मध्यपुरथिमि नगरपालिकाद्धारा भोलीबाट आयोजना हुने मध्यपुरथिमि वडा व्यापी लिग फुटबल प्रतियोगिता २०७९’ तयारी पुरा
भक्तपुर, ७ असोज । मध्यपुरथिमि नगरपालिकाले पहिलो पटक भोली असोज ८ गतेबाट सुरु गर्न लागेको एक महिने ‘मध्यपुरथिमि वडा व्यापी लिग फुटबल प्रतियोगिता २०७९’ तयारी पुरा गरेको छ । मध्यपुरथिमि नगरपालिकाले आज मध्यपुर युथ एशोसियसनको खेल मैदानमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै मध्यपुर युथ एशोसियसनको संयोजनमा प्रतियोगिता असोज ८ देखि कात्तिक ७ गतेसम्म सञ्चालन हुने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनु भयो ।
उहाँले नगरपालिकाले यसअघि खेलकुद प्रतियोगितालाई आर्थिक सहयोग गर्दै आएपनि पहिलो पटक नगरपालिका आफैले प्रतियोगिताको रुपमा फुटबल टुनामेन्ट गर्न लागेको बताउदै यो लिगबाट उत्कृष्ट खेलाडी छनोट गरी नगरपालिका टिम अर्थात आफ्नै क्लब गठन गर्ने बताउनु भयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले मध्यपुरथिमि नगरपालिकाले अब हरेक वर्ष वडा लिगको आयोजना गरेर फुटबल खेलको हवको रुपमा नगरपालिकालाई बिकास गर्ने नगर पालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिनु भयो । उहाँले खेलाडीहरुलाई पलायन हुन बाट जोगाउन र खेलप्रति युवाहरुको आकर्षण बढाउन पनि नगरपालिकाले बजेट विनियोजन गरेको बताउदै यसलाई निरन्तरता दिने बताउनु भयो ।

मध्यपुरथिमिकाका स्थायी बासिन्दाले मात्रै सहभागिता जनाउन पाउने गरि प्रत्येक वडाबाट एक एक वटा टिम सहभागी हुने प्रतियोगिता राउण्ड रोविन लिग अनुसार खेलाईनेछ भने प्रतियोगितामा कुल ३६ खेल हुनेछ भने प्रत्येक टोलीले ८ खेल खेल्ने प्रतियोगिताका संयोजक एवं मध्यपुर युथ एशोसियसनका उपाध्यक्ष अष्टकुमार कवेँले बताउनु भयो ।
उहाँले मध्यपुरथिमिमा फुटबलको विकास गर्नु, स्थानीयस्तरमा खेलाडी उत्पादन गर्नु, खेलाडीहरुमा भएको प्रतिभालाई प्रस्फुटन गराई राष्ट्रिय लिगका साथै राष्ट्रिय टोलीमा सहभागी गराउने र युवाहरुलाई खेलकुदको माध्यमबाट राष्ट्र विकासमा सहभागी गराउने रहेको प्रतियोगिता कवेले बताउनु भयो ।

कार्यक्रमका सभापति एवं एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंहले प्रतियोगिताको विजेतालाई आकर्षक ट्रफिका साथै नगद दुई लाख ५० हजार रुपैंयाँ, दोस्रो हुनेलाई एक लाख २५ हजार र तेस्रो हुनेलाई ६० हजार नगद पुरस्कार तथा प्रतियोगिताको अनुशासित टोलीलाई नगद रु. २५ हजारसहित फेयरप्ले अवार्ड प्रदान गरिने जानकारी दिनु भयो ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद रु.२० हजार, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर र स्ट्राइकरले जनही नगद रु. १० हजार पुरस्कार प्रदान गरिने बताउदै उहाँले प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याचको ट्रफी प्रदान गरिने जानकारी दिनु भयो । मध्यपुर युथ एशोसियसनलाई पुनः ए डिभिजनमा पुर्याउने चूनौती रहेकाले त्यसका लागि समेत बजेट ब्यबस्थापनकोअवश्यकता रहेको बताउनु भयो । उहाँले अबको प्रतियोगितामा एशोसियसनलाई ए डिभिजनमा पुर्याउने अठोट गर्नु भयो ।
प्रतियोगिताका कुल अनुमानित लागत २५ लाख रहेकोमा नगरपालिकाले २० लाख रुपैया उपलब्ध गराएको छ भने बाँकी रकम स्थानीय बैंकहरुले सहयोग गर्ने भएको प्रतियोगिताका प्रचार प्रसार संयोजक हरिदास प्रजापतिले जानकारी दिनु भयो । उहाँले सहभागी प्रत्येक टोलीलाई जर्सी र फुटबल उपलब्ध गराएको छ भने खेलाडीहरुको दुर्घटना बिमा गरिएको बताउनु भयो ।

प्रतियोगितालाई भव्य र सभ्यरुपमा सफल बनाउन विभिन्न समिति उपसमितिहरु गठन गरिएको प्रजापतिले बताउनु भयो । उहाँका अनुसार एशोसियसनका उपाध्यक्ष अष्ट कवेको संयोजकत्वमा प्रतियोगिता संयोजक समिति, लिग डाइरेक्टर र म्याच कमिस्नर एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंह, कोषाध्यक्ष मनोज अधिकारीको संयोजकत्वमा स्वास्थ्य समिति, उज्वल श्रेष्ठको संयोजकत्वमा सुरक्षा समिति, हरिदास प्रजापतिको संयोजकत्वमा प्रचार प्रसार समिति, भेनु कोअर्डिनेटर राजेश श्रेष्ठ, अतिथि सत्कार समितिमा सचिव सुरेन्द्र श्रेष्ठ र सुनिल श्रेष्ठ, लजेष्टिक व्यवस्थापन ज्ञानु रञ्जित र लोकल जनरल कोअर्डिनेटर सविन रञ्जित रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।
