हावाहुरी र वर्षाले सूर्यविनायक नगरपालिका–७, गुण्डूस्थित भैरबी आधारभूत बिद्यालयको छानो उडायो
भक्तपुर, २१ बैशाख : आज अपरान्ह अचानक आएको तिब्रगतिको हावाहुरी र वर्षाले सूर्यविनायक नगरपालिका–७, गुण्डूस्थित भैरबी आधारभूत बिद्यालयको छानो उडाउनुका साथै कक्षा कोठामा क्षति पुर्याएको छ ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष एवं वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले अपरान्ह तीव्रगतिमा आएको हावाहुरीका विद्यालयको जस्ताको छानो उडाउनुका साथै विद्यालयलाई ठूलो भौतिक क्षति पुगेको जानकारी दिनुभयो ।
उहाँले हावाहुरीले बिद्यालयको छानो उडाएर बिद्यालयको कार्यालय कक्ष, कम्युटर कक्षा र पुस्तकालयमा समेत ठूलो क्षति पुगेको जानकारी दिनुभयो । यसबाट पठनपाठन कार्य अबरुद्ध नहुने भएपनि कम्प्युट कक्षा सञ्चालन अबरुद्ध हुने र कार्यालयसमेत सार्नु पर्ने अबस्था आएको बताउनुभयो ।
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
भक्तपुर, २१ बैशाख : भक्तपुरमा आज बा.४ ख ३१५६ नम्बरको टिपरले ठक्कर दिदाँ एक भारतीय नागरिकको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज टिपरको ठक्करबाट पैदलयात्री ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षण स्वरुप शर्माले जानकरी दिएको छ ।
काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्यामिरे घरभई बनेपा बस्दै आएका टिपर चालक ३६ वर्षीय श्यामकुमार तामाङलाई भने प्रहरीले पक्राउ गरि घट्नाको थप अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयद्धारा खरिपाटीस्थित सुकुम्वासी सेल्टरमा स्वास्थ्य शिविर सञ्चालन
भक्तपुर, २१ बैशाख : सरकारले मनोहरा नदी किनारा, काठमाडौं माछापोखरी र बल्खु क्षेत्रका सुकुम्वासी बस्ती हटाएर त्यहाँबाट सारिएको सुकुम्वासीलाई अस्थायी सेल्टरको रुपमा राखिएको भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा आज स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
वागमति प्रदेश स्वास्थ्य मन्त्री किरण थापामगर र स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले तत्काल भक्तपुरका दुई सरकारी कार्यालयमा राखिएका सुकुम्वासीहरुको स्वास्थ्य परीक्षण एवं उपचार गर्न निर्देशन दिए लगत्तै जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले आज यहाँ स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा भक्तपुर अस्पतालको चिकित्सक, नर्स, प्राबिधिक टोली, तील गंगा आँखा अस्पतालको आँखा रोग बिशेषषसहितको टोलीद्धारा आज दिनभर स्वास्थय शिविर सञ्चालन गरि सेल्टरमा रहेका १५८ जनाको सबै रोगको स्वास्थ्य परीक्षण गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत एवं कार्यालयकी प्रमुख अञ्जना खड्काले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रदेशको स्वास्थ्य मन्त्रालबाट मन्त्री किरण थापा र सचिव डा. सुमित्रा गौतमले तत्काल सरकारले राखेको सेल्टरमा गएर सुकुम्वासीको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिए पछि आज यहाँ रहेका सबै सुकुम्वासी बस्तीबाट सारिएकाहरु २६ जना बालबालिकासहित १५८ जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण गरेका छौ ।’
