परराष्ट्र नीति संविधानमा उल्लेखित मापदण्डद्वारा निर्देशित छ : प्रम देउवा

काठमाडौँ, १० भदौ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको परराष्ट्र नीति संविधानमा उल्लेखित मापदण्डहरूद्वारा निर्देशित रहेको बताउनुभएको छ । साथै उहाँले संयुक्त राष्ट्र सङ्घको वडापत्रमा उल्लेखित सिद्धान्त, असंलग्नता, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्य–मान्यता हाम्रो परराष्ट्र नीतिको सार भएको स्पष्ट पार्नुभएको छ ।

नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘अन्तर्राष्ट्रिय सम्बन्ध : नेपाल र विश्व व्यवस्था’ विषयक सम्मेलनको उद्घाटन कार्यक्रममा उहाँले नेपालले सधैँ न्यायपूर्ण, समतामूलक, समावेशी र सबैका लागि निष्पक्ष विश्व व्यवस्थाको कुरा गर्दै आएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “हामी संयुक्त राष्ट्र सङ्घको वडापत्रमा उल्लिखित सिद्धान्तहरूको सम्मान गर्ने विश्व व्यवस्थाको लागि आह्वान गर्छौँ । हामी संयुक्त राष्ट्र सङ्घको केन्द्रमा रहेको बहुपक्षीयतामा दृढ विश्वास गर्छौं ।” कोभिड–१९ महामारीले विश्वमै जीविकोपार्जन र अर्थतन्त्रलाई बाधा पु¥याएको बताउँदै उहाँले हालको इन्धन, खाद्यान्न र रासायनिक मलको मूल्य वृद्धिले नेपाललगायत विकासोन्मुख देशहरूमा आर्थिक मन्दीका साथ आपूर्ति श्रृङ्खलामा संकट उत्पन्न भएको र लागत बढेको धारणा व्यक्त गर्नुभयो ।

सार्वभौम समानता, क्षेत्रीय अखण्डता, पारस्परिक हित र पारस्परिक लाभले हाम्रो वैदेशिक सम्बन्धको आचरणमा मार्गदर्शन गरेको बताउँदै उहाँले दुवै छिमेकीसँग सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्ध राख्छौँ भन्नुभयो । छिमेकी मुलुक, ठूला शक्तिहरू, विकास साझेदारहरू र आप्रवासी कामदारहरूको गन्तव्य देशहरूसँगको सम्बन्ध परम्परागत रूपमा मैत्रीपूर्ण र सहयोगात्मक रहेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय शान्तिमा नेपालको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

नेपालका लागि इजरायलका राजदूत हनन गोदेरले नेपालसँग इजरायलको सम्बन्ध ऐतिहासिक तथा मैत्रीपूर्ण रहेका बताउँदै त्यसयता द्विपक्षीय सहयोग आदानप्रदान हुँदै आएको उल्लेख गर्नुभयो । नेपालस्थित संयुक्त राज्य अमेरिकी दूतावासका कार्यवाहक उपप्रमुख मिसन मार्क टेम्पलरले अमेरिका सदैव नेपालको लोकतन्त्र, मानवाधिकार र आर्थिक समृद्धिमा हातेमालो गर्न चाहन्छ भन्नुभयो । प्रतिष्ठानका निर्देशक डा दीपककुमार अधिकारी र सम्मेलन आयोजक समिति सदस्य सन्दिप रानाले सम्मेलनका उद्देश्य बारेमा अवगत गराउनुभएको थियो ।

आजदेखि तीन दिनसम्म हुने सम्मेलनमा नेपाल र भारतका ४० वर्षभन्दा कम उमेरका सरकारी तथा गैरसरकारी संस्थामा महत्वपूर्ण भूमिकामा रहनुभएका करिब एक सय विज्ञ युवाको सहभागिता रहेको बताइएको छ । सम्मेलनमा विज्ञहरुले आफ्ना कार्यपत्रहरू प्रस्तुत गर्ने प्रतिष्ठानका निर्देशक अधिकारीले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नवीनतम विचार युवा पुस्ताको मस्तिष्कबाट आओस् भन्ने सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।

