मोटरसाइकल चोरी एवं बलात्कार अभियोगमा पाण्डे र थापा पक्राउ

भक्तपुर, २ भदौ : एक २५ वर्षीया महिलालाई बलात्कार गरि फरार रहेका सूर्यविनायक नगरपालिका–८ का ५० वर्षीय चण्डेश्वर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

गत साउन २५ गते बलात्कार गरि फरार भएका थापालाई महानगरीय प्रहरी बृत्त थिमिको टोलीले मध्यपुरथिमि नगरपालिका–४ नयाँठिमीबाट पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो । आजै प्रहरीले पक्राउ परेका थापा बिरुद्ध कानूनी प्रक्रिया अगाडि बढाउदै थप अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनु भयो ।

त्यसैगरि भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित रानीपोखरीबाट प्रदेश ३–०२–०१३ प. २६९५ नम्बरको मोटरसाईकल चोरी गरेको अभियोगमा प्रहरीले मोटरसाइकलसहित काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१३ घरभई मध्यपुरथिमि –४ नयाँ थिमि बस्ने २२ वर्षीय अनिष पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका पाण्डेलाई आजै जिल्ला अदालत भक्तपुरमा चोरी कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान सुरु भएको प्रनाउ पाण्डेले जानकार िदिनु भयो ।

नागरिकता विधेयक जस्ताको त्यस्तै पारित, अब के हुन्छ ?

काठमाडौँ, २ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाउनुभएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयकमाथि भएको छलफलमा सांसदहरुले पक्ष र विपक्षमा आफ्ना धारणा राख्नुभएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को मागबमोजिम विधेयक पारित गर्नका लागि मतदान भएको थियो । बैठकमा उपस्थित १९५ सांसदमध्ये उक्त विधेयक पारित गर्ने पक्षमा १३५ र यथास्थितिमा विधेयक पारित गर्न नहुने पक्षमा ६० मत परेको थियो भने मत दिन्न भन्ने पक्षमा कुनै पनि मत परेन ।

यसअघि, उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी गत साउन १६ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो । राष्ट्रपतिले नेपालको संविधानबमोजिम सङ्घीय संसद्बाट पुनःविचार हुन आवश्यक देखिएको उल्लेख गर्दै आठ बुँदासहित साउन २९ गते संसद्मा फिर्ता पठाउनुभएको थियो । प्रतिनिधिसभाबाट पुनः पारित उक्त विधेयक अब राष्ट्रियसभामा पठाइने छ ।

राष्ट्रियसभाको यही भदौ ६ गते बस्ने पहिलो बैठकमा राष्ट्रपतिको विधेयकमाथि पुनःविचार गरियोस् भन्ने सन्देश टेबल हुने सङ्घीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । त्यसपछिको बैठकमा प्रतिनिधिसभाबाट प्राप्त विधेयकसम्बन्धी सन्देश टेबल गरिन्छ र सो विधेयकमाथिको छलफल प्रक्रिया प्रारम्भ हुने उहाँले बताउनुभयो ।

राष्ट्रियसभामा छलफल भई विधेयक पारित भएपछि सन्देशसहित प्रतिनिधिसभामा पठाइने र सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाइने छ । पहिलो पटक पुनःविचार गर्नका लागि राष्ट्रपतिले नागरिकता विधेयकलाई सङ्घीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा०मा फिर्ता पठाए पनि अब पुनःविचारका लागि ठाउँ नभएको र विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

वरिष्ठ अविधक्ता तथा संविधानविद् डा चन्द्रकान्त ज्ञवालीका अनुसार दुवै सदनबाट पारित भएर राष्ट्रपतिसमक्ष पेश भएपछि प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । “नेपालको संविधानमा एकपटक राष्ट्रपतिले कुनै विधेयक संशोधन गर्नुपर्ने भएमा पुनःविचार गर्न पाउने व्यवस्था छ”, उहाँले भन्नुभयो, “अब राष्ट्रपतिलाई न्यायपालिकाबाट राय लिने वा अन्य कुनै पनि प्रावधान छैन, प्रमाणीकरण गर्नैपर्ने कानूनी व्यवस्था छ ।”

नेपालको संविधानअनुसार कुनै पनि विधेयक दुई पटक पुनःविचार गर्न नपाइने व्यवस्था रहेको छ । विधेयकलाई संसद्ले चाहे जस्ताको तस्तै वा संशोधनसहित पारित गरेर पठाए भने राष्ट्रपतिलाई रोक्ने ठाउँ देखिँदैन । दोस्रो पटक पारित गरिएको कुनै पनि विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ । संविधानको धारा ११३ को उपधारा ९४० मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनःविचार गरी त्यस्तो विधेयक प्रस्तुतरूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने कानूनी व्यवस्था छ ।