शिविरमा घाँटीमा प्वाल पारेर उपचार गराईरहेका आठ वर्षीय बालक, घाउँमा नियमित ड्रेसिङ्ग गर्नुपर्ने विरामी, प्यारालाईसिस भएका जेष्ठ नागरिक, दृष्टिबिहान परिवार, कृष्ठरोगी, हिड्न र बोल्न नसक्ने तथा सुष्त मनस्थिति भएका परिवार, सुत्केरी, गर्भवतीलगायतका विरामीहरु समेत सेल्टरमा रहेको उहाँले बताउनुभयो ।  हिड्न नसक्नेहरुलाई सेल्टरको बेडमै गएर स्वास्थ्य परीक्षण गरि औषधि वितरण गरिएको जानकारी दिदै उहाँले स्वास्थ्य शिक्षा र मनोपरामर्श सेवा समेत दिईएको बताउनुभयो ।
क्षयरोगका विरामी पनि हुन सक्ने आशंकाले जन्त्र नामक संस्था र भक्तपुरको राष्ट्रिय क्षयरोग केन्द्रलाई तत्काल एआई प्रबिधिको मेशिनबाट क्षयरोगको परीक्षण गर्न अनुरोध गरेको जानकारी दिदै कार्यालय प्रमख खड्काले भोलीबाट नियमित स्वास्थ्य सेवा प्रवाह गर्न स्थानीय सरकार, निजी अस्पतालहरुसंग समन्वय गरिरहेको बताउनुभयो ।
उहाँले स्वास्थ्य शिविरमा उपचार हुन नसकेका विरामीलाई आजैबाट भक्तपुर अस्पताल थप उपचारका लागि पठाईएको र त्यहाँ निःशुल्क उपचार एवं औषधि वितरणको व्यबस्था गरिएको जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्री किरण थापाले संघीय स्वास्थ्य मन्त्रालयसंगसमेत यसबारेमा छलफल भइरहेको जानकारी दिदै प्रदेश सरकारले सेल्टरमा रहेसम्म यहाँका विरामीको सेवामा वागमति प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य उपचारको जिम्मेवारी लिने बताउनुभयो ।
यहाँ रहेका २६ जना बालबालिकालाई आजबाट मानिटर मार्फत शिक्षा सम्बन्धी चेतनामूलक जानकारीसहितको कक्षा सञ्चालन गरिएको र मंगलबारबाट अस्थायी रुपमा नियमित पठ्न पाठन समेत सुरु गर्ने भएको छ । जनस्वास्थ्य अधिकृत खड्काले सरकारले बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राखिएका २६ जना सुकुम्वासी, गर्भवती, सुत्केरी, अन्य विरामी र सबैको स्वास्थ्य परीक्षण गरि औषधि वितरण गरिएको जानकारी दिनुभयो ।
जिल्लाका जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकीसम्मलाई विशेषज्ञ सेवा बिस्तार गर्ने : मन्त्री थापा
भक्तपुर, १७ बैशाख : वागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापामगरले वागमति प्रदेशका १३ वटै जिल्लाका जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकीसम्मलाई विशेषज्ञ सेवा बिस्तार गर्ने लक्ष्य लिएको बताउनु भएको छ ।
आज भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित सिपाडोल स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले स्वास्थ्य चौकीहरुमा समेत आधारभूतदेखि विशेषज्ञ सेवासम्म विस्तार गर्ने बताउनु भएको हो ।
मन्त्री थापाले भन्नुभयो, ‘ हाम्र्रो लागि नागरिककको स्वास्थ्यनै सबैभन्दा महत्वपूर्ण विषय हो, त्यसैले स्वास्थ्य मन्त्रालयले सुगममा मात्रै नभई जिल्ला जिल्लाको दुर्गम क्षेत्रमा पनि प्रबिधिसंगै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच पुर्याउने कार्य बिस्तार गरेका छौ, स्वास्थ्य चौकीलाई आमजनताको विश्वसनीय स्वास्थय सेवा उपलब्ध गर्ने संस्थाको रुपमा बिकास गरिरहेका छौं ।’
