देउवा पक्षले १५औँ महाधिवेशनका लागि पाँच समिति संयोजक तोक्यो, महतदेखि साउदसम्मलाई जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन तयारीका लागि पाँचवटा समितिका संयोजक तोकेको छ ।
महाधिवेशन मूल तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न समितिका संयोजक नियुक्त गरेका हुन् ।
तयारीअन्तर्गत प्रचारप्रसार, अतिथि सत्कार तथा समन्वय, प्रशासन समन्वय तथा स्वयंसेवक परिचालन, सांस्कृतिक कार्यक्रम र स्वास्थ्य व्यवस्थापनका लागि छुट्टाछुट्टै समिति गठन गरिएको छ ।
प्रचारप्रसार समितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता डा. प्रकाशशरण महत चयन भएका छन् । अतिथि सत्कार तथा समन्वय समितिको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदलाई दिइएको छ ।
त्यस्तै, प्रशासन समन्वय तथा स्वयंसेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिको संयोजकमा केन्द्रीय सदस्य विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा डा. अमित कार्की नियुक्त भएका छन् ।
मंसिर ९ गते बसेको महाधिवेशन तयारी समितिको बैठकले गरेको निर्णयअनुसार उनीहरूलाई जिम्मेवारी प्रदान गरिएको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले जानकारी दिएका छन् ।