आस्थाको धरोहर बन्दै संगमेश्वर महादेव

-रमेश गिरी

भक्तपुर, २ भदौ :मध्यपुरथिमि नगरपालिका–५ संगम कोलोनी, कमेरोटार, वडा नं. ९ मा पर्ने राधेराधे, निकोसेरा लगायतका बस्तीको बासिन्दाका लागि संगमेश्वर महादेव मन्दिर आस्थाको धरोहर बनेको छ ।

नेपालका ७७ वटै जिल्लाका मानिसको बसोबास रहदै आएको यस क्षेत्रका बासिन्दालाई महाशिवरात्री, तीज, एकादशी, अक्षय तृतिया, साउनको सोमबारमा मात्रै होइन हिन्दू धर्मावलम्बीहरुका लागि दैनिक महादेवको पूजा एवं दर्शन गर्नु पर्दा टाढा शिव मन्दिर धाउनु पर्ने अबस्थाको अन्त्य भएको छ ।

केही वर्ष अगाडिसम्म पातलो बस्ती, मानिसको चहलपहल निकै कम हुँदा यहीँ मन्दिर पनि थिएन । यहाँका बासिन्दाले शिवको पूजा गर्नु परे भीड छिचोल्दै पशुपति नै जाने गर्दथे । तर अहिले समय बदलिएको छ । राधे राधे, भाटभटेनी क्षेत्रले दोश्रो ठमेलको पहिचान बनाउदै बाक्लो घना बस्ती बिकास भएसँगै संगमेश्वर महादेव मन्दिर यहाँका सबैको धार्मिक गन्तव्य बन्न थालेको छ ।

कमेरोटार जग्गा एकीकरण आयोजना भित्रै सडकमै जोडिएको खाली सार्वजनिक जग्गामा महादेव मन्दिर निर्माण गर्न २०६० पछाडी यहाँको पुरानो बस्ती एडम्स थिमिले पहल गरेपछि मन्दिर निर्माण कार्य अगाडि बढ्यो । एडम्स थिमिका नारायण घिमिरेको नेतृत्वमा मन्दिर स्थापना कार्य अगाडि बढेको संगमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास संस्थाका अध्यक्ष मोहनबीर सिंह प्रधान बताउनु हुन्छ ।

अध्यक्ष प्रधान भन्नुहुन्छ, “मन्दिर निर्माणलाई पूर्णता दिन २०७४ मा महायज्ञ लगायौँ, २ नं. क्षेत्रका सांसद महेश बस्नेतले सांसद कोषबाट रु. पाँच लाख हालिदिनु भयो, मध्यपुरथिमि नगरपालिकाले दुई पटक गरेर रु. १८ लाख दियो, महायज्ञबाट करिब रु. ४१ लाख रुपैया जोगायौँ, स्थानीय दाताहरुबाट धेरै रकम संकलन भयो, यसपछि मन्दिर सत्तललगायतका संरचना निर्माणलाई पूर्णता दिने कार्य सुरु भयो ।”

पाँच आना क्षेत्रफलमा परम्परागत शैलीमा सत्तल बनाईयो, सुरुमा एक तलाको बनाउने भनिए पनि आवश्यकता अनुसार अहिले तीन तला बनेको छ । शिवको आकर्षक मन्दिर निर्माण भएको छ । अध्यक्ष प्रधानले भन्नुभयो, “कुन महादेवको मन्दिर बनाउने भन्ने छलफलमा मैले नै संगम कोलोनीमा संगमेश्वर महादेव मन्दिर बनाउने प्रस्ताव गरेँ, सबैको समर्थन भयो, त्यसपछि नवराज कसपालको संयोजकत्वमा तीन सदस्यीय मन्दिर निर्माण कमिटी गठन गरियो, मन्दिर निर्माणको क्रममा रु. एक करोड ५० लाख भन्दा बढी खर्च भएको छ ।”

मन्दिरमा तामा र पित्तलको छानो हालियो, परम्परागत शैलीमा निर्माण भएको सत्तलमा काठको आकर्षक झ्याल हालियो । मन्दिरमा पर्खाल र फलामको बार, गेट हालेर सुरक्षित गर्ने, मन्दिर भित्र अन्य साना संरचनाहरु निर्माण गरियो । मन्दिर निर्माणका अझै केही योजनाहरु सम्पन्न गर्न बाँकी छ । स्थानीय दाताहरु, निर्माण समिति, संस्थाका सदस्यहरुलगायत स्थानीयबाट संकलन भएको रकमबाट मन्दिर निर्माण काम अगाडि बढाउदै मन्दिर निर्माणको अधिकांश संरचनालाई पूर्णता दिएको उहाँ बताउनु हुन्छ ।

