नारायणमान बिजुक्छेँले गरे नेमकिपाद्धारा घोषणा–पत्र सार्वजनिक
भक्तपुर, १५ वैशाख : नेपाल मजदुर किसान पार्टीले स्थानीय तह निर्वाचन २०७९ का लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।
आज पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंले सार्वजनिक गर्नु भएको घोषणापत्रमा हालै संसदले पारित गरेको एमसीसी सम्झौता, अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवादको बिरोध गर्दै एकाधिकार पुँजीविरुद्ध नेमकिपाले पार्टी स्थापनादेखि गरेको आन्दोलन र संघर्षकाबारेमो चर्चा गरिएको छ ।
श्रीलंकामा भएको आर्थिक संकटले नेपालमा पर्ने प्रभाव र त्यसको निराकरणका उपायहरुलाई घोषणापत्रमा समेट्दै नेमकिपाले घोषणा पत्रमै नेपाली काँग्रेस र एमाले दुबै प्रतिगामी शक्ति भएको बिजुक्छेले आरोप लगाउनु भएको छ । बिजुक्छेँले काँग्रेस र एमाले दुबै प्रतिगामी, वर्गीयरूपले पुँजीवादी र सामन्त वर्गको प्रतिनिधित्व गर्ने एउटै ढ्याकका खुकुरी र त्रिशुल भएको टिप्पणी गर्नु भयो ।
घोषणापत्रमा नेमकिपाले मतसीमा अर्थात थ्रेसहोल्ड खारेजीको माग गर्दै सत्ताधारी दलहरूले मतसीमा नपुगेका दलका नेता र सांसदहरूलाई मन्त्री बनाउँदै थ्रेसहोल्डको समर्थनमा हस्ताक्षर गराउँदै तानाशाही लाद्ने प्रयास गरेको आरोप लगाएको छ ।
घोषणापत्रमा सरकारले बजेट विनियोजनमा पक्षपात गरेको भन्दै विगतमा नेमकिपाका जनप्रनिधिले गरेको स्थानीय तहको बिकासको बारेमा चर्चा गरिएको छ ।