नयाँ पुस्ताले यस विषयमा जे विचारहरू प्रस्तुत गर्नुहुनेछ भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्धका लागि पथपर्दशन बन्नेछ भन्ने आयोजकको विश्वास छ । निर्देशक अधिकारीले नेपालले भविष्यमा कस्ता नीतिहरूको आधारमा विश्वलाई हेर्ने भन्ने विषयमा यस कार्यक्रमले गहन विषयवस्तुको प्रकाशन गर्ने उल्लेख गर्नुभयो । सेमिनारमा वातावरण, संस्कृति, विश्व राजनीति, सुरक्षा, शान्ति, स्थिरता, व्यापार, प्रविधिलगायतका विषयमा बेग्लाबेग्लै सत्रमा छलफल हुनेछ ।

आजको युवा मस्तिष्कले के सोचेको छ र भविष्यमा त्यसलाई कसरी कार्यान्वयन गर्ने लक्ष्य युवाहरूका मनमा रहेको छ भन्ने कुराको यस कार्यक्रमबाट समाजले थाहा पाउने अवसर हुनुपर्दछ भन्ने आयोजकको ध्येय छ । सम्मेलनको समापन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ १२ गते गर्ने तय भएको छ ।

अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडौं, १० भदौ  : नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको चौथो बैठकको पहिलो दिन आज अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत राजनीतिक प्रतिवेदन र आसन्न निर्वाचनमा उम्मेदवार चयनका लागि प्रस्तावित मापदण्डबारे छलफल गर्न विभिन्न नौ समूह विभाजन गरिएको छ ।

समूहगत छलफलबाट प्राप्त सुझावका आधारमा टोली नेताले गरेको प्रस्तुतिमाथि अध्यक्ष ओलीले अर्काे बैठकमा जवाफ दिएपछि प्रतिवेदन पारित हुनेछ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकमा अध्यक्ष ओलीले राजीतिक प्रतिवेदनका विषयमा केन्द्रित रहेर वर्तमान राष्ट्रिय राजनीति, आगामी निर्वाचन, स्थानीय तह निर्वाचनको समीक्षालगायत विषयमा सम्बोधनसहित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सम्बोधनका क्रममा उहाँले वर्तमान सरकार देश र जनतालाई सेवा गर्ने भावको दिशामा नगएको आरोप लगाउँदै एमालेलाई घेराबन्दी पार्ने प्रयासलाई आउने निर्वाचनबाट असफल बनाइने जिकिर गर्नुभयो । बैठकमा स्थानीय तह निर्वाचनमा भएका आन्तरिक कमीकमजोरीको छानविनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिको प्रतिवेदन प्रस्तुत र सचिवालय बैठकबाट भएका निर्णयहरूको अनुमोदन हुनेछ ।

सचिवालयले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौंदा कार्यदल र निर्वाचन परिचालन कमिटी गठन गरेको थियो । बैठकमा केन्द्रीय कमिटीमा मनोनयन गरिएका चार केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बैठकमा अध्यक्ष राजनीतिक प्रतिवेदन, कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको छ ।

बैठकमा सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टीका कामसँग सम्बन्धित केही नियम निर्माण तथा समसामयिक प्रस्ताव रहेका छन् । एमालेको केन्द्रीय कमिटीको बैठक शनिबार बिहान १०ः३० बजे पुनः बस्नेछ ।

मङ्सिर ४ को निर्वाचन सुरक्षार्थ ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन हुने

काठमाडौँ, १० भदौ :आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ । गत वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनमा करिव १० हजार बढी प्रहरी परिचालन गर्न लागिएको हो । निर्वाचनअन्तर्गत मतदानको दिन आउन ८६ दिन बाँकी छ ।

प्रहरी महानिरीक्षक धीरजप्रताव सिंहले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिक निर्वाचन हुने भएकाले पनि एक ठाउँमा मत खसालिसकेपछि पुनःअर्को ठाउँमा मत खसाल्नुपर्ने अवस्था रहने हुँदा पनि सुरक्षा जनशक्ति बढी आवश्यकपर्ने जानकारी दिनुभयो ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचनभन्दा म्यादी प्रहरी पनि थप २० हजार बढी प्रस्ताव गरिएको जानकारी दिनुभयो । गत स्थानीय निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएकामा यसपटक एक लाख २० हजार भर्नाका लागि तालकु गृहमन्त्रालयमा प्रस्ताव पेश गरिएको छ । उहाँले सङ्घ र प्रदेश निर्वाचनमा कैदीबन्दीसहित पाँच लाख मतदाता बढ्ने र मतदान केन्द्रसमेत थप हुने अनुमान गरिएअनुसार सुरक्षाकर्मी बढाइएको हो ।