उहाँले प्रदेश स्वास्थ्य मन्त्रालयले उक्त भवन निर्माणका लागि गत वर्ष रु. १८ लाख र यस वर्ष रु. २५ लाख गरि कूल रु. ४३ लाखको बजेटको व्यबस्था गरेको बताउदै वागमति प्रदेश भरिका स्वास्थ्य संस्थाहरुको भवन निर्माणदेखि स्तरोन्नती, गणस्तरीय विशेषज्ञ सेवा बिस्तार र निःशुल्क औषधि वितरण कार्यलाई प्रभावकारी बनाउँदै आएको बताउनुभयो । स्वस्थ नागरिक नै समृद्ध समाजको आधार हुन् भन्दै उहाँले तीन वटै तहका सरकार मिलेर सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु आवश्यक रहेको आल्याउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरवासीको स्वास्थ्य प्रति नगरपालिका सधै चिन्तामा रहेर सहयोग गर्दै आएके बताउदै स्वास्थ्य जस्तो सम्वेदनशिल विषयलाई नगरपालिकाले निकै महत्वका साथ हेरेर स्वास्थ्य केन्द्रीत बजेटमा बिस्तार गर्दै आएको बताउनुभयो ।
उहाँले नगरपालिकाले यस स्वास्थ्यचौकी निर्माणका लागि १० लाख रुपैया अनुदान दिएको बताउदै सुर्यविनायक नगरपालिकाले अब बिकासका धेरै काम सम्पन्न गरिसकेकाले शिक्षा,स्वासथ्य र रोजगारी केन्द्रीत कार्यक्रममा बजेट खर्च गर्ने नीति लिएको बतानउनभयो । नगरपालिकाले जनशक्तिदेखि प्रबिधि सम्मको बिस्तार गर्दै आमनागरिकको दैलोमै स्वास्थ्य सेवाको पहुँच पुर्याउने बताउनुभयो ।
नगरपालिकाका उप–प्रमुख, सरिता तिमिल्सिना भटटराईले यहाँका बासिन्दाले नागरिकले सस्तो छिटो छरितो सेवा लिन सक्ने उल्लेख गर्दै महिलाको पाठेघरको क्यान्सर, स्त्रीरोग सम्बन्धि जाच अब निशुल्क गर्ने बताउनुभयो ।
कार्यक्रममा सिपाडोल वडा नं. ८ का वडा अध्यक्ष, पुष्पराज बस्नेतले धेै वर्ष जीर्ण भवनमा सेवा दिदै आएकोमा अब नयाँ भवनबाट सबै सेवा सुचारु भएको बताउदै यसले स्थानीयवासीमा ठूलो टेवा पुगेको बताउनुभयो । उहाँले सामान्य रागका लागि स्वास्थ्य चौकीबाटै गुणस्तरीय सेवा प्रवाह हुने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडाध्यक्ष रबिन्द्र सापकोटा, जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्का, वडा सदस्यहरु एवं कार्यपालिका सदस्यहरु र स्थानीयको सहभागिता रहेको थियो ।
मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
भक्तपुर, ४ बैशाख : वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन गरि गुणस्तरीय सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो । उहाँले अस्पतालले प्रदान गरेका सेवाहरुकोबारेमा जानकारी लिदै अस्पतालको नयाँ तथा पुरना भवनमा विरामीलाई दिईरहेको सेवा र सुबिधाकाबारेमा जानकारी लिनुभयो ।
अस्पताल भवन अभाव भएपछि अस्प्तालको पुरानो भवन भत्काएर सोही ठाउँमा सुबिधा सम्पन्न नयाँ भवन निर्माणका लागि वागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाको सिफारिसमा माग भएअनुसार भवन निर्माणका लागि प्रदेश मन्त्रिपरिषदले ६२ करोड रूपैयाको बजेट सुनिश्चित गरेको बताउनु भयो ।
उहाँले चालू आर्थिक वर्षमै अस्पताल भवन निर्माणको प्रक्रिया पुरा गर्ने गरि बजेट निकासाको प्रक्रियालाई प्रदेश फर्किए लगत्तै टुङ्याउने बताउनुभयो । कार्यक्रममा वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले अस्पतालको नयाँ भवन अपरिहार्य रहेको बताउदै भक्तपर अस्पताल देशकै नमूना उत्कृष्ठ अस्पताल बनेकोमा प्रंशसा गर्नुभयो ।
मुख्यमन्त्री बानियाँसहितको टोलीलाई अस्पताल संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले अस्पतालको वर्तमान अबस्थाकाबारेमा जानकारी गराउनु भयो । अस्पतालका निर्देशक डा. सुरेन्द्र भट्टले अस्पतालले दिदै आएको सवा, बिस्तारिस सेवा, जडित पैबधि एवं उपकरणहरु, बहिरंग, अन्तरंगदेखि शल्यक्रियासम्मका प्रगति र भावी योजनाकाबारेमा जानकारी गराउनु भएको थियो ।

