चन्द्रमाको पूजा गर्दै मिथिला क्षेत्रमा चौठचन्द्र पर्व सम्पन्न

जनकपुरधाम, १४ भदौ (रासस) : मिथिला क्षेत्रमा आज साँझ चन्द्रमाको श्रद्धा र विधिपूर्वक पूजा गर्दै चौरचन (चौठचन्द्र) पर्व सकिएको छ । भदौ शुक्लपक्षको चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेसी र थारु समुदायले विशेष महत्वका साथ मनाउने उक्त पर्व आज साँझ विधिपूर्वक पूजा गर्दै सकिएको हो ।

यसवर्ष तिथि फरक भए पनि हरितालिका तीज र चौठचन्द्र पर्व आज एकै दिन परेको छ । दिनभरि उपवास भएका परिवारका महिला सदस्यहरूले साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । चौठचन्द्र पर्वमा सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै उपवास बसेको बर्तालुले फलफूल र मिष्ठान्नको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई देखाएर पूजा गर्ने परम्परा छ ।

चन्द्रमाको पूजा हुने यो पर्वमा नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाइ, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री प्रसादका रूपमा राखेर चन्द्रमालाई पूजा गर्ने गरिन्छ । पूजा सकिएपछि पूजाका लागि आँगनमा बनाइएको चतुष्कोण यज्ञस्थलमै बसेर घरका पुरुष सदस्यहरुले प्रसाद ग्रहण गर्ने परम्परा रहेको मिथिला संस्कृतिका जानकार पण्डित रामकुमार शास्त्रीले बताउनुभयो । तीज पर्व सम्पन्न भएसँगै सुरु हुने यस पर्वलाई मिथिलामा निकै श्रद्धा र आस्थाका रूपमा लिइन्छ । कृष्ण जन्माष्टमीको १२ दिनपछि यो पर्व मनाइन्छ ।

छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाइने यो पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र पनि भन्ने गरिन्छ । यस पर्वको माध्यमबाट मैथिल कला संस्कृतिको समेत उजागर हुन्छ । खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्टान्न परिकार खाजा (पिरुकिया) र खीर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाइने परम्परा छ । –––

नेपालले जित्यो केन्या विरुद्धको टी–२० क्रिकेट सिरिज

काठमाडौँ, १४ भदौ : नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्टिय क्रिकेट सिरिज ३–२ ले जितेको छ । नेपालले केहीबेर अघि सम्पन्न अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गरेको हो । केन्याको नैरोवी जिमखाना क्रिकेट मैदानमा टस जितेर नेपालले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ७५ रन बनायो । एक सय ७६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा केन्याले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४४ रन मात्र बनाउन सक्यो ।

नेपालको जितमा ज्ञानेन्द्र मल्लको अद्र्धशतकीय पारी महत्वपूर्ण रह्यो । मल्लले ४४ बलमा ५९ रन बनाए । यस क्रममा उनले दुई छक्का र पाँच चौका प्रहार गरे । रोहितकुमार पौडेलले २५ बलमा सात चौका हिर्काउँदै ४७ रन बनाए । यस्तै अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए । बलिङतर्फ केन्याका लागि नेहेम्याह ओढियाम्बो, विराट पटेल र शेम एन्गोचेले दुई÷दुई तथा लुकास ओलुओचले एक विकेट लिए ।

ब्याटिङ गर्ने क्रममा केन्याका लागि नेहेम्याह ओढियाम्बोले ३७, कप्तान शेम एन्गोचेले अविजित ३३, इरफान करिमले २८, कोलियन्स ओबुयाले २३ र नेलसन ओढियाम्बोले अविजित १३ रन बनाए । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने र बसिर अहमदले दुई/दुई तथा करन केसी, मोहमद आदिल आलम र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।

खेलको प्लेयर अफ दी म्याच नेपालका ज्ञानेन्द्र मल्ल तथा प्लेयर अफ दी सिरिज कप्तान सन्दीप लामिछाने घोषित भए । नेपालले अब केन्यासित तीन खेलको एकदिवसीय सिरिज खेल्ने छ । नेपाल र केन्याबीचको पहिलो एकदिवसीय खेल शुक्रबार खेल्ने तय भएको छ ।

कक्षा १२ को परीक्षाफल भोली सार्वजनिक गरिने

भक्तपुर, १४ भदौ : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल भदौ १५ गते अर्थात भोली सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाफल प्रकाशित गर्ने अन्तिम तयारी गरि अन्तिम रुजु गर्ने काम भइरहेको जानकारी दिनु भयो । उहाँले नतिजा प्रकाशनको तयारीमा जुटिरहेको बताउदै प्राविधिक कठिनाइ नभए भोली बुधबार १५ गतेसम्म नतिजा सार्वजनिक गर्ने गरि काम गरिरहेका छौँ ।

आज तीजको दिन परीक्षाफल सार्वजनिक हुने हल्ला चले पछि कतिपय छात्राहरुको ध्यान परीक्षाफल तर्फ केन्द्रीत भएर अन्योल बनेका छन् । कक्षा १२ को परीक्षामा चार लाख १० हजार ५० विद्यार्थीले परीक्षा दिएको बताइएको छ ।

बोर्डले देशभरका १ हजार २९२ परीक्षा केन्द्रमा गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

तीन हजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ, १४ भदौ : काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन् ।