गृहमन्त्रालयबाट प्रस्ताव पारित भएर आएपछि मात्रै अन्य औपचारिक काम अघि बढ्ने जनाउँदै उहाँले अहिले आन्तरिक तयारीका काम चलिरहेको जानकारी दिनुभयो । नेपाल प्रहरीले यसअघि नै प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाका नेतृत्वमा प्रहरीको केन्द्रीय निर्वाचन सेल र मातहतका कार्यालय, प्रदेश तथा जिल्लामा आवश्यकतानुसार सेल गठन गरी आवश्यक कार्य प्रक्रिया अघि बढाइएको छ ।

प्रदेशमा प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी नायब उपरीक्षक तथा प्रहरी नायब उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा निर्वाचन सेल गठन गरिएको छ । “उम्मेदवार सङ्ख्या, निर्वाचन कार्यालय, मतदान केन्द्र, निर्वाचन सामग्री, मतपेटिका, मतदानस्थल तथा रुट सबै प्रारम्भिकरुपमा यकिन गरेर आवश्यक सुरक्षा तयारी गरिएको छ”, प्रवक्ता राईले रासससँग भन्नुभयो, “माथिबाट निर्णय भएर आएपछि बाँकी काम अघि बढ्छ ।”

प्रहरीले सामान्य, संवेदनशील र अतिसंवेदनशील छुट्याएर मतदानस्थलको पहिचानसँगै सोहीअनुसार प्रहरी कर्मचारी खटाउने गरी योजना बनाएको छ । प्रहरीले यसअघि नै मङ्सिर ४ को सङ्घ र प्रदेश निर्वाचनका लागि कुल एक हजार चार सय ९४ सवारी साधन, सात सय बढी सञ्चार सेट आवश्यक रहेको भनी मन्त्रालयमा लेखेर पठाइसकेको छ । पेश गरिएको प्रस्तावमा आवश्यक हातहतियारको पनि माग गरिएको छ । उहाँले हतियार अपुग भएमा नेपाली सेनाबाट बहालगिरीमा ल्याएर प्रयोग गरिने जानकारी दिनुभयो । सञ्चार सेट सम्भव भएन भने प्रहरीका मोबाइललाई सञ्चार सेटका रुपमा प्रयोग गरी उनीहरु लाई रिचार्ज कार्ड उपलब्ध गराउने योजना बनाइएको छ ।

प्रवक्ता राईले भन्नुभयो, “स्थानीय तहको झैँ सङ्घीय र प्रदेश निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न नेपाल प्रहरीलाई अवसर आएको छ, यो अवसर जो कोहीलाई आउँदैन, त्यसकारण नेपाल प्रहरीका जवानदेखि अधिकृत उत्साहित छन्, निर्वाचनलाई शान्तिपूर्ण बनाउन आतुर छन् ।” प्रहरी कर्मचारीबाट भने निर्वाचनमा खटिने अन्य सबै कर्मचारी बराबरको खाजा भत्ता दिएमा थप उत्साहित हुने जनाइएको छ । केन्द्रीय सुरक्षा योजना बन्दै गृहमन्त्रालयले पनि आफ्नो निर्वाचन सुरक्षाको तयारीलाई तीव्र पारेको छ ।

गृहसचिव टेकनारायण पाण्डेको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुख सदस्य रहेको केन्द्रीय निर्वाचन सुरक्षा सेल गठन गरी तीव्ररुपमा कार्य अघि बढाइएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेले जानकारी दिनुभयो । उहाँले सोहीअनुसार प्रदेश मुख्य सचिवको नेतृत्वमा प्रदेश सुरक्षा समन्वय सेल गठन गरिएको जानकारी दिनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला निर्वाचन सेल तथा कमाण्ड पोष्ट गठन गरिएको छ । यस्तै केन्द्रीय सुरक्षा योजना पनि बन्दै गरेको उहाँले जानकारी दिनुभयो ।

सुरक्षाकर्मीलगायतको स्रोतसाधन जनशक्तिलगायतमा विषयमा अर्थ मन्त्रालयमा लेखेर पठाएको जानकारी दिँदै उहाँले स्वीकृत भएर आएलगत्तै औपचारिकरुपमा काम अघि बढ्ने जानकारी दिनुभयो । “गाडी भत्ता, अन्य बन्दोेबस्तीका सामान, म्यादी प्रहरी, सञ्चार सेट सबै लेखेर पठाएका छौँ”, प्रवक्ता पोखरेलले भन्नुभयो ।

