चक्रवात मुरासुको नेपालमा ठूलो असर नपर्ने, पहाड–हिमालमा हल्का वर्षाको सम्भावना

बङ्गालको खाडीमा विकसित भएको चक्रवाती आँधी मुरासुको नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज (सोमबार) देशभर आंशिक बादल लाग्नेछ। पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ। लुम्बिनी प्रदेशको तराईका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना छ।

हाल देशभर आंशिक रूपमा मौसम बदली रहेको छ। दार्चुला, बझाङ र हुम्लाका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको महाशाखाले जानकारी दिएको छ।

मुरासुबारे विशेष बुलेटिन जारी गर्दै महाशाखाले मौसम मोडल, भूउपग्रहका तस्बिर र तथ्याङ्कको विश्लेषणका आधारमा नेपालमा ठूलो प्रभाव नपर्ने आकलन गरेको हो।

आइतबार बिहान ११ बजेर ४५ मिनेटमा दक्षिणपश्चिम बङ्गालको खाडी तथा आसपासको पश्चिममध्य बङ्गालको खाडीमा मुरासु चक्रवाती आँधी बनेको थियो। उक्त प्रणाली आज पश्चिममध्य बङ्गालको खाडीमा शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ। यो निरन्तर पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढ्दै कात्तिक १७ गते भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्र (नेल्लौर र नरसापुरबीच) मा शक्तिशाली चक्रवाती आँधीका रूपमा जमिन प्रवेश गर्न सक्ने पूर्वानुमान छ। तर यसबाट नेपालको मौसममा कुनै ठूलो असर नपर्ने महाशाखाको निष्कर्ष छ।

यो पनि पढ्नुहोस  श्रीमतिको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुदै घर फर्किए यादव परिवार
प्रकाशित मितिः