‘एक सुकाको पनि आर्थिक लेनदेन गरेको छैन, निष्पक्ष अनुसन्धानको प्रतीक्षामा छु’ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफू कुनै आर्थिक लेनदेन वा अनुचित गतिविधिमा संलग्न नरहेको दाबी गरेका छन्। उनले आफूलाई जोडेर प्रायोजित हल्ला फैलाइएको भन्दै त्यस्ता आरोप पूर्ण रूपमा खारेज गर्ने बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आफ्नो नाम जोडेर राजनीतिक बजारमा हल्ला चलाइएको बताए।
‘नेपाली कांग्रेसको आधिकारिकताको विषयमा एउटा हल्लाले अहिले राजनीतिक बजार पिटेको छ। यो बदनियतका साथ चलाइएको हल्ला हो, यसलाई हामी पूर्ण रूपमा खारेज गर्छौं,’ उनले भने।
पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले यसअघि नै केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै थापाले पार्टी र नेतृत्व सबै प्रकारका अनुसन्धानका लागि तयार रहेको बताए।
अडियो प्रकरणमा निष्पक्ष अनुसन्धानको माग
फिक्सर इनम सापकोटा नेपाल प्रहरीको हिरासतमा रहेको अवस्थामा उनको नामसँग जोडेर सार्वजनिक भएको भनिएको अडियोबारे प्रतिक्रिया दिँदै थापाले उक्त अडियोको स्रोत र सत्यताबारे आफूलाई कुनै जानकारी नभएको बताए।
‘त्यो अडियो कहाँ बोलेको? कसले बोलेको? किन बोलेको? कहिले बोलेको? थाहा छैन। बोलेको हो कि बोलाइएको? यो पनि थाहा छैन,’ उनले भने।
अडियोमा आफ्नो नाम जोडिएको भन्दै सार्वजनिक रूपमा स्पष्टीकरण दिइरहनुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ। बरु सम्बन्धित व्यक्तिमाथि निष्पक्ष अनुसन्धान हुनुपर्नेमा उनले जोड दिए।
‘अब प्रश्न हामीलाई सोध्ने होइन। प्रश्न जहाँ सोध्नुपर्ने हो, त्यहाँ सोध्ने। जब राम्रोसँग अनुसन्धान हुन्छ, फेयर अनुसन्धान हुन्छ, दूधको दूध, पानीको पानी मज्जाले छुटिन्छ। हामी त्यसकै प्रतीक्षामा छौँ,’ थापाले भने।
पार्टीको आधिकारिकताका लागि भइरहेको राजनीतिक तथा कानुनी लडाइँमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नगरेको दाबी गर्दै उनले भने, ‘रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, कुनै अनुचित काम गरेको छैन, भएको छैन।’
विशेष महाधिवेशनलाई पार्टीभित्रको विद्रोहको संज्ञा
थापाले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई पार्टीभित्रको विद्रोहको संज्ञा दिएका छन्। भदौ २३ र २४ गते युवाहरूले गरेको विद्रोहको सम्मान गर्दै पार्टीभित्र परिवर्तन आवश्यक रहेको निष्कर्षसहित आफूहरू अघि बढेको उनले बताए।
‘नेपाली कांग्रेसको विशेष महाधिवेशन भनेको विद्रोह हो। पार्टीको भुइँ तहको कार्यकर्ताले गरेको विद्रोहमा हामीहरू मिसिएको हो,’ उनले भने।
विभिन्न राजनीतिक दलका नेताहरूसँग आफूले गरेको भेटघाटलाई पक्राउको हल्ला वा अडियो प्रकरणसँग जोड्न नहुने थापाको भनाइ छ। कांग्रेस सभापतिको हैसियतमा मधेश प्रदेश सरकारको विश्वासको मतलगायत राजनीतिक विषयमा छलफल गर्न नेताहरूसँग भेटघाट गरेको उनले स्पष्ट पारे।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटघाट राजनीतिक संवादकै सिलसिला भएको उनले बताए।
‘म तर्सिने जिनिस नै होइन, तर्सिनै परेको छैन। नेपाली कांग्रेसको पार्टी सभापति छु, मेरो पार्टी सभापतिको रूपमा केही ड्युटीजहरू छन्,’ थापाले भने।
सरकारको कार्यशैलीप्रति असन्तुष्टि
थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्राकृतिक विपत्तिबाट घरबारविहीन भएका नागरिकको पुनःस्थापना, सुकुम्बासी समस्या, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
‘सबैभन्दा ठूलो कुरा इकोनोमी छ, खोइ जब्स? खोइ इन्भेस्टमेन्ट? जताततै बर्बाद हुँदै गएको छ,’ उनले भने।
सरकार पाँच वर्षको जनादेशसहित आएको भन्दै त्यसलाई सम्मान गर्ने तर लोकतान्त्रिक अधिकार र संस्थामाथि हस्तक्षेप भए प्रतिवाद गर्ने उनको चेतावनी छ।
‘डेमोक्रेटिक राइटलाई खुम्च्याउने कुरा, हाम्रा संस्थालाई कमजोर बनाउने कुरा हुँदै गर्दा हामी मूकदर्शक भएर बस्दैनौँ, बोल्छौँ, प्रश्न गर्छौं, पर्यो भने प्रतिवाद गर्छौं,’ उनले भने।
‘मेरो हात सफा छन्’
आफूमाथि पटकपटक प्रायोजित आरोप लगाएर चरित्रमाथि प्रश्न उठाउने प्रयास भइरहेको दाबी गर्दै थापाले आफ्नो नैतिकता र इमानदारीमा कुनै सम्झौता नगरेको बताए।
‘मेरो आत्मा दाग छैन, मनमा कुनै कालो छैन, मेरा हात सफा छन्, माइ ह्याण्ड्स आर क्लिन,’ उनले भने।
विगतमा पनि शक्तिशाली सत्ताको गलत कामविरुद्ध आवाज उठाउँदै आएको उल्लेख गर्दै थापाले अहिले पनि आफ्नो अडानबाट पछि नहट्ने बताए।
प्रायोजित हल्लाका कारण प्रश्न गर्ने अधिकार कमजोर हुन नहुनेमा जोड दिँदै उनले लोकतन्त्रमा प्रश्न गर्ने अधिकारको महत्त्व औँल्याए।
‘यत्रो प्रायोजित हल्लाहरूको बीचमा राइट टु क्वेस्चन मर्नु हुँदैन। प्रश्न मर्यो भने डेमोक्रेसी सकिन्छ, डेमोक्रेसी मात्र होइन, हाम्रो प्रगतिको पनि सकिन्छ,’ थापाले भने।



