभएको विज्ञप्तिमा उल्लेख छ । उहाँले नेपाल लगानीका लागि उदयमान गन्तव्य भएकाले त्यसको सन्देश लिएर सद्भावना दूतका रूपमा नेपालको समृद्धितर्फको यात्रामा साझेदार बन्न प्रतिनिधिमण्डललाई आग्रह गर्नुभएको थियो ।

वायुसेवा निगमले दुई कोषलाई रु एक अर्ब ३५ करोड ऋण तिर्यो

काठमाडौँ, ५ साउन  : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋण दायित्वको किस्ताबापतको रु एक अर्ब ३५ करोड भुक्तानी गरेको छ । निगमले डेढ वर्षको दौरानमा तिर्न नसकेको किस्ता रकम निगमको नयाँ व्यवस्थापन आएसँगै आठ महिनामा आर्थिक सुधार भएकाले उक्त रकम भुक्तानी गर्न सफल भएको निगमका एक उच्च अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “डेढ वर्षको दौरानमा तिर्न नसकेको रकम नयाँ नेतृत्व आएको आठ महिनाभित्रै तिर्न सफल भएको छ । फ्लाइट अकुपेन्सी बढ्नुका साथै उडान गन्तव्य पनि विस्तार भएकाले निगमले ऋण दायित्व भुक्तानी गर्न सफल भएको हो ।”

निगमले पछिल्लो पटक गत असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति लिएको ऋणको किस्ताबापतको रकम तिरेको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार कर्मचारी सञ्चय कोषलाई न्यारोबडी जहाज खरिदबापतको रु ४५ करोड र वाइडबडी जहाज खरिदबापतको रु ४५ करोड गरी जम्मा रु ९० करोड किस्ताबापतको रकम भुक्तानी गरिएको छ ।

त्यसैगरी नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको रु ४५ करोड भुक्तानी गरिएको छ । कोभिड महामारीका कारण निगमको आम्दानी खुम्चिएकाले समयमै किस्ता तिर्न नसकेको निगमले उल्लेख गरेको छ । कोभिड महामारी सहज भएसँगै स्वास्थ्य मापदण्डमा आएको विश्वव्यापी खुलापनले अन्तर्राष्ट्रिय उडानमा सहजता, सिट अकुपेन्सी, गन्तव्य विस्तार आदि कारणले निगमको आम्दानीमा सुधार आएकाले किस्ता तिर्न सफल भएको निगमले जनाइएको छ ।

एसपिपीसम्बन्धी पत्राचारबारे सदनलाई जानकारी गराउन निर्देशन

काठमाडौँ, ५ साउन  : सभामुख अग्निप्रसाद सापकोटाले ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) मा सहभागी हुन नसक्ने सरकारको निर्णय अमेरिकालाई पत्राचार नभएका सम्बन्धमा संसद्लाई जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको छ । आजको प्रतिनिधिसभा बैठकमा उहाँले एसपिपीका बारेमा भएको निर्णय कार्यान्वयनबारे जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको हो । बैठकमा सांसद भीम रावलले नेपालले एसपिपी सम्झौता नगर्ने भनी गरेको सरकारको निर्णय तत्काल अमेरिकालाई जानकारी गराउन माग गर्नुभयो । उहाँले एसपिपी सरकारले नै लागू नगर्ने निर्णय गरिसकेको भन्दै परराष्ट्र मन्त्रालयले अझै पत्र नलेख्नुका कारण माग गर्नुभयो ।

“मन्त्रिपरिषद् बैठकले पनि एसपिपीलाई अस्वीकार गरिसकेको र संसदीय समितिले पनि एसपिपीलाई फिर्ता गर्ने निर्देशन दिइसकेको छ”, उहाँले भन्नुभयो, “सम्झौता फिर्ता गर्ने निर्णय एक महिना भइसक्दा पनि किन परराष्ट्र मन्त्रालयले अमेरिकी सरकारलाई जानकारी किन गराउन नसकेको हो ।

संसदीय समितिको निर्देशन र मन्त्रिपरिषद्को निर्णय नमान्ने छुट परराष्ट्र मन्त्रालयले कसले दियो ?” सांसद देवप्रसाद गुरुङले एसपिपी सम्झौता कार्यान्वयन नगर्ने सरकारको निर्णयका बारेमा अविलम्ब अमेरिकालाई पत्राचारका लागि रुलिङ गर्न माग गर्नुभयो । उहाँले मन्त्रिपरिषद्ले एसपिपी सम्झौता कार्यान्वयन नगर्ने निर्णय गरिसकेका अवस्थामा परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले एसपिपीसम्बन्धी कुरालाई लिएर अमेरिकालाई अहिल्यै नै पत्राचार गर्न नसकिने भनी दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउनुभयो ।