कार्यालयका अनुसार कारबाहीम पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक सय ७६, लेन मिचेर सवारी चलाउने एक सय १७, रातो बत्तीको पालना नगर्ने दुई सय ३०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने तीन सय १२, नम्बर प्लेट नबुझिने तथा स्वरुप परिवर्तन गर्ने ६८ र अन्य विभिन्नमा दुई हजार दुई सय १३ चालक रहेका छन् । कार्यालयले ट्राफिक नियमको पालना गरी सवारीसाधन चलाउन सबैलाई आह्वानसमेत गरेको छ ।

भक्तपुरमा चथाः पर्व मनाइँदै

भक्तपुर, १४ भदौ : नेवार समुदायले भाद्र शुक्ल चतुर्थीको साँझ मनाइने चथाः पूजा भक्तपुरमा आजै मनाइने भएको छ । पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार भदौ १५ गते भाद्र शुक्ल चतुर्थी भए पनि आज साँझ नै चतुर्थी पर्न आएका कारण आजै मनाउन लागिएको हो । नेवा सँस्कृतिमा तिथि र मिति मिलाएर साँस्कृतिक पर्व मनाउनुपर्ने भएकाले आजै मनाउन लागिएको भैरवनाथका पूजारी माइला छुङ्काले बताउनुभयो ।

गणेश चतुर्थीको अवसरमा नेवार समुदायले घर चोख्याएर साँझ परिवारका सबै सदस्य बसेर गणेश र चन्द्रमालाई जीवनमा चोर दोष कहिल्यै नलागोस भन्ने कामनासहित पूजा गर्दछन । भगवान गणेशको जन्म दिन समेत मानिएको चतुर्थीको साँझ कौशी वा झ्यालमा चथा गणेश र चन्द्रमाको पूजा गर्ने परम्परा छ । गणेश र चन्द्रमाको पूजा गरे जीवनमा चोर दोष नलाग्ने विश्वास छ ।

चतुर्थीको दिन पूजा गर्दा चथा गणेशको तस्बिरलाई पला लप्ते (कमलको पात) वा जेला लप्ते (हल्दीको पात जस्तो)मा राखेर दुबो, मुला र लडडु, नैवेद्य, खाइसी, अदुवाको बोट, काँक्रो, भुटेको आरुको बीऊ, नासपाती, केरा, स्याउ, अनार, अम्वा, हाँडे ओखर, मसला, मकै, भटमास, गहुँ, केराउ, चना, बकुल्ला र बदाम भुटेको गेडागुडी चढाइन्छ । यसरी विधिवतरुपमा पूजा सकेपछि परिवारका सबै सदस्य प्रसादको रुपमा गणेश र चन्द्रमालाई चढाएको फलफुल तथा गेडागुडी खाने चलन छ ।

आजको दिन चथा गणेशलाई विभिन्न पकवानसँगै विषेशगरी दुवो, लड्डु र मुला चढाउँदा गणेश खुशी भई जीवनमा चिताएको मनोकामना पूरा हुने विश्वास छ । चतुर्थीको अवसरमा नेवार समुदायमा चन्द्रमाको पूजा गर्ने परम्परा छ । एक थरी समुदाय चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथै घरको सबै झ्याल ढोकामा पर्दा वा कपडा राखेर चन्द्रमाको प्रकाशसमेत घरभित्र छिर्न नसक्ने गरी लुकेर पूजा गर्ने गर्दछन् । अर्को समुदाय घरको आँगनमा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतिक्षामा बस्ने र चन्द्रमा देखापरेपछि मात्र चथा गणेशको पूजा गरी प्रसाद खाएर घरभित्र पस्ने चलन छ ।

गणेश चतुर्थीलाई भक्तपुरका नेवार समुदायले १०औैँ भित्र्याउने चाडका रुपमा लिने गरेको छ । दशैंको प्रारम्भ पर्वको रुपमा लिने भएकाले नेवार समुदायले आजको दिन विशेषगरि घरघरमा मासु भित्र्याउने चलन छ । नेवार समुदायमा चथाःपर्व राम्रो भए दशै पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास छ । त्यही आज बेलुका घर परिवारका सबै सदस्य लाइनले बसेर भोज खाने चलन छ ।

आजकै दिन भक्तपुरका किसानले आ–आफ्ना अदुवा खेतीको पूजा गरी नयाँ अदुवा निकाल्ने चलन छ । आजकै दिन इन्द्रजात्राका लागि भक्तपुरबाट काठमाडौँको बसन्तपुरसम्म लिङ्गो लैजाने परम्परा छ । इन्द्रजात्राको अवसरमा बसन्तपुरमा ठड्याउने लिङ्गो भक्तपुरको चित्तापोलस्थित लिङ्गेवनबाट ल्याइन्छ । लिङ््गेवनमा विधिपूर्वक पूजा गरेपछि बली दिने बोकालाई छोड्ने र सो बोकाले जुन रुखलाई छुन्छ सोही रुख काटेर ल्याउनुपर्ने परम्परा छ ।

दश जिल्लामा बढी डेँगुका बिरामी डेँगुका बिरामी

काठमाडौँ, १४ भदौ  : काठमाडौँ उपत्यकामा डेङ्गु ज्वरोका बिरामी दैनिक बढेको पाइएको छ । नेपालमा अहिले मुख्य काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा सबभन्दा बढी डेँगुका बिरामी पाइएको छ । ती जिल्लाका अस्पतालमा डेँगुको उपचारका लागि बिरामीको चाप पनि बढेको छ । विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुनेमौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको रोग लाग्ने गर्दछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सन्जयकुमार ठाकुरले साउनदेखि केही शहरमा डेँगुका बिरामी बढेको बताउनुहुन्छ ।

