डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदी अझै फरार, प्रहरीले सहयोग माग्यो
डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर भागेका आठ कैदीबन्दी अझै पक्राउ परेका छैनन्। प्रहरीले उनीहरूको खोजी तीव्र पार्दै सर्वसाधारणसँग सहयोग माग्दै तस्बिर र विवरण सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाले आइतबार सूचना जारी गर्दै फरार व्यक्तिहरूलाई कतै देखेमा वा जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ। सहयोगका लागि १००, ०८७–५५००५६, ९८५८३९०५८६ र ९८५८३०५५५५ नम्बर सार्वजनिक गरिएको छ।
फरार हुनेमा डोल्पाका दुई, जाजरकोटका दुई, रुकुमपश्चिमका तीन र सल्यानका एक जना छन्। तीमध्ये छ जना कैदी र दुई जना थुनुवा रहेका छन्। प्रहरी प्रवक्ता विनय सिंहले खोजी कार्य जारी रहेको र प्रभावकारी बनाउन विवरण सार्वजनिक गरिएको जानकारी दिएका छन्।