सांसद दुर्गा पौडेलले जलवायु परिवर्तनका कारण सिर्जित समस्याबाट विश्व प्रभावित भएको उल्लेख गर्दै पर्यावरण जोगाउन कडा कानुन आवश्यक रहेको बताउनुभयो । सांसद चन्दा चौधरीले लागुऔषध नियन्त्रणका लागि चालिएको कदम त्यति प्रभावकारी नभएकाले ठोस मार्गचित्र बनाउन आग्रह गर्नुभयो । सांसद बहादुरसिंह लामाले नेपालमा उत्पादित विद्युत् भारत निर्यात गरेर विद्यमान व्यापार घाटा कम गर्न सकिने बताउनुभयो । सांसद सत्या पहाडीले शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नसक्दा सङ्क्रमणकालीन न्याय प्रभावित भएको बताउँदै बाँकी काम तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

पृथ्वी राजमार्गमा बस र विङ्गनर ठोक्किँदा १६ घाइते

चितवन, ५ साउन : पृथ्वी राजमार्गअन्तर्गत चुम्लिङटारमा बस र विङ्गनर (माइक्रो) गाडी एक आपसमा ठक्कर खाँदा १६ जना घाइते भएका छन् । काठमाडौँबाट बझाङ जाँदै गरेको ना६ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख ३५०२ नम्बरको विङ्गनर गाडी इच्छाकामना गाउँपालिका–३ मा एक आपसमा ठोक्किएको हो ।

दुबै सवारी साधनमा सवार यात्रुहरूको उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रबक्ता नरहरि अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने विङ्गनरका चालक घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीले जानकारी दिनुभयो । घटना आज साँझ ५ः२० वजे भएको हो ।

संसदमा महेश बस्नेतले भने : ‘एम.अधिकारी खोज्नेहरू हो, पहिले एस. देउवा, जे. शर्मा र पी. दाहाल खोज्नुस्’

काठमाडौं, ५ साउन । नेकपा एमालेका सांसद महेश बस्नेतले एम अधिकारीको खोज्नेहरुलाई पहिला पहिले एस. देउवा, जे. शर्मा र पी. दाहाल खोजेर कारबाही गर्न माग गर्नु भएको छ । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले एस देउवा, पी दाहाल र आर देउवा राणालाई कारवाही गर्न माग गर्नु भएको हो ।

संसदमा उहाँले भन्नुभयो, ‘केही साथीहरु एमाले अर्थ विभागका सदस्य एम. अधिकारी खोजी गरिरहेका छन् । देशी विदेशी शक्ति गुहारेर राष्ट्रपति र प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गरेर परिवार लाद्ने नेता एस. देउवा, माओवादी नेता पी. दाहाल र आर राणा देउवा खोजेर कारवाही गर्नुपर्ने हैन र ?’

संसलमा उहाँले भन्नुभयो, ‘बजेटमा रातारात सेटिङ गरेर कर र भन्सारको दरमा फेरबदल गरेर सीसीटीभी लगायतका प्रमाणहरु नष्ट गर्ने, ६ अर्बभन्दा बढी कमिसन गढबढी गर्ने माओवादी नेता जे शर्मालाई खोजेर कारवाही गर्नुपर्ने हैन र ? पेट्रोलियम पदार्थको आपूर्तिमा गडबढी गर्ने काँग्रेस नेता डी बढुलाई कारवाही गर्नुपर्ने हैन र ? मल अभाव र पुस्तक अभाव गराई किसान र विद्यार्थीमाथि खेलवाड गर्ने एम यादव र डी पौडेलहरुलाई कारवाही गर्नुपर्ने हैन र ?’

थोरै समयकाबीच उहाँले संसदमा भन्नुभयो, ‘प्रधानन्यायाधीशलाई महाभियोग लगाई प्रक्रिया अवरुद्ध गरेर कामु खाइरहेका डी कार्कीहरूलाई कारवाही गर्नु पर्दैन र ? एमसीसी पास गरेर व्याख्यात्मक टिप्पणी गर्ने एसपीपी सम्झौता गरेर मुलुकलाई महाशक्ति राष्ट्रको सैन्य रणनीतिको अंशियार बनाउने एस देउवा र एन खड्का लगायतलाई कारवाही गर्नुपर्ने हैन र ?’

