आमनिर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

काठमडौँ, १९ साउन : नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो ।

थप ७६० मा सङ्क्रमण पुष्टि

काठमाडौँ, १९ साउन : देशभर पछिल्लो २४ घण्टामा सात सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार नौ सय २६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा नौ लाख ८८ हजार आठ सय २१ र एन्टिजेनविधिबाट गरिएको परीक्षणमा एक लाख ४३ हजार सात सय ९२ मा कोरोना भाइरस पुष्टि भएको छ ।

पछिल्लो समय थप ३२४ जना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७१ हजार २५० पुगेको छ । नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ६९ पुगेको छ । यस रोगका कारण पछिल्लो समय थप एक जानको ज्यान गएको छ ।

त्यसैगरी पछिल्लो समय ४७ हजार तीन सय ४१ जनाले खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छ सय दुई पुगेको छ । होम आइसोलेशनमा पाँच हजार चार सय ४०, संस्थागत आइसोलेशनमा एक सय ६२ र सघन उपचार कक्ष (आइसियु) मा ४४ जनाको उपचार भइरहेको छ ।

दूषित खाद्यबस्तु उत्पादन गर्ने एक सय १५ कम्पनी कानुनी दायरामा

काठमाडौँ, १९ साउन : खाद्य ऐन, २०२३ विपरीत अखाद्य वस्तु उत्पादन गर्ने एक सय १५ उत्पादक कम्पनीलाई कानुनी कारबाही गरिने भएको छ । खाद्यान्नमा लेबल, न्यूनगुणस्तर, ऐन नियमविपरीत, दूषित, अनुज्ञापत्र नलिएका र कोलीफर्म मिसिएका खाद्य तथा पेयपदार्थ उत्पादन गरेका उक्त कम्पनीलाई खाद्य ऐन, २०२३ बमोजिम कानुनी कारबाही गरिने भएको हो ।

खाद्य ऐनविपरीत अखाद्य वस्तु उत्पादन गर्ने दालमोठ, मासु, तरकारी, मिक्स मसला तथा अन्य मसलाजन्य पदार्थ, पाउरोटी, दही, दाना, प्रशोधित पिउने पानी, चाउचाउ, चिया, मुसुरोको दाल, घ्यू, आयातित तोरीको तेल, गाईबस्तुको दाना, चाउमिन, मह, बेकरी, गहँुको पीठो, चामल, पेडा, सूर्यमुखी तेल, पोष्टा दाना, क्यारामेल सस, कुखुराको दाना, बिस्कुट, ममः, भेज सस, पुष्टकारी, भेनेगर र गुदपाकलगायत अखाद्य बस्तु उत्पादन गरी विक्री वितरण गरेको अभियोगमा कानूनी कारबाही हुनेभएको खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

खाद्य पदार्थमा विशुद्धता कायम राख्न खाद्य ऐन, २०२३ बनेको हो । उक्त ऐनले सर्वसाधारण जनताको स्वास्थ्य तथा सुविधा कायम राख्न खाद्य पदार्थमा कुनै अवाञ्छनीय मिसावट रोक्न वा खाद्य पदार्थमा रहेको स्वभाविक कुनै गुण वा उपयोगिता घटाउन वा झिक्न नपाउने व्यवस्था गरेको छ । विभागले आर्थिक वर्ष २०७७/७८ मा एक सय थान मुद्दा दर्ता गरेको थियो ।

विसं २०७८/७९ मा ११५ कम्पनीलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय एवं जिल्ला अदालतमा खाद्य ऐन, २०२३ अनुसार कानुनी कारबाहीको माग गर्दे विभागले मुद्दा दर्ता गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले अभियोग प्रमाणित भएमा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने कम्पनीलाई खाद्य ऐनले पाँच वर्षसम्म कैद वा रु ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको बताउनुभयो ।