गरे के हुदैन र ? भन्ने उदाहरण यहाँका बासिन्दाले प्रस्तुत गरेको बताउनु हुन्छ, संगम कोलोनीका स्थानीयवासी परशुराम कार्की । यो मन्दिर निर्माण भएसँगै अहिले यहाँका बासिन्दालाई धार्मिक कार्य गर्न निकै सहज भएको बताउनु हुन्छ । कार्की भन्नुहुन्छ, “तराई, पहाड, हिमाल तीनै भेगका ७७ जिल्लाका मानिसहरु यहाँ बस्ने भएपछि बस्ती पनि निकै बाक्लो भएको छ । यहाँ सबैको धार्मिक कार्यहरु गर्ने, साउनको सोमबार, महाशिवरात्री, जनैपूर्णिमा, अक्षय तृतीया, तीज, एकादशी लगायतका विभिन्न तिथि एवं पर्वहरुमा अचेल मेलानै लाग्ने गरेको छ ।”

यस मन्दिरमा संगम कोलोनीका मात्रै हैन सडक पारी, राधे राधेका बस्ती, निकोसेरा, चाँगुनारायण नपा दुवाकोटसम्मका बासिन्दाहरु यहाँ पूजा, दर्शन तथा धार्मिक कार्य गर्न आउने भएपछि सबैको आस्थाको धरोहर बनेको उहाँ बताउनु हुन्छ । संस्थाले मन्दिरमा मूल गुरु लोकप्रसाद भण्डारीलाई राखेको छ भने मन्दिरको रेखदेख गर्ने, सरसफाई गर्ने र दैनिक नित्य पूजा तथा आरती गर्नका लागि पूजारी टीकाराम घिमिरेलाई राखेको छ ।

संस्थाका अध्यक्ष प्रधानले संगमेश्वर महादेव मन्दिरमा अचेल हरेक सोमबार साँझ ६ बजेबाट भजन र साँझ ७ बजे विशेष आरती हुने गरेको बताउनु हुन्छ । सोमबारको बिशेष आरतीको चाहना राख्ने धेरै भएपछि आरतीका लागि पालो कुर्नु पर्ने उहाँको भनाइ छ । मन्दिरको आयोजनामा सामुहिक ब्रतबन्ध, सामुहिक गुन्यू चोलो, ईही (बेलबिवाह) को आयोजना गर्ने, मन्दिरका बाँकी संरचनाहरु पुरा गर्ने तयारीमा संस्था लागेको उहाँ बताउनु हुन्छ ।

मन्दिरमा मात्रै होईन देशका बिभिन्न जिल्लाबाट बसाई सरेर आएका संगम कोलोनीका बासिन्दाबीच एकता र ममता पनि उत्तिकै छ । तराई, पहाड र हिमाली भेगबाट आएका सबै जातजाति, भाषा, धर्म, संस्कृतिबीच यहाँ एकता छ । यहाँका बासिन्दाहरुबीचको एकताले एकलाई केही पर्दा सबै कोलोनीका बासिन्दाले सहयोग गर्छन् । एकको जातलाई अर्कोले, एकको धर्म, संस्कृतिलाई अर्कोले सम्मान गर्दै एकताको पहिचानलाई उचो रुपमा कायम राख्न संगम कोलोनी सफल भएको छ ।

मनोहरा खोला पसे पछि सुकुम्वासी बस्तीको बिजोग

भक्तपुर, २५ साउन : गएराती परेको अविरल बर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छभने जिल्लाका बिभिन्न क्षेत्रमा पशु चौपायाहरु बगाएर क्षति पुर्याएको छ ।

मध्यराती १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको ८८० घरमध्ये करिब ८०० घर डुबानमा परेको रातीदेखिनै उद्धारमा खटिनु भएका वाग्मति प्रदेश खेलकुद विकास परिषदका सदस्य एवं भक्तपुर जिल्ला खेलकुद विसका समितिका पूर्व अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, “राती १२ बजे वाग्मति प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठले सुकुम्वासी बस्ती डुबानमा परेको जानकारी दिए पछि उहाँ सहित हाम्रो टोली रातीदेखिनै बस्तीमा पसेर उद्धारमा खटियौ, दुईवटा डोजर ल्याएर पर्खाल भत्काएर पानी बाहिर पठाउने र बस्तीको बासिन्दाको बिहानसम्म हामी उद्धारमै खटिएका छौ ।”

चाँगुनारायण उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनु भएका कासिछ्वाले मध्यराती बस्तीमा ज्यान जोगाउन भागाभाग मच्चिएको बताउदै कोही अरनिको राजमार्गको सडकमा आइपुगेका र कोही घरको छतमा बसिरहेको पाइएको बताउनु भयो । राती नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली पनि उद्धारमा खटिएको उहाँले जानकारी दिनु भयो ।

