जनकपुर–अयोध्या विशेष रेल सेवाको परीक्षण, प्रधानमन्त्रीद्वयले संयुक्त उद्घाटन गर्ने तयारी

काठमाडौँ । जनकपुरधामदेखि भारतको धार्मिक नगरी अयोध्यासम्म सञ्चालन गर्ने तयारी गरिएको विशेष रेल सेवाको परीक्षण गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी गरिएको हो।

उद्घाटनको तयारीस्वरूप दुई इञ्जिन र सात डिब्बा रहेको भारतीय विशेष रेल अयोध्याबाट धनुषाको कुर्थासम्म सञ्चालन गरी परीक्षण गरिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार रेल सेवा सञ्चालनका क्रममा यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारीसम्बन्धी विषयमा पनि दुवै देशबीच सैद्धान्तिक सहमति भएको छ। सहमतिअनुसार नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले सुरक्षा व्यवस्था मिलाउनेछन्।

जनकपुरधाम र अयोध्याबीच प्रत्यक्ष रेल सेवा सञ्चालनमा आएपछि नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

हिन्दू धार्मिक मान्यताअनुसार जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा लिइन्छ। रामायणसँग गहिरो सम्बन्ध रहेका यी दुई धार्मिक सहर रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन सहज हुने विश्वास गरिएको छ।

हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। जनकपुर–अयोध्या विशेष रेल सेवा सञ्चालनले यसअघि नै स्थापित नेपाल–भारत रेल सम्पर्कलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस  देको–मिबा–इतापाके जग्गा एकीकरण आयोजनाले मनोमानीपूर्ण ढंगले जग्गा बाँडफाँट गरेको भन्दै आयोजनाको कार्यालय घेराउ
प्रकाशित मितिः