२०८३ सालको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ बजे
काठमाडौं । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।
समितिका अनुसार यस वर्ष यमपञ्चकअन्तर्गतका पर्वहरू कात्तिक २० गते शुक्रबारदेखि सुरु हुनेछन्। कात्तिक २० गते धनत्रयोदशी (धन्तेरस) तथा यमदीपदान गरिनेछ। त्यसैगरी, कात्तिक २१ गते शनिबार काग तिहार र धन्वन्तरि जयन्ती मनाइनेछ।
कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मीपूजा परेको छ। कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ भने कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइनेछ। सोही दिन नेपाल संवत् ११४७ को सुरुवात हुनेछ।
यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइने समितिले जनाएको छ। यस दिन दिदीबहिनीले दाजुभाइलाई दीर्घायु, सुख, समृद्धि र उत्तम स्वास्थ्यको कामना गर्दै सप्तरङ्गी टीका लगाएर भाइटीका पर्व मनाउने परम्परा छ।
समितिले भाइटीकाका दिन टीका लगाउँदा दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर बस्नुपर्ने जनाएको छ। धार्मिक विधिअनुसार शुभसाइतमा टीका लगाउँदा पर्वको महत्त्व अझ विशेष हुने विश्वास गरिन्छ।