बानियाँद्धारा ख्वप अस्पतालदेखि सम्पदासम्मको अवलोकन :

मुख्यमन्त्री बानियाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको निरीक्षण गर्दै अस्पतालले प्रवाह गरेको सेवाकाबारेमा चासोका साथ निरीक्षण गर्नु भएको थियो ।
नगरपालिकाद्धारा सञ्चालित ख्वप ईन्जिनियरिङ्ग कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ्ग, ख्वप कलेज, ख्वप मावि र निर्माणाधीन अरनिको सभाभवनको स्थलगत अवलोकलन गर्नुका साथै भक्तपुरका ऐतिहासिक सम्पदाहरुको समेत अवलोकन गर्नु भएको थियो ।
मुख्यमन्त्री बानियाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायत आफ्नै पहलमा गरिरहेको कार्य सराहनीय रहेको बताउनुहुँदै स्थानीय तहले सञ्चालन गरेको अस्पताल प्रादेशिक सरहको मान्यता दिन आवश्यक कानुन संशोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख प्रजापतिले मुख्यमन्त्री बानियाँलाई भक्तपुर नगरपालिकाद्धारा सञ्चालित अस्पताल, शैक्षिक संस्थाहरुदेखि सम्पदासम्मको अवलोकन गराउदै त्यसबारे जानकारी गराउनु भएको थियो ।
भक्तपुरमा पहिलो शनिवार भक्तपुर वाइल्ड फायर नाइट हुदै
भक्तपुर, ४ बैशाख : नयाँवर्ष २०८३ सालको अवसरमा भोली शनिवार प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापाको प्रस्तुती एकै मञ्चमा हेर्न पाइने भएको छ ।  भक्तपुरको सल्लाघारीस्थित १०९ रोपनी चौरमा आयोजना भइरहेको ‘दशौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवमा आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले आयोजना गर्ने भक्तपुर वाइल्ड फायर नाइटमा चर्चित गायकहरुको दमदार प्रस्तुतीलाई दर्शकहरुले अगाडिबाटै नियाल्न पाउने भएका हुन् ।
भक्तपुरमै पहिलो पटक भक्तपुरको महोत्सवस्थलमै प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापाको प्रस्तुती रहने गरि भक्तपुर वाइल्ड फायर नाइटो आयोजना गरिएको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।
कन्सर्टमा दुश्मन हेरेको हेरैलगायतका दर्जनौ चर्चित गीत गाएका थापा र चर्चित गायम खरेल एण्ड परम्परा ब्याण्डको भव्य प्रस्तुती रहने उहाँले जानकारी दिनुभयो । अध्यक्ष महतले भक्तपुरमा पहिलो पटक दुर्गेश र खरेलले एकै मञ्चमा र एकै पटक प्रस्तुती दिन लागेको जानकारी दिदै यो जोडीको प्रस्तुती हेर्न हजारौ दर्शकको आगमन हुने गरि तयारी पुरा गरेको जानकारी दिनुभयो ।
कन्सर्ट हेर्न चाहनेले खल्ती लगायतका एप्स प्रयोग गरी २५० र ५०० रुपैयाँको टिकट लिन सक्ने व्यवस्था मिलाइएको अध्यक्ष महतको जानकारी दिनुभयो । महोत्सवमा यसअघि दैनिक रुपमा राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकारहरुको गीत, संगीतले महोत्सव तताईरहेका छन् ।
चर्चित गायक रामकृष्ण ढकालदेखि गायिका रचना रिमालसम्मले महोत्सवलाई उत्सवमय बनाएका छन् । लोकगायक नवराज घोरासैनीदेखि गायितका एलिना चौहान, मञ्जु पौडेल, रोज मोक्तान, मदन बिष्ट, रमेश मेलोडी, जंकि रोयल्स ब्यण्ड, भोजराज काफ्लेलगायत दर्जना कलाकारको दैनिक प्रस्तुतीले साँगीतिक महोत्सवमय बनेको छ । महोत्सवको आज नवौ दिनसम्म करिब एक लाख दर्शकले अवलोकन गरिसकेका छन् भने महोत्सव बैशाख ७ गते सम्पन्न हुने महोत्सवका संयोजक दिपक थापाले जानकारी दिनुभयो ।
भक्तपुर महोत्सवमा एक लाख भन्दा बढीको आगमन, रु. ५० लाखको कारोबार