एमालेको अर्थ तथा योजना विभागका सदस्य एम. अधिकारी को हुन् भन्ने विषयमा संसद्मा दिनदिनै सांसदहरूबीच सवालजवाफ भइरहे पछि आज सांसद महेश बस्नेतले सबैलाई एकै पटक जवाफ फर्काएका छन् । एमालेका सांसदहरूले एम. अधिकारीको विषय उठाउन आवश्यक नभएको भनिरहेका बेला सत्तारुढ दलका कोही न कोही सांसदले दिनदिनै प्रश्न उठाइरहे पछि सांसद बस्नेतले कडा जवाफ फर्काएको हुन् ।

एमाले अर्थ विभागका सदस्य एम. अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हुन् भन्ने आरोप लागिरहेको, एमाले र अधिकारीले भने उक्त कुरा अस्वीकार गर्दै आएका छन् ।

भक्तपुरका विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न राजधानी जानै पर्दैन, अब भक्तपुरमै राजधानी कलेज

भक्तपुर, । मानविकी, व्यवस्थापन, शिक्षा र कानून संकायमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि भक्तपुरमा राजधानीँ कलेज सञ्चालनमा आएको छ । काठमाडौंको वानेश्वरमा सञ्चालन हुदै आएको उक्त राजधानी कलेज अब भक्तपुरका विद्यार्थीका लागि लक्ष्ति गरि गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आउने भएको छ ।

भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने लक्ष्यका साथ शैक्षिक क्षेत्रका बिद्धत व्यक्तिहरुले गरिरहेको प्रयासलाई साकार पार्ने लक्ष्यका साथ भक्तपुरको कमलविनायकस्थित रोम्बस सेकेन्डरी स्कूलको व्यवस्थापनमासञ्चालनमा आउन लागेको कलेजका प्राचार्य डा. राजेन्द्र कोजूले जानकारी दिनु भयो ।

कलेज चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बागेश्वरी र भक्तपुर नगरपालिका वडा नम्बर १० को सिमानामा रहेको कमलविनायक क्षेत्रमा सञ्चालन आउने बताउदै उहाँले कलेजले आफ्नो छुट्टै भवन समेत निर्माण गरिरहेको बताउनु भयो ।

विद्यालय शिक्षाको क्षेत्रमा निकै छिटो फड्को मार्न र दुई दशकदेखि शैक्षिक क्षेत्रको अनुभव संगाल्दै आउनु भएका डा. कोजूको मुख्य व्यबस्थापनमा सञ्चालनमा आउन लागेको उक्त कलेजलाई विद्यार्थीको पहिलो रोजाइको कलेज बनाउने गरि अगाडि बढेको बताउनु भयो ।

शिक्षा र पर्यटनका लागि भक्तपुर भन्ने नाराका साथ अध्यापन सुरु गर्न लागेको कलेजले विद्यार्थीहरुलाई सरल, सहज शुल्कमा अध्ययन गराउने र विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताउदै प्राचार्य डा. कोजूले सरल शुल्कमा गुणस्तरीय शिक्षा अर्को लक्ष्य रहेको बताउनु भयो ।
यस वर्ष कक्षा ११ मा नयाँ भर्ना खुल्ला गरेर विद्यार्थी आव्हान गरेको बताउदै उहाँले विद्यार्थी भर्नाका लागि साउन ७ गतेसम्म फाराम भर्न आव्हान गरेको जानकारी दिनु भयो ।

गरिब, जेहेन्दार र अनुशासित विद्याथीृका लागि पहिलो परीक्षा साउन ७ गते सञ्चालन गर्ने जानकारी दिदै प्राचार्य डा. कोजूले कलेजको कार्यक्षेत्र रहेका पालिकाहरूसँग समन्वय गरि पढ्दै कमाउँदै भन्ने अवधारणालाई आत्मासात गर्दै शैक्षिक कायृक्रम अगाडि बढाउने बताउनु भयो ।

विद्यार्थीहरुलाई आकर्षित गर्न कलेजले शैक्षिक पदयात्रा समेत सञ्चालन गरेको छ । त्यसैगरि विद्यार्थीहरुलाई कुन विषय पढ्दा उपयुक्त हुन्छ भनेर परामर्शसमेत सञ्चालन गरेको छ ।

यस कलेजमा अध्ययन गर्ने विद्यार्थीले कक्षा १२ उत्तीर्ण गर्ने बेलासम्म सीप र शिक्षा दुबै लिएर जाने बताउदै उहाँले विद्याथीृका लागि पाँचवटा बस र तत्कालका लागि कक्षा ११ का लागि चार वटा भवन तयार पारेको बताउनु भयो । भक्तपुर नगरपालिका १० कमलविनायकमा रहेको रोम्बस स्कुलमा भने स्थापनाको छोटो समयमै ५५० विद्यार्थी अध्ययनरत रहेको उहाँको भनाइ छ ।

झंककुमारी स्मृति प्रतिष्ठानले सुरु गर्यो निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण

