सिमकार्ड र इन्टरनेट नहुँदा पनि मोबाइलमा विपद् सूचना आउने प्रणालीको आज परीक्षण

४ मंसिर, काठमाडौं । सिमकार्ड र इन्टरनेट सेवा जडान नभएका मोबाइल उपकरणमा समेत विपद्सम्बन्धी पूर्वसूचना पुर्‍याउन सक्ने ‘सेल ब्रोडकास्टिङ’ प्रणालीको आज काठमाडौंमा परीक्षण गरिँदैछ ।

विपद्को जोखिम रहेका क्षेत्रमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल चेतावनी तथा पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले उक्त प्रणालीको प्राविधिक परीक्षण गर्न लागिएको हो ।

सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा काठमाडौंको बलम्बु क्षेत्रमा परीक्षण गरिने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार परीक्षणका क्रममा तोकिएको क्षेत्रभित्र रहेका मोबाइल उपकरणमा नेटवर्कमार्फत पूर्वसूचना सन्देश पठाइनेछ । यसमार्फत विपद्का बेला सूचना प्रवाह गर्ने प्रणालीको प्राविधिक कार्यक्षमता र सन्देश प्राप्त हुने अवस्थाको परीक्षण गरिने उनले बताए ।

के हो सेल ब्रोडकास्टिङ प्रणाली ?

सेल ब्रोडकास्टिङ (CBS) एक यस्तो प्रविधि हो, जसको माध्यमबाट निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना तथा चेतावनी सन्देश पठाउन सकिन्छ । यस प्रणालीको विशेषता भनेको सिमकार्ड वा इन्टरनेट सेवा आवश्यक नपरी मोबाइल नेटवर्कको पहुँचमा रहेका उपकरणमा सूचना प्राप्त हुन सक्नु हो ।

सामान्य एसएमएस प्रणालीभन्दा फरक, सेल ब्रोडकास्टिङले नेटवर्कमा अत्यधिक चाप भएका अवस्थामा पनि छोटो समयमा ठूलो संख्यामा मोबाइल उपकरणमा सन्देश पुर्‍याउन सक्छ ।

यस प्रणालीमार्फत प्राप्त सन्देश मोबाइलको सामान्य इनबक्समा एसएमएसका रूपमा नभई स्क्रिनमा आपत्कालीन अलर्टका रूपमा देखिनेछ । अलर्टसँगै विशेष ध्वनि बज्ने भएकाले प्रयोगकर्ताको ध्यान तत्काल सन्देशतर्फ आकर्षित हुनेछ । यसले विपद्सम्बन्धी चेतावनीलाई समयमै हेर्न र बुझ्न सहज बनाउने अपेक्षा गरिएको छ ।

त्यस्तै, निश्चित भौगोलिक क्षेत्रमा मात्र सूचना पठाउन सकिने भएकाले जोखिममा रहेका समुदाय तथा नागरिकलाई लक्षित गरी चेतावनी जारी गर्न सकिनेछ ।

प्रारम्भिक परीक्षण सफल भएमा प्रणालीलाई क्रमशः विस्तार गर्दै विपद्को उच्च जोखिम रहेका विभिन्न क्षेत्रमा कार्यान्वयन गर्ने योजना रहेको छ ।

यो पनि पढ्नुहोस  भक्तपुरमा तराईको झल्को, झकिझकाउ पोखरी र खोलामा भव्य रुपमा मनाईयो छठ पर्व

सेल ब्रोडकास्टिङ प्रणाली लागू भएपछि बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम रहेका क्षेत्रका नागरिकलाई समयमै सचेत गराउन, सुरक्षित स्थानमा जान र आवश्यक सुरक्षात्मक उपाय अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपालमा विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै आधुनिक दूरसञ्चार प्रविधिको माध्यमबाट नागरिकको सुरक्षा सुनिश्चित गर्ने प्रयासका रूपमा यो परीक्षणलाई महत्त्वपूर्ण कदम मानिएको छ ।

प्रकाशित मितिः