सूर्यविनायक चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि अरनिको माविलाई, नगरपालिकाका प्रमुख वासुदेव थापाले विजेतालाई पुरस्कार प्रदान
भक्तपुर, ११ मंसिर । सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अरनिको माध्यमिक विद्यालयले विजेता बनेको छ ।
प्रतियोगितामा अरनिको माध्यमिक विद्यालयले १६ स्वर्ण, १३ रजत र ७ कास्य पदक जितेर विजेता बनेको हो । प्रतियोगितामा कुलमाया भगवती माध्यमिक विद्यालयले ८ स्वर्ण, ४ रजत र ५ कास्य पदकसहित दोस्रो स्थान हासिल गरेको छभने मिड भ्याली स्कुलले ८ स्वर्ण, ४ रजत र २ कास्य पदकसहित तेस्रो भएको छ ।

प्रतियोगिता सम्पन्न पश्चात आज आयोजना गरेको समापन कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले विजेता अरनिको माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले दोस्रो हुने कुलमाया भगवती माध्यमिक विद्यालयलाई ३० हजार रुपैयाँ र तेस्रो भएको मिड भ्याली स्कुललई २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नु भयो ।
नगर प्रमुख थापाले विद्यालयमा अध्ययनरत विद्यार्थी राष्ट्रको भोलीको कर्णाधार भएको बताउदै खेलकुद आफ्नो लागि मात्र नभई राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा देशको नाम उच्च राख्दै देको झण्डालाई उचाईमा पुर्याउनका लागि पनि भएको बताउनुभयो ।

उहाँले सूर्यविनायक नगरपालिकाको प्रत्येक वडामा एक वडा एक खेल मैदान बनाउने उदेश्यले नै नगरपालिकाले खेल मैदानको निर्माण गरिरहेको बताउदै सूर्यविनायकको खेलकुदको विकासका लागि यसवर्ष एक करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभयो ।
उहाँले खेलकुदका लागि बजेट अपुग भए थप बजेटको ब्यबस्थ ागर्ने बताउदै विद्यालय र शिक्षकले पनि आफ्ना विद्यार्थीलाई पढाईसंगै खेलकुदलाई संगसंगै लैजानु पर्ने बताउनुभयो । नगर प्रमुख थापाले ११ गतेसम्म हुने सबै खेलमा निष्पक्ष र अनुशासित भएर खेल खल्न आग्रह गर्दै खेलमा जीत र हार स्वभाविक भए पनि प्रतियोगितामा सहभागि हुन पाउँनुलाई जितको संकेत मान्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा कार्यक्रमका संयोजक एवं नगर प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा, सूर्यविनायक नगरपालिका वडा नं. ४ का वडाध्यक्ष लछुराम न्यौपाने, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतलगायत विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले यसवर्षको प्रतियोगितामा ९०० खेलाडीको सहभागिता रहेको बताउदै प्रतियोगितामा भलिबल, कराते, एथलेटिक्स, तेक्वान्दो र कबड्डी विधाका खेलहरू सञ्चालन गरिएको बताउनु भयो । नगरपालिकामा खेलकुदको विकास र खेलाडलाई प्रोत्साहन दिने उदेश्यले प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।



