नेप्सेमा ३३ अंकको उछाल, कारोबार रकम पनि बढेर साढे ७ अर्ब नजिक

काठमाडौं । साताको कारोबारका क्रममा बुधबार सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २ हजार ६६४.०६ विन्दुमा पुगेको छ। परिसूचकमा वृद्धिसँगै कारोबार रकममा समेत उल्लेख्य सुधार आएको छ।

आज व्यापार समूहबाहेक सबै समूहका उपसूचक सकारात्मक देखिएका छन्। सर्वाधिक जलविद्युत् समूहको उपसूचक २.०६ प्रतिशतले बढेको छ। त्यसैगरी जीवन बीमा समूह १.५९ प्रतिशत, फाइनान्स समूह १.५५ प्रतिशत, लगानी समूह १.५२ प्रतिशत, बैंकिङ समूह १.३६ प्रतिशत, होटल तथा पर्यटन समूह १.३४ प्रतिशत र विकास बैंक समूह १.११ प्रतिशतले बढेका छन्।

बुधबार नेप्सेमा कारोबार रकम पनि बढेको छ। आज ३४८ वटा कम्पनीका १ करोड ९३ लाख ९७ हजार ५४८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँ पुगेको छ।

यसअघि मंगलबार ३६० वटा कम्पनीका १ करोड ३३ लाख ४६ हजार २२६ कित्ता सेयर ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार रुपैयाँमा कारोबार भएका थिए। मंगलबारको तुलनामा बुधबार कारोबार रकम करिब १ अर्ब ६६ करोड रुपैयाँले बढेको छ।

आज कारोबार भएका कम्पनीमध्ये २४१ वटाको सेयर मूल्य बढेको छ भने ३५ वटाको मूल्य घटेको छ। त्यस्तै, ३ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

मूल्य वृद्धिका आधारमा बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड अगाडि रहेको छ। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै, बुटवल पावर कम्पनीको सेयर मूल्य १०.६० प्रतिशतले वृद्धि भएको छ।

यो पनि पढ्नुहोस  वागमती प्रदेशको मुख्यमन्त्री किरण थापाद्धारा मध्यपुरथिमिको कुमारीको दर्शन
प्रकाशित मितिः