सुकुम्वासी बस्ती डुबानमा पर्दा घर भित्रका लत्ता कपडा, खाद्यान्न र अन्य सामानहरु नष्ट भएको, यहाँका कुखुरा र बंगुरहरु बगाएको तथा अहिले बिहान खानेकुरा समेत नभएकाले राहतको व्यबस्था गर्नु जरुरी रहेको उहाँले बताउनु भयो । बस्ती भित्रका बालबालिका र जेष्ठ नागरिक बढी मारमा परेको बताउदै उहाँले भन्नुभयो, “यहाँको अबस्था बिजोग छ, पानी पर्ने बित्तिकै बस्तीको बासिन्दा त्रासमा बस्नु पर्ने, सुकुम्वासी बस्तीको समस्या समाधानमा सरकारले चासो दिनु पर्ने अत्यावश्यक देखियो ।”

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजू पाण्डेले मध्यपुरथिमि नगरपालिका वडा नं. १ र २ का मनहरा नदीको सुकुम्वासी बस्तीमा भएको डुबानमा क्षतिको विवरण संकलन कार्य भइरहेको बताउनु भयो । उहाँले बस्तीमा लत्ता कपडा, खाद्यान्न र अन्य सामानमा क्षति पुगेको, पशु चौपायाहरु बगाएको तर मानवीय क्षति भने नभएको बताउनु भयो ।

उहाँले मनोहरा नदी किनारामा दिब्यश्वरी प्लानिङमा बस्ने अम्मर लामाको बंगुर फर्मबाट प्रहरीले ५०० वटा हाँ, २०० वटा बंगुर र २ वटा गाई उद्धार गरि सुरक्षित स्थानमा सारिएको जानकारी दिनु भयो । त्यस्तै मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खस्दा खोलाको धार परिवर्तन भई ८० वटा घर टहरामा पानी पसेको जानकारी दिनु भयो ।

सानोठिमी तर्फको मनोहरा नदी किनारमा सिन्धुली कमलामाई नगरपालिका–७ घर भई हाल सानोठिमी दिब्यश्वरी प्लानिङ स्थित टहरामा बस्ने पेमा तामाङको टहरामा रहेको २६ बोरा चामलमा क्षति भएको गिरीराज कुखुराको ४५ वटा चल्ला बगाएको जानकारी दिनु भयो । सुकुम्पासी बस्तीको क्षतिको बिवरण संकलन कार्य प्रहरीले गरिरहेको उहाँले बताउनु भयो ।

यता चाँगुनारायण नगरपालिका –४ मा मनोहरा खोला निलोपुल नजिक सुनसरी घरभई सोही स्थानमाा बंगुर फर्म सञ्चालन गरेका हरि राईको बंगुर फर्मबाट चार वटा बंगुर बगाएको प्रनाउ पाण्डेले जानकारी दिनु भयो । चांगुनारायण–१ दुवाकोट बेसी मनोहरा खोला किनारका २० वटा घर टहरामा पानी पसेको र एक टहरामा बस्ने चार जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको उहाँले जानकारी दिनु भयो । बाढी र पहिरोको जोखिम बढेकोले सचेत रहनु उहाँले आग्रह गर्नु भयो ।

 

 

एसईईमा चाँगुनारायणको गोल्डेन सुनगाभा बन्यो पहिलो

भक्तपुर, २३ साउन । चाँगुनारायण नगरपालिका भित्रका संस्थागत विद्यालयहरु मध्ये चाँगुनारायण–२, दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस बोर्डिङ स्कुल नगरपालिकामै उत्कृष्ट भएको छ ।

चाँगुनारायण नगरपालिका शिक्षा शाखाका अनुसार माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसईई) २०७८ को नतिजा अनुसार एसईई उत्तीर्ण विद्यार्थी एवं उनीहरुले प्राप्त गरेको अंकका आधारमा यो विद्यालय पहिलो र उत्कृष्ट भएको हो ।

चाँगुनारायण नगरपालिका भित्र माध्यमिक तहको पढाई हुने १४ वटासंस्थागत विद्यालयहरुको क्रम निर्धारण गर्ने क्रममा गोल्डेन सुनगाभाले ३.३६ जिपिए पाएर पहिलो भएको हो । चाँगुनारायण नगरपालिका शिक्षा शाखाका अनुसार नगरपालिका भित्र रहेका माध्यमिक तहका संस्थागत विद्यालयहरुले प्राप्त एसईईको नतिजा अनुसारको जिपिए यसप्रकार रहेको छ ।

