छठ पर्वको तयारी तीव्र, काठमाडौँका १७ स्थानमा घाट निर्माण
काठमाडौँ । छठ पर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, पोखरी तथा जलाशयमा पूजा व्यवस्थापनको तयारी तीव्र पारिएको छ। पछिल्ला वर्षमा उपत्यकामा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न १७ स्थानमा घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको छ।
गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु, वंशीघाटलगायत स्थानमा छठ पूजाका लागि आवश्यक पूर्वाधार तयार पारिँदै छ। घाटमा पाल टाँग्ने, बत्ती जडान गर्ने, नदी किनार सफा गर्ने तथा व्रतालुका लागि आवश्यक व्यवस्था मिलाउने काम भइरहेको छ।
गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहका अनुसार गौरीघाटमा मात्रै ५५७ जना व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ। तयारी अन्तिम चरणमा पुगेको र व्रतालुलाई सहज हुने वातावरण बनाउन व्यवस्थापनको काम भइरहेको उनले बताए।
छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने धार्मिक परम्परा छ। चार दिनसम्म विभिन्न विधि र आस्थाका साथ मनाइने यस पर्वमा व्रतालुले नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यको उपासना गर्छन्। मनोकामना पूरा हुने विश्वासका साथ पनि छठको व्रत बस्ने गरिन्छ।
काठमाडौँमा छठ पूजा हुने प्रमुख स्थानमा गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, थापाथली, टेकु, वंशीघाट, कुपण्डोल र बल्खु क्षेत्र रहेका छन्। त्यस्तै विष्णुमती र नख्खु नदी किनार, तीनकुने दोभान, टङ्केश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट तथा बालाजुको बाइसधारामा पनि छठ पूजाको तयारी भइरहेको छ।
काठमाडौँ महानगरपालिकाले विगतका वर्षदेखि कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टङ्केश्वर, बल्खुस्थित कुमारी क्लब क्षेत्र, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटलाई छठ पूजाका प्रमुख स्थलका रूपमा व्यवस्थापन गर्दै आएको छ।
यस वर्ष छठ पर्वअन्तर्गत कात्तिक २८ गते शनिबार खरना विधि गरिनेछ। कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुनेछ।
विशेषगरी तराई–मधेशमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा पनि विस्तार हुँदै गएको छ।