सात खेलाडी सम्मानित

काठमाडौँ, १९ साउन :  खेलकुद क्षेत्रमा योगदान पु¥याएबापत सात खेलाडी ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ बाट सम्मानित हुनुभएको छ । हाम्रो खेलकुद डट कमको आफ्नो सातौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा खेल क्षेत्रमा आआफ्नो समयमा महत्वपूर्ण योगदान गर्नुभएका धावक जीतबहादुर केसी र धावक वैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दोकी सङ्गिना वैद्य, तेक्वान्दोकै दीपक विष्ट, क्रिकेटका पूर्वकप्तान पारस खड्का र पौडीकी गौरिका सिंह सर्वकालीन सम्मानबाट सम्मानित हुनुभयो । सम्मानित खेलाडीले जनही रु २५ हजारसहित सम्मानपत्र प्राप्त गर्नुभयो ।

सम्मानित व्यक्तित्वलाई सांसद गगन थापा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, काभ्रे बेथानचोक गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेमबहादुर तिमिल्सिना, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो । जीतबहादुर केसी (एथलेटिक्स) केसीले झण्डै पाँच दशकअघि एशियन एथलेटिक्स च्याम्पियनसिपमा कास्यपदक हात पार्नुभएको थियो ।

फिलिपिन्समा भएको च्याम्पियनसिपको म्याराथनमा केसीले दुई घण्टा ३५ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गर्नुभएको थियो । उहाँले जित्नुभएको नेपालको त्यो नै पहिलो अन्तराष्ट्रिय पदक हो । वैकुण्ठ मानन्धर (एथलेटिक्स) सन् १९८४ मा सुरु भएको सागमा मानन्धरले लगातार तीन संस्करणमा म्याराथनमा स्वर्ण पदक जित्नुभएको थियो । सागमा स्वर्ण पदकमा ह्याट्रिक गर्ने उहाँ नै पहिलो नेपाली हुनुहुन्छ । सन् १९८७ मा भएको तेस्रो सागमा उहाँले म्याराथनमा कीर्तिमान रच्नुभएको थियो ।

त्यतिबेलाको उहाँको दुई घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिलेसम्म भङ्ग हुन सकेको छैन । राजुकाजी शाक्य (फुटबल) सागको पहिलो संस्करण सन् १९८४ र छैटौँ १९९३ मा फुटबलतर्फ स्वर्ण जित्दा शाक्य टोलीका महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो । छैटौँ संस्करणमा नेपाली फुटबलले स्वर्ण भित्र्याउँदा उहाँ टोलीको कप्तान हुनुहुन्थ्यो । प्रशिक्षकका रुपमा सन् २०१६ मा भारतमा भएको सागको १२औँ संस्करणमा २३ वर्ष मुनिको फुटबल टोलीलाई उहाँले स्वर्ण दिलाउनुभएको थियो ।

सङ्गिना वैद्य (तेक्वान्दो) विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सन् १९६० देखि नेपाली खेलाडीले सहभागिता जनाउन सुरु गरे पनि सङ्गिनाले २००४ को एथेन्स ओलम्पिकका लागि छनोट चरण पार गर्नुभएको थियो । स्वदेशमा आयोजना भएको १९९९ को आठौँ र २००४ को नवौँ सागमा स्वर्णपदक जित्नुभएको थियो ।

उहाँ तेक्वान्दोकी एशियन च्याम्पियन पनि हुनुहुन्छ । दीपक विष्ट (तेक्वान्दो) दीपकले स्वदेशमा सन् १९९९ मा आयोजना भएको आठौँ सागदेखि लगातार चार संस्करणमा तेक्वान्दोतर्फ स्वर्ण जित्नुभएको थियो । त्यस्तै उहाँले सन् २००२ र २००६ मा एशियाली खेलकुदमा कास्य जित्नुभएको थियो । छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने दोस्रो खेलाडीका रुपमा पनि उहाँले बेजिङ ओलम्पिक २००८ खेल्नुभएको थियो । पारस खड्का (क्रिकेट) पारस नेपाली क्रिकेट इतिहासका सफल कप्तान र खेलाडी हुनुहुन्छ ।