भक्तपुर, ४ बैशाख : नयाँवर्ष २०८३ सालको अवसर पारे भक्तपुरको सल्लाघारीस्थित १०९ रोपनी चौरमा आयोजना भइरहेको ‘दशौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२÷०८३’ आजसम्म एक लाख भन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भइसकेको छ ।
औद्योगिक शान्ति नेपाल संस्थाले चैत २६ गतेबाट सञ्चालन गरेको महोत्सवमा आज नौ दिनसम्म एक लाख भन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भइसकेको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । महोत्सवमा एकैछानामुनी दैनिक उपभोग्य सामग्री र बिभिन्न सामानहरु पाउँने भएपछि उपभोक्ताको भीड बढ्दै गएको र आजसम्म १८० भन्दा बढी स्टलबाट ५० लाख भन्दा बढीको कारोबार भएको उहाँले जानकारी दिनुभयो ।
स्थानीय उत्पादनलाई बजार प्रबद्र्धन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका बिभिन्न सामानहरु एकै थलोमा सुपथ मुल्यमा उपलब्ध गराउने, भक्तपरको कला, संस्कृति, उत्पादन र साँस्कृतिक परम्परालाई कै थलोमा प्रर्दशन गर्दै प्रचार गर्ने उदेश्यले नयाँ वर्षको अवसरमा महोत्सवको आयोजना गरेको उहाँले जानकारी दिनुभयो ।
महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, औधोगिक उत्पादन, काष्ठकला, माटोका भाडा, स्थानीय घरेलु उत्पादन, सूचना तथा बिज्ञान प्रबिधि, अटो मोवाइल, विद्युतीय मेशिन कृषि औजार, मोवाईल तथा ईलेक्ट्रोनिक्स सामानको प्रर्दशनी तथा बिक्री लागि राखिएको उहाँले जानकारी दिनुभयो । बैशाख ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा दैनिक उपभोग्य सामग्री, लत्ता कपडाको स्टलमा दैनिक उपभोक्ताको भिड लागेको उहाँले जानकारी दिनुभयो ।
महोत्सवमा मुख्य आकर्षणको रुपमा राखिएको ‘लन्डन ब्रिज’ मा फोटो तथा भिडियो खिच्नेहरुको उत्तिकै भिड देखिन्छ भने बालबालिकादेखि यवायुवतीसम्म बाल उद्यान, रोटी पिङ्ग, ड्रागन ट्रेन, नाउ तथा बच्चाको बिभिन्न प्रकारको खेलौना, र बिभिन्न प्रकारका खानामा उपभोक्ताको त्यतिकै भिड देखिन्छ ।

दैनिक चर्चित गायक गायिकाको साँस्कृतिक महोत्सव,  पहिलो पटक भक्तपुर वाइल्ड फायर नाइट

महोत्सवमा दैनिक रुपमा चर्चित गायकगायिकाले यहाँको सांगीतिक माहौललाई महोत्सवको रुपमा परिणत गरेको छ । राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकारहरुको गीत, संगीतले महोत्सवमा युवा पुस्ताको भीड उत्तिकै बढेको छ ।
चर्चित गायक रामकृष्ण ढकालदेखि गायिका रचना रिमालसम्मले महोत्सवलाई उत्सवमय बनाएका छन् । गायितका एलिना चौहान, मञ्जु पौडेल, रोज मोक्तान, मदन बिष्ट, रमेश मेलोडी, जंकि रोयल्स ब्यण्ड, भोजराज काफ्लेलगायत दर्जना कलाकारको दैनिक प्रस्तुतीले साँगीतिक महोत्ुवमय बनेको छ ।
महात्सवकै अबसरमा भोली शनिवार साँझ प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापाको प्रस्तुती रहने गरि भक्तपुर वाइल्ड फायर नाइट  आयोजन गर्ने भएको आज संस्थाका अध्यक्ष महतले जानकारी दिनुभयो ।  कन्सर्टमा दुश्मन हेरेको हेरैलगायतका दर्जनौ चर्चित गीत गाएक थापा र चर्चित गायम खरेल एण्ड परम्परा ब्याण्डको भव्य प्रस्तुती रहने उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष महतले भक्तपुरमा पहिलो पटक दुर्गेश र खरेलले एकै मञ्मा र एकै पटक प्रस्तुती दिन लागेको जानकारी दिदै यो जोडीको प्रस्तुती हेर्न हजारौ दर्शकको आगमन हुने गरि तयारी पुरा गरेको जानकारी दिनुभयो । सांगीतिक प्रस्तुतीसंगै  हाँस्य व्यङ्ग्य, फेशन शो, नृत्य प्रतियोगिताले महोत्सवलाई थप आकर्षण बनाएको उहाँ बताउनुहुन्छ ।
