प्रधानमन्त्री बालेनसँग आज भारतीय विदेश सचिव मिश्रीको भेट, भारत भ्रमणको एजेन्डामा छलफल हुने
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेटवार्ता गर्दैछन्। प्रधानमन्त्रीको भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल हुने अपेक्षा गरिएको छ। भेटवार्ता सकेर मिश्री आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम छ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा बुधबार बिहान काठमाडौं आएका मिश्रीको भ्रमण प्रधानमन्त्री शाहको आगामी भारत भ्रमणको तयारीमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
काठमाडौं आएलगत्तै भेटघाटमा व्यस्त रहेका मिश्रीले बुधबार परराष्ट्र सचिव राईसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। त्यस क्रममा आगामी उच्चस्तरीय भ्रमणको तयारी र नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल भएको थियो।
मिश्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
अर्थमन्त्री वाग्लेसँगको भेटमा दुई देशबीचको आर्थिक साझेदारी सुदृढ गर्ने विषयमा छलफल भएको थियो। ऊर्जामन्त्री श्रेष्ठसँग ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य विस्तार र नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे कुराकानी भएको बताइएको छ। पूर्वाधार विकासमन्त्री लम्सालसँग भने पूर्वाधार तथा कनेक्टिभिटीका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई ध्यानमा राखेर मिश्रीको नेपाल भ्रमण भएको हो। नेपाल र भारतका अधिकारीहरू प्रधानमन्त्री शाहको भारत भ्रमण मंसिर दोस्रो सातामा गराउने तयारीमा रहेको स्रोतले जनाएको छ।
भ्रमणका क्रममा हवाई, रेल, सडक तथा पुलमार्फत दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार, द्विपक्षीय व्यापार सहजीकरण, विकास सहकार्य, ऊर्जा क्षेत्रको साझेदारी र जनस्तरको सम्बन्ध सुदृढ बनाउने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार भ्रमणका सम्भावित विषयमा प्रारम्भिक छलफल भए पनि अन्तिम एजेन्डा भने तय हुन बाँकी छ। विभिन्न मन्त्रालयसँगको परामर्शपछि भ्रमणका ठोस विषय निर्धारण गरिनेछ।
यसैबीच, नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि मंगलबार काठमाडौं आइपुगेका छन्। प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीसँगै उनको आगमनलाई पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यसअघि कात्तिक ११ गते नियमित पत्रकार भेटघाटका क्रममा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निमन्त्रणा दिइसकिएको जानकारी दिएका थिए।
प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक मिति छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। भारतीय विदेश सचिव मिश्रीको भ्रमणपछि मिति सार्वजनिक हुन सक्ने बताइएको छ।
यसअघि प्रधानमन्त्री शाहसँग भेटघाटको समय नमिलेपछि मिश्रीले तय भइसकेको नेपाल भ्रमण स्थगित गरेको समाचार सार्वजनिक भएको थियो। त्यसैले यसपटकको उनको भ्रमण र प्रधानमन्त्रीसँग हुने भेटवार्तालाई चासोका साथ हेरिएको छ।