नेपालले अहिलेसम्म खेलेको एकमात्र टी–२० विश्वकप सन् २० १४ खेल्दा होस् वा सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गर्दा होस् दुवैमा पारस नै टोलीको कप्तान हुनुहुन्थ्यो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पहिलो उपाधि डिभिजन पाँच हुँदै चार र तीनको उपाधि उहाँकै नेतृत्वमा नेपालले जितेको थियो । गौरिका सिंह (पौडी) तीन वर्षअघि नैपालमा नै भएको १३औँ सागमा गौरिकाले चार स्वर्ण पदकसहित नौ पदक जित्नुभएको थियो । सागको पौडीतर्फ व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उहाँ पहिलो नेपाली खेलाडी बन्नुभएको थियो ।

कार्यालय प्रमुखमाथि नै रु १२ करोड बेरुजु

महोत्तरी, १९ साउन : स्थानीय तहमा बेरुजु कहालीलाग्दो देखिँदो छ । महोत्तरीको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजङ्ग थापामाथि २०७९ अनुसार रु १२ करोड ४५ लाख २१ हजार बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार उहाँ माथि सो बेरुजु देखिएको हो । आर्थिक वर्ष २०७६÷७७ को प्रारम्भदेखि उहाँ सो नगरपालिकामा कार्यरत हुनुहुन्छ । २०७६ भदौ १३ गते कार्यालयको जिम्मेवारी सम्हाल्नुभएका थापामाथि बर्सेनि बेरुजु थापिँदै जाँदा आव २०७७÷७८ सम्म रु १२ करोड बेरुजु नाघेको हो ।

उहाँमाथि देखाइएको बेरुजु रकममध्ये असुल गर्नुपर्ने रु छ करोड ८८ लाख ४७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु दुई करोड ६० लाख ५० हजार, नियमित गर्नुपर्ने रु ७७ लाख ९० हजार र पेश्की रु दुई करोड १८ लाख ३४ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । कार्यकारी अधिकृत थापाले खुद तिर्नुपर्ने नै रु छ करोड ८८ लाख ४७ हजार देखिएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले यो बेरुजुमा कार्यालयका लेखा अधिकृत सञ्जीव बराललाई पनि समेटेको छ । प्रमुख प्रशासकीय अधिकृत थापामाथि आव २०७८÷७९ मा बेरुजु रकम अझै बढ्ने बताइएको छ ।

\कार्यकारी अधिकृत थापाले गौशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद सम्हालेयता नगरपालिकामा बर्सेनि बेरुजु रकम थपिँदै गएको हो । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार आव २०७७÷७८ सम्ममा नगरपालिकाको गत वर्ष (२०७६÷७७) को रु ४३ करोड तीन लाख ६१ हजार कुल बेरुजु बाँकी देखिएको थियो । पछिल्लो आव २०७७÷७८ को समायोजन र संपरीक्षणबाट फछ्र्यौट एवं वर्षको अन्त्यमा कायम भएको बेरुजुसमेत अद्यावधिक हुँदा बेरुजु रु ४८ करोड ६६ लाख ९९ हजार देखिएको प्रतिवेदनमा उल्लेख छ ।

नवौँ राष्ट्रिय खेलकुदका लागि बैतडीमा खेलाडीको आवेदन खुल्ला

बैतडी, १९ साउन : आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट सहभागी हुने खेलाडीको आवेदन खुल्ला गरिएको छ । उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक महिला र पुरुष खेलाडीका लागि आवेदन खुल्ला गरिएको हो । उक्त प्रतियोगिताको लागि जिल्लास्तरीय प्रतियोगिता तथा प्रदेशस्तरीय छनोटका लागि खेलाडीको आवेदन खुल्ला गरिएको जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो ।

सहभागी हुन चाहने खेलाडीले उक्त प्रतियोगिता सञ्चालन निर्देशिका २०७९ को अनुसूची १ बमोजिम दर्ता फारम भर्नुपर्नेे छ । फारम भरेर यही साउन २९ गतेभित्र जिल्ला खेलकुद समितिमा दर्ता गराउनुपर्नेछ । उक्त प्रतियोगिताका लागि विभिन्न १२ खेलमा खेलाडी छनोट गरिनेछ ।

जसमा भलिबल, क्रिक्रेट, कवड्डी, एथ्लेटिक्स, टेबलटेनिस, कराँते, तेक्वान्दो, बक्सिङ, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल र फुटबल रहेका छन् । जिल्लास्तरीय छनोट प्रतियोगिता आगामी भदौमा हुने जनाइएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।