उहाँका अनुसार ललितपुर, काठमाडौँ र रुपन्देहीमा डेँगुका बिरामी बढी रहेको छन् । ललितपुरमा एक हजार ५६, रुपन्देहीमा ३७७ र काठमाडौँमा ३३२ जना डेँगुका बिरामी भेटिएका छन् । अव्यवस्थित शहरीकरण पनि डेँगुका बिरामी बढेको उहाँ बताउनुहुन्छ । “अव्यवस्थित शहरले गर्दा घरवरपर खाल्डाखुल्डी तथा पानी जम्ने ठाउँ रहेका हुन्छन्” उहाँले भन्नुभयो, “ती ठाउँबाट नै डेँगु रोग सार्ने जातको लामखुट्टेको विकास हुने गर्दछ ।” पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेर डेँगु रोग लाग्दछ ।

उहाँले पानी टङ्की, गाडीको डायर, गमला घर नजिकको खाल्डाखुल्डीमा पानी जम्न दिन नहुने बताउनुभयो । एसिबाट निस्केको पानी जमेपछि त्यही जमेको पानीमा लाखुट्टेले फुल पार्ने गरेको छ । मन्त्रालयका प्रवक्ता डा ठाकुरले डेँगु रोगको रोकथाम तथा नियन्त्रण सरकारले भन्दा पनि व्यक्तिगतरुपमा लाग्नुपर्ने बताउनुहुन्छ । व्यक्तिगतरुपमा आ–आफ्नो घरमा सरसफाइ गरेर पानी जम्न नदिने र घर वा बाहिर बस्दा शरिर पूरा ढाकिएको कपडा लगाउनुपर्ने उहाँको भनाइ रहेको छ ।

उहाँले डेँगु लागेपछि धेरै मानिसलाई लक्षण नदेखेर नै निको हुने बताउनुहुन्छ । “अहिले गम्भीर बिरामीमा भने सेतो रगत कम हुने गर्दछ” उहाँले भन्नुभयो, “धेरैजसोलाई सिटामोल नै खाएर निको पार्न सकिन्छ ।” शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा विमल चालिसेका अनुसार अस्पतालमा बढिरहेका बताउनुभयो । उहाँ अस्पतालमा सामान्य लक्षणदेखि भर्ना गरेर उपचार गर्नेसम्मका बिरामी आउने थालेको बताउनुहुन्छ ।

डा. चालिसेका अनुसार अस्पतालमा दैनिक ३० देखि ३५ जना भर्ना भएर उपचार गर्ने खालका र आकस्मिक सेवामा दैनिक ६० देखि ७० जना बिरामी आइरहेका छन् । “धेरैजसो बिरामी धेरै ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, खाना मन नलाग्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता लक्षण भएका बिरामी आउने गरेका छन्”, उहाँ भन्नुहुन्छ, “उपचार गर्नका लागि अस्पतालमा आएका बिरामीलाई फर्काउने गरेका छैनौँ । अहिलेसम्म शैय्याको व्यवस्था गरेका छौँ । तर अहिलेको भन्दा बढी भएपछि समस्या हुनेछ ।” अस्पतालमा ७० शैय्या र २४ सधन उपचार कक्ष (आइसियु) रहेको छ । उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडांैलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । डेङ्गु ज्वरो सञ्चो हुने बेलामा शरीरमा राता दाग पनि देखा पर्छन् ।

गम्भीर प्रकृतिको डेङ्गु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिनेजस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गराउनुपर्छ । डेङ्गु रोग चार प्रकारका भए पनि अहिले नेपालमा कुन प्रकारको डेङ्गु देखिएको छ भन्नेमा अनुसन्धान भइरहेको छ । वीर अस्पतालका उपनिर्देशक डा प्रज्वल श्रेष्ठले अस्पतालमा कोरोना भाइरसका भन्दा डेँगुका बिरामी बढी रहेको बताउनुहुन्छ । उहाँका अनुसार अहिले वीरमा २४ जना डेँगुका बिरामी र २२ जना कोरोना भाइरसका बिरामी रहेका छन् । “वर्षायाम सकिने पछि एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले बढ्ने गर्दछन्”, उहाँले भन्नुभयो, “तीनै प्रजातिका लामखुट्टैको टोकाइले डेँगु रोग लाग्दछ ।” उहाँले अहिले दैनिक चारदेखि पाँच जना आकस्मिक कक्षमा उपचार गर्न आउने गरेको बताउनुहुन्छ ।

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले साउन र भदौ महिनामा लामखुट्टेको सङ्ख्या वृद्धि हुने भएकाले काठमाडौँ उपत्यकासहित तराईमा डेँगुका बिरामी बढेको बताउनुभयो । उहाँले डेँगुलाई नियन्त्रण गर्नका लागि लामखुट्टेको लार्भा खोजेर मार्नुपर्ने बताउनुभयो । “अहिलेको मौसममा लामखुट्टैका लार्भा धेरै नै उत्पादन हुने गर्दछ”, उहाँले भन्नुभयो, “पानी जम्न नदिनु, खाल्डाखुल्डी पुर्नु र साना साना पानी जम्ने ठाउँलाई नष्ट गर्नुपर्दछ ।” उहाँले डेँगु रोकथाम र नियन्त्रणका लागि काठमाडौँ उपत्यका जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई निर्देशन दिइरहेको बताउनुभयो ।

