शान्ति–सुरक्षा सुदृढ बनाउन प्रधानमन्त्रीको निर्देशन, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिनुभएको छ। उहाँले चाडपर्वका समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा समग्र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको हो।

ब्रिफिङका क्रममा प्रधानमन्त्रीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदान–प्रदान तथा सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

उहाँले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन सम्बन्धित सुरक्षा निकायलाई सचेत गराउँदै अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन आग्रह गर्नुभएको छ।

त्यसैगरी, मुलुकको शान्ति–सुरक्षाको व्यवस्थालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री शाहले नागरिकको सुरक्षा राज्यको प्रमुख दायित्व भएको स्पष्ट पार्नुभएको छ।

चाडपर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन र नागरिकले सुरक्षित वातावरणमा चाडपर्व मनाउन सक्ने अवस्था सुनिश्चित गर्न उहाँले जोड दिनुभएको छ।

यो पनि पढ्नुहोस  संघीय सांसद खत्रीद्धारा कमेरोटारवासीको समस्या समाधान गर्ने प्रतिबद्धता
प्रकाशित मितिः