गोल्डेन सुनगाभा इङलिस बोर्डिङ स्कुल, दुवाकोट जिपिए ३.३६, प्रज्ञा इंग्लिस स्कुल, दुवाकोट जिपिए ३.२९, फुलब्राइट स्कुल, दुवाकोट : जिपिए ३.२८, नवीन इंग्लिस स्कुल,  दुवाकोट जिपिए ३.२०, मित्रश्री पाठशाला, दुवाकोट जिपिए ३.१९, युनाइटेड प्रिप्यारोटरी इं स्कुल, झौखेल जिपिए ३.१६, आरक्षण नेशनल एकेडेमी जिपिए ३.११, नर्थइष्ट इंग्लिस स्कुल जिपिए ३.१०, साइनिङ इंग्लिस स्कुल जिपिए ३.०, एसएस सदन सेकेण्डरी स्कुल जिपिए २.९९, क्वालिटी इंग्लिस स्कुल जिपिए २.९५, द कन्ट्रिसाइड इंग्लिस स्कुल जिपिए २.८५, दीप सरस्वती इंग्लिस स्कुल जिपिए २.६४ र गणेश बोर्डिङ स्कुल, झौखेल जिपिए २.५५ रहेका छन् ।

डोलेश्वरमा तीर्थालु बोकेको बस दुर्घटना, १४ जना घाइते

भक्तपुर, २३ साउन : साउनको चौथो सोमबार आजे सूर्यविनायक नगरपालिका–८ सिपाडोलको प्रसिद्ध मन्दिर डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीय सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

डोलेश्वरबाट यात्रु बोकेर भक्तपुरतर्फ आउँदै गरेको बा. ३ ख. ३७८४ नम्बरको यात्रुबाहक बस आज वडा कार्यालय नजिकै सडकमै पल्टिदा १४ यात्रु घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो ।

डोलेश्वरबाट वडा कार्यालयतर्फ आउने क्रममा ओरालोमा बस आफै अनियन्त्रित भएर सडकमै पल्टिएको जानकारी दिदै उहाँले बसले एक ट्याक्सीलाई समेत ठक्कर दिदाँ सामान्य क्षति भएको उहाँले जानकारी दिनु भयो । बस पल्टिएपछि स्थानीय बासिन्दाले उद्धार गरि अस्पताल पठाएको वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

साँझ ६ बजे घाइतेको अबस्था बुझ्न डा. इवामुरा मेमोरियल अस्पताल पुग्नु भएका सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमिल्सिना, वडाध्यक्ष बस्नेतले घाइतेको अबस्थाकाबारेमा जानकारी लिनु भएको थियो । घाइते १४ जना मध्ये एक जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा, चार जनाको इवामुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिनु भयो ।

उहाँले घाइते मध्ये इवामुरा अस्पतालबाट पाँच जना र मध्यपुर अस्पतालबाट चार जनाको उपचार पछि घर पठाइएको जानकारी दिनु भयो । उपचाररत घाइतेहरुको अबस्था गम्भिर भने नरहेको चिकित्सकले जानकारी दिएको वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

नेपाललाई सभ्य र सुन्दर देशका रूपमा चिनाउनुपर्छ : सञ्चारमन्त्री

काठमाडौँ, २१ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी १० वर्षभित्रमा नेपाललाई दक्षिण एसियाकै धनी पुस्ताको रूपमा विकास गर्ने बताउनुभएको छ । बाल लेखिका गीत पछाईँद्वारा लिखित ‘प्रोटल’ नामक पुस्तकको आज विमोचन गर्दै सरकारका प्रवक्ता कार्कीले नेपालाई धनी मुलुकका रूपमा विकास गर्नका लागि नेपाली नागरिक समाज, साहित्य र कलाकारितालगायत सम्पूर्ण क्षेत्रको उत्तिकै भूमिका हुने बताउनुभयो ।

मन्त्री कार्कीले नेपाली साहित्यको क्षेत्रमा संरक्षण र विकासको निम्ति नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाललाई संसारमै सभ्य र सुन्दर देशको रूपमा चिनाउनुपर्ने उहाँको छ । अङ्गेजी भाषामा प्रकाशित उपन्यास ‘प्रोटल’ मा विज्ञानसम्बन्धी विषयलाई समावेश गरिएको छ ।

मन्त्री कार्कीले ‘प्रोटल’लाई अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउन नेपाल टेलिभिजनले सुरु गर्न लागेको ‘एनटिभी वल्र्ड’मार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहरी विकासमन्त्री मेटमणि चौधरीले नेपाली साहित्यिक क्षेत्रले समाज परिवर्तनमा पु¥याएको योगदानको कदर गर्दै साहित्य क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

त्रासदीपूर्ण घटनाको ७७ वर्ष : अझै रोइरहेछ हिरोसिमा र नागासाकी

काठमाडौँ, २१ साउन  : सन् १९४५ अगष्ट ६ तारिखको दिन बिहान ८ बजेर १५ मिनेट बज्दै थियो । जापानी नागरिक आ–आफ्नो दैनिकीमा व्यस्त थिए । त्यतिबेलै अमेरिकी बमबर्सक विमानले हिरोसिमाको आकाशबाट ‘लिटिल बोय’ खसाल्यो । निमेषमै हिरोसिमा खण्डहर बन्यो । हिरोसिमामा ३०० डिग्री तापक्रम र विकीरण फैलियो । लाखौँले ज्यान गुमाए, हजारौँ घाइते, अङ्गभङ्ग भए ।