उहाँका अनुसार देशभरिका १३९ स्थानीय तहमा डेँग रोकथाम र नियन्त्रण गर्न लार्भा नियन्त्रण र जनचेतना जगाउनका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । उपत्यकामा ललितपुरमा सबभन्दा बढी डेँगुका बिरामी देखिएका छन् । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । विशेष गरी जनघनत्व बढी भएका काठमाडौँ उपत्यका, पोखराजस्ता शहरमा डेङ्गुज्वरोका बिरामी बढिरहेका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा अहिले ११ जना डेँगुका बिरामीले उपचार गराइसकेका अस्पतालका सूचना अधिकारी रामबिक्रम अधिकारीले जानकारी दिनुभयो । उहाँले अस्पतालमा कोरोना भाइरसका बिरामी घटेसँग डेँगुका बिरामी बढेको बताउनुभयो ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गुको बिरामी फेला परेको थियो । सन् २००४ मा एक जनामा डेँगु देखिएको थियो । त्यसयता डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ । सन् २००६, २०१०, २०१२, २०१३, २०१७ र २०१९ मा डेङ्गु बढेको पाइन्छ । सन् २०१९ मा १७ हजार ९९२ जनामा डेँगुका बिरामी देखिएका थिए । तराई–मधेशमा बढी देखिने डेङ्गु २०१८ पछि भने पोखरा, काठमाडौँजस्ता पहाडी सहरमा पनि देखा प¥यो । उपत्यकामा लामखुट्टे बढेको र डेङ्गुका बिरामी पनि उपत्यका प्रवेश गरेका र ती बिरामीबाट अन्य मानिसलाई लामखुट्टेले रोग सार्ने गरेकाले उपत्यकामा डेङ्गुका बिरामी बढी देखिएका हुन् ।

निजामति कर्मचारी अस्पतालले डेङ्गुबाट बच्नका लागि सबै शय्यामा रहेका बिरामीलाई झुल प्रयोग गर्न निर्देशन दिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार अहिलेसम्म दुई हजार आठ सय २७ जनामा डेँगुका बिरामी फेला परेका छन् । प्रदेश नं १ मा दुई सय एक जना, मधेश प्रदेशमा ५८ जना, बागमती प्रदेशमा एक हजार छ सय ९७ जना, गण्डकी प्रदेशमा ७८ जना, लुम्बिनी प्रदेशमा छ सय ६६ जना, कर्णाली प्रदेशमा ३९ जना र सुदुरपश्चिम प्रदेशमा ८८ जनामा डेँगुका बिरामी रहेका छन् ।

दश जिल्लामा बढी डेँगुका बिरामी डेँगुका बिरामी

सबभन्दा बढी १० जिल्लामा रहेका छन् । ललितपुरमा एक हजार ५६, रुपन्देहीमा तीन सय ७७ जना, काठमाडौँमा तीन सय ३२ जना, तेह्रथुममा ७७ जना, धादिङमा ७६ जना, सिन्धुली ६१ जना, सङखुवासभा र भक्तपुरमा ५७ जना, अर्धाखाचीमा ५१ र गुल्मीमा ४९ जना बिरामी भेटिएका छन् । एकैठाउँ जमेर रहेको सङ्लो पानीमा डेङ्गु सार्ने लामखुट्टेले अन्डा पार्ने गर्छ । त्यसैले धेरै समय बाहिर खुलारुपमा पानी राख्न हुँदैन । डेङ्गुको रोकथाम गर्नुभनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । साँझा–बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ । घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझा–बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने गर्नुपर्दछ ।

उम्मेदवार सिफारिस गर्दा कुनै शुल्क नलिनु : कांग्रेस

काठमाडौँ, १४ भदौ (रासस) : नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गर्दा कुनै पनि शुल्क नलिन मातहतका समितिलाई निर्देशन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयले सोमबार मातहतका कार्यसमितिलाई ‘सर्कुलर’ पठाएर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको जनाएको छ । कतिपय पार्टी निकायबाट आगामी निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्दा नगद रकम माग गरिएको भन्ने जानकारी प्राप्त हुन आएको भन्दै पार्टी कार्यालयले ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने शुल्क तथा सहयोग रकम बाहेक उम्मेदवार सिफारिस गर्न कुनै पनि प्रकारको रकम माग गर्नु विधान विपरीत कार्य हुने विज्ञप्तिमा उल्लेख छ । तसर्थ कांग्रेसले त्यस्तो नगर्नु/नगराउनु हुन निर्देशानुसार अनुरोध गरेको छ ।

मानव अधिकार रक्षकहरुको संरक्षण र सम्बर्धनको सरकोर विषयक अन्तरक्रिया सम्पन्न

हेटौँडा, १२ भदौ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश हेटौँडाको आयोजना तथा युरोपियन युनियनको सहयोगमा ०७९ भदौ १२ गते हेटौँडामा “नेपालमा मानव अधिकारको रक्षकको संरक्षण र सम्बद्र्धनको सरोकार” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि गैसस महासङ्घका केन्द्रीय सचिव बुद्धशरण लामाले मानव अधिकार रक्षकको अधिकार संरक्षणका लागि उठाउँदै आउको आवाज कमजोर हुँदै गएको अवस्थामा आयोजना गरिएको यस कार्यक्रमले रक्षकको संरक्षण र सम्बर्धनमा टेवा पुग्ने बताउनु भयो ।

