नागरिकको सुरक्षा र सम्मान सर्वोपरि, प्रहरीमा निष्पक्षता र भरोसा कायम गर्छु : आईजीपी केसी

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई सर्वोच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले संविधान र कानुनप्रति अविचलित रहँदै प्रहरी सङ्गठनको मर्यादा, निष्पक्षता र व्यावसायिकतामा कुनै सम्झौता नगर्ने बताएका छन्।

गृह मन्त्रालयमा मंगलबार प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्नबाट सुशोभित भएपछि संक्षिप्त सम्बोधन गर्दै आईजीपी केसीले प्रहरी सङ्गठनलाई नागरिकको भरोसाको केन्द्र बनाउने प्रतिबद्धता जनाएका हुन्।

उनले प्रहरी र नागरिकबीचको सम्बन्धलाई सङ्गठनको महत्त्वपूर्ण पुँजीका रूपमा व्याख्या गर्दै नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महसुस गर्ने वातावरण निर्माण गर्ने बताए। साथै, प्रत्येक प्रहरी कर्मचारीले आफ्नो बर्दीमा गर्व गर्न सक्ने अवस्था सिर्जना गर्ने उनको भनाइ थियो।

प्रहरी कर्मचारीका गुनासा सुन्न उच्चस्तरीय संयन्त्र

आईजीपी केसीले प्रहरी कर्मचारीका समस्या र गुनासा सम्बोधन गर्न आफ्नै सचिवालयमा तत्काल उच्चस्तरीय संयन्त्र स्थापना गर्ने घोषणा गरेका छन्।

आधारभूत तहदेखि सबै प्रहरी कर्मचारीका समस्या सुन्ने प्रतिबद्धता जनाउँदै उनले सङ्गठनभित्रका विभिन्न चुनौती समाधानमा गम्भीर भएर काम गर्ने बताए।

प्रहरी कर्मचारीले भोगिरहेका सीमित स्रोतसाधन, भवन अभाव, लामो कार्यघण्टा, सरुवा–बढुवामा निष्पक्षता र मानसिक स्वास्थ्यजस्ता विषयलाई प्राथमिकतामा राखेर सम्बोधन गर्ने उनको भनाइ छ।

प्रहरी सङ्गठनलाई दलीय प्रभावबाट मुक्त राख्न आग्रह

प्रहरी सङ्गठनलाई प्रभावकारी र व्यावसायिक बनाउन आवश्यक स्रोतसाधन, कानुनी स्पष्टता तथा कार्यगत स्वायत्तता उपलब्ध गराउन आईजीपी केसीले सरकारसँग आग्रह गरेका छन्।

उनले प्रहरी सङ्गठनलाई दलीय प्रभावबाट मुक्त राख्न राजनीतिक दलहरूको सहयोगसमेत अपेक्षा गरेका छन्।

नागरिकको सुरक्षा, प्रहरी कर्मचारीको मनोबल र सङ्गठनको निष्पक्षतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका केसीले प्रहरीप्रति जनविश्वास अभिवृद्धि गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको स्पष्ट पारेका छन्।

यो पनि पढ्नुहोस  प्रधानमन्त्री दाहालले दोश्रो पटक भोलि विश्वासको मत लिने
प्रकाशित मितिः