गाजाको नासेर अस्पतालमा इजरायली हवाई आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु
गाजा । दक्षिणी गाजाको खान युनिसस्थित नासेर अस्पतालमा बिहीबार बिहान भएको इजरायली हवाई आक्रमणमा एक चिकित्सकसहित ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमूद बसालका अनुसार अस्पतालको शल्यक्रिया विभागलाई लक्षित गरी गरिएको आक्रमणबाट भवनमा ठूलो क्षति पुगेको छ। आक्रमणमा मृत्यु हुने चिकित्सकको पहिचान रेजिक अबुशिराका रूपमा गरिएको छ।
आक्रमणपछि अस्पतालका कोठाहरूमा भग्नावशेष र छरिएका फर्निचर देखिएका छन्। क्षतिग्रस्त छतबाट तारहरू झुन्डिएका छन् भने उद्धारकर्मीहरूले घाइते बिरामीलाई स्ट्रेचरमा राखेर भग्नावशेषले भरिएका करिडोरबाट बाहिर निकालेका थिए। घटनास्थलबाट शवसमेत निकालिएको थियो।
घटनाबारे इजरायली सेनाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन। हमासका प्रवक्ताले अस्पतालमाथिको आक्रमणलाई ‘पूर्ण रूपमा विकसित युद्ध अपराध’ भन्दै निन्दा गरेका छन्।
इजरायलले गाजामा आफ्नो सैन्य कारबाही तीव्र बनाउँदै हमासले सैन्य क्षमता पुनर्निर्माण र हतियार पुनःसंगठन गर्न खोजिरहेको आरोप लगाएको छ। तर हमासले एक वर्षअघि भएको युद्धविराम सम्झौताप्रति आफू प्रतिबद्ध रहेको दाबी गर्दै इजरायलले सम्झौता कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाएको छ।
क्षेत्रका स्वास्थ्य अधिकारीहरूका अनुसार युद्धविराम सम्झौतामा सहमति भएयता गाजामा इजरायली आक्रमणमा कम्तीमा एक हजार ६०० प्यालेस्टिनीको मृत्यु भइसकेको छ। उक्त अवधिमा आफ्ना चार सैनिक मारिएको इजरायलले जनाएको छ।
गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार सन् २०२३ अक्टोबरमा इजरायलले सैन्य कारबाही सुरु गरेयता ७४ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ।
यसअघि हमास नेतृत्वका लडाकुहरूले दक्षिणी इजरायलमा गरेको आक्रमणमा करिब एक हजार २०० जनाको मृत्यु भएपछि इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो।



