प्रधानमन्त्री शाहलाई नयाँदिल्लीमा राज्यमन्त्री जितिनद्वारा स्वागत
काठमाडौं ६ मङ्सिर ः प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली आइपुग्नुभएको छ ।
प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानबाट आज दिउँसो स्थानीय समयअनुसार ३स्१५ बजे इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल अवतरण गर्नुभयो । उहाँलाई विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नुभयो ।
त्यस अवसरमा भारतका लागि नेपालका राजदूत डा निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार र नयाँ दिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारी लगायतको उपस्थिति थियो ।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा आउनुभएको हो । प्रधानमन्त्रीको स्वागतमा विमानस्थलमा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकारलगायत हुनुहुन्छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुनेछ । साथै उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीसँग यही मङ्सिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने तालिका छ ।
भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । यस्तै, नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा दुवै देशका उच्च सरकारी नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।
यस्तै, सहकार्यका विविध क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानवसंशाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्र ९एमओयु० आदानप्रदान गरिनेछन् । यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने जनाइएको छ ।
भ्रमणको पहिलो दिन आज प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह सोमबार नयाँदिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरी यही मङ्सिर ७ गते साँझ १८स्३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनुहुने तालिका छ ।



