आजदेखि तिहार सुरु, कात्तिक २५ गते भाइटीका, यस्ताे छ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तालिका

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक आज शुक्रबारदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज धनत्रयोदशी (धनतेरस) र यमदीपदान मनाइँदैछ। पाँच दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार मनाइने तिहारमा धन, स्वास्थ्य, समृद्धि, प्रकृति र पारिवारिक सम्बन्धलाई विशेष महत्त्व दिइन्छ।

विशेषगरी मधेशको प्राचीन मिथिला क्षेत्रमा परम्परागत रूपमा मनाइँदै आएको धनतेरस पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यकासहित देशका अन्य भागमा पनि लोकप्रिय बन्दै गएको छ। यस दिन साँझ घरघरमा दीप प्रज्वलन गरी धातुका नयाँ भाँडाकुँडा, सुनचाँदी तथा गरगहना किन्ने र पूजा गर्ने चलन छ। धार्मिक मान्यताअनुसार धनतेरसमा नयाँ धातुका सामग्री खरिद गर्दा घरमा धन, सुख र समृद्धि भित्रिने विश्वास गरिन्छ।

धनतेरससँगै आज साँझ यमदीपदान पनि गरिँदैछ। यमराजलाई समर्पित गरी दीपदान गर्दा अकाल मृत्यु र यमयातनाबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ। कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म यमदीपदान गर्ने परम्परा रहेको छ।

यस्तो छ तिहारको पर्वतालिका

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको निर्णयअनुसार यस वर्ष तिहारका विभिन्न पर्व निम्न मितिमा मनाइनेछन्।

  • कात्तिक २० गते, शुक्रबार : धनत्रयोदशी (धनतेरस) तथा यमदीपदान।
  • कात्तिक २१ गते, शनिबार : काग तिहार तथा धन्वन्तरी जयन्ती।
  • कात्तिक २२ गते, आइतबार : नरक चतुर्दशी, कुकुर तिहार तथा साँझ लक्ष्मीपूजा।
  • कात्तिक २३ गते, सोमबार : गाईपूजा।
  • कात्तिक २४ गते, मंगलबार : गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा। यसै दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ।
  • कात्तिक २५ गते, बुधबार : यमद्वितीया तथा भाइटीका।

धन, स्वास्थ्य र समृद्धिको पर्व

तिहारमा काग, कुकुर, गाई र गोरुको पूजा गर्ने परम्परा छ। हिन्दू धार्मिक मान्यताअनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा लिइन्छ। त्यसैले काग तिहारका दिन कागलाई मीठा खानेकुरा दिएर पूजा गरिन्छ।

कुकुरलाई यमराजको द्वारपाल तथा मानिसको इमानदार साथीका रूपमा सम्मान गरिन्छ। कुकुर तिहारमा कुकुरलाई माला लगाइदिने, टीका लगाउने र मिठा परिकार खुवाउने चलन छ।

यो पनि पढ्नुहोस  बालकोटस्थित घरबाट एमाले अध्यक्ष ओलीले भन्नुभयो : ‘हामी न पहिला भागेका थियौँ, न अहिले भाग्छौँ, न कहिल्यै भाग्छौँ’

त्यसैगरी, गाईलाई लक्ष्मीको प्रतीकका रूपमा पूजा गरिन्छ। गाईपूजाका दिन गाईलाई माला, टीका र खानेकुरा दिएर सम्मान गरिन्छ। लक्ष्मीपूजाका दिन घर, आँगन र बाटोघाटो सफा गरी साँझ दीप प्रज्वलन गर्दै धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ। घरमा लक्ष्मीको आगमन हुने धार्मिक विश्वासका साथ घरलाई दीपमालिकाले झिलिमिली बनाउने र देउसीभैलो खेल्ने परम्परा पनि छ।

गोवर्धन पूजाका दिन भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीलाई वर्षा र प्राकृतिक विपत्तिबाट संरक्षण गरेको धार्मिक प्रसङ्ग स्मरण गरिन्छ। यस दिन गोरुको पूजा गर्नुका साथै कृषिमा यसको योगदानको सम्मान गरिन्छ।

कात्तिक २४ गते नै नेवार समुदायले म्हपूजा अर्थात् आत्मपूजा मनाउनेछन्। म्हपूजामा आफ्नै शरीर र आत्माको शुद्धता, स्वास्थ्य, दीर्घायु तथा सुख–समृद्धिको कामना गर्दै पूजा गरिन्छ। यसै दिनदेखि नेपाल संवत् ११४७ को नयाँ वर्ष पनि प्रारम्भ हुनेछ।

भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे

तिहारको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइनेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीका लगाउन बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको छ।

समितिका अनुसार साइत खोज्नेहरूका लागि अभिजित् मुहूर्तको समय निर्धारण गरिएको हो। यद्यपि सर्वसाधारणले मध्याह्नकालमा पनि टीका लगाउन बाधा नरहेको समितिले जनाएको छ। भाइटीकाका दिन दिदीबहिनी पूर्वतर्फ र दाजुभाइ पश्चिमतर्फ फर्किएर टीका लगाउनुपर्ने शास्त्रीय विधि रहेको पनि समितिले जनाएको छ।

भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका, माला तथा विभिन्न परिकार प्रदान गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर सम्मान गर्ने परम्परा छ।

यसरी धार्मिक आस्था, सांस्कृतिक विविधता, प्रकृतिप्रतिको सम्मान र दाजुभाइ–दिदीबहिनीबीचको आत्मीय सम्बन्धलाई जोड्ने तिहारले नेपाली समाजमा आपसी सद्भाव, प्रेम र एकताको सन्देश प्रवाह गर्दै आएको छ।

प्रकाशित मितिः