जापानका प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्।
संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार थापाले नाम फिर्ता लिनेबारे समितिलाई जानकारी गराएका हुन्। ‘उहाँले आफ्नो नाम फिर्ता लिनेबारे जानकारी हामीलाई गराउनुभएको छ। उहाँ सिंहदरबारमै हुनुहुन्छ। केहीबेरमा निवेदन पठाउनुहुन्छ,’ सभापति श्रेष्ठले भने।
थापाले आफू समितिमा उपस्थित नहुने र नाम फिर्ताका लागि निवेदन पठाउने जानकारी गराएको पनि श्रेष्ठले बताए। स्वार्थको द्वन्द्वसँग जोडिएर प्रश्न उठेपछि थापाले नाम फिर्ता लिने निर्णय गरेको श्रेष्ठले जानकारी दिए।
गत असोज २८ गते प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भएको थियो। नियुक्तिका लागि सिफारिस गरिएका १३ जनामध्ये १० जनाको नाम मात्र त्यस दिन समितिले अनुमोदन गरेको थियो। साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने अनुमोदन भएको थिएन।
जापानका लागि प्रस्तावित थापाको जापानमा स्थायी आवासीय अनुमति (पीआर) रहेको भन्दै सांसदहरूले प्रश्न उठाएपछि उनको सुनुवाइ थप अध्ययनका लागि स्थगित गरिएको थियो। सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए। तर, संविधानको धारा २९१ को व्यवस्था र पीआर त्यागेको अवधिबारे सांसदहरूले प्रश्न उठाएका थिए।