विश्व पर्यटनको आकर्षण बनाउन ‘गन्तव्य मध्यपुर’ अभियान शुभारम्भ
भक्तपुर, २८ चैत ः आन्तरिक र बाह्य पर्यटकको आगमनको केन्द्र बनाउने मुख्य उदेश्यले मध्यपुरथिमि नगरपालिकाले आजबाट ‘गन्तव्य मध्यपुर’ अभियान शुभारम्भ गरेको छ ।
बिस्का जात्रा तथा नयाँवर्ष २०८३ को अवसर पारेर मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको गन्तव्य मध्यपुरको आज वागमति प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले आज उद्घाटन गर्नुभयो । प्रत्येकवर्ष मध्यपुर थिमिमा नयाँ वर्षमा हुने बिस्का जात्रा–२०८२ लाई लक्षित गर्दै विभिन्न सांस्कृतिक, आर्थिक तथा पर्यटन प्रवद्र्धन कार्यक्रमहरूका साथ गन्तव्य मध्यपुरको शुभारम्भ गरिएको हो ।
मध्यपुरथिमिका ऐतिहासिक, साँस्कृतिक तथा परम्परागत सम्पदा देखाएर स्थानीय जात्रा, परम्परागत बाजागाजा, स्थानीय संस्कृति, हस्तकला तथा मौलिक परिकारको प्रवद्र्धन गर्दै पयएटकलाई आकर्षित गरि आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने मुख्य लक्ष्यसहित गन्तव्य मध्यपुर आयोजना गरिएको हो ।
कार्यक्रममा मन्त्री श्रेष्ठले वागमपति प्रदेशले यहाँको मौीलक कला, संस्कृति, जात्रा, परम्परा र सम्पदाको संरक्षण गर्ने कार्यक्रमहरु ल्याएको बताउदै पहिलो पटक मध्यपुरथिमिको जिब्रो छेड्ने जात्रालाई वार्षिक रु दुई लाखको दरले रकम विनियोजन गरेको बताउनुभयो ।
कार्यक्रममा मध्यपुरथिमिका नगर प्रमुख विजय श्रेष्ठले मध्यपुरथिमि नगरलाई पर्यटकीय हवको रुपमा विकास गर्ने लक्ष्य लिएको बताउनुभयो । नगरपालिकाले आयोजना गरेको मध्यपुर महात्सवले थिमि घुम्ने आन्तरिक तथा बाह्यक पर्यटकको आगमन बढेको बताउदै गन्तव्य मध्यपुरले पनि भक्तपुर आउने पर्यटकलाई एकदिन मध्यपुर घुम्ने गरि पर्यटनको विकास गर्न सफल हुने बताउनुभयो ।
उहाँले नगरपालिकाले मध्यपुरथिमिको बोडे, नगदेश र आदर्शको लायकूमा दरबार निर्माण सम्पन्न हुने क्रम रहेको बताउदै यहाँको पुराना बस्तीलाई साँस्कृतिक शहर, राधेराधेलाई आधुनिक शहरको व्यापारिक हव, सानोथिमीलाई रेष्टुराको हव, निलबाराहीलाई पिकनिकको हव र होमस्टेसम्मको अबधारण बनाएर नगरपालिकाले ५० लाखको बजेट विनियोजन गरेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले संस्कृति, परम्परा जोगाउदै नगरपालिकाले शिक्षा र स्वास्थ्यमासमेत जनमैत्री काम गरेको बताउनुभयो ।

दुईदिने घरेलु मेलादेखि धिमे बाजा प्रतियागिता सुरु :

नगरपालिकाले आजबाट शंखधरचोक थिमिमा स्थानीय उत्पादन तथा हस्तकला प्रवद्र्धन तथा विक्री केन्द्रको उदघाटन गरि सञ्चालनमा ल्याएको छ । यहाँ स्थानीय हस्तकला, काष्ठकला, धातुकला, लत्ताकपडा र स्थानीय उत्पादनको व्यापारिक केन्द्र बनाउन सातवटा स्टल सञ्चालनमा ल्याएको छ ।
त्यसैगरि आजै निगु पुखु अर्थात ऐतिहासिक दुई पोखरीमा खुल्ला धिमेबाजा प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिताको मन्त्री श्रेष्ठले उद्घाटन गर्नुभयो ।  भक्तपुर, काठमाडौं, ललितपुर, किर्तिपुर र काभ्रेपलाञ्चोकका ३७ वटा धिमे समूहको प्रतियोगितामा सहभागिता रहेको नगरपालिकाका नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।  अभियान अन्तर्गत आजै दुई पोखरीमा दुई दिने स्थानीय रैथाने घरेलु उत्पादन मेला आयोजना गरेको छ । मेलामा २८ वटा स्टलमा घरेलु उत्पादन, स्थानीय परिकारका प्रर्दशनी गरिएको छ ।