सचिव लामाले राष्ट्रिय मानव अधिकार आयोगलाई मानव अधिकार रक्षकको संरक्षण र सम्बद्धनका लागि मुख्य भूमिका निर्वाह गर्नको लागि जिम्मेवार बनाउन लागि पर्ने बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता गर्नु भएकी गैसस महासङ्घ बागमती प्रदेशकी अध्यक्ष आरती पाठकले राजनीतिक आस्था आफ्नो ठाउँमा भए पनि पीडितको न्यायको लागि आवाज उठाउन आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु पर्ने अवस्था रहेको बताउनु भयो ।

यस अवस्थामा एकै समयमा दुई बेग्ला बेग्लै भूमिका निर्वाह नगरी पीडितका न्यायका लागि पहलकर्मी गर्ने व्यक्तिलाई मानव अधिकार रक्षककै रूपमा लिनु पर्ने बताउनु भयो ।

समाजमा आवश्यकता अनुसारको भूमिका निर्वाह गर्नु पर्ने बाध्यताले कहीले काहीँ कोही कसैलाई अर्कै भूमिका निर्भाह गरेको अवस्थामा उसले मानव अधिकार रक्षकको भूमिका निर्वाह गर्न सक्दैन र नगर भन्न नहुने उहाँको धारण थियो ।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले मानव अधिकार रक्षकहरूको अधिकार संरक्षणका राष्ट्रिय मानव अधिकार आयोगले जारी गरेको मानव अधिकार निर्देशिका, नेपाल सरकारले २०७७ मा गृह मन्त्रालयमार्फत ल्याएको मानव अधिकार रक्षकहरू संरक्षणका लागि आदेशे लगायतको कार्यान्वयनको अवस्था उल्लेख गर्नु भएको थियो ।

उहाँले संयुक्त राष्ट्र सङ्घले १९९८ मा पारित गरेको मानव अधिकार रक्षकको घोषणा पत्र, राष्ट्रिय मानव अधिकार आयोगले २०६९ मा जारी गरेको मानव अधिकार रक्षकसम्बन्धी निर्देशिका र यसपछि नेपालमा मानव अधिकार रक्षकका लागि लागि निर्माण भएका व्यवस्था तथा प्रवधानहरूका बारेमा प्रस्तुती गर्नु भएको थियो ।

भण्डारीले यि माथिका प्रवाधानले केही हदसम्म भए पनि मानव अधिकार रक्षकलाई कसैबाट धाक, धम्की वा दुर्व्यवहार भएको अवस्थामा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गर्न सक्ने अवस्था रहेको उल्लेख गर्नु भयो ।

उहाँले नेपालमा सन् २०२१ यता मानव अधिकार उल्लङ्घनका घटनामा पीडित भएका मानव अधिकार रक्षकहरूको सङ्ख्या र अवस्था बारे पनि प्रस्तुति गर्नु भएको थियो ।

मानव अधिकार उल्लङ्घनका घटनाका पीडिकलाई कानुनी कारबाही हुन पर्ने आवज उठाउने मानव अधिकार रक्षक पीडित भएका अधिकांश घटनामा भने पीडित र पीडकबीचको सहमतिमा टुङ्गिने गरेको पाइएको भण्डारीले उल्लेख गर्नु भयो ।

उहाँले मानव अधिकार रक्षकहरूको संरक्षणको मुख्य जिम्मेवारी राज्यको भएकोले राज्यका निकायहरुलाई थप जवाफदेही बनाउन आवश्यक रहेकोले यस्ता कार्यक्रमले त्यस प्रकृयालाई थप सहयोग पु¥याउन यस कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगरले पीडितलाई न्याय र मानव अधिकार रक्षकको सुरक्षा राज्यले गर्नु पर्नेमा अझै त्यसो हुन नसकेको बताउनु भयो ।

उहाँले मानव अधिकार रक्षकको भूमिकामा अग्रपङ्तिमा रहेका पत्रकारहरूमा सूचना सङ्कलन गर्न सीप, ज्ञान, प्रक्रिया थाहा नहुदाँ चुनौती आउने गरेकाले पीडितहरूको न्यायको लागि काम गर्दा त्यस्ता घटनाहरूको सामूहिक रूपमा सूचना तथा अनुसन्धान गर्न जरूरी रहेको बताउनु भयो । साथै उहाँले मानव अधिकार रक्षक बन्न पत्रकार तथा अधिकारकर्मी बन्ने मोहले परिचय पत्रको दुरुपयोग हुने गरेकोले यसलाई राक्नु पर्ने आवश्यकता रहेको औँल्याउनु भयो ।

गैसस महासङ्घ बागमती प्रदेशका उपाध्यक्ष कमलकुमार विश्वकर्माले मानव अधिकार रक्षकहरूको आवाज पनि पक्षधर रूपमा आउने हुँदा रक्षकहरूलाई थप जोखिम भएको बताउनु भयो ।

उहाँले दलितको सवालमा दलित अधिकारकर्मीले मात्र आवाज उठाउँदा पीडितको न्यायमा पहुँच पुग्न नसकेको अवस्था भएकोले सबै खाले पीडितको न्यायको लागि मानव अधिकार रक्षकहरू एक हुनु पर्ने बताउनु भयो ।

गैसस महासङ्घ मकवानपुर शाखाका अध्यक्ष डाक्टर कृष्ण धितालले मानव अधिकार रक्षकहरू राजनीतिक रूपमा कतै न कतै आवद्ध हुने हुँदा मानव अधिकार रक्षकको भूमिका निर्वाह गर्दा जोखम बढी हुने गरेको बताउनु भयो ।