भौतिक संरचना ध्वस्त भए । हिरोसिमामा दुई लाख मानिसको मृत्यु भयो । हिरोसिमा तहसनहस भएको तीन दिनपछि अगष्ट ९ तारिखका दिन बिहान ११ बजेर २ मिनेट जाँदा नागासाकी सहरमा पनि अर्को पारमाणविक बम ‘फ्याट म्यान’ खसालियो । नागासाकी निवासीले पनि हिरोसिमाकै नियति व्यहोर्न बाध्य भए । लाखौँको मृत्यु भयो । हजारौँ घाइते भए । सहर क्षणभरमा खरानी बन्यो । विस्फोटपछि मानसिका शरीरका छाला खस्न थाले ।

नागासाकीमा मात्रै एक लाख ४० हजार बढी मानिसले ज्यान गुमाए । बम विस्फोट भएको तीन किलोमिटर आसपासको क्षेत्र खरानी भयो । विज्ञान प्रविधिको विकासबाट प्राप्त उपलब्धिबाट मानवता हारेको उक्त त्रासदीपूर्ण घटना भएको ७७ वर्ष पूरा भएको छ । तर समकालीन विश्वले न सो विध्वंशलाई बिर्सन सकेको छ । न त्यसको भयबाट मुक्त हुन नै ।

विश्वबाट पारमाणिवक हतियार निशस्त्रीकरण गर्नुपर्ने आवाज उठिरहेको भए पनि त्यस्ता हतियार भण्डारण गर्ने राष्ट्रले त्यसलाई सम्बोधन गरेका छैनन् । अझै पनि विश्वका विभिन्न मुलुकसँग २४ हजार बढी पारमाणिवक हतियार रहेको सार्वजनिक भएका छन् । उक्त घटनाको स्मृतिमा विश्वभर विभिन्न कार्यक्रम गरिएको छ ।

नेपाल अफ्रो–एसियाली जनएकता सङ्गठनले ७७औँ हिरोसिमा–नागासाकी समृति दिवसका अवसर पारेर आज आयोजित कार्यक्रममा सहभागीले अझै पनि पारमाणिवक हतियार निसस्त्रीकरण गर्ने विषय कागजमा मात्रै सीमित भएकाले जुनसुकै बेला त्यस्ता हतियारको प्रयोग हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय, रसायनशास्त्र विभागका प्रा डा मोती भुसालले हिरोसिमा र नागासाकी आक्रमणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पारमाणविक शक्ति सम्पन्न राष्ट्रबीच युद्धको अवस्था सिर्जना भए त्यसले विश्व समुदायलाई नै प्रभावित पार्ने बताउनुभयो । भौगोलिकरूपमा नेपालका छिमेकी मुलुकले पनि पारमाणविक हतियार भण्डारण गरिरहेको र प्राविधिक चुहावट भए मात्रै नेपालले ठूलो क्षति व्यहोर्नुपर्ने बताउनुभयो ।

“नेपालसँग भौगोलिक रुपमा नजिक रहेका चीन, भारत र पाकिस्तान पनि पारमाणविक हतियारले युक्त छन्”, उहाँले भन्नुभयो, “कुनै कारणले चुहावट भए मात्र पनि त्यसको विकिरणले नेपाललाई ठूलो क्षति पु¥याउन सक्छ, यसतर्फ सबैको ध्यान जानुपर्छ ।” कार्यपत्रमाथि टिप्पणी गर्दै त्रिवि रसायनशास्त्र विभागका प्राध्यापक डा मन्दिरा प्रधानाङ्गले पारमाणविक आक्रमण भएको क्षेत्रको आफूले स्थलत भ्रमण गरेको र अहिले पनि त्यहाँका नागरिक त्रसित अवस्थामा रहेको सुनाउनुभयो ।

“पारमाणविक आक्रमण भएका हिरोसिमा–नागासाकी क्षेत्रका नागरिकलाई विवाह गर्न, कामकाज गर्न आणविक अछुतको व्यवहार गर्ने गरिन्थ्यो”, तत्कालीन अवस्थाको चित्रण गर्दै उहाँले भन्नुभयो, “हिरोसिमा–नागासाकी अझै पनि रोइरहेको छ ।” कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले अबको युद्ध पारमाणविक हतियार सम्पन्न मुलुकबीच हुने अवस्था देखिएको उल्लेख गर्दै त्यस्तो अवस्था आए कसैले पनि नजित्ने र मानवता हार्ने बताउनुभयो ।