हुँदा खाने र हुनेखानेका तीज

काठमाडौँ, १० भदौ :नाचगान गर्ने, मीठोमसिनो खाने र साथी सङ्गिनीसँग भेटघाटमा भलाकुसारी गरेर मनाइँदै आएको परम्परागत तीज भड्किलो, उत्ताउलो र फेसनदार बन्दै गएको छ । तीज हिन्दू नारीहरुले मनाउँदै आएको प्राचीन तथा महत्वपूर्ण चाड हो ।

यो चाड भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान, मनोरञ्जन र महिलामैत्री वातावरणमा मनाइने गरिन्छ । महिला अधिकारकर्मी निर्मला श्रेष्ठका अनुसार वर्ष दिनमा एकपटक चार दिनसम्म मनाइने तीज वर्गीयरुपमा विभाजन भएको स्वीकार्नुहुन्छ । समाजमा हुनेखाने वर्ग र हुँदा खाने वर्गले मनाउने तीज फरकफरकरुपमा मनाउन थालिएकामा उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ ।

मौलिक परम्परा र नेपाली पहिरनमा गाउँघरका चोक, विभिन्न चौतारा तथा शिव भगवानका मन्दिरमा मनाइँदै आएको तीज अहिले होटल तथा विभिन्न पार्टीप्यालेसमा उत्ताउलो पहिरन, झकिझकाउ गरगहना, अस्वस्थ भोजभतेर र विभिन्न प्रकृतिका पेयपदार्थमा रम्न रुचाउने एकाथरी महिला तथा हुँदा रमाइलो गर्ने महिलाबीच समाजमा मतभेद देखिन थालेका छन् ।

“हुनेखाने वर्गले हँुदा खाने वर्गलाई सहयोग गर्नु भनेको समाजवादोन्मुख समाज वा राष्ट्रको परिकल्पना हो”, अगुवा नेत्री प्रतिभा सुवेदीले भन्नुभयो, “संस्कार र संस्कृति देखासिकी र छाडा चरित्रले मनाउनु हुँदैन, परम्परागत र सालिनतापूर्वक पारस्पारिक सद्भाव फैलिने गरी मनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

तीजको वास्तविकस्वरुप परिवर्तन भएको छ । संस्कृतिका जानकार ज्ञानकाजी मानन्धरले भन्नुभयो, “आप्mना मौलिक पहिचान र परम्परालाई बिर्सेर तीज तडकभडक तथा रङ्गीविरङ्गीरुपमा देखिन थाल्नु संस्कृतिमाथिको बज्रपात हो ।” पहिलेका तीजमा पुराना तथा मौलिक एवं पीडादायी मर्मस्पर्शी गीतका भाषा सुनिन्थे ।

अन्याय, अत्याचार, विकृति, विसङ्गति, हेलाहोचो, विभेदपूर्ण व्यवहार, आरोप, अनावश्यक पीडा, दुःखकष्ट र विरहका गीत मेलापाता, पहाडका फाँट र घाँसपात गर्न जाँदा वनपखेराबाट गुञ्जिन्थ्यो । आजकाल वीरहका गीत पहाडका फाँट, मेलापाता र वनपखेरामा होइन, होटल तथा पार्टीप्यालेसमा फरक ढङ्गले सुन्न सकिन्छ । आजकाल तीज मनाउन स्थानीय सहकारी तथा अन्य सङ्घसंस्था एवं राजनीति दलका नेताहरुले आर्थिक सहयोग गर्ने गरेको पाइन्छ । विश्वका हरेक देशका आआप्mनै संस्कृति÷वेषभूषा तथा परम्परा हुन्छन् । मौलिक परम्परा राज्यका अथाह सम्पत्ति हुन् ।

तिनीहरुको संरक्षण÷सम्वद्र्धन गर्नु सबै नागरिकको कर्तव्य हुन्छ । पछिल्लो समय अन्यत्रका संस्कृतिको नक्कल गर्ने तथा अरुको देखासिकी गर्ने चलनले तीजको मौलिकतामा आघात पुगेको स्वयं महिला स्वीकार्नुहुन्छ । तीज भाद्र शुक्लबाट सुरु भए पनि भोजभतेर, नाचगान, एक हप्ताबाट सुरु भइरहेका छन् । जो संस्कृतिका नाममा विकृति हो । हुनेखाने वर्गले एकहप्तासम्म तीज मनाउँदै आएका छन् । हँुदाखाने मीठो खानेकुरा खान, राम्रो लुगा लगाउन र साथीभाइसँग भेटघाट गरौँला भन्दै आउँदो तीजको गणना गर्दै बसेका छन् ।