स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२’ बाट वागमति स्वास्थ्य मन्त्रालय सम्मानित
भक्तपुर, २८ चैत : ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गरि वागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले विद्यालयहरुमा स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट योगदान पुर्याए वापत ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२’ प्रदान गरिएको छ ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.ले आज आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्री सुधा गौतम शर्माले वागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिएको अवार्ड स्वास्थ्य मन्त्री किरण थापा र स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले ग्रहण गर्नुभएको हो ।
कार्यक्रममा मन्त्री थापाले मन्त्रालयले गरेको ‘एक विद्यालय एक नर्स’ अभियानको सही मूल्यांकन भएको बताउदै विद्यालयस्तरमा स्वास्थ्य सेवा विस्तार गर्दै विद्यार्थीहरूको स्वास्थ्य सुधारमा थप टेवा दिन प्रेरणा मिलेको बताउनुभयो ।
स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले मन्त्रालयले सम्मान प्राप्त गर्न पाउँदा खुशी लागेको बताउदै आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर सुधार र विद्यालयस्तरमा स्वास्थ्य पहुँच विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहने बताउनुभयो ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले वागमति प्रदेश मन्त्रालयले समग्र स्वास्थ्य सुधार र विद्यालय नर्सको प्रभावकारी कार्यान्वयनले विद्यार्थीहरुमा स्वाथ्य जनचेतना र सेवा प्रभावकारी भएकाले अवार्ड प्रदान गरिएको बताउनुभयो ।
संघीय सांसद खत्रीद्धारा कमेरोटारवासीको समस्या समाधान गर्ने प्रतिबद्धता
भक्तपुर, २८ चैत ः विगत २२ वर्षदेखि समस्याग्रस्त बन्दै आएको मध्यपुरथिमि नगरपालिकाको कमेरोटार जग्गा एकीकरण आयोजनालाई तत्काल सम्पन्न गर्न आवश्यक कदम चालिने भक्तपुर क्षेत्र नं. २ का संघीय सांसद राजीब खत्रीले बताउनु भएको छ ।
कमेरोटारस्थित संगम कोलोनीमा आडाम्स थिमिले आज आयोजना गरेको नयाँवर्षको शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रममा स्थानीयवासीले आयोजना अलपत्र पारेर जनतालाई दुःख दिएकाले आयोजना छिटो सम्पन्न गराउन माग गरेका थिए ।
सांसद थापाले स्थानीयसंगको छलफलमा भन्नुभयो, “आयोजनाकोबारेमा मैले धेरै कुरा थाहा पाईसके, अझै बिस्तृत बुझेदैछु, अब विगतमा जस्तो यो वा त्यो बाहनाले कुनै पनि काम रोकिनु हुदैन, रोक्न पाईदैन पनि । यो आयोजना छिटो सम्पन्न गराउन तपाईहरुसंग म पनि साथमा छु ।”
स्थानीयले ५ वर्षमा सम्पन्न गर्ने गरि सुरु भएका आयाजना २२ वर्ष बितिसक्दा पनि अझै सडक कालोपत्र नहुदाँ, खानेपानीको व्यबस्था नहँुदा र ढलको उचित व्यबस्थापन नुहँदा जनताले निकै सास्ती व्यहोर्नु परेको गुनासो गरेका थिए ।
कार्यक्रममा आडाम्स थिमिका अध्यक्ष एकराज भण्डारीले जनताको सुझाब, गुनासो सुनेर समस्या समाधानमा सांसदले केन्द्रीयस्तरमै महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो ।