ओलीको निर्देशन : ‘देशको रक्षाका लागि आन्दोलन गर्न तयार रहनू’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको दाबी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएका छन्। उनले देशको रक्षा र पार्टीको शक्ति सुदृढ गर्न आन्दोलन आवश्यक रहेको बताएका हुन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलनबाट पछि हटेर अघि बढ्न नसकिने बताए। देशको वर्तमान परिस्थितिलाई चुनौतीपूर्ण भन्दै उनले आन्दोलनले नै पार्टीलाई शक्ति प्रदान गर्ने र लक्ष्य प्राप्तिमा सहयोग पुर्‍याउने जिकिर गरे।

‘देश क्रिटिकल अवस्थामा छ। यस अवस्थाबाट हामीले देशलाई पार लगाउनुपर्नेछ। यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्छ,’ ओलीले भने, ‘आन्दोलन गर्ने आँट गरेनौँ भने हामी सफल हुन सक्दैनौँ। आन्दोलनले टिकाउने हो, अघि बढाउने हो र जिताउने हो।’

ओलीले दक्षिणपन्थी शक्तिहरूले लोकतन्त्र र शान्तिको नाममा जनतालाई धोका दिइरहेको आरोप लगाए। उनले सरकार बलजफ्ती अघि बढिरहेको दाबी गर्दै नागरिकको स्वतन्त्रता र अभिव्यक्तिमाथि दबाब सिर्जना गरिएको आरोपसमेत लगाए।

नेपाल प्रहरीले बर्दी नलगाई पक्राउ गर्न जाने तथा बलजफ्ती गर्ने गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। सरकारको कार्यशैलीप्रति आलोचना गर्दै ओलीले राज्यका निकायले नागरिकको अधिकार र स्वतन्त्रताको सम्मान गर्नुपर्ने आशय व्यक्त गरे।

उनले वर्तमान अवस्थालाई ‘अराजक’ र ‘फाँसीवादतर्फ उन्मुख’ भएको संज्ञा दिँदै पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनको मानसिकतासहित तयारी अवस्थामा रहन निर्देशन दिए। तत्कालै वा तिहार तथा छठपछि आन्दोलनको आवश्यकता पर्न सक्ने भन्दै उनले आन्तरिक तयारीमा जुट्न आग्रह गरे।

यसैगरी, अध्यक्ष ओलीले आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक चुनावी तयारीमा लाग्न निर्देशन दिए। एमालेबिनाको देश बनाउने सोचलाई निर्वाचनमार्फत असफल पार्नुपर्ने उनको भनाइ थियो।

ओलीको सम्बोधनमा वर्तमान राजनीतिक परिस्थितिप्रतिको असन्तुष्टि, आन्दोलनको तयारी र आगामी निर्वाचनमा पार्टीको प्रभाव बलियो बनाउने विषय प्रमुख रूपमा उठेका छन्।

यो पनि पढ्नुहोस  जनताको वर्तमान् सरकारलाई मंसीरबाट जनताले पाखा लगाउने छन् : एमाले नेता एवं सांसद महेश बस्नेत
प्रकाशित मितिः