शिक्षिका दुर्गा थापाका अनुसार हाम्रा आम ले मनाउने तीज र अहिले हामी जस्ता आधुनिक महिलाले मनाउने तीजमा व्यापक फरक छ । “पहिलेका आमालाई एक छाक मीठो मसिनो खान मुस्किल थियो, वर्ष दिनमा एकपटक माइत÷मावला जान पाउँदा अति खुसी हुन्थे, राम्रो पहिरन मुस्किलले प्राप्त हुन्थ्यो, वर्ष दिनमा एकपटक माइतीतर्फका साथीसङ्गिनीलाई भेट्न पाउँदा अति खुसी हुन्थ्यौँ ।” ८२ वर्षीया महिला गोपिनी कार्कीले भन्नुभयो ।

पहिलेका महिलालाई घरायसी कामकाजको बोझबाट प्रायः फुर्सद मिलाउन हम्मेहम्मे पर्र्दथ्यो । वर्षदिनका लागि एकदिन तीजमा मीठोमसिनो खानुपर्छ भन्दै जोहो गरेर छुट्याउने चलन थियो । वर्षदिनमा एकदिन तीजका लागि माइत जान पहिले नै सासूससुरा र आप्mनो पतिलाई खुसी राख्नुपर्दथ्यो । पछि आफैँले गनुपर्ने कामको चाजोपाँजो स्वयं आफैँले मिलाएर हिँड्नु पर्दथ्यो ।

समानुपातिकतर्फ दल दर्ता सुरु

काठमाडौँ, १० भदौ : आगामी मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको दल दर्ता प्रक्रिया सुरु भएको छ ।

निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार आज पहिलो दिन प्रतिनिधिसभातर्फ २९, प्रदेश नं. १ मा २५, मधेस प्रदेशमा २७, बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा २५, लुम्बिनी प्रदेशमा २६, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २३ दल दर्ता भएका छन् ।

यो प्रणालीका लागि आयोगले निर्वाचन अधिकृतको कार्यालय आयोगको कार्यालयमा तोकेको छ । आयोगले प्राप्त निवेदनमध्ये प्रतिनिधिसभातर्फ पहिलो हुने, निर्वाचित हुने प्रणालीतर्फ ८७ दलले भाग लिन पाउने गरी क्रम निर्धारण गरिसकेको छ ।

डान्सबार र दोहोरीमा जान्थ्यो सक्कली बोतलको नक्कली मदिरा

काठमाडौँ, १० भदौ  : विभिन्न ब्राण्डका सक्कली बोतलमा नक्कली रक्सी (मदिरा) राखेर एक समूहले उपत्यकाका डिस्को, डान्सबार, दोहारी तथा नाइट क्लबमा बिक्री गर्ने गरेको खुलेको छ । उनीहरूले पुरानो स्टक सामान भएको भनी सक्कली ब्राण्डका मदिराको बजार मूल्यभन्दा एक वा दुई हजारसम्म छुट दिएर त्यसरी नक्कली रक्सी बिक्री गर्ने गरेको पाइएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले यसरी नक्कली रक्सी बनाएर बिक्री वितरण गर्दै आएका पाँचलाई पक्राउ गरी अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा दोलखाको कालिञ्चोक घर भई काठमाडौँ बस्ने २४ वर्षका हरि ओली, सोही जिल्लाको भीमेश्वर घर भइ भक्तपुर बस्ने भगवान बस्नेत, सोही जिल्ला घर भइ काठमाडौँको महाबौद्ध बस्ने विशाल ओली, रामेछाप घर भइ काठमाडौँको मूलपानी बस्ने मनोज खत्री र सोही जिल्ला घर भइ काठमाडौँको ठमेल बस्ने गोपी श्रेष्ठ रहेका छन् ।

काठमाडौँको कोटेश्वरमा विभिन ब्राण्डको नाममा नक्कली रक्सी बनाइ बिक्री वितरण हुने गरेको सूचनाको आधारमा यही ७ गते साँझ खोजतलासमा निस्किएको प्रहरी टोलीले घटनामा संलग्न हरि ओलीलाई पक्राउ गरेको थियो । उनको कोठा खानतलासी गर्दा महँगो ब्राण्डका चार कार्टुन सिलप्याक मदिरा बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो ।