“पारमाणिक हतियार पूर्ण निःशस्त्रीकरण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “चीन, भारत र पाकिस्तानको न्यूक्लियर पावरका बीचमा नेपाल रहेको छ, युद्ध मात्र होइन, चुहावट भयो भने पनि हामी प्रभावित हुन्छौँ ।” सङ्गठनका अध्यक्ष एवं पूर्वमन्त्री कृपाशूर शेर्पाले विश्वबाट सबै खालका हातहतियार तथा सैन्य उपकरणको उत्पादन बन्द गरिनुपर्ने बताउनुभयो ।

पारमाणिविक हतियार निःशस्त्रीकरणको मुद्दालाई निरन्तर उठाउनुपर्छ : उपसभामुख भुसाल

कार्यक्रममा उपसभामुख पुष्पा भुसालले पारमाणिविक हतियार निःशस्त्रीकरणको मुद्दालाई निरन्तर उठाउनुपर्ने बताउनुभयो । “मलाई लाग्छ वर्ष दिनमा एक पटक मात्र होइन, यो विषयमा सधैँ बौद्धिक संवाद चलाउनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले पारमाणविक हतियारलाई समाप्त गर्ने र शान्तिलाई अगाडि बढाउने विषयमा आफ्नो निरन्तर प्रतिबद्धता रहिरहने बताउनुभयो ।

उपसभामुख भुसालले विज्ञान प्रविधिलाई सदुपयोग गरेर मुलुकको समृद्धि र विकासमा लैजानुपर्ने बताउनुभयो । “हिजोका दिनमा भएका यी घटनाका भोगाइ, तीतो अनुभव भोलिका पुस्ताले भोग्नु नपरोस्, त्यो भोगाई समृद्धि र विकासका लागि ठूलो बाधक हुन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि हामी समयमै सजग र सचेत बनौँ ।”

नेपाल ब्राजिल चेम्बरको अध्यक्षमा चापागाईं पुनः निर्वाचित

काठमाडौं, २१ साउन । नेपाल ब्राजिल उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी अखिलकुमार चापागाईं पुनः निर्वाचित भएका छन् ।शनिबार राजधानीमा सम्पन्न संघको आठौं वार्षिक साधारणसभाले चापागाईंको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

संघको उपाध्यक्षमा चेङ्ग अग्रवाल र विक्रम राई तथा महासचिवमा उमेश रायमाझी, सचिवमा ज्योत्सना श्रेष्ठ र कोषाध्यक्षमा निरज तिमिल्सिना निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा जया शिवाकोटी, भरत आचार्य, शिवहरि दंगाल, प्रदीप रुंगटा, राकेशकुमार श्रेष्ठ, लवराम दाहाल र प्रेम पाण्डे निर्वाचित भएको संघले जनाएको छ ।

यस्तै, संघको सल्लाहकारमा निवर्तमान उपाध्यक्ष विनय लामिछाने चयन भएका छन् भने अम्बिका शर्मा लामिछानेलाई अध्यक्ष चापागाईंले सदस्यमा मनोनित गरेका छन् । कार्यक्रममा अध्यक्ष चापागाईंले नेपाल र ब्राजीलबीच द्विपक्षीय व्यापार अभिवृद्धि तथा आर्थिक सम्बन्ध विस्तारका लागि संघले प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताए ।

अध्यक्ष चापागाइँका अनुसार गत आर्थिक वर्षमा नेपालबाट ४ लाख २७ हजार डलर बराबरको वस्तु ब्राजिल निकासी भएको छ भने ब्राजिलबाट ६ करोड १० लाख डलर बराबरको वस्तु तथा सेवा आयात भएको छ । “हामी अहिले ब्राजिलसँग ठूलो व्यापारघाटामा रहेका छौं,”अध्यक्ष चापागाईंले भने, “नेपालबाट ब्राजिलमा निकासीको ठूलो सम्भावना देखेका छौं र आगामी दिनमा निकासी बढाउनेतर्फ हाम्रो कार्यक्रम केन्द्रित हुनेछ ।”

नेपालबाट हाल हस्तकलाजन्य सामग्रीसहित कार्पेट, गार्मेन्ट जस्ता वस्तु निकासी भइरहेको र आगामी दिनमा यसलाई बढाउँदै लैजाने उनको भनाइ छ । संघको नेतृत्वमा नेपाली व्यवसायीले दुईपटक ब्राजिलमा व्यावसायिक भ्रमण सम्पन्न गरिसकेको उल्लेख गर्दै अध्यक्ष चापागाईंले आउँदा दिनमा व्यावसायिक सम्बन्ध विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाए ।