उहाँले मानव अधिकार रक्षकका रूपमा आवद्ध हुनलाई कुनै पनि पक्षधरता हुन नहुने बताउँदै यस खालको संयत्र जिल्लामा निमार्ण गरी अघि बढ्न अनुरोध गर्नु भयो ।

सिवीन मकवानपुरका प्रवन्धक तथा बाल कल्याण समिति बागमती प्रदेशका सदस्य झविन्द्र ज्ञवालीले मानव अधिकार रक्षक सम्बन्धी ज्ञान स्थानीय तहको पनि वडा स्तरमा आवश्यक रहेको बताउनु भयो । उहाँले पीडितको न्यायका लागि सबै भन्दा बढी वडास्तरमा काम गर्न आवश्यक रहेकोले मानव अधिकार रक्षकको आवश्यकता र बुझाई वडा वडामा आवश्यक रहेको उहाँको भनाई थियो ।

समृद्ध समाज दैनिकका सम्पादक सुरेस श्रेष्ठले मानव अधिकार रक्षकहरू राजनीतिक रूपमा विभाजित भएर कार्य गर्नुले आलोचनाको विषय भन्ने गरेको बताउनु भयो ।

मानव अधिकार रक्षकको लागि मात्र हैन कुनै पनि ऐन कानुन भन्दा प्रयाप्त बहस र छलफल हुने अवस्था नरहेकोले मानव अधिकार रक्षकको संरक्षणका लागि बन्ने ऐन कानुन पनि अपूर्ण नै हुने गरेको उहाँको धारण थियो ।

श्रेष्ठले संसदबाट आउनुपर्ने विधयक अध्यादेशबाट आउने गरेकोमा यसमा सम्बन्धित प्रदेशस्तरीय मन्त्रीको ध्यानाकर्षण गराउँदा संसदबाट ल्याउँदा ६ महिना लाग्ने भएकोले अध्यादेशबाट ल्याएको जवाफ पाएको बताउनु भयो ।

यसरी लोकतान्त्रिक पद्धतिबाटसरोकारवाला र विधायिकाबाट प्रयाप्त समय छलफल र बहसपछि आउने ऐन तथा विधयकहरू अध्यादेशबाट आउँदा अपूर्ण र एक पक्षिय तथा निरङ्कुशताको लेस रहने गरेको श्रेष्ठको धारण थियो ।

अधिकार नेपालका दिपेन्द्र पाठकले पीडितहरूले लामो समयसम्म न्याय नपाउँदा मानव अधिकार रक्षकलाई प्रश्न आउने गरेको बताउनु भयो । उहाँले निर्मला पन्थको घटनामा एक खालको मानव अधिकार दृष्टिकोण, रुकुम घटनामा अर्को खालको मानव अधिकार दृष्टिकोण मानव अधिकार रक्षकबाट आउने हुँनाले मानव अधिकार रक्षकको काममा बेला बखत प्रश्न उठ्ने गरेको बताउनु भयो ।

हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइवाले मानव अधिकार रक्षकहरूलाई राज्यले सहयोग गर्ने प्रणाली नभएका कारण मानव अधिकार रक्षकलाई बेला बखत काम गर्न समस्या परेको बताउँदैले राज्यले मानव अधिकार रक्षकको सुरक्षा र चुनौतीमा नीतिगत सुरक्षा दिनुपर्ने बताउनु भयो ।

माइती नेपालकी कार्यक्रम संयोजक माया लामाले मानव अधिकार रक्षकमाथि हुने साङ्घातिक हिंसाको बारेमा आवाज उठ्ने गरे पनि मानसिक हिंसाको सम्बोधन हुन नसकेको बताउनु भयो ।

मानव अधिकार रक्षकमाथि हुने अप्रत्यक्ष हिंसाका घटना जस्तै राति राति फोन गरेर मैले जानेको छु के गर्ने भन्ने जस्ता धम्की दिने, कहाँ कार्यरत हो त्यो थाहा छ भन्ने जस्ता मानसिक हिंसाका घटनाको सम्बोधन गर्नको लागि मनोपरामर्श सेवा आवश्यक रहेको लामाले औँल्याउनु भयो ।

नेपाल मानव अधिकार सङ्गठनकी मकवानपुर जिल्लाकी पूर्व अध्यक्ष तथा अधिवक्ता अप्सरा बस्नेतले कार्यस्थलमै पनि पीडक पक्षबाट प्रत्यक्ष अप्रत्यक्ष धम्की आउने गरेको अनुभव सुनाउँदै जोखिमको सामना गर्ने हिम्मत मानव अधिकार रक्षकमा हुन पर्ने बताउनु भयो ।

उहाँले पीडितको पक्षमा वकालत गर्दा धम्की आउने गरेकोले मानव अधिकार रक्षकलाई काम गर्न चुनौती रहेको भन्दै यसका लागि संयुक्त रूपमा आवाज उठाउँदा भने जोखिम केही भए पनि कम हुने उल्लेख गर्नु भयो ।

राष्ट्रिय अपाङ्ग महासङ्घकी जमुना तितुङले प्रत्यक्ष हुने घटनाका आधारमा पीडित हुनेहरूको अधिकारको क्षेत्रमा आवज उढ्ने गरे पनि नागरिकका सरोकारका विषयहरू शिक्षा, स्वास्थ्य, खाद्य, आवास तथा वातावरण लगायतका सरोकारका विषयहरूमा मानव अधिकार रक्षकहरुको ध्यान नपुगेको बताउनु भयो ।