बोहराका अनुसार उनीसँगको सोधपुछका क्रममा उक्त मदिरा उत्पादन, भण्डारण, बिक्री वितरण गर्ने कार्यमा अन्य केही व्यक्ति पनि संलग्न भएको पाइएपछि थप तीनलाई नियन्त्रणमा लिइएको थियो । उनीहरूको समेत बयानका आधारमा प्रहरीले भक्तपुरको चाँगुनारायण–२ दुवाकोटबाट उत्पादनकर्ता भगवान् बस्नेतलाई पक्राउ गरिएको बोहराले आज पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उनी त्यहाँ नक्कली रक्सी उत्पादन कार्यमा खटिएका पाइएको छ ।

उनको फ्याक्ट्रीबाट सिलप्याक गरिएको सयौँ बोतल नक्कली मदिरासहित खाली बोतल, बिर्काे, आन्तरिक राजस्व विभागबाट जारी भएको स्टिकर तथा मदिरामा मिसानउन प्रयोग गर्ने केमिकल, घोल्न प्रयोग गरिने बाल्टी तथा अन्य भाडावर्तनसमेत बरामद गरिएको छ । सस्तो खालका मदिरा खरिद गरी त्यसमा भएको आन्तरिक राजस्व कार्यालयको स्टिकर उप्काएर महङ्गो मूल्य पर्ने बाण्डेड मदिराका बोतलमा टाँस गरी नक्कली मदिरा हालेर सिलप्याक गरी बिक्री गर्ने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

नक्कली मदिरा बनाउँदा प्रयोग गर्ने केमिकलको बारेमा अनुसन्धान गर्न बाँकी नै रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्तरगतको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।

क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

काठमाडौँ, १० भदौ : नेपाल प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने धनकुटा चौबिसे गाउँपालिका–५ घर भई हाल काठमाडौँको भीमसेनगोला बस्ने ३८ वर्षीय शान्तकुमार देवानलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कार्यालयका सूचना अधिकृत दुर्गाराज रेग्मीले क्रोएसिया पुग्नका लागि प्रतिव्यक्ति रु सात लाख लाग्छ र तलब रु एक लाख हुन्छ भनी विभिन्न व्यक्तिसँग रु दुई लाख रकम लिएर सम्पर्कविहिन भएका देवानलाई काठमाडौँको कागेश्वर मनोहराबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

वैदेशिक रोजगार विभागले ठगी गरी फरार देवानलाई पक्राउ गरी उपस्थित गराइदिनुहुन भनी पत्राचार गरेको आधारमा पक्राउ गरिएको हो । पक्राउ देवानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको सूचना अधिकृत रेग्मीले बताउनुभयो ।

प्रहरी जवान आधारभुत तालिम ६/२०२ औं समूहको दीक्षान्त समारोह सम्पन्न

वाग्मति, ९ भदौ । बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा सञ्चालित प्रहरी जवान आधारभूत तालिम ६/२०२ औं समूहको दीक्षान्त समारोह आजे बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
समारोहमा प्रहरी नायव महानिरिक्षक बज्राचार्यले उत्कृष्ट प्रशिक्षार्थी प्रहरी जवानहरुलाई पुरस्कार वितरण तथा तालिम प्रशिक्षणको क्रममा महत्वपुर्ण योगदान पुर्याउने प्रशिक्षकहरुलाई पुरस्कार वितरण गर्नुभयो ।

उहाँले नेपाल प्रहरी संगठनको महत्वपूर्ण जिम्मेवारी निर्वाहको लागि लगनशिल, कर्मठ र योग्य प्रहरी कर्मचारीको रुपमा प्रहरीले पालना गर्नु पर्ने जुनसुकै चुनौती एवंम् जिम्मेवारीका साथ दिक्षित भईजाने प्रशिक्षार्थी प्रहरी जवानहरुलाई आगामी कार्य सफलताको शुभकामना एवंम् हार्दिक बधाई व्यक्त गर्नु भयो ।

उहाँले प्रशिक्षणको क्रममा सिकेका ज्ञान, कौशल, सिप, कलालाई अनुशासित एवंम् व्यवसायिक आचरण भित्र रहेर तोकिएको जिम्मेवारी पुरा गरी कार्यक्षेत्रमा कार्यसम्पादन पुरा गर्ने क्रममा आफूलाई संयमित राख्दै पारदर्शी र निष्पक्ष कार्यशैलीकासाथ व्यावसायिक धर्म निर्वाह गर्नु पर्ने बताउनुभयो ।