भक्तपुर, ४ साउन : झंककुमारी स्मृति प्रतिष्ठान भक्तपुरले आजबाट चाँगुनारायण नगरपालिका खरिपाटीमा दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण सेवा सुरु गरेको छ । चाँगुनरायण नगरपालिका वडा नं. ५ र ६ को सिमाना खरिपाटी १८ महिना अगाडि सञ्चालन हुदै आएको निःशुल्क स्वास्थ्य क्लिनिकलाई बिस्तार गरि आजबाट दैनिक स्वास्थ्य परीक्षण एवं औषधि वितरण सहित निःशुल्क स्वास्थ्य सेवा सुरु गरेको हो ।

गरिव तथा सामान्य स्वास्थ्य सेवाबाट समेत धेरै मानिस बञ्चित हुनु परेका देखेपछि स्थानीइ बासिन्दाका लागि सहज रुपमा निःशुल्क स्वास्थ्य सेवाको पहुँच पुर्याउने उदेश्यले समाजसेवी, व्यवसायी एवम् नेपाली काँग्रेसका नेता राजाराम खड्काले दिवंगत आमा झंककुमारी खड्काको स्मृतिमा स्थापना गर्नु भएको प्रतिष्ठानले निःशुल्क स्वास्थ्य सेवा सुरु गरेको हो ।

सेवाको आज नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले उद्घाटन गर्नुभयो । उहाँले राज्यले गर्नु पर्ने काम आमाको स्मृतिमा सञ्चालन हुनु खुसीको कुरा भएको चर्चा गर्दै निःशुल्क स्वास्थ्य सेवाबाट आमनागरिक लाभान्वित हुने बताउनु भयो । उहाँले चाँगुनारायण नगरपालिकाले विगतमा एमालेबाट निर्वाचित नगर प्रमुखले करारमा राखेका कर्मचारी निस्कासन गरेर राम्रो गरेको भन्दै भ्रष्टाचारको अन्त्य गर्न नगर प्रमुखलाई कार्यक्रमस्थलबाटै निर्देशन दिनु भयो ।

कार्यक्रममा वाग्मति प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भँडेलले निःशुल्क स्वास्थ्य सेवा सबैका लागि सुरु भएको भन्दै यहाँ को काँग्रेस, को एमाले वा को अरु पार्टीका मान्छे भनेर नहेरी सबैलाई सेवा दिनु पर्ने बताउनु भयो । उहाँले यस प्रतिष्ठानलाई जग्गा उपलब्ध गराएर भवन निर्माण गरि आवश्यक पूर्वाधार, प्राबिधिक सामग्रीको उपलब्ध गराई मिनि अस्पतालको रुपमा बिकास गर्न म वाग्मति प्रदेश सरकारसँग पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राजाराम खड्काले भन्नुभयो, “सामान्य औषधि उपचार नपाएर धेरै व्यक्ति पीडित भएको देखेँ, कोही पनि व्यक्ति स्वास्थ्य जाँच गराउन नपाएर, औषधि नपाएर रोग पालेर बस्न नपरोस, ज्यान गुमाउन नपरोस भनेर आमाको स्मृतिमा झंककुमारी स्मृति प्रतिष्ठान सञ्चालन गरि विगत डेढ वर्षदेखि चाँगुनारायण नगरपालिकाका बासिन्दाका लागि निःशुल्क स्वास्थ्य सेवा र औषधिको व्यबस्था गरेका छौँ ।”

उहाँले आजदेखि दैनिक निःशुल्क रुपमा स्वास्थ्य सेवा तथा औषधि वितरण गर्ने बताउदै यसलाई अझै बिभिन्न स्वास्थ्य उपकरणहरु जडान गरि सेवा बिस्तार गर्ने लक्ष्य लिएको बताउनु भयो । हुनेले नहुनेका लागि सहयोग गर्न आव्हान गर्दै उहाँले आजै सन्तोष भट्टराईले एक लाख ५० हजार रुपैयाँ बराबरको औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गर्नु भएको बताउनु भयो ।

अध्यक्ष खड्काले यो संस्थालाई कांग्रेसको संस्थाको रुपमा नहेर्न आग्रह गर्दै यहाँका सबै जनताको स्वास्थ्य संस्थाको रुपमा सञ्चालन भई सबै जनतालाई सेवा दिने संस्थाको रुपमा हेरेर सेवा लिईदिन सबैमा आग्रह गर्नु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरु रमा पौडेल, मदनकृष्ण श्रेष्ठ, वाग्मति प्रदेश उद्योग वाणिज्य राज्यमन्त्री रजनी जोशी, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीलगायतले स्वास्थ्य सेवाको पहुँचलाई जनजनमा पुर्याउन यस्तो संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । प्रतिष्ठानले दैनिक डाक्टर अनिल त्यातमार्फत विरामीको स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य परामर्श दिने, औषधि वितरण गर्ने व्यबस्था गरेको छ ।