सरकारसँग ६ बुँदे सहमतिपछि डा. गोविन्द केसीले तोडे २५औँ अनशन
काठमाडौं, कात्तिक २१ । सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले एक सातादेखि जारी अनशन तोडेका छन्। शुक्रबार मध्यराति सरकार र केसीबीच सहमति भएको हो। सहमतिपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जुस पिलाएर उनको २५औँ सत्याग्रह अन्त्य गराएका हुन्।
सहमतिअनुसार नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको आर्मी मेडिकल कलेजमा एमबीबीएस सिट थप गर्ने निर्णय मापदण्डअनुसार भए–नभएको छानबिन गर्न प्रा. डा. रमेशप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिनेछ। समितिको प्रतिवेदन र त्यसका सिफारिस कार्यान्वयनपछि मात्र चिकित्सा शिक्षा साझा प्रवेश परीक्षाबाट उत्तीर्ण विद्यार्थीको म्याचिङ प्रक्रिया अघि बढाइनेछ।
त्यस्तै, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति र सिट निर्धारणसम्बन्धी विषय पनि सहमतिमा समेटिएको छ। विश्वविद्यालय ऐन, २०८२ मा पदाधिकारीको योग्यता तथा नियुक्तिसम्बन्धी व्यवस्था संशोधन गर्न दुई साताभित्र अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाइने र त्यसपछि नयाँ पदाधिकारी नियुक्ति प्रक्रिया सुरु गरिनेछ।
सरकारले डडेलधुरा, इलाम र उदयपुरमा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बजेटसहित पूर्वाधार विकासको काम अघि बढाउने तथा बर्दिबासमा मेडिकल कलेज स्थापनाको प्रक्रिया तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएको छ। साथै, मापदण्डविपरीत सिट थप वा कार्यक्रम सञ्चालनमा संलग्न पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउने सहमति भएको छ।
यसअघि गत साउन ११ गते भएको सहमति कार्यान्वयन गर्नुपर्ने मागसमेत सम्बोधन गर्ने सरकारले प्रतिबद्धता जनाएको छ। नयाँ सहमति कार्यान्वयनको अनुगमन गर्न दुवै पक्षका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिनेछ। यी सहमतिपछि डा. केसीले कात्तिक २१ गतेदेखि सत्याग्रहका सम्पूर्ण कार्यक्रम अन्त्य गर्ने घोषणा गरेका छन्।