समारोहमा यस केन्द्रका प्रहरी वरिष्ठ उपरिक्षक मोहन प्रसाद पोखरेलले सपथ ग्रहण गराउनुको भएको थियो । दीक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानहरुले तालिममा हासिल गरेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा प्रतिबद्ध भएर कार्यान्वयन गर्ने तथा प्रहरी संगठनको मान प्रतिष्ठा उच्च वनाउन सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी तालिम केन्द्रका तालिम संयोजक प्रहरी नायव उपरीक्षक नारायण रंजितकारले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्दै, प्रशिक्षण कार्यक्रमको दौरानमा प्रशिक्षार्थीहरुले प्रदर्शन गरेको उच्च कोटिको अनुशासन, अदम्य साहस, सामुहिक भावनाको विकाश, लगनशिलता, सकरात्मक सोच, अभिरुची एवं धैर्यताकासाथ तालिम सम्पन्न गरी आज दीक्षित हुने सम्पूर्ण प्रहरी प्रशिक्षार्थी जवानहरुलाई राष्ट्र र नागरिक सेवालाई जीवनको लक्ष्य ठानी बफादार र सच्चा प्रहरीको रुपमा आफूलाई चिनाउन प्रहरी जवानहरु सफल हुन आग्रह गर्नु भयो ।

तालिममा सर्वप्रथम, अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी जवान शोभाकान्त पासवान, सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी जवान किरण गुरुङ, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी जवान चित्र कुमार रोका, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी जवान यम कुमार माझि, शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्रहरी जवान रामजित राई, चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी जवान राकेश राई र प्रहरी युक्ति तथा कारबाही प्रथम हुने प्रशिक्षार्थी प्रहरी जवान अनिश राई रहेका छन् ।

दीक्षान्त समारोहमा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारी, अधिकृतहरु, जन प्रतिनिधीहरु, सामाजिक संघ संस्थामा आवद्ध व्यक्तित्व एवंम् पदाधिकारीहरु, अमर प्रहरी परिवार एवंम् पुर्व प्रहरी कर्मचारीहरु, स्थानिय समाजसेवी, सकल दर्जाका प्रहरी कर्मचारीहरु, प्रशिक्षार्थीहरुका अभिभावकहरु तथा अन्य आमन्त्रित व्यक्तित्वको उपस्थिति रहेको थियो ।

गठबन्धन दलहरुले गरे सिट बाँडफाँटमा आफ्नो दाबी

काठमाडौँ, ९ भदौ : पाँच दलीय सत्तारुढ गठबन्धन दलहरुले चुनावी तालमेलका लागि आआफ्नो दाबी पेश गरेका छन् । गठबन्धनको कार्यदलसहित शीर्ष नेताहरुको बैठक आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

बैठकमा कार्यदलका तर्फबाट नेपाली कांग्रेसले १००, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभयो । सिट बाँडफाँटका सम्बन्धमा लामो समयदेखि छलफल भइरहेका सन्दर्भमा आज कार्यदलमा रहेका सबै दलले आआफ्नो दाबी गरेको र त्यसपछि कुन निर्वाचन क्षेत्र हो भनी सोबारेमा समेत छलफल भएको उहाँले बताउनुभयो ।

भोलि अपराह्न ४ बजे बस्ने गठबन्धनको बैठकमा यस बारेमा विस्तृत छलफल गरी शीर्ष नेतृत्वसमक्ष प्रतिवेदन पेश गरिनेछ । यसअघि आज बिहान बसेको गठबन्धनका शीर्ष नेतासहितको बैठकले सिट बाँडफाँटका सम्बन्धमा एक सय ६५ वटै निर्वाचन क्षेत्रको अवस्थाको अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको थियो ।

गुँला बाजासहित पाँच दीपकंरको नगर परिक्रमा सम्पन्न, दीपंकर पाँच पाण्डब होइनन्

भक्तपुर, ९ भदौ : नेपाल संवत् ७७५ मा मल्ल राजा नरेश मल्लको शासनकालमा जयदेव बज्राचार्यले प्रचलनमा ल्याएएको पञ्चदान पर्व आज साँझ भक्तपुरमा सम्पन्न भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्साउने पञ्चदान पर्व आज बौद्धमार्गीहरुले भव्य रुपमा मनाएका हुन् ।

आज बिहान पाँच दीपंकरहरुलाई भक्तपुर नपा–९ सूर्यमढीस्थित आदिपद्म महाविहारमा भेला गराएर त्यहाँ विशेष पूजा सम्पन्न गरेपछि पाँच दीपंकर बुद्धलाई बाजागाजासहित भक्तपुर नगरका १० वटै वडाका टोल–टोलमा परिक्रमा गराइएको छ ।