आम नागरिकहरूको आधारभूत आवस्यकताहरूलाई राज्यले प्राथमिकतामा नपार्दा नागरिकको मौलिक हकको अधिकार हनन् भइरहेको उहाँले बताउनु भयो

बिकसित ठाउँको कुनै सुन्दर टुक्रा ल्याएर राखिदिएको जस्तो छ यहाँको सुन्दर नमूना हेर्न भक्तपुर आए हुन्छ : एमाले नेता एवं सांसद महेश बस्नेत

भक्तपुर, ११ भदौ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले ध्वंसले बिकास नभई निर्माणबाट मात्रै बिकास हुने बताउनु भएको छ ।

नेपाल सोतोकान कराते संघ भक्तपुर जिल्ला समितिद्धारा आज सञ्चालित बहुउध्देशीय न्हाकाटी डोजो प्रथम इन्टर डो च्याम्पियनशिप प्रतियोगिता -२०७९  को उद्घाटन गर्दै उहाँले ध्वंस नगरी निर्माणबाटै आफ्नो निर्वाचन क्षेत्रको विकास गरि सुन्दर बस्ती भएको उदाहरण दिनु भयो ।

उहाँले कुनै सामान किन्न होस् कि, खाना खाजा खान होस, पार्टी प्यालेसदेखि होटल अहिले भक्तपुरमै सञ्चालनमा आएको चर्चा गर्दै भन्नु भयो, “यहाँको समग्र विकास देख्दा कुनै बिकसित ठाउँको कुनै सुन्दर टुक्रा यहाँ ल्याएर राखिदिएको जस्तो देखिएको छ । यसबाट के पुष्टी हुन्छ भने एउटा असल जनप्रतिनिधि चुन्नु भयो भने चार पाँच वर्षमै नाटकीय र अमूल परिवर्तन हुन्छ भन्ने प्रमाणित यहीँबाट भएको उहाँले बताउनु भयो ।”

प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री बस्नेतले भन्नुभयो, “काठमाडौँका मेयरहरूले नक्सा पास नभएका संरचनाहरूमा डोजर चलाएर आतंक मच्चाइरहे उपत्यका बस्न लायकको रहदैन, डोजर आतंक मच्चाइरहने हो भने काठमाडौँबाट भागेर अन्यत्र जानुपर्ने अबस्था आउन सक्छ, ध्वंसको क्षेत्र बन्ने निश्चित हुन्छ, केही मानिसले साथ दिए भन्दै कानुन मिचेर जनतालाई दुःख दिने काम गर्नु हुदैन ।”

निर्माणलेनै सुन्दरता ल्याउछ भन्दै उहाँले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई एक पटक भक्तपुर क्षेत्र नं. २ को अवलोकन गरि ध्वंस नगरी निर्माणबाटै गरेको बिकासको सुन्दर नमूना हेर्न आउन आग्रह गर्नु भयो ।

संविधानमा दुई पटक भन्दा बढी प्रधानमन्त्री वा सांसद हुन नपाउने गरी व्यवस्था गर्न माग नेता बस्नेतले प्रत्यक्ष निर्वाचित सांसद र मन्त्रीहरु कति पटक दोहरिने भन्ने नीति नै निर्माण गर्नु पर्नेमा जोड दिनु भयो ।

समानुपातिक तर्फ अनिश्चितकालसम्मका लागि अवसर दिने व्यबस्था गलत भएको उहाँको भनाइ छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडक मैत्री बनाउन खोजिएको आरोप लगाउदै उहाँले नेकपा एमाले अहिले पनि कमजोर नरहेकोले र निर्वाचनमा प्रत्यक्षतर्फ ७० भन्दा बढी सिट जित्ने दाबी प्रस्तुत गर्नु भयो ।

अहिलेसम्मकै ठूलो परिमाणमा चामल, दाल र तेल जफत, रु. १४ लाखको खाद्यान्न नष्ट, रु. तीन लाख जरिवाना

-रमेश गिरी
भक्तपुर, १० भदौ : भक्तपुर नगरपालिका–१ चुनदेवीस्थित ‘चुनदेवी खाद्य स्टोर’ मा आज छापा मारी रु. १४ लाख बराबरको बिभिन्न ब्राण्डका चामल, दाल र तेल जफत गरि नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वको जिल्ला बजार अनुगमन टोलीले आज स्टोरमा छापा मारी म्याद गुज्रेका, घुन तथा किरा परेको, कुहिएको चालम, दाल र तेल जफत गरि नष्ट गरेको हो ।

व्यापारी महेश ठकुल्लावटले सञ्चालन गरेको स्टोरको चार तले घर र एउटा टहरामा गोदाम गरि राखेको खाद्यान्न मध्ये कुहिएका चामल गोदामबाटै रिफाइन गरि पुन प्याकेजिङ गरि बजारमा बिक्रीका लागि पठाउने गरिएको पाइएको हो ।

सहायक प्रजिअ शर्माले भन्नुभयो, “उपभोक्ताले दिएको उजुरीका आधारमा हामीले तत्कालै अनुगमन गरेका हौ, तर यहाँ त अचम्मै देखियो, बिग्रिएका चामल रिफाइन गरि बिभिन्न ब्राण्डका नयाँ बोरामा पुनः प्याकिङ गरि बिक्री गरिदो रहेछ ।” व्यापारीले गोदाम घरमै मेशिन राखी बोरामा कुहिएका, घुन र किरा परेका चामललाई मेशिनमा राखेर किरा, घुन छुट्याई, चामललाई पुन सेतो बनाएर बिभिन्न नामका बोरामा प्याकिङ गरेर त्यही सिलाएर पुनः बिक्री गर्ने गरेको पाईएको उहाँले जानकारी दिनु भयो ।