कार्यक्रममा पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापाले आर्थिक विकासमा सशक्त रुपमा अघि बढिरहेको ब्राजिलसँग सम्बन्ध विस्तारले नेपालको आर्थिक विकासमा सहयोग पुग्ने धारणा राखे । पूर्वमन्त्री थापाले ब्राजिलबाट कृषि तथा खानीजन्य क्षेत्रमा पुँजी र प्रविधि भित्र्याएर नेपालले फाइदा लिनसक्ने उल्लेख गर्दै विश्व अर्थतन्त्रको नवौं शक्तिशाली मुलुकसँगको सम्बन्ध विस्तारमा जोड दिए ।

ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले आफ्नो कार्यकालमा लगानी प्रवद्र्धन तथा नेपाली वस्तुको बजारीकरणमा जोड दिने प्रतिवद्धता जनाए । ब्राजिलबाट नेपालमा पर्यटक बढाउन पहल गर्ने उनको भनाइ छ । यस्तै, नेपालका लागि ब्राजिल दूतावासका मिनिष्टर कन्सुलर डेपुटी चिफ जोसे मारियो फेरिरिा फिल्होले नेपाल ब्राजिल चेम्बरको स्थापनापछि दुई मुलुकबीचको व्यापारमा उल्लेख्य वृद्धि भएको स्मरण गर्दै ब्राजिलको जलविद्युत् दक्षतालाई नेपालले पनि उपयोग गर्नसक्ने धारणा राखे ।

रिटर्नी युवा सञ्जालले आयोजना गरेको बैदेशिक रोजगारबाट फर्केका युवाहरुको अबस्था, समस्या र सम्भाव्यता विषयक प्रशिक्षण सम्पन्न

भक्तपुर, २१ साउन । राष्ट्रिय युवा परिषद्अन्तर्गतको रिटर्नी युवा सञ्जालले आज परिषद् कार्यालय सानोठिमीमा आयोजना गरेको बैदेशिक रोजगारबाट फर्केका युवाहरुको अबस्था, समस्या र सम्भाव्यता विषयक प्रशिक्षणमूलक कार्यक्रम–२०७९ को सम्पन्न गरेको छ ।

कार्यक्रमको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गर्दै विदेशबाट फर्किएका युवाहरूलाई स्वदेशमै केही गर्न सक्ने वातावरण सिर्जना गर्न सरकार प्राथमिकतापूर्वक लागिरहेको बताउनु भएको छ ।

बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई स्वरोगार र उत्पादनमा जोड्न सके देशको मुहार फेरिने बताउदै उहाँले यसका लागि सरकारले प्राथमिकतापूर्वक लागिरहेको बताउनु भयो । सरकारले युवाका लागि बिभिन्न कार्यक्रमहरु अगाडि सार्दै त्यसका लागि बजेट विनियोजन गरेको बताउदै मन्त्री गहतराजले युवाका लागि ल्याएका विभिन्न योजना र कार्यक्रमलाई एकीकृत गरि ठोस परिणाम दिने गरि अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले विदेशबाट फर्किएका युवाहरूको विदेशमा सिकेको सीप, श्रम र दक्षतालाई नेपालमै सदुपयोग गर्ने गरि सरकारले योजनाहरु ल्याउनु पर्नेमा जोड दिनु भयो ।

बैदेशिक रोजगारीका क्रममा उनीहरुले सिकेका अनुभव र सीपलाई उपयोगी बनाउन सके राष्ट्र निर्माणमा मेरुदण्ड बन्न सक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले युवालाई स्वरोजगार बनाउन कोषले बिभिन्न कार्यक्रमहरु अगाडि ल्याएको बताउनु भयो ।

त्यसअवसरमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले विदेशबाट श्रम गरेर फर्किएका युवाका लागि विशेष कार्यक्रम ल्याउन बोर्ड लागिएको बताउनु भयो । युवाहरूलाई देशभित्रै अवसर खोज्न आग्रह गर्दै युवा अर्थशास्त्री डीपी ढकालले नेपाली श्रम वजारको अबस्था, समस्यता, चुनौती र अवसरकाबारेमा चर्चा गर्नु भयो ।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)का निर्देशक अनोज भट्टराईले सीप र प्रबिधिसँग जोड्दै विदेशबाट फर्किएका युवाहरुलाई तालिम दिएर थप दक्ष बनाउने कार्यक्रम अगाडि सारेको बताउनु भयो ।

कार्यक्रममा रिटर्नी माइग्रेन्ट नेपालका केन्द्रिय सचिवालय सदस्य काजी थापा, संजालका उपाध्यक्ष सविन खड्काले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै बैदेशिक रोजगारीबाट फर्किएका युवाका समस्या र अपेक्षावारे चर्चा गर्नु भयो ।

रिटर्नी सञ्जालका अध्यक्ष एवं कार्यक्रमका सभापति सुवास ढकालले बैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वरोजगार र उत्पादनसँग जोड्दै कसरी लैजाने भन्नेबारेमा कार्यक्रममा प्रशिक्षणसमेत सञ्चालन गरिएको बताउनु भयो ।