मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरको सूर्यविनायकको घट्टे खोला कटानको स्थलगत निरीक्षण
भक्तपुर, ६ मङ्सिर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरको सूर्यविनायक नगरपालिका–९, नंखेलस्थित त्रिवेणी खड्का खोलामा भइरहेको कटान तथा गर्ग मार्गमुनि रहेको घट्टे खोला कटानको स्थलगत निरीक्षण गर्नुभएको छ ।
मुख्यमन्त्री थापाले दुवै खोलामा भइरहेको नदी कटानको अवस्थाबारे स्थलगत जानकारी लिनुका साथै स्थानीयवासीहरूसँग छलफल तथा अन्तरक्रियासमेत गर्नुभएको हो ।निरीक्षणका क्रममा उहाँले नदी कटानका कारण स्थानीयवासीले भोग्नुपरेका समस्या र सम्भावित जोखिमबारे जानकारी लिनुभएको थियो ।
सो क्रममा त्रिवेणी खड्का खोला र घट्टे खोलामा भइरहेको कटान नियन्त्रणका लागि बागमती प्रदेश सरकारबाट आवश्यक बजेट व्यवस्थापन गर्ने विषयमा समेत छलफल भएको छ । मुख्यमन्त्री थापाले स्थानीयसँगको छलफलमा खोला कटान नियन्त्रणको लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नदी कटान नियन्त्रणका लागि आवश्यक योजना तथा बजेटको व्यवस्थापन हुन सके स्थानीय बस्ती, सडक तथा आसपासका क्षेत्रलाई सम्भावित क्षतिबाट जोगाउन सहयोग पुग्ने स्थानीयको भनाइ छ । उहाँहरूले कटान नियन्त्रण नभए आफूहरूको बास नै उठ्ने भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।



