एक करोड खर्चेर मध्यपुरथिमि नगरपालिकाले ऐतिहासिक रुपमा “मध्यपुर थिमि खेलकुद महोत्सव–२०८३” आयोजना गर्दै
भक्तपुर, ११ मङ्सिर : मध्यपुरथिमि नगरपालिकाले एक करोड भन्दा बढी रकम खर्चेर मध्यपुरथिमिकै ईतिहासमा पहिलो पटक “मध्यपुर थिमि खेलकुद महोत्सव–२०८३” आयोजन ागर्ने भएको छ ।
मध्यपुरथिमि नगरपालिकाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले पुस महिनाभरी बिभिन्न खेलकुद प्रतियोगिता गर्दै “मध्यपुर थिमि खेलकुद महोत्सव–२०८३” समेत आयोजना गर्न्े भएको बताउनु भएको हो ।
पत्रकार सम्मेलनमा नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “नगरपालिकाले पुस महिनालाई खेलकद महोत्सव महिना बनाउँदैछ । महोत्सवको औपचारिक सुरुवात आगामी पुस ११ गतेदेखि बागमती प्रदेश अन्तरनगरपालिका स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिताबाट हुनेछ । प्रतियोगितामा बागमती प्रदेशभित्रका विभिन्न नगरपालिकाका फुटबल टोली सहभागी हुनेछन् ।” उहाँले प्रतियोगिता अन्तर्गत वागमती प्रदेश अन्तर नगरपालिकास्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने बताउनुभयो ।
महोत्सवमा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता, उपत्यकाव्यापी भलिबल प्रतियोगिता, मार्सल आर्ट प्रतियोगितातर्फ कराते प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, उसु प्रतियोगिता, आइकेकेएफ कराते प्रतियोगिता, किक बक्सिङ प्रतियोगिता, टेबल टेनिस प्रतियोगिता, फुटसल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, बास्केटबल प्रतियोगिता, हाफ म्याराथन प्रतियोगिता,उसु प्रतियोगिता, स्नूकर प्रतियोगिताको आयोजना गरिने उहाँले बताउनुभयो ।
त्यसैगरि नगरपालिकाले बागमती प्रदेश अन्तर नगरपालिका स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता–२०८३ समेत आयोजन ागर्ने भएको छ । पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै नगर प्रमुख श्रेष्ठले यस प्रतियोगितामा विजेतालाई रु. १० लाख २५ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेतालाई रु. ५ लाख नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताउनुभयो ।
त्यस्तै फेयर प्लेलाई रु. ५० हजार,सहित ट्रफी, मेडल र प्रमाणपत्र, बेस्ट प्लेयर अफ द टुर्नामेन्टलाई रु. २ लाख ५० हजारको मोटरसाइकल सहित ट्रफी, मेडल र प्रमाणपत्र, बेस्ट गोलकिपरलाई रु. २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र, बेस्ट डिफेन्डरलाई रु. २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
बेस्ट मिडफिल्डरलाई रु. २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र, बेस्ट फरवार्डलाई रु. २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र, बेस्ट कोचलाई रु. २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र र म्यान अफ द म्याचलाई रु. ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उहाले बताउनुभयो । उहाँले प्रतियोगितामा सहभागि हुने टिमलाई पुस ४ गतेभित्र टिम दर्ता गराउन उहाँले आग्रह गर्नुभयो ।
खेलकुदको माध्यमबाट स्थानीय प्रतिभाको पहिचान, विकास र प्रवद्र्धन गर्दै नगरको राष्ट्रिय पहिचान स्थापित गर्ने उद्देश्यले खेलकुद महोत्सव आयोजना गर्न लागिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । चालु आर्थिक वर्ष २०८३÷८४ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटअनुसार विभिन्न विधाका खेलकुद प्रतियोगिता समावेश गरी महोत्सव आयोजना गर्न लागेको हो ।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमिको ऐतिहासिक, सांस्कृतिक र सम्पदाको पहिचानलाई खेलकुदसँग जोडेर नगरलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्य रहेको बताउनुभयो । उहाँले खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी स्वस्थ नागरिक, अनुशासित समाज र सक्षम युवा निर्माणको महत्वपूर्ण आधारका रुपमा विकास गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
महोत्सवले स्थानीयस्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान गर्न र नयाँ पुस्तालाई खेलकुदमा आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलकुदले युवामा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्नुकासाथै विभिन्न स्थानीय तहबीच आपसी भाइचारा, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने बताउनुभयो ।
उहाँले नगरपालिकाले खेलकुद पूर्वाधार विकास, खेलमैदानको स्तरोन्नति, खेलाडीको क्षमता अभिवृद्धि र नियमित प्रशिक्षणलाई प्राथमिकता दिने बताउनुभयो । उहाँले विद्यालय तहदेखि नै खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न शैक्षिक संस्था, खेलकुद संघसंस्था, प्रशिक्षक र अभिभावकसँग सहकार्य गरिने जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले महोत्सवमा विभिन्न स्थानबाट खेलाडी, प्रशिक्षक र खेलप्रेमीको सहभागिता हुँदा होटल, रेस्टुरेन्ट, यातायात तथा स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढ्ने बताउनुभयो । श्रेष्ठले खेलकुदसँगै मध्यपुर थिमिको कला, संस्कृति र सम्पदाको प्रचारप्रसार गरी नगरलाई खेलकुद तथा पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने नगरपालिकाको लक्ष्य राखेको बताउनुभयो। महोत्सव सफल बनाउन नगरपालिकाले खेलकुद संघसंस्था, स्थानीय क्लब, विद्यालय, निजी क्षेत्र, नागरिक समाज र सञ्चारमाध्यमसँग सहयोग तथा सहभागिताका लागि आग्रह गरेको छ ।
मध्यपुरथिमि नगरपालिका, उपत्यका र वागमती प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न र खेलाडीलाई प्रात्साहन दिन प्रतियोगिता सफल हुने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
यो पनि पढ्नुहोस  माओवादीको प्रचार गरेको भन्दै कुलमानलाई सोध्यो निर्वाचन आयोगले स्पष्टिकरण
प्रकाशित मितिः