आर्थिक समृद्धि भाषण र योजनामा मात्र सीमित नभई उत्पादन तथा नागरिकको जीवनस्तरमा देखिनु पर्छ : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा
हेटौँडा, ९ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आर्थिक समृद्धि भाषण र योजनामा मात्र सीमित नभई उत्पादन तथा नागरिकको जीवनस्तरमा देखिनुपर्ने बताउनुभयो । उद्योग दिवसका अवसरमा आज हेटौँडामा आयोजित नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा बोल्दै उहाँले प्रदेशको आर्थिक समृद्धिका लागि उद्योगको विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो ।
मुख्यमन्त्री थापाले भन्नुभयो, “हामीले अब आर्थिक समृद्धिको कुरा भाषणमा मात्र होइन, उत्पादनमा पनि देखाउनुपर्छ । विकासको कुरा योजनामा मात्र होइन, नागरिकको जीवनमा पनि अनुभूति गराउनुपर्छ । रोजगारीको कुरा आश्वासनमा मात्र होइन, उद्योग र उद्यमको माध्यमबाट सिर्जना गर्नुपर्छ ।” उहाँले युवालाई रोजगारी खोज्न विदेश तथा अन्यत्र जान बाध्य बनाउने अवस्थाको अन्त्य गर्दै आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्न सक्ने वातावरण निर्माण गर्न सरकार केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले बलियो उद्योग, सक्षम उद्यमी, दक्ष जनशक्ति र उत्पादनमुखी अर्थतन्त्र नै समृद्ध प्रदेश निर्माणका मुख्य आधार भएको उल्लेख गर्नुभयो । उद्योग स्थापना तथा सञ्चालनका क्रममा देखिने प्रशासनिक झन्झट हटाउँदै लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध हुनुपर्ने उहाँको भनाइ थियो ।
“सरकारको काम उद्योग सञ्चालन गर्नु मात्र होइन, उद्योग सञ्चालन गर्न चाहने नागरिकका लागि सहज वातावरण निर्माण गर्नु पनि हो,” उहाँले भन्नुभयो, “लगानीकर्तालाई सम्मान गर्नुपर्छ । उद्योग स्थापना र सञ्चालनका क्रममा देखिने अनावश्यक प्रशासनिक झन्झट हटाउनुपर्छ । नीतिगत स्थिरता, प्रक्रियागत सरलता, पूर्वाधारको उपलब्धता र लगानीको सुरक्षाको प्रत्याभूति गर्नुपर्छ ।”
मुख्यमन्त्री थापा मगरले निजी क्षेत्रलाई राज्यको विकास साझेदारका रूपमा चित्रण गर्दै सरकार र उद्योगी व्यवसायीबीच विश्वास, सहकार्य र साझेदारी आवश्यक रहेको बताउनुभयो । निजी क्षेत्रको लगानी, उद्यमीको आत्मविश्वास र श्रमिकको मेहनतलाई एकीकृत गर्न सके मात्र आर्थिक विकासले गति लिने उहाँको भनाइ थियो ।
यस वर्षको उद्योग दिवसको नारा ‘औद्योगिक वातावरण सुधार स् दिगो अर्थतन्त्रको आधार’ रहेको उल्लेख गर्दै उहाँले यसलाई आर्थिक विकासको मार्गदर्शनका रूपमा लिनुपर्ने बताउनुभयो । बागमती प्रदेशमा औद्योगिक विकासका प्रशस्त सम्भावना रहेको भन्दै उहाँले भौगोलिक विविधता, प्राकृतिक स्रोत, कृषि, पर्यटन, सीप र श्रमशक्तिलाई उत्पादनसँग जोड्नुपर्ने धारणा राख्नुभयो ।
घरेलु तथा साना उद्योग, कृषि तथा वनजन्य उद्योग, पर्यटनमा आधारित उद्यम, हस्तकला, सूचना प्रविधि र नवप्रवर्तनका क्षेत्रमा नयाँ सम्भावना खोज्नुपर्ने उहाँको भनाइ थियो । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै स्वदेशी वस्तुको गुणस्तर वृद्धि र उत्पादनलाई बजारसँग जोड्न सके आयातमा निर्भर अर्थतन्त्रलाई उत्पादन तथा निर्यातमा आधारित बनाउन सकिने उहाँले बताउनुभयो ।
“हामीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ । स्वदेशी वस्तुको गुणस्तर बढाउनुपर्छ । उत्पादनलाई बजारसँग जोड्नुपर्छ । स्थानीय स्रोत र सीपलाई आर्थिक अवसरमा रूपान्तरण गर्नुपर्छ,” मुख्यमन्त्री थापा मगरले भन्नुभयो ।

उहाँले उद्योगी तथा व्यवसायीलाई नाफा आर्जनमा मात्र केन्द्रित नभई सामाजिक उत्तरदायित्व, रोजगारी सिर्जना, स्थानीय उत्पादन प्रवद्र्धन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा समेत योगदान गर्न आग्रह गर्नुभयो । उद्योगको विकाससँगै श्रमिकको सम्मान, सुरक्षित कार्यस्थल, उचित श्रम सम्बन्ध र सीप विकासलाई पनि समान महत्व दिनुपर्ने उहाँको धारणा थियो ।
त्यसैगरी, औद्योगिक विकास वातावरणमैत्री र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिँदै उहाँले प्राकृतिक स्रोतको विवेकपूर्ण उपयोग गर्नुपर्ने बताउनुभयो । “आर्थिक विकासका नाममा प्रकृति र वातावरणलाई क्षति पु¥याउने होइन, प्राकृतिक स्रोतको विवेकपूर्ण उपयोग गर्दै भावी पुस्ताका लागि समेत अवसर सुरक्षित गर्ने विकास मोडेल अपनाउनुपर्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री थापा मगरले नवप्रवर्तन उद्यमी सम्मानबाट सम्मानित हुने उद्यमीहरूलाई बधाई दिँदै उनीहरूको सफलता अन्य युवाका लागि प्रेरणाको स्रोत बन्नुपर्ने बताउनुभयो । सीमित स्रोत र साधनका बीच नयाँ सोच, प्रविधि र सम्भावनाको खोजी गर्दै उद्यम सञ्चालन गर्नु प्रदेशको अर्थतन्त्रका लागि महत्वपूर्ण योगदान भएको उहाँको भनाइ थियो । “एउटा सफल उद्यमले धेरैलाई रोजगारी दिन सक्छ, एउटा नयाँ सोचले एउटा उद्योग जन्माउन सक्छ र एउटा उद्योगले एउटा समुदायको आर्थिक तथा सामाजिक रूपान्तरण गर्न सक्छ,” उहाँले भन्नुभयो ।
उहाँले उद्यमशीलता प्रवद्र्धन, औद्योगिक वातावरण सुधार र निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी बनाउँदै उत्पादन तथा रोजगारी वृद्धिमा जोड दिनुपर्ने बताउनुभयो ।



