नेपाली भाषाको आफ्नै एआई मोडेलदेखि स्याटलाइट निर्माणसम्म, नेपाल–भारतबीच प्रविधि सहकार्य विस्तार

काठमाडौं । नेपाल र भारतबीच सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा अन्तरिक्ष विज्ञानका क्षेत्रमा दीर्घकालीन सहकार्य गर्ने सहमति भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को दुईदिने औपचारिक भारत भ्रमणका क्रममा नेपाली भाषाको आफ्नै लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) विकास गर्नेदेखि स्याटलाइट निर्माण र डिजिटल पूर्वाधार विस्तारसम्मका विषयमा सहकार्य गर्ने समझदारी बनेको हो।

भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत तथा समुन्नत नेपाल’ शीर्षकको संयुक्त भिजन डकुमेन्टमार्फत दुई देशले प्रविधि, नवप्रवर्तन र डिजिटल विकासका क्षेत्रमा साझेदारीलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

समझदारीअनुसार एआई क्षेत्रमा सहकार्य विस्तार गर्दै नेपाली भाषालाई डिजिटल प्रविधिमा थप सक्षम बनाउने उद्देश्यले भारत सरकारको ओपन सोर्स प्लेटफर्म ‘भाषिणी’सँग साझेदारी गरिनेछ। उक्त प्राविधिक सहकार्यअन्तर्गत नेपाली भाषाको लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) विकास गर्ने योजना अघि बढाइएको छ।

यसबाट नेपाली भाषामा डिजिटल सेवा, अनुवाद, स्वचालित सञ्चार, सूचना पहुँच तथा डिजिटल साक्षरता विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपाली भाषालाई आधुनिक एआई प्रणालीमा प्रभावकारी रूपमा प्रयोग गर्न सकिने वातावरण निर्माण गर्ने लक्ष्यसमेत राखिएको छ।

नेपाल र भारतबीच अन्तरिक्ष विज्ञान तथा प्रविधिको क्षेत्रमा पनि सहकार्य विस्तार गर्ने सहमति भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) तथा नेपालका सम्बन्धित वैज्ञानिक निकायहरूले भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र भारतीय राष्ट्रिय अन्तरिक्ष प्रवर्द्धन तथा प्रमाणीकरण केन्द्र (इन-स्पेस)सँग मिलेर काम गर्ने समझदारी बनेको हो।

यस सहकार्यअन्तर्गत नेपालको आफ्नै स्याटलाइट निर्माण तथा विकास, पृथ्वीको सतह अवलोकन, प्राकृतिक विपद् व्यवस्थापनमा रिमोट सेन्सिङ प्रविधिको प्रयोग तथा नेपाली वैज्ञानिक र प्राविधिकहरूको क्षमता अभिवृद्धिका कार्यक्रम अघि बढाइने उल्लेख छ।

प्रविधि उद्यमशीलता तथा स्टार्टअप क्षेत्रलाई प्रोत्साहन गर्न ‘इन्डो-नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क’ (इन-स्पान) विस्तार गर्ने योजना पनि अघि सारिएको छ। यसमार्फत नेपाली स्टार्टअप तथा उद्यमीहरूलाई भारतमा व्यावसायिक तालिम, परामर्श र मेन्टरशिप उपलब्ध गराउने लक्ष्य राखिएको छ।

यो पनि पढ्नुहोस  कृषिलाई आधुनिकीकरण गर्न एक खर्ब ४० अर्बको परियोजना लागू गर्दै 

त्यस्तै, काठमाडौंमा ‘स्टार्टअप सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने तथा पोखरामा अन्तर्राष्ट्रिय सूचना प्रविधि व्यवसायी र डिजिटल रूपमा काम गर्ने व्यक्तिहरूलाई आकर्षित गर्ने उद्देश्यले ‘डिजिटल नोम्याड्स एन्ड इनोभेसन हब’ स्थापना गर्ने सहमति भएको छ।

नेपालको डिजिटल पूर्वाधार विकासका लागि निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्दै डिजिटल पार्क तथा उच्च क्षमताका डेटा सेन्टर निर्माणमा समेत सहकार्य गरिने संयुक्त भिजन डकुमेन्टमा उल्लेख छ।

दूरसञ्चार क्षेत्रमा पनि नेपाल र भारतबीच सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। फाइभजी, अनुसन्धान तथा विकासको चरणमा रहेको सिक्सजी र आगामी पुस्ताका दूरसञ्चार नेटवर्क विस्तारका लागि प्राविधिक तथा रणनीतिक सहयोग जुटाउने विषय समझदारीमा समेटिएको छ।

नेपाल–भारतबीच भएको यस समझदारीले एआई, अन्तरिक्ष विज्ञान, डिजिटल पूर्वाधार, स्टार्टअप तथा दूरसञ्चार क्षेत्रमा आगामी दिनमा संयुक्त परियोजना र प्राविधिक साझेदारीका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मितिः