भक्तपुर नगरपालिकाको क्वाठडांैस्थित प्रशन्नशील महाविहार, गोल्मढीको झौरबही, साकोठाको चतुब्र्रम्ह महाविहार, इताछेंस्थित थथुबही अर्थात् जयकीर्ति विहार र भार्वाचोको कुथुबही अर्थात् बौद्ध समकृत विहारमा रहेका पाँच दीपंकरहरुलाई भक्तपुर नगर परिक्रमा गराइएको हो ।

यस पर्वमा बौद्धमार्गी बुद्ध धर्मका अनुयायी बज्राचार्य, बुद्धाचार्य, शाक्यलगायतले आफ्नो वरपर रहेका विभिन्न विहार, बही, चोक र घरमा दानशाला बनाई अन्न, फलफूल र दक्षिणा दान दक्षिणा लिन दिनभर भिक्षाटनमा सहभागी भएका हुन् ।

काठमाडौं उपत्यका र अन्यत्र मनाइने पञ्चदान पर्वभन्दा भक्तपुरको पञ्चदान पर्व फरक र विशेष किसिमको रहेको स्थानीय देवचन्द्र बज्राचार्यले जानकारी दिनु भयो । भक्तपुरमा ऐतिहासिक तथा पुरातात्विक महत्व रहेको पाँचवटा महाविहारमा विराजमान दीपंकर बुद्धहरुलाई नगर परिक्रमा गराइएर पञ्चदान पर्व मनाइएको उहाँले बताउनु भयो ।

दीपंकर बुद्धसँगै बौद्धमार्गीहरु बौद्ध परम्पराअनुसार पिण्डपात्र (गुलुपा) हातमा लिएर भिक्षाटनमा सहभागी भएको बज्रचार्यले जानकारी दिनु भयो । भक्तपुर नगरको पूर्व आदिपद्म महाविहारबाट सुरु भएको पूजा नगरको पश्चिम थथुबहीमा पुगेर सम्पन्न गरिएको छ । आज अपरान्ह पाँच दीपंकरहरुलाई टौमढीमा एकै पटक भेला गराई संयुक्त पञ्चदान पर्व मनाएर सम्पन्न गरिएको उहाँले बताउनु भयो । टौमढीस्थित पश्चिम डबलीमा पाँचवटै दीपंकरलाई लस्करै राखेर विभिन्न बाजागाजा बजाएरसंयुक्त पञ्चदान गरिएको उहाँले बताउनु भयो ।

भक्तपुरको पञ्चदानको प्रमुख विशेषता गुँलाबाजा बजाउनु नै हो भन्दै स्थानीय पुष्परत्न शाक्यले टौमढीमा बौद्धमार्गीहरुले दान गाथा र स्त्रोत्र वाचनसँगै गुँला बाजा बजाउने परम्परा रहेको बताउनु भयो । बौद्धमार्गीहरुको पञ्चदान पर्वमा मात्रै बजाईने गुँला बाजा दीपंकर बुद्ध यात्राको क्रममा परम्परागत गुँला धाः बाजा, प्वंगाबाजा, दाफा भजन श्रृङ्गभेरी बाजाको सांगीतिक समूहहरुले आआफ्नो बाजाको प्रदर्शनी गर्ने गरिएको छ । विहार र बहीहरुमा संरक्षित बौद्ध सम्पदाहरुको प्रदर्शनसमेत गर्ने परम्परा रहेको उहाँले बताउनु भयो ।

बौद्धमार्गीहरुले आफू बुद्धका अनुयायी भएको कारण आफूले आर्जन गरेको आयको केही अंश दानका लागि राख्ने र सोही दान पञ्चदान पर्वमा दान गर्ने प्रचलन रहँदै आएको शाक्यले बताउनु भयो । देवचन्द्र बज्राचार्यले पाँच दीपंकर बुद्धलाई पाँच पाण्डब भनेर बिभिन्न समाचारदेखि व्यक्तिहरुले चर्चा गरेकोमा गुनासो गर्दै यो पाँच पाण्डब नभई पाँच दीपंकर भएको बताउनु भयो । भक्तपुर नगरपालिकासँगै भक्तपुरकै मध्यपुर थिमि, काठमाडौं, कीर्तिपुर, काभ्रेको नाला, बनेपा र चीनको ल्हासामा समेत पञ्चदान पर्व मनाइने प्रचलन रहेको छ ।