नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्व दिन्छ : जयशंकर
काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्वका साथ लिएको बताएका छन्। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेपछि उनले नेपाल–भारत सम्बन्धप्रति भारतको प्रतिबद्धता व्यक्त गरेका हुन्।
आइतबार साँझ नयाँदिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’मार्फत भेटबारे जानकारी दिएका छन्।
दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत पुगेका प्रधानमन्त्री शाहको यो पहिलो औपचारिक भेटवार्ता हो।
भेटपछि जयशंकरले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहसँग भेट गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्। उनले नेपालसँगको विशेष मित्रतालाई भारतले महत्त्वका साथ लिने स्पष्ट पारेका छन्।
‘आज साँझ नयाँदिल्ली भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्न पाउँदा खुसी लागेको छ। भारतले नेपालसँगको विशेष मित्रतालाई महत्त्वका साथ लिन्छ,’ जयशंकरले लेखेका छन्।
उनले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने प्रधानमन्त्री शाहको भेटवार्ताको प्रतीक्षा गरिरहेको समेत बताएका छन्।
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा उच्चस्तरीय राजनीतिक संवादका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।