एक वर्षमा करेन्ट लागेर १२ जनाले ज्यान गुमाए

सप्तरी, १९ साउन : लापरवाहीका कारण सप्तरीमा एक वर्षका अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८÷७९ को तथ्याङ्क हेर्दा करेण्ट लागेर ज्यान गुमाउनेको सङ्ख्या १२ र घाइते हुनेको सङ्ख्या २६ जना पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ती मध्ये चार महिला, छ पुरुष र दुई बालक छन् । करेन्टका ४० घटनामा तीन चौपायाको समेत मृत्यु भएको सो कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारीदिनुभयो ।

उहाँका अनुसार घटनामा १२ महिला, आठ पुरुष र छ बालक घाइते भए । ज्यान गुमाउनुको मुख्य कारण मानवीय लापरवाही र विद्युत् प्राधिकरणको पनि लापरवाही हुने गरेको जिल्ला प्रहरी कार्यालयको निष्कर्ष रहेको छ । बुधबार मात्र जिल्लाको कञ्चनरुपमा बुहारीलाई करेन्ट लागेको देखेर जोगाउन जाँदा ससुरासमेतको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–६ घोघनपुरका नरेश सरदारकी श्रीमती २० वर्षीया अञ्जली सरदारलाई करेन्ट लागेको देखेर जोगाउन गएका उनका काका ससुरा ४० वर्षीय मधु भन्ने सौदानन्द सरदारको समेत मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

घरआँगनमा रहेको ट्युबेलमा जडान रहेको पानी तान्ने मोटर चलाउँदा अञ्जलीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्यचौकी कञ्चनरुप लगिएको थियो । स्वास्थ्यचौकीमा परीक्षण गर्दा चिकित्सकले दुवै जनाको मृत्यु भएको घोषणा गरेका थिए । यसैगरी जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने दुःखी साहको छोरा ५६ वर्षीय शिवशङ्कर साहको समेत मङ्गलबार करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा करेन्ट लागी मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तकोसी बाढी : विस्थापितका लागि राहत सहयोगको आह्वान

काठमाडौँ, १९ साउन : सप्तकोसी नदीले ३४ वर्षपछि मानवीय बस्ती बसेको उदयुपरको बेलका नगरपालिकाका धेरै वडा छुँदै धार फे¥यो । हजारौँ घर परिवार प्रभावित भए । झण्डै आठ हजार हेक्टरमा नदी पसेको छ । स्थानीय पालिका, प्रशासन कार्यालय सुरक्षाकर्मी तथा विभिन्न सङ्घ संस्थाको सहयोगमा एक हजार बढी परिवारको फसेको स्थानबाट उद्धार गरेको छ । बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले प्रभावितका लागि विभिन्न क्षेत्रमा आश्रयस्थल निर्माण गरी व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आफूहरु अहिले पनि फिल्डमा खटिएर अनुगमन गरी प्रभावितका लागि आवश्यक व्यवस्थापनमा जुटेको बताउनुभयो । उहाँका अनुसार अहिले बहाव कम भएकाले व्यवस्थापनमा केही सहज भएको पनि जानकारी दिनुभयो । सप्तकोसीको भङ्गालो पसेर प्रभावित भएका हजारौँ स्थानीयवासीका लागि राहत सहयोग गर्न सरकारी तथा गैरसरकारी संस्था र व्यवसायीलाई आह्वान पनि गरिएको छ । उनीहरुका लागि अस्थायी आश्रयस्थल निर्माण, राहत तथा खाद्यान्न र टेन्टलगायतका अत्यावश्यक सामग्री आवश्यक भएकाले विभिन्न निकायलाई सहयोगका लागि आह्वान गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।

राहत सङ्कलन र वितरणलाई एकद्वार प्रणालीमार्फत परिचालन गर्नेगरी आवश्यक व्यवस्थापन गरिएको जनाइएको छ । बुधबार सप्तकोसी नदीको एउटा भङ्गालो उदयपुरको बेलका नगरपालिकाको डुम्रिबोटबाट तटबन्ध फुटाउँदै दक्षिण पश्चिम क्षेत्र पस्दा उक्त नगरपालिकाका १, २, ३, ८ र ९ वडाका करिब दुई हजार घरपरिवार प्रभावित भएका थिए । उनीहरुमध्ये एक हजार परिवारलाई उद्धार गरिएको थियो भने अन्य स्थानीयवासी आफैँ घर छाडेर सुरक्षित स्थनमा पुगेका थिए । उक्त क्षेत्रमा हालसम्म कुनै मानवीय क्षति भने भएको छैन ।

धान, मकैलगायतका खेतीबालीमा क्षति पुगेको छ । बाढीबाट प्रभावित करिब एक हजार घरपरिवारको उद्धार गरी सुरक्षितस्थलमा सारिएको पनि उहाँले जानकारी दिनुभयो । उद्धार गरिएका नागरिकको आवश्यक व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी रहेको पनि उहाँले बताउनुभयो । प्राधिकरणको समन्वयमा बेलायत सरकार र केयर नेपालले विस्थापितका लागि खाद्यान्न खरिद गर्न रु छ लाख तथा सरसफाइका सामान, स्यानिटरी प्याड र आधारभूत सेल्टरका सामग्रीका लागि रु ११ लाख राष्ट्रिय किसान समूह महासङ्घमार्फत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको प्राधिकरणले जानकारी दिएको छ ।

बेलकाका नगर प्रमुख कार्कीको संयोजकत्वमा तीनै तहका सरकारका प्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाबीचको आकस्मिक बैठकले बेलका र बराहक्षेत्र नगरपालिकाका नगर–प्रमुखको संयोजकत्वमा नेपाल रेडक्रस सोसाइट, वडाध्यक्षलगायत आवश्यतानुसार पदाधिकारी सहभागी हुने गरी खोज, उद्धार, पुनःस्थापना तथा विपद् व्यवस्थापन समिति गठन गरेको छ । बैठकले नदीले पु¥याएको तथा पु¥याउन सक्ने थप क्षति आधिकारिक सूचना सम्प्रेषण गर्न सूचना संयन्त्र निर्माण गर्ने पनि निर्णय पनि गरेको छ । सप्तरीका सप्तकोसी र कञ्चनरुप नगरपालिकाका प्रभावित हुनसक्ने वडाका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ ।

विभिन्न क्षेत्रमा आश्रयस्थल निर्माण प्रभावितका लागि बेलका–९ धौरीमा पाँच सय घरपरिवार, ८ का एकता, चिलिया र दुर्गामन्दिर टोलमा पाँच सय घरपरिवार, वडा नं ३ बुधबारे, गणना र शुक्रबारेमा पाँच सय परिवारका लागि आश्रयस्थल बनाइएको छ । यस्तै बानडाँडा, रामनगर, नारायणपुरमा, शिवालयमन्दिर, लालभित्त, भागलपुरमा आठ सय घरधुरीका लागि आश्रयस्थल बनाइएको छ । आवश्यकताअनुसार वडा नं १ को पुरन्दह, वडा नं ८ को डुडखोला सामुदायिक भवन, वडा नं ९ र ३ को खसीबोका सङ्कलन केन्द्र, खानेपानी, क्याम्पस, मचुवाबजार, आदिवासी–जनजाति भवन, सोही वडाकै गलफडिया विद्यालय वडा नं २ को रेडक्रस भवन र जनता माविमा सुरक्षित आश्रयस्थल तयार पारिएको छ ।

राहत सामग्री एकद्वार प्रणालीबाट सङ्कलन गरी एकद्वार प्रणालीबाटै वितरण गर्ने निर्णय गरेअनुसार राहत सङ्कलन थालिएको बेलका नगरपालिकाले जनाएको छ । राहत वितरण गर्दा उदयपुर र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वा निजले तोकेका अधिकृत, दुवै नगरपालिकाका नगरप्रमुखको संयोजनमा वितरण गरिने भएको छ । त्यहाँ नेपाल रेडक्रस सोसाइटीले एक सय थान त्रिपाल, एक थान रवरबोट, छ थान हेल्मेट उपलब्ध गराएको छ भने खाद्यान्न खरिदमा रु ५० हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बाढी प्रभावित क्षेत्रका केही स्थानीयले घर छाड्न नमानेकाले मानवीय क्षति हुनसक्ने भएकाले जिल्ला तथा स्थानीय प्रशासनले सबै नागरिकलाई सुरक्षित स्थलतर्फ जान अनुरोध पनि गरेको छ ।

उदयपुरको उक्त क्षेत्रमा विसं २०४५ अघि कोसी बग्ने गरेको थियो । त्यस बेलाको भूकम्पपछि भने नदीले धार परिवर्तन गरेर अन्यत्र मोडिएपछि सो क्षेत्रमा बस्ती बसेको हो । कोसी ३४ वर्ष पनि त्यही बस्ती सोझ्याउँदै आफ्नो धार परिवर्तन गरेका कारण स्थायी बसोबास गरेका परिवारका झण्डै २० हजार मानिस प्रभावित भएका जनाइएको छ । बाढी बस्तीमा पसेसँगै त्यहाँ प्रदूषणका कारण रोगव्याधी फैलनसक्ने तथा खाद्यान्नको अभाव हुनसक्ने भएकाले आवश्यक व्यवस्थापन थालिएको प्राधिकरणले जनाएको छ ।

 

 

कोरोनाको सङ्क्रमणको चौथो लहरको त्रास

काठमाडौँ, १९ साउन : नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै गएको पुष्टि हुन्छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा सङ्क्रमण बढ्न थालेको हो । खुला सीमाका कारण भारतबाट सजिलै नेपाल आउने भएपछि सङ्क्रमण बढ्न थालेको बताइएको छ ।

नेपालमा पनि ओमिक्रोनको ‘विएफाइभ’ प्रजाति देखिएको र उक्त प्रजातिको सङ्क्रमणको सर्ने दर उच्च रहेकाले पनि अहिले नेपालमा सङ्क्रमण बढिरहेको छ । पहिले यहाँ सङ्क्रमणदर ०.५ प्रतिशतसम्म झरेकामा अहिले १५ प्रतिशतभन्दा माथि पुगेको छ । साउन १८ गते नौ सय १५ सङ्क्रमित, साउन १७ गते आठ सय १४, साउन १६ गते आठ सय ९५ सङ्क्रमित र एक जनाको निधन भएको छ । यस्तै साउन १५ गते छ सय २०, साउन १४ गते चार सय ३८ र दुई जनाको मृत्यु, साउन १३ गते पाँच सय ७७ जना र दुई जनाको मृत्यु, साउन १२ गते सात सय १० र दुई जनाको मृत्यु, साउन ११ गते पाँच सय ६४ र एक जनाको मृत्यु, साउन १० गते छ सय ३८ र दुई जनाको मृत्यु भएको छ ।

यसरी सङ्क्रमण दैनिक बढेर हजारको नजिक पुग्न थालेको छ । दैनिक सङ्क्रमण बढिरहेकाले नेपालमा कतै सङ्क्रमणको चौथो लहर आएको त होइन भन्ने लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमणको लहर ग्राफले देखाउने गरेको र अहिले देखिएको सङ्क्रमणको ग्राफले अर्को लहरको सङ्केत गरेको बताउनुभयो । सरकारले आधिकारिकरूपमा सङ्क्रमणको चौथो लहर भन्ने नगरेको र सङ्क्रमणको ग्राफले नै लहर बताउने गरेको उहाँको भनाइ रहेको छ । “हामीले पहिले पनि ग्राफ बढे पनि सङ्क्रमणको लहर भनेको थिएनाँै । अहिले पनि हामी भन्दैनौँ”, उहाँले भन्नुभयो, “तर अहिले सङ्क्रमणको ग्राफले आफैँ अर्को लहर देखाएको छ ।”

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा खगेश्वर गेलालले अहिले दैनिक बढिरहेको सङ्क्रमणले चौथो लहरको सङ्केत गरेको बताउनुहुन्छ । “सरकारले आधिकारिकरूपमा चौथो लहर भन्ने गरेको छैन । तर अहिले दैनिक हजारको सङ्ख्याले सङ्क्रमणको चौथो लहरको सङ्केत गरेको छ”, उहाँले भन्नुभयो, “यदि यसैगरी सङ्क्रमण बढ्न थाल्यो भने चौथो लहर नआउला भन्न सकिन्न ।” उहाँले सङ्क्रमण साउन र भदौमा धेरै माथि (पिक)मा पुग्ने र त्यसपछि घट्ने बताउनुहुन्छ ।

खुला सीमा भएकाले दैनिक सीमानाकाबाट आउने मानिसमा सङ्क्रमण देखिने गरेको छ । ती मानिसहरूले नै सङ्क्रमण सारिरहेका छन् । जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले साउनदेखि नै कोरोना भाइरस सङ्क्रमणको चौथो लहर सुरु भएको बताउनुहुन्छ । “सङ्क्रमणको पाँच प्रतिशतभन्दा माथि भयो भने अर्को लहर आएको भन्ने हुन्छ”, उहाँले भन्नुभयो, “नेपालमा अहिले बढेको सङ्क्रमणको अवस्था हेर्दा १५ प्रतिशतकै हाराहारीमा रहेको छ ।” उहाँले अहिलेको सङ्क्रमणको तह माथिल्लो तह (पिक लेभल)मा पुगेपछि पुनः घट्ने बताउनुहुन्छ । उहाँले भारतको खुला सिमाना र विदेशबाट आएका सङ्क्रमितले सङ्क्रमण सार्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार अहिले देखिएको ‘विएफाइव’ भेरियन्टले छिटो मानिसमा सारे पनि सङ्क्रमितलाई भने गम्भीर बनाउँदैन । उहाँले सङ्क्रमित बढिरहेकाले जनस्वास्थ्यका मापदण्ड लागू गर्न र कोरोना भाइरसको चौथो बुष्टर लगाउन आग्रह गर्नुभयो ।

नेपालमा पहिलोपटक २०७६ माघ ९ गते सङ्क्रमण पुष्टि भएको थियो । यस्तै दोस्रो सङ्क्रमित चैत १० गते देखिएको थियो । सरकारले दोस्रो सङ्क्रमित देखिएपछि मुलुकभर बन्दाबन्दी (लकडाउन) गरेको थियो । नेपालमा पहिलो लहर विसं २०७६ चैतदेखि २०७७ मङ्सिरसम्म चलेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सङ्क्रमणका दोस्रो लहर विसं २०७७ वैशाखदेखि भदौसम्म तथा तेस्रो लहर २०७८ पुसदेखि फागुनसम्म देखिएको थियो ।

मन्त्रालयले सम्भावित सङ्क्रमणको जोखिमलाई ध्यान दिएर सबै अस्पताल, स्वास्थ्य संस्था र प्रदेशमा तोकिएका कोभिड–१९ अस्पताललाई सङक्रमित व्यक्तिको व्यवस्थापन गर्नका लागि निर्देशनसमेत दिइसकेको छ । यस्तै मन्त्रालयले देशभरिका १७ अस्पताललााई सम्भावित जोखिमलाई ध्यानमा दिएर कोरोना भाइरसका बिरामीको उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भीडभाड हुने स्थानमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ । सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थानमा विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र स्यानिटाइजरको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

यस्तै कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिँदै खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ । मृतक अधिकांश खोप नलगाएका कोरोना भाइरसको सङ्क्रमणबाट छ महिनासम्म कसैको पनि निधन भएको थिएन । तर पछिल्लो दिनमा भने दैनिक एक वा दुई जनाको सङ्क्रमणबाट निधन हुने गरेको छ । साउन १ गतेबाट सङ्क्रमणबाट मानिस मर्न थालेका हुन् । पछिल्ला समय कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाएकामध्ये ८० प्रतिशतले खोप नलगाएको पाइएको छ । महाशाखाका प्रमुख डा गेलालले सङ्क्रमणबाट निधन भएकामध्ये ८० प्रतिशतले खोप नलगाएको र २० प्रतिशतले पूर्ण मात्राको खोप नलगाएको जानकारी दिनुभयो ।