पुलुकिसी नाचका कलाकार छवी बाडेको अल्पायुमै निधन, नागदेश शोकमा
भक्तपुर । नागदेशको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको परम्परागत पुलुकिसी नाचका कलाकार छवी बाडेको कलिलो उमेरमै क्यान्सरका कारण असामयिक निधन भएको छ। उहाँको निधनको खबरले नागदेशवासी, कला तथा संस्कृति प्रेमी र शुभचिन्तकहरूलाई स्तब्ध बनाएको छ।
नेवाः मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा सक्रिय रहँदै आउनुभएका बाडे पुलुकिसी प्याखँसँग आबद्ध कलाकार हुनुहुन्थ्यो। उहाँले यस नाचमार्फत नागदेशको ऐतिहासिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
२०८२ सालमा नेवाः ऐतिहासिक सांस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा प्रदर्शन गरिएको ऐतिहासिक पुलुकिसी नाचमा उहाँले दुई साथीमध्ये एकको भूमिका निर्वाह गर्नुभएको थियो। उक्त नाचमा जेनिस बाडेले पुलुकिसीमा सवार लावण्य देशका राजा नवराजको भूमिका निभाएका थिए भने नागचाःको भूमिकामा श्रीजल बाडे र दुई साथीको भूमिकामा छवी बाडे तथा दीप्सा उप रहेका थिए।
श्रीस्वस्थानी व्रतकथामा आधारित पुलुकिसी नाच नगदेशमा परापूर्वकालदेखि जात्राका रूपमा प्रदर्शन हुँदै आएको छ। माधवनारायण पर्वका अवसरमा प्रदर्शन गरिने यस नाचमा धार्मिक विधि, परम्परागत बाजागाजा र नगर परिक्रमासमेत समावेश हुने गर्दछ।
कलिलो उमेरमै उहाँको निधनले मौलिक नेवाः कला तथा संस्कृति संरक्षणको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। उहाँले संस्कृतिको संरक्षण र निरन्तरताका लागि पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ। उहाँको कला, समर्पण र सांस्कृतिक योगदान आगामी पुस्ताका लागि पनि सम्झनायोग्य रहनेछ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै छवी बाडे नानुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, शोकसन्तप्त परिवारजन, आफन्त, सहकर्मी कलाकार तथा सम्पूर्ण नागदेशवासीमा हार्दिक समवेदना व्यक्त गर्दछौँ।