टोलीले गोदाम घरबाट आज ६ घण्टा लगाएर ११९ क्विन्टल चामल, नौ क्विन्टल ७५ किलो दाल, ६३६ लिटर तेल जफत गरि भक्तपुर नगरपालिकाद्धारा जगातीमा सञ्चालित प्राङ्गारिक मल उत्पादन केन्द्रमा लगेर नष्ट गरिएको सहायक प्रजिअ शर्माले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, “अब फेरी बजारका कुनै पनि खाद्य स्टोरमा यस्तो लापर्वाहीको पराकाष्ट देख्न नपरोस, प्रत्येक व्यवसायी र यसका छाता संगठन उपभोक्ताको अधिकारप्रति जिम्मेवार बन्दै नियम पालना गर्नु पर्यो, एउटा पक्ष, व्यक्ति र निकायले मात्रै यो बेतिथिलाई रोक्न सकिदैन, त्यसैले सबै व्यवसायी, उपभोक्ता, जिम्मेवार नियामक निकायबीच सक्रिय समन्वय हुनु पर्यो अनि मात्रै रोक्न सक्छौँ ।” म्याद गुज्रेको सामान पुनः बिक्रीका लागि लगेको, खाद्य सामान फेरबदल गरेको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाएको बताउदै उहाँले नियमानुसार आजै रु. तीन लाख जरिवाना गरिएको बताउनु भयो ।

अनुगमनमा जिल्ला घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहालले यो अहिलेसम्मकै ठूलो परिमाणमा खाद्य सामग्री नष्ट गर्नु परेको बताउदै यसैलाई आधार मानेर अरु व्यापारीले पनि यस्ता गल्ती नगर्न सचेत गराउनु भयो । बिग्रिएको कुनै पनि खाद्यान्न बिक्री गर्न पाइदैन, यहाँ त चामललगायतका खाद्यान्न पुन प्याकेजिङ गरि बिक्री गरेको पाईयो भन्दै उहाँले अधिकार व्यापारीलाई नभएको बताउनु भयो ।

अनुगमनकामा उद्योग वाणिज्य संघ भक्तपुरका सचिव एवं संघका अनुगमन समिति संयोजक विश्वराम दुवालले चामलमा घुन मात्रै नभई किरा पनि भेटिएको, भुँईभरि चालम छरिएको, मुसाको लिँडहरु चामलमा रहेको, कुहिएको चामल बिक्री गरेको पाईएको बताउनु भयो । उहाँले बिग्रिएको एउटै चामल बिभिन्न ब्राण्डका नयाँ बोरामा प्याकिङ गरि फरक मूल्यमा बिक्री गरेको भन्दै सामानको मूल्य लिए पछि राम्रो सामान बिक्री गर्नु पर्ने बताउनु भयो ।

राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले यो घट्ना व्यापारीको प्रतिनिधि घट्ना मात्रै भएको भन्दै बजारका धेरै व्यापारीले यस्तो धन्दा चलाएको सूचना आएकाले बजार अनुगमनलाई कडाई गरेर कारबाहीलाई फराकिलो पार्नु पर्ने बताउनु भयो । आम उपभोक्ता ठग्ने र उनीहरुको स्वास्थ्यमाथि खेलबाड गरेको पाइएको भन्दै उहाँले अब यस्ता गोदाममा छापा मार्नु पर्ने औषधिमा पसलमा समेत छापा मारेर कारबाहीको दायरामा ल्याउनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

व्यापारी ठकुल्लावटले भने घुन लागेको चामललाई सफा गरेर नयाँ बोरामा प्याकिङ गरेर बजारमा पठाउने गरेको स्वीकार्दै रिप्याकिङ गर्ने अनुमति लिनु पर्छ भन्ने थाहा पाए पनि थोरै परिमाणमा बिग्रने भएकाले अनुमति नलिएको दाबी गर्नु भयो । बिग्रिएको दाल खुल्ला रुपमा बिक्री गर्ने, म्याद गुज्रिएको तेल दुनोट बनाउने व्यवसायीदेखि बिभिन्न परिकार बनाउने होटलहरुमा बिक्री गर्ने गरेको अनुगमनको क्रममा पाईएको छ ।

भक्तपुर नगरपालिकाका अनुगमन समितिका संयोजक राजकृष्ण गोराले उक्त स्टोरलाई भक्तपुर नगरपालिकाले दुई पटक जरिवाना लगाए पनि अटेर गरेको बताउनु भयो । जिल्ला प्रशासन कार्यालयले यसअघिको अनुगमनमा रु.२५ हजार जरिवाना लगाएर सचेत गर्दा पनि अटेर गरेको पाइएको छ ।

अनुगमन पछि नेपाल रेडक्रस सोसाईटी भक्तपुरका परशुराम पाण्डेले व्यापारीले मानवीय स्वास्थ्य माथि ठाडो खेलबाड गरेको बताउदै अनुगमनलाई फराकिलो र कारबाही कडाई गर्नु पर्ने बताउनु भयो । अनुगमनमा नेपाल प्रहरीका सहायक प्रहरी निरिक्षक निरन श्रेष्ठले व्यापारीले उपभोक्तालाई कसरी ठग्छन् भन्ने प्रतक्ष्य देखिएको बताउदै अन्यत्र पनि खोजी गर्नु पर्ने बताउनु भयो ।