आजको मौसम : कोशी र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशका केही स्थानमा आज हल्का वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।

महाशाखाका अनुसार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा मौसम सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भने आंशिक बदली रहने सम्भावना छ। ती प्रदेशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

त्यसैगरी, रातिको समयमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बदली रहनेछ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो पनि पढ्नुहोस  समिता ध्वजू सौन्दर्य कला व्यवसायी संघ भक्तपुरको अध्यक्ष
प्रकाशित मितिः