मुख्यमन्त्री थापामगरको टोली लिएर विपद प्रभावित क्षेत्रको अनुगमनमा प्रस्थान : तत्काल उद्धार, राहत तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन
भक्तपुर, १० भदौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर सहितको टोली भीषण बाढीपछि आएको विपद् प्रभावित क्षेत्रको अनुगमन एवं अवलाकनका लागि प्रस्थान गरेको छ । आज प्रदेश मुख्यमन्त्रीको कार्यालयमा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सम्पन्न भएलगत्तै विपद क्षेत्रको अनुमगनमा टोली प्रस्थान गरेको हो ।
मुख्यमन्त्री थापामगरको नेतृत्वमा आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, बिभिन्न मन्त्रालयका सचिवहरु, विपद बिज्ञहरुको टोली काठमाडौं हुदै नुवाकोटमा बट्टारसम्म पुगेर विपद क्षेत्रको अनुगमन गरि थप तयारी गर्ने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “हेटौडाबाट हामी काठमाडौं पुगिसक्यौ, आज नुवाकोटको बट्टारसम्म पुगेर त्यहाँ पुगेको केन्द्रीय सरकारको टोली, प्रमख जिल्ला अधिकारीहरु, सुरक्षा निकायको टोली, स्वास्थ्य टोलीलगायतसंग विशेष छलफल गर्ने, विपद क्षेत्रको अनुगमन गर्छौ । तत्कालै आवश्यक थप कार्यका गर्नेछौ, प्रदेश सरकार यो विदको घडीमा कही कतै अलमल नगरी जनताको सेवामा क्रियासिल रहन्छ ।”

उहाँले रसुवामा आएको भीषण बाढीपछि विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिदै मुख्यमन्त्री थापामगरले भन्नुभयो, “विपदमा परेका नागरिकको उद्धार तथा राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न, तत्काल घाइते तथा विपदमा परेकाहरूको उद्धार गरी राहत वितरण गर्न, प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार तथा उद्धार टोली परिचालन गर्न, विस्थापित तथा प्रभावित नागरिकका लागि खाना र आवासको व्यवस्था मिलाउन र स्वच्छ खानेपानीको तत्काल व्यवस्थापन गर्न निर्देशन दिएका छौ, त्यसका लागि तत् निकायले काम सुरु गरिसकेको छ ।”
बाढीबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने खाद्यान्न, खानेपानी, स्वास्थ्य उपचार, अस्थायी आवास तथा अन्य राहत सामग्रीको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउनमेत सम्बन्धीत मन्त्रालय, निकायलाई निर्देशन दिएको बताउनुभयो ।

रसुवामा बाढीका कारण जनधनमा क्षति पुगेपछि प्रदेश सरकारले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी संयन्त्रसँग समन्वय गरी उद्धार, राहत र पुनःस्थापनाका कामलाई ढिलो नगरी प्रभावकारी बनाउने उहाँले जानकारी दिनुभयोे ।
यसअघि बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, भौतिक पूर्वाधार विकासमन्त्री भरत केसी, मन्त्री ज्ञानबहादुर तामाङ, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु बिष्ट, पूर्व आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ लगायत सहभागी थिए। त्यस्तै प्रदेशसभा सदस्यहरू रमेश महत र इन्द्रप्रसाद गोतामे, पूर्व उपसभामुख राधिका तामाङ, विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको समेत बैठकमा उपस्थिति रहेको मुख्यमन्त्रीका स्वकीय सचिव सञ्जिव थापाले जानकारी दिनुभयो ।
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
+1
+1
+1
