आज कांग्रेसको नयाँ कार्यसमितिको शपथ, गगन थापाको नेतृत्वमा पहिलो बैठक
पाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आज कात्तिक १२ गतेदेखि औपचारिक रूपमा पार्टीको जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा दिउँसो २ बजे आयोजना हुने समारोहमा सभापतिबाहेक नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन्। सभापति गगनकुमार थापाले भने असोज ३१ गते नै शपथ ग्रहण गरिसकेका छन्।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथ ग्रहणसँगै नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरण गरी पदबहालीसमेत गराइनेछ। गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न महाधिवेशनको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते सार्वजनिक गरिएको थियो। यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक साताभित्रै सम्पन्न भएको थियो।
महाधिवेशनबाट गगनकुमार थापा ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित भएका थिए। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य, पुष्पा भुसाल र विनोद चौधरी निर्वाचित भएका छन्। त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डिला संग्रौला निर्वाचित भएका छन्।
शपथ ग्रहण र पदबहालीपछि आजै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि सानेपामा बस्नेछ। बैठकले महाधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्तालाई धन्यवाद दिने विषयमा निर्णय गर्नेछ। साथै, पार्टीका आगामी जिल्ला तथा प्रदेश अधिवेशनका विषयमा समेत छलफल हुने जनाइएको छ।



